साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली साहित्यमा शर्माहरू

काठमाडौं उपत्यकाबाहिर रहेर साहित्यमा लाग्ने जोखिम उठाउनु उसको खूबी हो र कमजोरी पनि । दिउँसो शीतलपाटी डुल्नु, साँझ भैरहवामा रमाउनु अनि यति मोटो मन्सुलीका मदतले नेपाली साहित्यमा भाँडभैलो मच्चाउने जुक्ति सोच्नु अनि नियति हो ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

पहिले शर्माहरू हुन्छन्, त्यसपछि साहित्य हुन्छ वा पहिले साहित्य हुन्छ, त्यसपछि शर्माहरू हुन्छन् भन्ने प्रश्न “पहिले कुखुरो हुन्छ वा कुखुराको फुल ?” भनेजस्तो जटिल छ । तर देश भएपछि साहित्य हुन्छ भन्ने कुरो त्यति जटिल छैन । साहित्य भइसकेपछि कुखुरो वा कुखुराको फुल वा कुखुराको मासु कुन पहिले भन्ने विचार रहँदैन । किनभने साहित्यकारको काम कुखुरो होस् वा त्यसको मासु वा फुल खानु र साहित्य कोरल्नु हो । कुखुरो आफैमा साहित्य हो । त्यसो त नेपाली साहित्यकारले प्रायः पुकार, राधा वा जाफरानीले नै काम चलाउँदै छन् । उत्कृष्ट साहित्य दिइरहेछन् । तापनि हामीले सधैँ चुरोट, सुपारी, खैनी, चिया-साहित्यमा रमाउन छोडेर कुखुरो वा कुखुराका मासुतिर स्तर बढाउनुपर्छ । साहित्य सधैँ उही स्तरमा रहँदैन पनि । साहित्य वा साहित्यकारभन्दा ठूला कुखुरा वा कुखुराका फुल वा खसी-बँदेल होइनन् । तर नेपालमा धेरैले खसी-बँदेललाई साहित्य ठानिरहेका छन् ।

हाम्रो देश नेपालमा साहित्य भनिसकेपछि त्यसको महत्त्व आदिका बारेमा मानिसले प्रश्न गर्न छोडिसकेका छन् । तिनले फुर्सद हुनेहरूले, काम नपाउनेहरूले गर्ने काम हो यो भन्ने निश्चित धारणा बनाएका छन् । यथार्थ । ती साहित्यकारका स्वभाव, पेशा र कमाइबारे परिचित छन् । एउटै समाजमा बसेपछि एक अर्कासँग परिचित हुनु जरुरी पनि छ । विनापरिचय एक अर्कालाई गाली गर्न अप्ठ्यारो हुन्छ । खास आनन्द पनि आउन्न ।

साहित्य भनिसकेपछि त्यसमा साहित्यकारको योगदान हुन्छ । जस्तो, हामी सबैलाई थाहा छ नेपाली साहित्यमा विशिष्ट योगदान गर्नेहरू भएका धेरैले एकदुई सयदेखि एकदुई लाखका पुरस्कार खाइसके । नेपालमा लगातार रूपमा स्थापित साहित्यिक पुरस्कारहरू हेर्दा खाने मान्छेको अकाल पर्ला भन्ने डर छ । धेरै योगदान गर्नेहरूले साहित्यिक प्रतिष्ठानहरू सुशोभित पारेका छन् । तिनले कुन प्रशासनिक नियम र सूत्रले साहित्यको विकास हुन्छ भन्ने सोच्तै छन् । आगामी बिसपच्चिस वर्षभित्रै तिनका नियम र सूत्रका ठेली तपाईं हाम्रासामु आउनेछन् । यिनै विशेषताले युक्त नेपाली साहित्यमा शर्माहरूका सम्बन्धमा दुई शब्द लेख्न आँटेको छु ।

