चाेलेश्वर शर्माअन्तर्राष्ट्रिय युवा वर्ष
एम्.ए. हरू त कता कता बेपत्ता । पुष्टकारी त कम से कम गुलियो हुन्छ, भुजाका लड्डूको त कम से कम स्वाद मिठो हुन्छ तर पीएच. डी. त दिनदिनै तीतो तीतो नेपालमा, हैन, के भएको यो ?

चोलेश्वर शर्मा :
अठोट गरेको थिएँ- यस वर्ष म बूढाबूढीका कुरा गर्दिनँ, समस्या सुन्दिनँ । बालबालिकाको सात गर्दिनँ । म पनि यस वर्ष चालिस वर्षे राष्ट्रसङ्घझैँ चालिस वर्षे युवा भएको छु । अठोट गरेको छु – यस वर्ष खालि युवतीहरूको सङ्गत गर्छु । त्यसमा पनि अविवाहिता युवतीहरूलाई ग्राह्यता दिन्छु । किनभने ती ग्राह्यता र त्यसभन्दा बेसी निश्छल माया पाउनलायक हुन्छन् । अन्य युवकहरूलाई पनि युवतीहरू र युवतीहरूलाई युवकहरूको सङ्ङ्गत गर्न आह्वान गर्छ। यसो नगरी आपसी समझदारीका भावनाको विकास हुन्न र राष्ट्रसङ्घले यस वर्षलाई ‘अन्तर्राष्ट्रिय युवा वर्ष’ का रूपमा मनाउने कार्यक्रमको कुनै अर्थ रहन्न । आखिर भोलि त हाम्रै टाउकामाथि देशको भार आउँछ रे । हाम्रा हातपाखुरामा संसार रे । ब्रह्माण्ड रे ।
ढिलोचाँडो देशै बोक्नुपरेपछि-त्यसमा पनि जताततैबाट रूँ रूँ मात्र लाग्दो देश बोक्नु परेपछि- गम्भीरतापूर्वक सोच्नैपर्यो । सोचेँ- जुन स्त्रीहरू दश वर्षअघि पूणर् नारी भएर विभिन्न कार्यकलापमा रित्तो ब्यागझैँ आफूलाई हल्लाएर हिँड्नामा मस्त थिए- ती आज युवती भएका छन् युवा वर्षमा- भरिएका ब्यागझैँ । जुन पुरुषहरू दशबाह्र वर्षअघिदेखि प्रौढ वा वयस्क भएर प्रौढ वा वयस्क वा वृद्ध सङ्गठनका कुर्सी भाँचिरहेका थिए- तिनै युवा वर्षका युवा भएका छन् । र भोलि राष्ट्रसङ्घले फेरि अन्तर्राष्ट्रिय बाल वर्ष मनायो र खाजा वा चमेना बिस्कुट पौष्टिक आहार बनाएर बाँड्यो भने तिनै प्रौढ वा प्रौढाहरू लाइनमा बसेर हात थाप्नेमा सबभन्दा अघि हुनेछन्- शङ्का छैन । तपाईं हामीले थूक मात्र निल्नेछौँ । हामी नेपाली सके जन्मँदै वृद्ध भएर जन्मन्छौँ र क्रमशः प्रौढ, युवा, किशोर र बालक हुन्छौँ । केटाकेटीपन देखाउँछौँ । उल्टो रीतले । यस्तो नभए न हाम्रो प्यारो नेपाल विश्वगोलमा यतिन्जेल बेपत्ता हुन्थ्यो, न त हामीले भोलिको यो देश कुनै अर्काले आफ्नै सन्तान भए पनि- आजको युवा पुस्ताले सम्हाल्नेछ भनेर जान्दाजान्दै पनि मात्तिएर देशको प्राकृतिक स्रोत, अर्थतन्त्र, आचार-व्यवहार, नीति-इमान यतिसम्म भाँडिरहन्थ्यौँ । निर्लज्ज ।
