साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्राष्ट्रिय युवा वर्ष

एम्.ए. हरू त कता कता बेपत्ता । पुष्टकारी त कम से कम गुलियो हुन्छ, भुजाका लड्डूको त कम से कम स्वाद मिठो हुन्छ तर पीएच. डी. त दिनदिनै तीतो तीतो नेपालमा, हैन, के भएको यो ?

Nepal Telecom ad

चोलेश्वर शर्मा :

अठोट गरेको थिएँ- यस वर्ष म बूढाबूढीका कुरा गर्दिनँ, समस्या सुन्दिनँ । बालबालिकाको सात गर्दिनँ । म पनि यस वर्ष चालिस वर्षे राष्ट्रसङ्घझैँ चालिस वर्षे युवा भएको छु । अठोट गरेको छु – यस वर्ष खालि युवतीहरूको सङ्गत गर्छु । त्यसमा पनि अविवाहिता युवतीहरूलाई ग्राह्यता दिन्छु । किनभने ती ग्राह्यता र त्यसभन्दा बेसी निश्छल माया पाउनलायक हुन्छन् । अन्य युवकहरूलाई पनि युवतीहरू र युवतीहरूलाई युवकहरूको सङ्ङ्गत गर्न आह्वान गर्छ। यसो नगरी आपसी समझदारीका भावनाको विकास हुन्न र राष्ट्रसङ्घले यस वर्षलाई ‘अन्तर्राष्ट्रिय युवा वर्ष’ का रूपमा मनाउने कार्यक्रमको कुनै अर्थ रहन्न । आखिर भोलि त हाम्रै टाउकामाथि देशको भार आउँछ रे । हाम्रा हातपाखुरामा संसार रे । ब्रह्माण्ड रे ।

ढिलोचाँडो देशै बोक्नुपरेपछि-त्यसमा पनि जताततैबाट रूँ रूँ मात्र लाग्दो देश बोक्नु परेपछि- गम्भीरतापूर्वक सोच्नैपर्‍यो । सोचेँ- जुन स्त्रीहरू दश वर्षअघि पूणर् नारी भएर विभिन्न कार्यकलापमा रित्तो ब्यागझैँ आफूलाई हल्लाएर हिँड्नामा मस्त थिए- ती आज युवती भएका छन् युवा वर्षमा- भरिएका ब्यागझैँ । जुन पुरुषहरू दशबाह्र वर्षअघिदेखि प्रौढ वा वयस्क भएर प्रौढ वा वयस्क वा वृद्ध सङ्गठनका कुर्सी भाँचिरहेका थिए- तिनै युवा वर्षका युवा भएका छन् । र भोलि राष्ट्रसङ्घले फेरि अन्तर्राष्ट्रिय बाल वर्ष मनायो र खाजा वा चमेना बिस्कुट पौष्टिक आहार बनाएर बाँड्यो भने तिनै प्रौढ वा प्रौढाहरू लाइनमा बसेर हात थाप्नेमा सबभन्दा अघि हुनेछन्- शङ्का छैन । तपाईं हामीले थूक मात्र निल्नेछौँ । हामी नेपाली सके जन्मँदै वृद्ध भएर जन्मन्छौँ र क्रमशः प्रौढ, युवा, किशोर र बालक हुन्छौँ । केटाकेटीपन देखाउँछौँ । उल्टो रीतले । यस्तो नभए न हाम्रो प्यारो नेपाल विश्वगोलमा यतिन्जेल बेपत्ता हुन्थ्यो, न त हामीले भोलिको यो देश कुनै अर्काले आफ्नै सन्तान भए पनि- आजको युवा पुस्ताले सम्हाल्नेछ भनेर जान्दाजान्दै पनि मात्तिएर देशको प्राकृतिक स्रोत, अर्थतन्त्र, आचार-व्यवहार, नीति-इमान यतिसम्म भाँडिरहन्थ्यौँ । निर्लज्ज ।

