चाेलेश्वर शर्मामलाई चुनाउ नामको आम मिठो लाग्छ
आज हामी आस्थाले, समर्पणले, भावनाले, मनले भन्दा बढी अवसरले राजनीतिमा छौं । अवसरवादी भएका छौं। हामी रातारात लालसलाम भएका छौं । हामी रातारात जय नेपाल भएका छौं ।

चाेलेश्वर शर्मा :
मलाई चुनाउ साह्रै मिठो लाग्छ। ममा चुनाउको संस्कार सानैदेखि विकसित भएको छ । सानामा बाबाका कोटका गोजीबाट खुद्रा पैसा र नोटमध्ये मैले जहिले पनि तुच्छ नोट चुन्थेँ । यसैबाट चुनाउ भनेको नोट हो भन्ने धारणा प्रबल र स्वस्थ रूपमा ममा परेको छ । यही नै वर्तमान नेपालको राष्ट्रिय दृष्टि हो । म नै राष्ट्र हूँ। जसरी ममा म नै राष्ट्र हूँ भन्ने भावना भरिएको छ, त्यसै गरी सबैमा भइदिए आम चुनाउ नै चाहिँदैनथ्यो ।
चुनाउ भनेको एक हातले तुच्छ नोट लिनु र अर्का हातले अमूल्य भोट दिनु हो । हाम्रा परम्पराले, संस्कृतिले, धर्मले, मानसिकताले दिनु मात्रलाई वा लिनु मात्रलाई राम्रो ठान्दैनन् । त्यसमा पनि तुच्छ नोट लिनु त साह्रै तुच्छ काम हो- नीच । तैपनि नोटलाई तुच्छ र आफूलाई नीच ठानेर नै लिनुपर्छ। लिन छोड्नु भने हुँदैन । संसार चल्दैन र बानी पनि बिग्रन्छ । नोट आउँछ भने आफूलाई नीचभन्दा अझै तल कतै मिल्छ भने लैजान पनि सकिन्छ राजीखुसी ।
नेपाली राजनीतिका स्वर्णकाल- पञ्चायतकालमा पनि चुनाउका बेला धेरथोर लेनदेनको व्यवहार स्वस्थ रूपमा हुन्थ्यो। चुनाउका उम्मेदवारले पनि मन फुकाएर भाग लिन्थे। चारछ लाख खर्च हुन्थ्यो। त्यसको व्याजसहित असुली हुन्थ्यो रा.पं.स.भएपछि। धेरैले यसलाई “फलानाले कमाए, भ्रष्टाचार गरे भन्थे” र आफूहरू पनि त्यही उद्योगमा रहन्थे। माननीय रा.पं.स.भएपछि पञ्चायती प्रजातान्त्रिक ढङ्गले आठदश लाख कमाए त के बिराए ? साथमा पाँचसात लाख नभए के माननीय ? जनताकै बेइज्जत । प्रजातान्त्रिक अभ्यासमा दुईचार लाख कमाइने त त्यसै परिआउँछ। तर सबभन्दा रोचक प्रजातान्त्रिक अभ्यास त ती ठाउँमा हुन्थ्यो जहाँ मतदान केन्द्रमा आफ्ना मताधिकारप्रति सचेत जनता जाँडका घैटाझैं ढलेर मतदान गर्ने सक्तैनथे ।
उहिले मात्र आम चुनाउ महत्त्वपूर्ण भएको होइन। आज पनि यसको महत्त्व छ । यसका एक शय एक फाइदा छन् ।
आम चुनाउ भन्नाले आम चुन्ने प्रक्रिया हो भन्ने स्पष्ट छ। आम एक प्रसिद्ध फल हो । पाकेका आम धेरै स्वादिला हुन्छन् । चुनाउ जित्ने उम्मेदवारले पाकेका आम चुस्छन् । जनताले खोयो पाउँछन् । तर पनि जनतालाई भाग्यमानी भन्नुपर्छ, खोयो पाए पनि आमकै त पाउँछन् । हो, खोयो पनि जनतालाई नदिने नेतालाई भने असल भन्न सकिन्न । आम नेताले जनतालाई आमझै स्वाद लिई लिई चुस्छन् । आँखा चिम्लेर। यसैले यसलाई आम चुनाउ भनिन्छ। यसलाई महानिर्वाचन पनि भन्छन् । भनिएको यथार्थमा मह निर्वाचन हो। गुलियो छान्ने प्रक्रिया। ‘कमाउनु’ को गुलियो । मतदाता र उम्मेदवार दुवैलाई चुनाउ ‘कमाउ’ को अर्को नाउँ हो।