राष्ट्रसङ्घका आह्वानमा मनाइन आँटेको ‘अन्तर्राष्ट्रिय युवा वर्ष’ भनेको युवा वर्ष नै भयो । यस वर्षले सबैलाई हित ग-याे । नगर्ने कुरै भएन । युवा वर्षले मामुली मूल्यका युवक-युवतीहरूलाई छोइनसक्नु गरायो वर्ष उनीहरूकै । यद्यपि ती युवा वर्षपछि टका सेर हुन्छन् भन्ने मेरो दृढविश्वास थियो । नेता-वक्ताहरूलाई बोलिनसक्नु गरायो वर्ष उनीहरूकै । ती वृद्ध वर्षमा बोल्थे अस्ति, हिजो नारी वर्षमा बोले, त्यही रीतिले तिनै कुरा आज युवा वर्षमा पनि बोल्दै छन् । आजका वृद्धका काँधमा ठूलो जिम्मेदारी रे अस्ति, आजका नारीहरूको समाजका विकासमा ठूलो योगदान रे हिजो, ठूलो भूमिका रे आमाको, शिक्षिका रे आमा । आज-आजका युवाका काँधमा देशको भार रे । देश पनि छ, काँध पनि छ । वृद्ध पनि छ, नारी पनि छे, युवा पनि छ । बोल्ने कुरा यत्ति । कुनै एउटाको गहन उत्तरदायित्व भनिदिन्छन् । काम तमाम । फेरि यो उत्तरदायित्व भन्ने भालुको कम्पट सधैँ रहि नै रहन्छ । यसलाई कतिले बोकेका छन्, कतिले वहन गरेका । कतिले निभाएका छन् बत्तीझैँ घ्याप्पै तर यो कहीँ जान्न । तिनले बोल्दा घरी घरी युवा वर्ष भन्ने ठाउँमा युवती वर्ष भनेबाहेक सबै ठिक भने । युवती वर्ष भनेर पनि खास गल्ती त गरेनन् । खालि आफ्नो रुचिको विषय युवती भएकोसम्म जनाए । ती विद्वान् हुन्, बुज्रुक हुन्, तिनले गलती कहिले गर्थे ।
युवा वर्षका सन्दर्भमा फेरि बिरूवा रोपिए । वर्तमान नेपालमा बिरूवाको नियति नै रोपिनु र एक रोपिए दुई उखेलिनु हो । संरक्षणको आवश्यकता पनि महसूस गरियो । यद्यपि संरक्षण गरिएनन् । सबै काम गर्दा एउटा नगरे पनि त हुन्छ । त्यो काम बालक वा वृद्धका धर्मराउँदा हातमा सुम्पिइयो । देश त सबैको हो । अनि बालकले केही नगरी पौष्टिक आहार मात्र पचाएर सुख पाउँछन् ? बूढाले घाम तापेर नस सुँघेर मात्र काम हुन्छ ? त्यसैले युवकले छाती खोलेर हिँडे । युवतीहरूलाई पनि छाती खोल्न जुन नाइलनको पातलो पारदर्शी पछ्यौरासरहको कसरमसर बाँकी थियो उडायो युवा वर्षको हावाले । “उडाई लग्यो पछ्यौरी मेरो… ” गुन्जिए मीठा तरङ्गहरूमा । माछापुच्छ्रेका शिखरमा लागिरहने पातलो कुहिरो उडायो हावाले । चम्कियो माछापुच्छ्रे आफ्ना दुई उन्नत धवल शिखरहरूमा । हेरिरहूँ अपलकझै ।