राष्ट्रसङ्घका आह्वानमा मनाइन आँटेको ‘अन्तर्राष्ट्रिय युवा वर्ष’ भनेको युवा वर्ष नै भयो । यस वर्षले सबैलाई हित ग-याे । नगर्ने कुरै भएन । युवा वर्षले मामुली मूल्यका युवक-युवतीहरूलाई छोइनसक्नु गरायो वर्ष उनीहरूकै । यद्यपि ती युवा वर्षपछि टका सेर हुन्छन् भन्ने मेरो दृढविश्वास थियो । नेता-वक्ताहरूलाई बोलिनसक्नु गरायो वर्ष उनीहरूकै । ती वृद्ध वर्षमा बोल्थे अस्ति, हिजो नारी वर्षमा बोले, त्यही रीतिले तिनै कुरा आज युवा वर्षमा पनि बोल्दै छन् । आजका वृद्धका काँधमा ठूलो जिम्मेदारी रे अस्ति, आजका नारीहरूको समाजका विकासमा ठूलो योगदान रे हिजो, ठूलो भूमिका रे आमाको, शिक्षिका रे आमा । आज-आजका युवाका काँधमा देशको भार रे । देश पनि छ, काँध पनि छ । वृद्ध पनि छ, नारी पनि छे, युवा पनि छ । बोल्ने कुरा यत्ति । कुनै एउटाको गहन उत्तरदायित्व भनिदिन्छन् । काम तमाम । फेरि यो उत्तरदायित्व भन्ने भालुको कम्पट सधैँ रहि नै रहन्छ । यसलाई कतिले बोकेका छन्, कतिले वहन गरेका । कतिले निभाएका छन् बत्तीझैँ घ्याप्पै तर यो कहीँ जान्न । तिनले बोल्दा घरी घरी युवा वर्ष भन्ने ठाउँमा युवती वर्ष भनेबाहेक सबै ठिक भने । युवती वर्ष भनेर पनि खास गल्ती त गरेनन् । खालि आफ्नो रुचिको विषय युवती भएकोसम्म जनाए । ती विद्वान् हुन्, बुज्रुक हुन्, तिनले गलती कहिले गर्थे ।

युवा वर्षका सन्दर्भमा फेरि बिरूवा रोपिए । वर्तमान नेपालमा बिरूवाको नियति नै रोपिनु र एक रोपिए दुई उखेलिनु हो । संरक्षणको आवश्यकता पनि महसूस गरियो । यद्यपि संरक्षण गरिएनन् । सबै काम गर्दा एउटा नगरे पनि त हुन्छ । त्यो काम बालक वा वृद्धका धर्मराउँदा हातमा सुम्पिइयो । देश त सबैको हो । अनि बालकले केही नगरी पौष्टिक आहार मात्र पचाएर सुख पाउँछन् ? बूढाले घाम तापेर नस सुँघेर मात्र काम हुन्छ ? त्यसैले युवकले छाती खोलेर हिँडे । युवतीहरूलाई पनि छाती खोल्न जुन नाइलनको पातलो पारदर्शी पछ्यौरासरहको कसरमसर बाँकी थियो उडायो युवा वर्षको हावाले । “उडाई लग्यो पछ्यौरी मेरो… ” गुन्जिए मीठा तरङ्गहरूमा । माछापुच्छ्रेका शिखरमा लागिरहने पातलो कुहिरो उडायो हावाले । चम्कियो माछापुच्छ्रे आफ्ना दुई उन्नत धवल शिखरहरूमा । हेरिरहूँ अपलकझै ।

कम से कम राष्ट्रसङ्घको आह्वानले यति त राम्रो काम गर्‍यो । युवा रात्रि मनाइए । टेबुल ठटाइए-कामले । बियर-रक्सी खाइयो कामले । तर प्रौढहरूले खाएजति युवाहरूले खानै सकेनन् र मात्नै पनि सकेनन् त्यसले भोलिको नेपाल यिनले थाम्न त सक्छन् ? भन्ने कुराले सशङ्कित गरायो-पियक्कड बुज्रुकहरूलाई । टिल परेर पल्टिए पनि देशको पीडा त मुटुमै छ ।