हरएक कुराको – मानिसको पनि आफ्नो इतिहास हुन्छ, भूगोल हुन्छ, राजनीतिशास्त्र र अर्थशास्त्र हुन्छ । चुनावको पनि छ । हुन्छ ।
हरएक चुनाउको इतिहास र भूगोल हुन्छ । नेपालमा चुनाउको इतिहास ज्यादै पुरानो नभए पनि केही पुरानो अवश्य छ। अघिअघि पनि चुनाउ हुन्थे र ठूलाबडा, प्रभावशाली वर्गका व्यक्तिहरूले सानातिना घरका खसीबोकादेखि कामिनीहरूको समेत चुनाउ गर्थे रे। यसबारे आफूलाई खास अनुभव छैन । राजनीतिक दृष्टिले २०१५ सालको आम चुनाउ महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण किन छ भने सबैजनाले यसलाई महत्त्वपूर्ण थियो भन्दछन् । धेरै मानिसहरूले, बुज्रुगहरूले २०१५ सालको चुनाउ महत्त्वपूर्ण थियो भनिसकेपछि मैले विरोध गर्ने कुरै छैन। म आफूले वा आफ्ना पक्षले जितेका खण्डमा चुनाउको परिणाम निष्पक्ष ठान्ने व्यक्ति। स्वस्थ प्रजातान्त्रिक मूल्य र मान्यतामा विश्वास गर्ने मान्छे। यसभन्दा बढी यसको महत्त्व मैले वर्णन गर्न सक्तिनँ किनभने त्यस बेला म सुरुवाल नलगाएर पनि आजभोलिको नयाँ सडक र इन्द्रचोक घुम्न सक्थें। दौरा मात्रमा ।
पञ्चायतकालमा पनि आम चुनाउ हुन्थे, भए । त्यस स्वर्णकालमा प्रत्येक वर्षजसो दशैंका लागि चीनको खासाबाट झिकाइएका च्याङ्ग्राका ढाड नाप्ने चुनाउ महत्त्वपूर्ण थियो । यसको प्रभाव त्यस बेला विभिन्न तहमा पर्यो । नेपाली जनता टुंडिखेलका भेडा-च्याङ्ग्रा भए । पञ्चायतकालले नेपालको राजनीतिक इतिहासमा, अझै विश्वकै राजनीतिक इतिहासमा चुनाउको नयाँ राजनीतिक दर्शन प्रतिपादन गयो । जसलाई ‘गाउँ फर्क पद्धति’ भनिन्छ। प्राचीन यूनानले झै आधुनिक नेपालले विश्व-राजनीतिलाई अमूल्य योग दिएको छ। त्यसै स्वर्णकालमा धेरै सुकरात र अफलातूनहरू जन्मे । एकभन्दा एक लालबुझक्कड । अझै जीवित छन्-अतीतका घाउ कोट्याएर। देशका गौरव ।
हरएक कुराको इतिहास भएजस्तै भूगोल पनि हुन्छ। तर चुनाउका बेला भूगोल बदलिन्छ। उत्तर-दक्षिण, पूर्व-पश्चिम एकै लाग्छ । आकाश-पाताल एक हुन्छ । यसबाट प्रमाणित हुन्छ, विगत तिस वर्षका आम चुनाउको भूगोल पनि गोल थियो। भूगोल गोल नहुनु मिल्दै मिल्दैन । भूगोलका नियमविरूद्ध हुन्छ ।
चुनाउको राजनीतिक महत्त्व साह्रै उल्लेखनीय हुन्छ। यसले कसैलाई हस्तिनापुरको रजाइँ हुन्छ, कसैलाई चपरीमुनि बास । यसले ढाक्रेलाई मन्त्री र मन्त्रीलाई ढाक्रे बनाइदिन्छ ।