नेपाली साहित्यमा शर्माहरूका योगदानबारे लेख्नुअघि शर्माका सम्बन्धमा केही भनूँ । जसमा शर्म छ, जसमा लाज छ ती शर्मा हुन् । शर्मा बेशर्म होइनन् । अनि जुन साहित्यले आश्रय दिन्छ, प्रसन्नता दिन्छ, आनन्द दिन्छ, खुसी दिन्छ त्यही शर्मा साहित्य हो। शर्मा भन्नु नै प्रसन्नता हो, आनन्द हो, खुसी हो, आशीर्वचन हो । शर्माबारे मेरा यी सत्य वचनलाई अविश्वास गरी कुनै साहित्यप्रेमी महानुभाव नेपाली शब्दकोशमा शर्मा शब्दको अर्थ खोज्न जान बेर छैन । तर जसले विश्वसाहित्यका अधि नेपाली साहित्य र साहित्यकारका इज्जत, आबरु, लाज, शर्म, प्रतिष्ठा र नाक जोगाइराखेका छन् ती शर्मा हुन् । यथार्थमा, नेपाली साहित्यको सार भन्नु नै शर्मा साहित्य हो ।

नेपाली साहित्यका शर्माहरूको पुर्ख्याैली थलो र पुर्खाहरूका बारेमा धेरै किंवदन्ती पाइन्छन् । ‘असम्भाव्यचिन्ता परिणाम’ का सोम शर्मा प्रातः स्मरणीय शर्मा हुन् । आफ्ना घरआँगन, तबेला र गाईगोठमा प्रशस्त कल्पना पाल्थे उनले । उनको कल्पनाशीलता आजभोलिका शर्मा वा शर्माइतर साहित्यकारमा पाइन्छ पाइन्न अनुसन्धानको विषय हो । मेरा विचारमा पाइन्न ।

नेपालमा शर्मा तत्त्व बहुतै कम पाइन्छ । नेपालका दुई करोड साहित्यकारमा शर्माहरू कम छन् । दुर्लभ जन्तु । यसका लागि नेपालको हावापानी जिम्मेदार छ । र मेरा क्षुद्र विचारमा हावापानीले जतिसुकै अपराध गरोस्, त्यसलाई न कुनै स्पष्टीकरण माग्न सकिन्छ न त कुनै कारबाही नै गर्न सकिन्छ । कारबाही गरि नै हाले पनि जेल हाल्ने कुरा त गर्न सकिन्न । अर्को जिम्मेदार तत्त्व सगरमाथा हो। यस गरिब देशमा जहाँ पाँचफुटे मान्छेको टाउको घरका छानामा ठोकिन्छ, त्यस सगरमाथालाई कसैलाई नसोधी किन ठडिनुपरेको त्यतिविधि अग्लिएर ? सगरमाथालाई पनि संसारले चिनेको छ, देखेको छ । तपाईंले आलुमूलाझै अचारतरकारी बनाएर खान सक्नुहुन्न, पोलेर-मिचेर छोयला-कचिला खान पनि सक्नुहुन्न, न उखेल्न नै सक्नुहुन्छ । त्यसले गर्दा नेपाली साहित्यको लाज-शर्मको रक्षा गर्न गाह्रो परिरहेको छ । नेपालका हावापानी र सगरमाथाका कारणले नेपाली साहित्य प्रभावित भइरहेको छ । यो गम्भीर कुरो हो । साहित्यको समुचित विकासका लागि कुनै हावापानी, भूगोल, इतिहास वा राजनीतिशास्त्र नभएको देश चाहिन्छ ।