कम से कम राष्ट्रसङ्घको आह्वानले यति त राम्रो काम गर्यो । युवा रात्रि मनाइए । टेबुल ठटाइए-कामले । बियर-रक्सी खाइयो कामले । तर प्रौढहरूले खाएजति युवाहरूले खानै सकेनन् र मात्नै पनि सकेनन् त्यसले भोलिको नेपाल यिनले थाम्न त सक्छन् ? भन्ने कुराले सशङ्कित गरायो-पियक्कड बुज्रुकहरूलाई । टिल परेर पल्टिए पनि देशको पीडा त मुटुमै छ ।
सुखको कुरो, यस वर्ष अन्तर्राष्ट्रिय युवा वर्षको महत्त्वअनुरूप सडकमा सवारी दुर्घटना भएनन् । दुःखको कुरो, पैदल यात्रुहरूले कुनै रोमाञ्चक घटना वा नयनाभिराम दृश्यका आस्वादनको सौभाग्य पाएनन् । न त रहजनी नै भयो । नकबजनी सुन्नै पाइएन । त्यसो त घर पनि बलिया बन्न थाले । पाकेटमारीका एकदुई अति क्षुद्र घटना भए-ती सभ्य समाजका अभिन्न अङ्ग भएकाले ध्यान दिइएन । गाउँघरका बाटाघाटा निरापद भए । टोलटोलमा राष्ट्रिय संस्कृति र चरित्रअनुकूलका झगडा र तदनुकूल विशुद्ध नेपाली शास्त्रीय शैलीका गालीगलौज भएनन् । धेरै बालक र थोरै किशोरहरूले यिनबाट कुनै प्रेरणा पाउन सकेनन्-अवसरै रहेन । तिनले एकडेढ घण्टा लगाएर सडकछेउमा आची मात्र गर्ने काम भयो । वृद्धहरूले खोक्दै, युवा पुस्तालाई गाली गर्दै, ‘हाम्रा पालामा ……’ सम्झँदै पशुपति, गुह्येश्वरी, दक्षिणकाली, मनोकामना, विन्ध्यवासिनी, सत्यवती, बागेश्वरी पुकार्न पाएनन् । तिनलाई जिएको अर्थ लागेन । निराश भए । केवल एकदुई शय युवक-युवतीहरूलाई युवा वर्षअनुकूलको स्वच्छ आचरण-सडकमा एकअर्कालाई घोचपेच र छेडछाड गर्न खोजेका आरोपमा-पैदल दुर्घटनाअन्तर्गत प्रहरीले पत्रे । प्रहरी खटिइसकेपछि नपक्रनु पनि त भएन । तर अलिकति केही अन्तर्राष्ट्रिय प्रभाव परेका स्वनामधन्य युवक-युवतीहरू भने सडकका स्वल्प घोचपेच र छेडछाडबाट नअघाएर एक अर्काका घरघर गए-स्थायी रूपमा छेडछाड गर्न । पछि थाहा पाइयो, पतिपत्नी बनेरै रहे रे ती । शुभ होस् तिनलाई । तिनको दाम्पत्यलाई । तिनले जे गरे पनि प्रहरीले पक्रने भएन, घरभित्रै गर्ने भए । तर पनि युवावर्षअनुकूल, युवा हृदयका उमङ्ग र भावनाअनुकूल आचरण गर्ने युवालाई-बूढा-आफ्नो समय बिर्सिदिने, हृदयहीन तर कर्तव्यपरायण, विवेकी र कठोर प्रहरी, प्रशासक र विद्वान् माननीय न्यायाधीशहरूले दण्डित गरे- म साह्रै दुःखित छु । बूढाहरूले युवा हृदय के बुझून् ? असम्भव । असम्भव । कहिल्यै आउला कि बूढाहरूले युवा हृदयलाई बुझ्ने दिन पनि नेपालमा, हँ ?