चुनाउ र अमूल्य भोट आदि राजनीतिका कुरा हुन्, राजनीतिशास्त्रका कुरा । तर नेपालमा अमूल्य भोटसँग पोइल गएर तुच्छ नोट पनि अर्थशास्त्रका घरबाट राजनीतिशास्त्रका परिवारभित्र पसेकी छे । राजनीतिशास्त्रकी गृहलक्ष्मी भएर । त्यसैले एक हातले तुच्छ नोट लिनु र अर्का हातले अमूल्य भोट दिन अब प्रत्येक नागरिकको अधिकार र कर्तव्य भएको त्यसलाई दशबिस तुच्छ नोटमा बेचेर हामीले उम्मेदवार र देशका विकासमा समेत सहयोग छ। ईमान र धर्म भएको छ । भोट त अमूल्य छ। त्यसको मूल्य किटान गर्न सकिन्न तापनि गरेका छौं। यसबाट पनि चुनाउ स्वस्थ प्रजातान्त्रिक अभ्यास हो र तुच्छ नोट लिँदै अमूल्य भोट दिनु प्रत्येक सचेत नागरिकको गौरव हो भन्ने स्पष्ट हुन्छ।
चुनाउका बेला सबै कुरा सम्भव हुन्छन् । चुनाउमा प्रत्येक नागरिकलाई एक मुर्रा भैसी, बार बिघा खेत र एउटा घर दिने उदार विचार, प्रलोभनका कुरा पनि प्रजातान्त्रिक अभ्यासभित्र, चुनाउनीति र राजनीतिभित्र पर्छन् । ती पनि सुन्न पाइए। बेहोशीमा गरिएका भाषणका आदर्शमा आफू कतिसम्म टिक्न सकिन्छ भन्ने कुरा ठूला ठूला नेताले चुनाउका अवसरपछि देखाउँछन्। देखाउँदै छन् । राजनीति र चुनाउका समय-सन्दर्भमा विरोध सहन नसकी जाइलाग्नु, गाली-गलौज र मारपिट हुनु, बलपूर्वक मतदान केन्द्र कब्जा गर्नुजस्ता स्वस्थ र पवित्र प्रजातान्त्रिक कार्यकलाप हुन्छन् । लाठी र गोलीको प्रयोग जेजस्तो हुन्छ त्यो पनि प्रजातान्त्रिक परिपाटीबाट नै हुन्छ। भन्ने प्रजातन्त्र आयो, गर्नचाहिँ केही नपाइने पनि त मजा भएन। केही गर्न नपाइनाका लागि थियो भने गत वर्ष त्यत्रो सङ्घर्ष गरिन्थ्यो र ? त्यसैले जे पनि गर्न पाइने भएर नै प्रजातन्त्र हामीकहाँ साँचो रूपमा जीवित हुन्छ । २०४६ चैत्र छब्बिसपछिका देशका घटनाले यही भन्छन् ।
चुनाउको सामाजिक महत्त्वको पक्ष अर्कै छ। मानिस सामाजिक प्राणी हो। चुनाउका बेला मानिस झन् सामाजिक हुन्छ। ऊ समाजमै हिँड्छ। समाजमै झगडा गर्छ। आवश्यक परे समाजमै मारपिट गर्छ। व्यक्तिगत कुरा सामाजिक गराउँछ, सामाजिक कुरा व्यक्तिगत । कताकति “जीवन क्षणिक छ” को उदाहरण प्रस्तुत गर्न यस लोकलाई सप्रेम छोड्छ । त्यसैले प्रजातन्त्रमा शहीद थोक रूपमा पाइन्छन् ।
चुनाउको आर्थिक महत्त्व सर्वोपरि छ। उम्मेदवारहरू चुनाउपछि आर्थिक दृष्टिले सम्पन्न र देशको विकास गर्न बढी सक्षम हुने एक मात्र परम/विशुद्ध लक्ष्य लिएर साह्रै उत्साहित हुन्छन् भने मतदाताले चुनाउअघि नै अमूल्य भोटका सदुपयोगले लाभान्वित हुने लक्ष्य लिन्छन् । अनेक उत्साही जनले सडक, घर, पर्खाल बाटाघाटा, सार्वजनिक भवन, मन्दिर, पाटीपौवा र अन्य ठाउँ रङ पोत्न र पर्चा-पोस्टर टाँस्न काम पाउँछन् । यस्ता कार्यकर्तालाई बिहान जुन राजनीतिक दलले पैसा दिन्छ, उसैको टाँस्छन्, पोत्छन् । राति विरोधीहरूले बिहानका मेट्न, उप्काउन र आफ्ना टाँस्न नियुक्त गर्छन् । ती उत्तिकै उत्साहले लाग्छन् ।