शर्मा साहित्यको श्रीगणेश वसन्त शर्माबाट हुन्छ । यद्यपि वसन्त शर्माले कुन टेलर्सले सिलाएको प्यान्ट लगाउँथे र कुन गीत-सङ्गीत मन पराउँथे भन्ने कुरो अझै खोजीको विषय छ तर पनि उनी बहादुर बाबुका छोरा थिए भन्ने निश्चित छ । झन्डै दुई सय वर्षअघि साहित्यतिर चाख देखाए । श्रीकृष्णचरित्र र अन्य धार्मिक/भक्ति काव्य लेख्थे तर आँखा राम्रा गोपिनीहरूतिर बढी लगाउँथे । जहाँ कृष्ण तहाँ गोपिनी । भक्ति काव्यमा लाग्दैमा गोपिनी वा सुन्दरी युवतीहरूलाई नहेर्नू भन्ने त छैन । हिजो पनि थिएन । उनी नेपाली साहित्यमा वसन्त नामको ऋतु भित्र्याउने साहित्यकार हुन् । उनकै कारण नेपालमा जो हेर्‍यो उही वसन्त छ । जता हेर्‍यो उतै वसन्त छ । उनी नभए काठमाडौं उपत्यकाका गोकर्ण र बालाजुदेखि पाल्पाका श्रीनगरसम्मका रमझम फिका हुन्थे । वसन्त आउनु भनेको नेपालमा ऋतु-परिवर्तन हुनु हो । जाडामा भन्दा चैत्र-वैशाखमा बढी बियर बिक्छ, वसन्तकै कारण । वसन्त नआएको भए ग्रीष्म, वर्षा र शरद् आउनै पाउँदैनथे । लेखनाथले ऋतु-विचार लेख्नै सक्तैनथे । यो नभए नेपाली कविताको आधुनिक काल कसरी, कहिले आउँदो हो ? नाम वसन्त भएपछि उनले विदेशबाट कतिपटक कति थान वसन्त भित्र्याए भन्नै गाह्रो छ । कति वसन्त उनले शरीरका भित्री भागमा, जुत्तामा र सुटकेसका फल्स बटममा लुकाएर ल्याए। उनकै उद्योगले नेपालको इलाममा वसन्त आउँदा बैतडीमा पनि आउँछ । अझै उनले मोजामा लुकाएर वसन्त ल्याउनै पाएनन् । सके उनले मोजै लगाउँदैनथे । उनले मोजा लगाएको वणर्न, प्रमाण नेपालीमा पाइएको छैन । भानुभक्तका फुटकर कवितामा पनि मैले त्यो पाएको छैन, रामायणमा के कसो छ, मैले पूरा पढिसकेको छैन । “खेलोजी शकुनि । युधिष्ठिरजि से” जस्ता प्रयोगले उनी नेपाली भाषामा नेपालीभन्दा हिन्दी बढी प्रयोग गर्ने आजका राष्ट्रभाषा-प्रेमी झर्रोवादी नेपालीका पितामह हुन् । आज नेपालमा अङ्ग्रेजीको जस्तो सम्मानित स्थान छ, उनका बेला हिन्दीको थियो । उनका कविताले यही बोल्छन् । रसिक थिए कविताका । गोपिनीहरूका । आजका माधुरी दीक्षितले गाउनेभन्दा बढी गीत गाउँथे ‘चोली के पीछे’ । एउटा ‘चोली के पीछे’ आउँदा नेपाल-भारतका फिल्मीगीतप्रेमी बेहोश छन् । यस्ता पीछे त कति रचे, गाए । हिजोका मोतीरामदेखि आजका मनीषासम्म उनकै प्रभावमा छन् ।

अर्का शर्मा मोतीराम भट्ट हुन् । जम्मा तिस वर्षमा सय वर्षको जीवनको रस भोगेर गए । उपलब्धिपूणर् । ‘मोती-मण्डली’ स्थापना गरेर संस्थागत रूपमा साहित्य सिर्जना गर्ने परिपाटी उनले बसाए भनिन्छ तर यथार्थमा ‘मोती-मण्डली’ साहित्यमा गुट उपगुट कसरी बनाउने भन्ने सोचको स्कूल थियो । त्यस सोचका आदि-चिन्तक, प्रेरक उनै थिए । उनले त्यसरी गुट-उपगुटको प्रेरणा नदिएका भए आज नेपाली साहित्य यति विकसित हुँदैनथ्यो । यो कुरो आजसम्म धेरैलाई थाहा छैन । उनी पनि रसिक थिए । त्यस बेला देशमा झ्यालहरू कम थिए, झ्यालखानाहरू धेरै । सुन्दरीहरू झन् कम थिए । आजभोलिजस्तो जुत्ता र जीनका भरमा कुनै युवती सुन्दरी हुन्नथी । खास कुरा हुनुपर्थ्यो । ‘झ्याल्ल्याम् परी पश्यताम्’ जस्ता उच्चकोटीका कविता लेखे । सय वर्षअघिको उनको “कनकझै तन यो बिसको भनूँ” कविताका नक्कलमा अहिले ‘१९४२ अ लव स्टोरी’को “एक लडकी को देखा तो ऐसा लगा “ जस्तो हलचल मचाउने गीत बन्यो। हिट भयो । उनका पालामा हिट-फिट थिएन । ठोक्-मुङ्ग्री थियो । यसैबाट शर्मा साहित्य कति अघि छ भन्ने थाहा हुन्छ । साहित्यमा शर्माहरूले आज जे सोच्छन्, अरुले त्यो सय वर्षपछि सोच्छन् ।