युवा वर्षमा निबन्ध प्रतियोगिता गरिए । युवा वर्ष र निबन्ध वा कविता-काव्यको सङ्गति कहाँनेर छ म घोरिँदै छु । तापनि जति निबन्ध वा अन्य रचना लेखिए/लेखाइए, सुनिए/सुनाइए-आफ्नै मन र मस्तिष्कका भए साहै ठूलो कुरो हो । अर्काकै भए पनि केही छैन, त्यो साहित्य हो । र त्यसले देशको हित गर्छ । आलोचकहरूले काम पाउँछन् । पाठकले पनि सरकार, जनता, मन्त्री र गरिबीलाई कोसेर बाँकी रहेको समय र मुखको तीतो ओकल्न पाउँछन् । त्यसैलाई प्रकाशकले किताब भनेर छपाउँछन् र पुस्तक पसलेले नबिकेका ती किताबको धूलो ठटाउँदै लेखक र पाठकलाई चोरलाई भन्दा पनि तल्लो स्तरको गाली गर्छन् । यस प्रकार युवा वर्षको साहित्यिक क्रियाकलापमा सबैको समानुपातिक योगदान रहन्छ । त्यस्तै भयो ।
यसै वर्ष युवाले अलिकति रङ्गमञ्चका कार्यक्रम पनि प्रस्तुत गरे । शय दुईशय रुपैयाँ दरका टिकट पनि सजिलै बेचे । प्रदर्शनपछि रकमको बन्दरबाँडमा चित्त नबुझ्नेहरूले आफ्ना साथीका एकदुई बङ्गारा जाँचेबाहेक सबै सुन्दर अति सुन्दर गरे । महोत्सव मनाए। ब्याज वितरण गरे । यालीमा हिँडे । छातीमा ब्याज टाँसेर गाउँ-बजार-शहर घुमे । क्याम्पसमा पढे । पढाए । अलिकति ब्लू फिल्मतिर पनि आँखा लगाए । आँखा त तिनले पूरै लगाउँदा हुन् तर आफूपछाडि आफ्ना सभ्य र परम पूज्य/पूज्या पितामाता देखेपछि तिनको मनोकाङ्क्षा पूणर् हुन पाएन । हंश नै मानसरोवरतिर उड्लाझै भयो । झोकले बाहिर निस्केर अलिकति हेरोइन चाखे । थोरै दिन पंक्स् बन्ने तालीममा जुटे। केहीले मड्समा पनि नाम लेखाए । एक वर्षको अवधि कति पो हुन्छ र ? त्यस अल्प अवधिमा पनि नेपाली अनुशासित युवाले जेजति गरे, त्यो प्रशंसनीय छ, स्मरणीय छ, उदाहरणीय छ ।
यसै वर्ष युवा वर्गले सामाजिक क्षेत्रका विभिन्न कार्यकलापले भविष्यका योग्य र सक्षम नागरिक बन्ने मार्ग प्रशस्त गर्यो । नगर-ग्राम सफाइ अभियान आयोजना गरिए । रक्तदान कार्यक्रम आयोजित भयो । प्लाष्टिकका कूचा बोकेर सुटटाईमा वा मयलपोस सुरुवालमा युवा सफाइ अभियानमा जुटे । यसमा धेरै मानिस हाँसे । हाँस्नुपर्ने कारण के छ ? नेपालीलाई-कुरो न कुराको बाबु-हाँस्नै पाए पुग्छ । तिमीसँग मयलपोससुरुवाल छ सुटटाई छ जसरी लगाऊ – तिम्रो खुसी । अफिस जाँदा वा बिहे वा भोजभतेर वा मावली-ससुराली वा सभा-समारोहमा जाँदा मात्र लगाउनुपर्छ भन्ने सोच सङ्कीणर् हो । अमेरिकी-रूसी किसान ह्याट-प्यान्टमा घोडा चढेर भेडा-गाई चराउँछन् । चिनी किसान माओ कोट र प्यान्टमा खर्पनमा धानको बीउ बोकेर खेतमा कुछ । हिलामा । बर्मेलीले लूँगी लगाएरै जोत्छ । नेपाल-भारतमा धोती लगाएर जे गर्न पनि हुन्छ । घोती नलगाएर गर्न मिल्ने काम बरू धेरै होओइनन् । अरू ठाउँमा लुगाले काम रोक्तैन । नेपालमा रोक्छ । र मयलपोसधारी वा सुटेड-बुटेड नेपालीले काम गर्दैन, कुरा मात्र गर्छ भन्ने धारणा छ । जे होस्-प्लास्टिकको कूचो लिएर सुट लगाएर पनि त सकिन्छ सडक बढार्न। युवा वर्षमा यस्ता काम सबैलाई प्रेरणादायक पनि हुन्छन् । आखिर युवा-चरित्रमा धूलोमैलो र कलङ्क नलागेकै हुनुपर्छ । युगै मिस्टर क्लीनको छ । यस्ता अवसरमा फोटो अनिवार्य हुन्छ । हातमा कूचो, चेहरामा मुस्कान, शरीरमा सुट । कामभन्दा पछिसम्म त फोटो नै अलबममा सुरक्षित रहन्छन् । र आगामी सन्ततिले फोटोबाट नै प्रेरणा पाउँछन् ।