धनसँग मतलब छ । विशुद्ध प्रजातान्त्रिक परिपाटी। यसबाट केही समयका लागि भए पनि देशको बेरोजगारी कम हुन्छ। यस दृष्टिले पनि देशमा दिनदिनै कुनै न कुनै चुनाव भइरहनुपर्छ। आम चुनाउ नै भइरहोस्। बाहै महिना आम चुस्न पाइयोस् । नाइँनास्ति छैन।
आम चुनाउमा रङबिक्रेता, कागजका व्यापारी, छपाइ उद्योग तथा ध्वनिविस्तारक यन्त्रहरूको, चुरोट, खैनी, पान र खैरे चियाको माग बढ्छ। कान, नाक, घाँटी (इएनटी) का चिकित्सकहरूका दिन फिर्छन् । चुनावमा ढुङ्गा, लौराको पनि ठूलो व्यापार हुन्छ। मुड्की र मूढेबल उद्योगीको विभिन्न क्षेत्रमा ठूलो माग रहन्छ। कताकति मागअनुसार पूर्ति नहुने स्थिति पनि आउँछ। यी उपयोगी वस्तु र सीपका थोक व्यापारीको एक मानाको बन्दोबस्त हुन्छ। चुनावमा कथङ्कदाचित् यिनको पूरा उपयोग नभए चुनाउपछिका आमसभा, जुलुस, स्वागत-विरोध भाषणमा हुन्छ। आखिर यी सड्दैनन् । प्रजातान्त्रिक समाजमा यस्ता कुरा दिनहुँ प्रयोग भएर हाम्रो समाजका अभिन्न अङ्ग बन्छन् । यिनलाई स्थानीय चुनाउ र झैझगडामा पनि निःसङ्कोच प्रयोग गर्न सकिन्छ । भगवान्का कृपाले नेपालमा ढुङ्गा र लौरा प्रशस्त छन् । अब खुसीको कुरो, नेपालका हावापानीमा मुड्की उद्योग पनि बिस्तारै फस्टाउँदै छ। सार्कका अन्य मित्रराष्ट्रले चाहेमा नेपालबाट निर्यात गर्न सकिन्छ । यसले ती देशमा पनि प्रजातान्त्रिक परम्परालाई सुदृढ गर्न योगदान गर्न सक्छ। आम चुनाउका फाइदावाट टाढाका मुलुक पनि लाभान्वित हुन सक्छन् ।
चुनाउको सांस्कृतिक पक्ष अझै महत्त्वपूर्ण र रोचक छ। चुनाउले मानवनिर्मित वातावरण अत्यन्त प्रभावित हुन्छ । हाम्रो जीवन-शैली पनि । चुनाउमा अर्जित सम्पतिले कतिले बिहे गर्छन्, आफ्ना घरजम गर्छन् । सन्तान जन्माउँछन् । कताकति चारपाँच चुनाउसम्म पनि सन्तान नहुने हुन सक्छ, अपवाद स्थितिमा । तिनले फेरि फेरि बिहे गर्छन् । आखिर चुनाउ भइरहन्छ, अमूल्य भोट रहिरहन्छ, तुच्छ नोट आइरहन्छ। चुनाउकै धनबाट कतिले खेती-किसानी गर्छन् । अधिकार र कर्तव्यको विशेष ज्ञान भएका केही नागरिकहरूले भट्टीपसलका अँध्यारा कुना र फोहोर टेबुलका साँगुरोपनमा नेपालका सारा समस्याको समाधान त्यस्ता दुईचार शब्दमा गर्छन्, जो यहाँ नितान्त अकम्पोजनीय छन् ।
चुनाउबाट हाम्रो स्थापत्यकला पनि प्रभावित हुन्छ। पोष्टर, पर्चा, नारा जुलुस, रङ्गरोगन मात्र हाम्रो जीवन हुन्छ । शहर, बजार र गाउँसमेत रङ्गरोगन, पोष्टर, पर्चा, भाषण र जुलुसमा अडिएझै लाग्छ।