धरणीधर राणाकालका कठोर दिनमा मस्तसँग निदाउने नेपालीलाई जगाउन साहित्यको शङ्खघोष गर्ने शर्मा हुन् । उनले नेपालीको सुतुवा प्रवृत्तिसँग हैरान भई संसार छाडे । नत्र १००-१५० वर्ष सजिलै बाँच्थे । अझै के के हुन्थ्यो । साहित्यलाई ‘नैवेद्य’ ठानेर खाने परिपाटी उनकै योगदान हो । मानिस जगाउने साहित्य लेख्थे । कुखुराले पनि मानिस जगाउने काम गर्छ । उनकै शेषपछि साहित्य र कुखुरा पर्यायवाची हुन गएका हुन् । अरू कुनै नेपाली साहित्यकार मात्र होइन, रवीन्द्र र तल्स्तोइजस्ता विश्वसाहित्यका महारथीहरूभन्दा शर्माहरू साहित्य र दाह्रीमा पनि कम छैनन् भन्ने अनुभव उनैले गराए । उनका साहित्य र दाह्री दुवै नेपाली साहित्यका अमूल्य निधि हुन् । उनको साहित्य त सुरक्षित छ तर वाही फोटोमा मात्र सुरक्षित रह्यो । मेरा विचारमा उनको साहित्यभन्दा दाह्री सुरक्षित रहनुपथ्र्यो ।

बालचन्द्र शर्मा धुरन्धर शर्मा साहित्यकार हुन् । पुराना रचना र रचनाकारको धूलो टकटक्याउँदै रोयल नेपाल एकेडेमीका भाइस चान्सलर भए । भाइस-चान्सलरहरूले अर्काका निर्देशनमा खटनपटन गर्छन् । भाइस हुनाको नियति नै यही हो । भाइस हुनाको मजा नै यही हो । भाइसहरू सफा सोफामा बस्छन्, दशबिसपटक चिया-कफी गर्छन् र टाउको थिचेर फाइलमा घोरिन्छन् “मैले के के गर्नुपऱ्या छ ?” साँचो रूपमा उनी नै नेपाली साहित्यका प्रथम मठाधीश हुन् । आजको राजकीय प्रज्ञा-प्रतिष्ठान वा अन्य कुनै साहित्यिक सङ्घसंस्थालाई विशुद्ध नेपाली शैलीका प्रशासनिक अड्डाका रूपमा विकसित गराई दशपाँचभित्रका आयल-गयल, टिप्पणी, तोक र आदेश-निर्देशका सिंहदरबारिया शैलीमा चलाउन प्रेरणा दिने उनी महान् छन् । यहींबाट साहित्यिक मठ-मन्दिर कब्जा गरी असाहित्यिक छन्दले चलाउने प्रवृत्ति देखापर्‍यो । उनले फुर्सद पाउँदा नेपालमा बसेर नेपाली साहित्य र फुर्सद नपाउँदा काशीका दूध बिनायकमा बसेर नेपालको इतिहास कोर्थे । त्यसैले उनको ‘नेपालको ऐतिहासिक रूपरेखा’ मा बनारसी पानको सुगन्ध र स्वाद पाइन्छ र पाइन्छ लस्सी, ठंढाई र भाङको मजा । अवसर पाउँदा कूटनीतिक/राजनीतिक सेवातर्फ पनि आँखा लगाउँथे । एउटै व्यक्ति मन्त्री, उपकुलपति र राजदूत हुन सक्ने खूबी बालचन्द्र शर्मामा थियो । उनी दुईचार वर्ष बाँचेका भए एकैसाथ यी तीनै पदमा कार्यरत रहन्थे । शङ्का छैन । त्यसले पनि उनी शर्मा एक र शर्माइतर तीन पहलवान बराबर हुन्छन् भन्ने कुराका प्रमाण हुन् ।

वासुदेव शर्मा नेपालीका उदारमना साहित्यकार हुन् । छातीमा रौं भएका । उनी शर्मा परिवारका कणर् हुन् । अनेक नामले साहित्यका विविध फाँटमा चहार्ने गर्छन् । पैसाको उपयोग घर-घडेरी र रक्सीबाहेक केही नदेख्ने धेरै राजधानीवासीका आँखामा दुई पुस्तालाई रक्सी खान पुग्ने पैसा साहित्यका नाममा खेर फाल्ने उनी मूर्ख हुन् । मूल्याङ्कन हो आफ्नो आफ्नो ।