युवाले आपसी झैँझगडामा रगत बगाउनुभन्दा अस्पताल र विभिन्न सङ्घ-संस्थाहरूका लागि रक्तदान गरे । प्रदर्शनी आयोजना गरिए । युवा वर्षअनुरूप तिनमा विभिन्न मनोरञ्जक र ज्ञानवर्द्धक सामग्रीहरू प्रदर्शित गरिए । बिङ्गो, तारो हान्ने, भिडियो, टि.भी., फिल्म-फोटो युवा वर्षका प्रदर्शन सामग्री भए। पछि प्रदर्शनीमा सङ्कलित रकमले रमाइलो वातावरणमा वनभोज आयोजना गरियो । वनभोज पनि युवा वर्षको प्रमुख आकर्षण रह्यो । त्यसमा विभिन्न सरकारी र समाजका अन्य विभिन्न क्षेत्रका गण्यमान्य व्यक्ति भएसम्म श्रीमतीसहित उपस्थित भए । नभएका कसैकसैले सरसापट गरेर पनि काम चलाए । यसरी युवा वर्ष विभिन्न कार्यकलापले युक्त रह्यो ।
सबभन्दा अनौठो कुरो, युवा वर्षमा युवकले पढे-पढाए । त्यस बेला विद्यार्थीबाट एकदुई शिक्षक र शिक्षकबाट पाँचदश विद्यार्थी पिटिएका शाश्वत मनोरञ्जनपूर्ण र ज्ञानवर्धक तथा शिक्षक-विद्यार्थीका प्रगाढ र अटूट सम्बन्ध देखाउने कार्यकलाप पनि प्रस्तुत भए । यो युवा वर्षको उल्लेखनीय कार्यकलाप र उपलब्धि पनि रह्यो । यो देख्दा यही शिक्षित, मर्यादित एवं अनुशासित युवा वर्ग नै देशको भावी कणर्धार हो भन्ने कुरा निणर्य गर्न कत्ति हम्मे परेन । यद्यपि ई. १९८५ तिर नेपालमा सबभन्दा वाहियात र नमज्जाको कुरो पढ्नु र पढाउनु भैसकेको थियो । पढ्नु, पढाउनु-मेहनतको, धनको, राष्ट्रिय चरित्रको, सोचको, व्यावहारिकताको अपव्यय र विपरीत मात्र थियो। अनि धेरै पीएच्. डी. धारीहरूले आफ्नो हैसियत रत्नपार्कका भेली मार्का पुष्टकारी वा भुजाका लड्डू बेच्ने नाङ्लो-पसलेभन्दा कम ठान्दै थिए । एम्.ए. हरू त कता कता बेपत्ता । पुष्टकारी त कम से कम गुलियो हुन्छ, भुजाका लड्डूको त कम से कम स्वाद मिठो हुन्छ तर पीएच. डी. त दिनदिनै तीतो तीतो नेपालमा, हैन, के भएको यो ?
अब युवा वर्ष बित्न आँटेको छ । यो कुरो सडकमा ठाउँ ठाउँमा टाँसिएका/उप्किएका पर्चा-पोष्टर र बोल्न, कान खान छोडेका माइकहरूका स्थितिबाट थाहा हुन्छ । तर युवा वर्गले धेरै गरेको छ । मूल्याङ्कन भविष्यले गर्छ ।
युवाका धेरै समस्या छन् । यौटो युवा वर्षले, एक वर्षे युवा वर्षले समाधान छैनन् । यिनै समस्याले पिरोलिएर अलिकति सुर्ती हत्केलामा राखेर त्यसमा मिलाउन चरेस खोज्न यसो गम्दागम्दै युवा वर्ष अस्ताउन लागेको सूर्य डाँडामाथि देखापर्यो । नेपालको युवा भएर अलिकति चरेसको स्वाद नलिँदै युवा वर्ष गयो। तापनि केही गर्न मन थाकेको छैन । विस्तारै चरेसका खोजीमा लाग्दै छु। युवा वर्षको जय मनाउँदै। जय युवा, जय अन्तर्राष्ट्रिय युवा वर्ष ।
०००
पाल्पा
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)
Subscribe
Login
0 Comments
Oldest







