सुखको कुरो, यस वर्ष अन्तर्राष्ट्रिय युवा वर्षको महत्त्वअनुरूप सडकमा सवारी दुर्घटना भएनन् । दुःखको कुरो, पैदल यात्रुहरूले कुनै रोमाञ्चक घटना वा नयनाभिराम दृश्यका आस्वादनको सौभाग्य पाएनन् । न त रहजनी नै भयो । नकबजनी सुन्नै पाइएन । त्यसो त घर पनि बलिया बन्न थाले । पाकेटमारीका एकदुई अति क्षुद्र घटना भए-ती सभ्य समाजका अभिन्न अङ्ग भएकाले ध्यान दिइएन । गाउँघरका बाटाघाटा निरापद भए । टोलटोलमा राष्ट्रिय संस्कृति र चरित्रअनुकूलका झगडा र तदनुकूल विशुद्ध नेपाली शास्त्रीय शैलीका गालीगलौज भएनन् । धेरै बालक र थोरै किशोरहरूले यिनबाट कुनै प्रेरणा पाउन सकेनन्-अवसरै रहेन । तिनले एकडेढ घण्टा लगाएर सडकछेउमा आची मात्र गर्ने काम भयो । वृद्धहरूले खोक्दै, युवा पुस्तालाई गाली गर्दै, ‘हाम्रा पालामा ……’ सम्झँदै पशुपति, गुह्येश्वरी, दक्षिणकाली, मनोकामना, विन्ध्यवासिनी, सत्यवती, बागेश्वरी पुकार्न पाएनन् । तिनलाई जिएको अर्थ लागेन । निराश भए । केवल एकदुई शय युवक-युवतीहरूलाई युवा वर्षअनुकूलको स्वच्छ आचरण-सडकमा एकअर्कालाई घोचपेच र छेडछाड गर्न खोजेका आरोपमा-पैदल दुर्घटनाअन्तर्गत प्रहरीले पत्रे । प्रहरी खटिइसकेपछि नपक्रनु पनि त भएन । तर अलिकति केही अन्तर्राष्ट्रिय प्रभाव परेका स्वनामधन्य युवक-युवतीहरू भने सडकका स्वल्प घोचपेच र छेडछाडबाट नअघाएर एक अर्काका घरघर गए-स्थायी रूपमा छेडछाड गर्न । पछि थाहा पाइयो, पतिपत्नी बनेरै रहे रे ती । शुभ होस् तिनलाई । तिनको दाम्पत्यलाई । तिनले जे गरे पनि प्रहरीले पक्रने भएन, घरभित्रै गर्ने भए । तर पनि युवावर्षअनुकूल, युवा हृदयका उमङ्ग र भावनाअनुकूल आचरण गर्ने युवालाई-बूढा-आफ्नो समय बिर्सिदिने, हृदयहीन तर कर्तव्यपरायण, विवेकी र कठोर प्रहरी, प्रशासक र विद्वान् माननीय न्यायाधीशहरूले दण्डित गरे- म साह्रै दुःखित छु । बूढाहरूले युवा हृदय के बुझून् ? असम्भव । असम्भव । कहिल्यै आउला कि बूढाहरूले युवा हृदयलाई बुझ्ने दिन पनि नेपालमा, हँ ?

युवा वर्षमा निबन्ध प्रतियोगिता गरिए । युवा वर्ष र निबन्ध वा कविता-काव्यको सङ्गति कहाँनेर छ म घोरिँदै छु । तापनि जति निबन्ध वा अन्य रचना लेखिए/लेखाइए, सुनिए/सुनाइए-आफ्नै मन र मस्तिष्कका भए साहै ठूलो कुरो हो । अर्काकै भए पनि केही छैन, त्यो साहित्य हो । र त्यसले देशको हित गर्छ । आलोचकहरूले काम पाउँछन् । पाठकले पनि सरकार, जनता, मन्त्री र गरिबीलाई कोसेर बाँकी रहेको समय र मुखको तीतो ओकल्न पाउँछन् । त्यसैलाई प्रकाशकले किताब भनेर छपाउँछन् र पुस्तक पसलेले नबिकेका ती किताबको धूलो ठटाउँदै लेखक र पाठकलाई चोरलाई भन्दा पनि तल्लो स्तरको गाली गर्छन् । यस प्रकार युवा वर्षको साहित्यिक क्रियाकलापमा सबैको समानुपातिक योगदान रहन्छ । त्यस्तै भयो ।