अर्का शर्मा रामकृष्ण हुन् । न्यायका तराजु समाउने उनले आफ्ना समालोचनाले बाहिरी भाषा-साहित्यका प्रभावमा नेपालीमा लेख्ने प्रवृत्तिलाई औँलो ठड्याए । कलकत्ता बसेर न्याय र माछाका परिकारतर्फ विशेष ध्यान दिए पनि नेपाली ‘गजाधर सोतीकी घरबूढीका पक्षमा’ त्यति उभिए जति गजाधर सोती बूढा जीवनभर आफै सकेनन् । नेपाली साहित्यमा सम, देवकोटा र धरणीधरजस्ता प्रतिष्ठित र आफ्नै कुलका ठूला माछालाई पनि बल्छी हाल्ने शर्मा बङ्गालका माछाका टाउका र नेपाली साहित्यकारलाई एउटै दृष्टिले हेर्थे भनिन्छ । यही प्रवृत्ति सन्तुलित र समदर्शी पनि हो । यसको अभाव आजभोलि खट्किँदो छ ।

श्यामप्रसाद शर्मा नेपाली साहित्यका अर्का महारथी हुन् । धेरै समय उनी श्याल-आलु-पिँडालुझैँ भूमिगत रहे । उनी कन्दमूल किसिमका साहित्यकार हुन् । भूमिगत रहे पनि भुइँफट्टाझैँ प्रकट हुँदा आफ्ना रचनाले नेपाली साहित्यलाई धनी तुल्याए । नेपालमा कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न भूमिगत रहनु अनिवार्य छ भन्ने उदाहरण उनले सम्पूणर् नेपाली खास गरी भूमिगत शब्द सुन्नेबित्तिकै बेहोश हुने नेपालीलाई दिए । भूमिगत हुनु भनेको नेपालका नागरिकले गर्न सक्ने सबभन्दा ठूलो पराक्रम हो । चाहे त्यो जुनसुकै कारणले होस् । यी शर्माले छापामार टाइपको साहित्य लेख्छन् । उनको ‘लेखक कसरी बन्ने ?’ भन्ने पुस्तक पढेर नेपालका धेरै प्रौढ/प्रौढाहरू साहित्यकार भए । त्यस पुस्तकलाई उनीहरूले ठूलो वणर्मालासरह पढे । चोलेश्वर पनि तिनमा एक हो । ‘आइमाई साथी’ बनाउन उनी आजभोलि ‘उनी कति राम्री ?’ भनेर आइमाईका पछि लागेका छन् । ‘चाउ नेपाल आउँदा’ हात जोडेर उभिनेहरूमा उनी पनि थिए । उनका अगाडि चीनका कुरा कसैले गर्नैपर्दैन । उनी शर्मा साहित्यका चीन विभागीय प्रमुख हुन् ।

डा. तारानाथ शर्मा युवावस्थामा आफ्ना रचनाका माध्यमले आगाका फिलिङ्गाजस्ता भएर परिचित रहे । झर्रा नेपाली हुन् । बाहिरी रूपमा हेर्दा कठोर र निर्मम देखिए पनि भित्र नरम र सहृदय छन् । डाक्टर भए पनि सुई नलगाउने खालका हुन् । चर्चा र विवादमा रमाउने गर्छन् भनेर उनका विरोधीहरूले धेरै घाँटी सुकाए । घुमन्ते वृत्ति लिएका । ‘बेलाइततिर बरालिँदा’ र ‘पाताल प्रवास’ जस्ताले पनि चर्चित रहेका हुन् । आफ्ना समालोचनाका हतियारले धेरै नेपाली साहित्यकार र कृतिका शिकार गरे। कतिले उनकै कारण साहित्यका जङ्गल छोडेर भागेको पनि थाहा भएको छ । साहित्य रचना उनका बायाँ हातको खेल हो । दुवै हातले कलम चलाउँछन् । आफ्ना दायाँ हातले प्रशंसा साहित्य र वायाँ हातले निन्दा लेख्छन् भनेर साहित्यका क्षेत्रमा लाग्ने व्यापारीहरूले कानेखुसी गरेको सुनिन्छ । यस्ता शर्मा साहित्यमा बाहेक बाहिर उस्तो पाइन्नन् । ‘सुली’ जस्तो उत्कृष्ट उपन्यास लेखे । उनका रचना र उनलाई समेत पेटभरि गाली गर्नेहरूले रातमा जागेर र स्वास्नी/लोग्नेलाई ढाँटेर ‘सुली’ पढ्ने गर्छन् । तारानाथ शर्मा भनेपछि नेपाली साहित्यका धेरै पाठकलाई गर्मीको आइसक्रीम । मनै रमाउने स्वाद। कतिपयका लागि उनी सिस्नु हुन् । उनको ‘सुली’ अलवर्ती मोरावियाको ‘रोमकी रमणी’ भन्दा उच्चकोटिको उपन्यास मानिन्छ । यसका तुलनाको रचना भारतीय उपमहाद्वीपमा छैन, नेपालीमा कुरै नगरौँ – भन्छन् समालोचकहरू ।