यसै वर्ष युवाले अलिकति रङ्गमञ्चका कार्यक्रम पनि प्रस्तुत गरे । शय दुईशय रुपैयाँ दरका टिकट पनि सजिलै बेचे । प्रदर्शनपछि रकमको बन्दरबाँडमा चित्त नबुझ्नेहरूले आफ्ना साथीका एकदुई बङ्गारा जाँचेबाहेक सबै सुन्दर अति सुन्दर गरे । महोत्सव मनाए। ब्याज वितरण गरे । यालीमा हिँडे । छातीमा ब्याज टाँसेर गाउँ-बजार-शहर घुमे । क्याम्पसमा पढे । पढाए । अलिकति ब्लू फिल्मतिर पनि आँखा लगाए । आँखा त तिनले पूरै लगाउँदा हुन् तर आफूपछाडि आफ्ना सभ्य र परम पूज्य/पूज्या पितामाता देखेपछि तिनको मनोकाङ्क्षा पूणर् हुन पाएन । हंश नै मानसरोवरतिर उड्लाझै भयो । झोकले बाहिर निस्केर अलिकति हेरोइन चाखे । थोरै दिन पंक्स् बन्ने तालीममा जुटे। केहीले मड्समा पनि नाम लेखाए । एक वर्षको अवधि कति पो हुन्छ र ? त्यस अल्प अवधिमा पनि नेपाली अनुशासित युवाले जेजति गरे, त्यो प्रशंसनीय छ, स्मरणीय छ, उदाहरणीय छ ।

यसै वर्ष युवा वर्गले सामाजिक क्षेत्रका विभिन्न कार्यकलापले भविष्यका योग्य र सक्षम नागरिक बन्ने मार्ग प्रशस्त गर्यो । नगर-ग्राम सफाइ अभियान आयोजना गरिए । रक्तदान कार्यक्रम आयोजित भयो । प्लाष्टिकका कूचा बोकेर सुटटाईमा वा मयलपोस सुरुवालमा युवा सफाइ अभियानमा जुटे । यसमा धेरै मानिस हाँसे । हाँस्नुपर्ने कारण के छ ? नेपालीलाई-कुरो न कुराको बाबु-हाँस्नै पाए पुग्छ । तिमीसँग मयलपोससुरुवाल छ सुटटाई छ जसरी लगाऊ – तिम्रो खुसी । अफिस जाँदा वा बिहे वा भोजभतेर वा मावली-ससुराली वा सभा-समारोहमा जाँदा मात्र लगाउनुपर्छ भन्ने सोच सङ्कीणर् हो । अमेरिकी-रूसी किसान ह्याट-प्यान्टमा घोडा चढेर भेडा-गाई चराउँछन् । चिनी किसान माओ कोट र प्यान्टमा खर्पनमा धानको बीउ बोकेर खेतमा कुछ । हिलामा । बर्मेलीले लूँगी लगाएरै जोत्छ । नेपाल-भारतमा धोती लगाएर जे गर्न पनि हुन्छ । घोती नलगाएर गर्न मिल्ने काम बरू धेरै होओइनन् । अरू ठाउँमा लुगाले काम रोक्तैन । नेपालमा रोक्छ । र मयलपोसधारी वा सुटेड-बुटेड नेपालीले काम गर्दैन, कुरा मात्र गर्छ भन्ने धारणा छ । जे होस्-प्लास्टिकको कूचो लिएर सुट लगाएर पनि त सकिन्छ सडक बढार्न। युवा वर्षमा यस्ता काम सबैलाई प्रेरणादायक पनि हुन्छन् । आखिर युवा-चरित्रमा धूलोमैलो र कलङ्क नलागेकै हुनुपर्छ । युगै मिस्टर क्लीनको छ । यस्ता अवसरमा फोटो अनिवार्य हुन्छ । हातमा कूचो, चेहरामा मुस्कान, शरीरमा सुट । कामभन्दा पछिसम्म त फोटो नै अलबममा सुरक्षित रहन्छन् । र आगामी सन्ततिले फोटोबाट नै प्रेरणा पाउँछन् ।