घटोत्कच शर्मा साहित्य र पत्रकारिता फाँटका महाबली हुन् । व्यङ्ग्यका गदा र वज्रले शत्रुसैन्य स्वाहा पार्छन् । गोरखापत्रका हातामा प्रवेश गर्दा मुड्की मात्र लिएर जान्छन् । त्यहाँ हातहतियारसहित प्रवेश गर्न निषेध छ । यिनकै पराक्रमले शर्माहरूलाई कसैले हेप्न सक्तैन । गोरखापत्रमा रहेसम्म ‘चिन्तनको चौतारी’ मा रमाउने यिनी पत्रकारितामा हात र साहित्यमा व्यङ्ग्यका लात चलाउने गर्छन् । यिनमाथि अरूले हात र लात चलाएको थाहा भएको छैन। कदाचित् यस्तो दुर्घटना भैहाले अरूले थाहा पाइरहनु पनि ठिक छैन । हात र लात हाम्रो सामान्य नियमित जीवनपद्धतिका अङ्ग हुन् । र अर्काका व्यक्तिगत मामलामा चासो राख्नु बुद्धिमानी पनि होइन ।

मोहनराज शर्मा नेपाली साहित्यका शैली हुन् । उनी झप्पुसिं खालका छन् । डबल एम्. ए. हुन् । उनमा सोम शर्माका परम्पराको कल्पनाशीलता पाइन्छ । ‘बैकुण्ठ एक्सप्रेस’ के लेखेथे मदन पुरस्कार गुठीले हत्तपत्त पुरस्कार थमाइदियो । चर्चा नै हुन पाएन । गुठीका निणर्ायकहरूले बुझेर पुरस्कृत गर्नु भए पुग्यो, अरूले बुझ्नु परेन । लेखकले स्वयं बुझ्नुभएको छ, मलाई विश्वास छ । यो किन भन्नुपरेको भन्दा नेपालीका धेरै साहित्यकार आफैले नबुझ्ने लेखेर आफू धनी भए र साहित्यलाई पनि धनी बनाए । शर्मा साहित्यको यही एक विशेषता के छ भने कुनै पनि लेखक आफ्ना रचना आफै नबुझ्ने छैनन् । म विश्वासपूर्वक भन्न सक्छु । साहित्यकार भइसकेपछि साहित्यलाई धनी बनाउनुपर्छ । एक शर्माले साहित्यको भण्डार कतिसम्म भर्न सक्छ-त्यसका उदाहरण हुन् उनी । नेपाली साहित्यको अत्याधुनिक प्रवृत्ति थाहा पाउन उनको एक रचना पढे पुग्छ। निबन्ध, समालोचना, नाटक, कथा । अरु शर्माहरूका रचना पढनै पर्दैन । ‘बैकुण्ठ एक्सप्रेस’ चलाइसकेका हुनाले उनी शर्मा साहित्यका यातायात क्षेत्रका प्रभारी हुन् । नेपाली साहित्य कुन गतिमा छ र कुन गतिमा कुदाउनुपर्छ, उनैले ठम्याउँछन् । कदाचित् तपाईंहरूलाई बैकुण्ठ यात्राको कामना भए उनीसँग सम्पर्क गर्नुभए हुन्छ । उनले लिफ्ट दिन्छन् ।