युवाले आपसी झैँझगडामा रगत बगाउनुभन्दा अस्पताल र विभिन्न सङ्घ-संस्थाहरूका लागि रक्तदान गरे । प्रदर्शनी आयोजना गरिए । युवा वर्षअनुरूप तिनमा विभिन्न मनोरञ्जक र ज्ञानवर्द्धक सामग्रीहरू प्रदर्शित गरिए । बिङ्गो, तारो हान्ने, भिडियो, टि.भी., फिल्म-फोटो युवा वर्षका प्रदर्शन सामग्री भए। पछि प्रदर्शनीमा सङ्कलित रकमले रमाइलो वातावरणमा वनभोज आयोजना गरियो । वनभोज पनि युवा वर्षको प्रमुख आकर्षण रह्यो । त्यसमा विभिन्न सरकारी र समाजका अन्य विभिन्न क्षेत्रका गण्यमान्य व्यक्ति भएसम्म श्रीमतीसहित उपस्थित भए । नभएका कसैकसैले सरसापट गरेर पनि काम चलाए । यसरी युवा वर्ष विभिन्न कार्यकलापले युक्त रह्यो ।

सबभन्दा अनौठो कुरो, युवा वर्षमा युवकले पढे-पढाए । त्यस बेला विद्यार्थीबाट एकदुई शिक्षक र शिक्षकबाट पाँचदश विद्यार्थी पिटिएका शाश्वत मनोरञ्जनपूर्ण र ज्ञानवर्धक तथा शिक्षक-विद्यार्थीका प्रगाढ र अटूट सम्बन्ध देखाउने कार्यकलाप पनि प्रस्तुत भए । यो युवा वर्षको उल्लेखनीय कार्यकलाप र उपलब्धि पनि रह्यो । यो देख्दा यही शिक्षित, मर्यादित एवं अनुशासित युवा वर्ग नै देशको भावी कणर्धार हो भन्ने कुरा निणर्य गर्न कत्ति हम्मे परेन । यद्यपि ई. १९८५ तिर नेपालमा सबभन्दा वाहियात र नमज्जाको कुरो पढ्नु र पढाउनु भैसकेको थियो । पढ्नु, पढाउनु-मेहनतको, धनको, राष्ट्रिय चरित्रको, सोचको, व्यावहारिकताको अपव्यय र विपरीत मात्र थियो। अनि धेरै पीएच्. डी. धारीहरूले आफ्नो हैसियत रत्नपार्कका भेली मार्का पुष्टकारी वा भुजाका लड्डू बेच्ने नाङ्लो-पसलेभन्दा कम ठान्दै थिए । एम्.ए. हरू त कता कता बेपत्ता । पुष्टकारी त कम से कम गुलियो हुन्छ, भुजाका लड्डूको त कम से कम स्वाद मिठो हुन्छ तर पीएच. डी. त दिनदिनै तीतो तीतो नेपालमा, हैन, के भएको यो ?

अब युवा वर्ष बित्न आँटेको छ । यो कुरो सडकमा ठाउँ ठाउँमा टाँसिएका/उप्किएका पर्चा-पोष्टर र बोल्न, कान खान छोडेका माइकहरूका स्थितिबाट थाहा हुन्छ । तर युवा वर्गले धेरै गरेको छ । मूल्याङ्कन भविष्यले गर्छ ।

युवाका धेरै समस्या छन् । यौटो युवा वर्षले, एक वर्षे युवा वर्षले समाधान छैनन् । यिनै समस्याले पिरोलिएर अलिकति सुर्ती हत्केलामा राखेर त्यसमा मिलाउन चरेस खोज्न यसो गम्दागम्दै युवा वर्ष अस्ताउन लागेको सूर्य डाँडामाथि देखापर्‍यो । नेपालको युवा भएर अलिकति चरेसको स्वाद नलिँदै युवा वर्ष गयो। तापनि केही गर्न मन थाकेको छैन । विस्तारै चरेसका खोजीमा लाग्दै छु। युवा वर्षको जय मनाउँदै। जय युवा, जय अन्तर्राष्ट्रिय युवा वर्ष ।

०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x