बेन्जु, कुन्ता र शारदा शर्माका नाम मात्र पनि उल्लेख गर्नु के कारणले महत्त्वपूर्ण छ भने शर्माहरू पुरुष मात्र होइनन्, नारी पनि छन् । यो सहजै अनुमान गर्न सकिने कुरो हो । घरभित्र मात्र होइन, लेखनमा, साहित्यमा सक्रिय हुनु र कुनै पनि पुरुषसरह अझै पुरुषहरूभन्दा बढी क्रियाशील रहनु यिनका प्रवृत्ति हुन् । यद्यपि कति शर्मा कुलभूषण नारीहरू यस पृथ्वीमा अवतरित भएदेखि कुरा गर्न थालेका हुन्, यिनका कुरा अझै सकिएका छैनन् । यो रचना पूरा हुँदासम्म सकिन्नन् पनि । यी पुरुषहरूझैँ साहित्यमा सक्रिय रहे पनि परापूर्वकालदेखि प्रकृतिले दिएको नारीसुलभ उत्तरदायित्व पूरापूर वहन गर्छन् । शर्मा कुलका नारीहरूको स्थिति कति उच्च छ, त्यसका यी प्रमाण हुन् ।

नेपाली साहित्यका शर्माहरूमा योगदानका हिसाबले चोलेश्वर कान्छो शर्मा हो । ऊ अलि मताहा किसिमको छ । उसको उल्लेखनीय योगदान के हो भने यस नाउँको अर्को व्यक्ति नेपाली साहित्यमा आएको छैन र उसले आफूसँग भएको जम्मा एउटो नाम जो हो त्यही दिएको छ साहित्यलाई । अर्को चोलेश्वर नेपाली साहित्यमा छैन, त्यसैले यसलाई नचाहेर पनि अद्वितीय मान्नैपर्छ । केही नलेखेर पनि लेखेको हल्ला गर्नु उसको प्रमुख दिनचर्या हो । त्यसै पनि यही प्रवृत्ति समसामयिक नेपाली साहित्यको मूल प्रवृत्ति हो । अरूलाई नगन्ने गुण र अहंभावजस्ता मानव चरित्रका आवश्यक पक्षका विकासमा नेपाली साहित्यमा उसको ठूलो योगदान छ । काठमाडौं उपत्यकाबाहिर रहेर साहित्यमा लाग्ने जोखिम उठाउनु उसको खूबी हो र कमजोरी पनि । दिउँसो शीतलपाटी डुल्नु, साँझ भैरहवामा रमाउनु अनि यति मोटो मन्सुलीका मदतले नेपाली साहित्यमा भाँडभैलो मच्चाउने जुक्ति सोच्नु अनि नियति हो ।

यिनै शर्माहरूका धुरीमा नेपाली साहित्य अडिएको छ । नेपाली साहित्यमा शर्माहरूको योगदान घटाउँदा शून्य बाँकी रहन्छ । शर्माहरूको आशीर्वाद प्राप्तहुन्जेल, शर्माहरूको योगदान रहुन्जेल नेपाली साहित्य सधैँ ऊर्ध्वगामी हुनेछ । शर्माहरूको आधार रहेसम्म नेपाली साहित्य विश्व साहित्यसँग लत्रन्न । त्यसैले दुर्लभ शर्माहरूलाई र उच्चकोटिको शर्मा साहित्यलाई बल दिनुहोस् । बलिया गराउनुहोस् । यही नै साहित्यप्रेमी नेपालीको प्रथम र अन्तिम कर्तव्य हो ।

०००
पाल्पा
‘सगरमाया एक पहाडको नाम होइन’ (२०७९)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसे ल
युगल बसे ल
1 year ago

शर्माजीका अगाडि कसको दुहाई ? साहित्यमा शर्माहरूको योगदान सुन्दा त हामी जस्ता योगदानविहीन आकिञ्चन बर्मातिरै अलापिने हो कि जस्तो पो लाग्यो !!!😉😄

Nepal Telecom ad
मलाई चुनाउ नामको आम मिठो लाग्छ

मलाई चुनाउ नामको आम...

चाेलेश्वर शर्मा
स्तरीय रचनाको प्रश्न

स्तरीय रचनाको प्रश्न

चाेलेश्वर शर्मा
मेरो गाउँको नाउँ छैन

मेरो गाउँको नाउँ छैन

चाेलेश्वर शर्मा
‘ज्यादा खा लिया’ र ‘हमदर्द का पचनोल’

‘ज्यादा खा लिया’ र...

चाेलेश्वर शर्मा
परम कर्तव्य र खोलाका माछा

परम कर्तव्य र खोलाका...

चाेलेश्वर शर्मा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
1
0
Would love your thoughts, please comment.x
()
x