चुनाउका विभिन्न पक्षका कुरा गर्दा गर्दै अर्को महत्त्वपूर्ण पक्ष छुट्न सक्छ, त्यो हो घोषणापत्र। चुनाउ भनेपछि प्रत्येक राजनीतिक पार्टीको चुनाउ घोषणापत्र हुनैपर्छ । विसतिस पृष्ठका चुनाउ घोषणापत्र नभए भूलभुलैया सिर्जना हुँदैन । जनता भुल्दैनन् । पाँच पाँच वर्षमा घोषणापत्र जारी गरेपछि जनताले घोषणापत्रका बाह्रखरी घोक्छन् । आम चुनाउको खोयो चुस्छन् । जनताले चाख्न पाउने विकासको फल त आमको खोयो नै हो । प्रजातान्त्रिक व्यवस्थाको सबभन्दा ठूलो प्राप्ति यही हो । यसैका लागि हामी मरिमेट्छौं ।
विभिन्न राजनीतिक पार्टीका चुनाउ घोषणापत्रका रोचक बुँदा यस्ता छन्, जसमा मन लाग्छ, आफ्नो अमूल्य भोट उसैलाई दिनुहोला । कसैलाई नदिन पनि तपाईं स्वतन्त्र हुनुहुन्छ ।
यातायातका दृष्टिले हाम्रो गाउँ पछौटे छ। पहाड, भीर, पाखा छन् । तिनलाई हामी सम्याउँछौं । गाउँका सबै घरमा हेलिकोप्टर पुऱ्याउँछौं । गाउँमा पुल पनि छैन । पुल नहुनु पनि पछौटेपनको लक्षण हो । हाम्राे पार्टी गाउँमा खोलो ल्याउन प्रतिबद्ध छ। हामीले गाउँमा एक थान खोलो वा नदी ल्याउँछौं। हाम्रो पार्टीले गाउँमा अहिल्यै प्रशान्त महासागर नै ल्याउँछ भन्न सक्तैनौं किनभने हामी भाषणमा भन्दा काममा विश्वास गर्छौं । तर तपाईंहरूले हामीलाई अपार विश्वास र अत्यधिक बहुमतले जिताउनुभए हामी गाउँमा प्रशान्त महासागर ल्याउन पनि कटिबद्ध छौं। हाललाई हामीले एक थान बङ्गालको खाडी वा अमेजन नदी ल्याउँछौं । अर्को दशपन्ध्र वर्षसम्म हामीलाई विजयी गराउनुभयो भने हामीले एक थान प्रशान्त महासागर पनि ल्याइछाड्छौं । गाउँमा बङ्गालको खाडी हुनु, अमेजन नदी हुनु र पुल नहुनु मिल्दैन । पुल नभए बङ्गालको खाडीले हामीलाई डुबाउन सक्छ । नदीले बगाउन सक्छ। हामीले पुल बनाउँछौं ।
हाम्रो गाउँमा अशिक्षा छ। प्राथमिक विद्यालयहरू छैनन्। हामी शिक्षामा ज्यादै पछाडि छौं। हामीले गाउँ विकास समितिका वडा वडामा एक एक विश्वविद्यालय खोल्छौं । त्यसभन्दा ठूलो अन्तरिक्ष विद्यालय खोल्छौं । विश्वविद्यालयभन्दा अन्तरिक्ष विद्यालय ठूलो र प्रभावकारी हुन्छ ।
पार्टी भएपछि गाँस, बास र कपास हुनैपर्छ। गाँस, बास र कपास नभए पार्टी कहाँ बाँच्छ ? जनता कहाँ बाँच्छन् ? कार्यकर्ता र नेता कहाँ बाँच्छन् ? पार्टीको गाँस, बास र कपासका लागि हामीलाई तपाईंहरूको सहयोग आवश्यक छ। हामीलाई थाहा छ, तपाईंहरू देशका लागि रगत दिन तयार हुनुहुन्छ तर पार्टीलाई तपाईंहरूको रगत होइन, तुच्छ नोट चाहिएको छ। रगतको गाँस पनि हुँदैन। रगतले बास र कपास पनि हुँदैन। तुच्छ नोटको अपूर्व सहयोग हुन्छ ।
हाम्रो पार्टीको आर्थिक नीति नै जनतामा आधारित नीति हो। हाम्रो पार्टीले जनताका धनको पूरा पूरा हिसाब राख्छ । देश विकासको पवित्र उद्देश्य लिएको हाम्रो एक मात्र पार्टीलाई आवश्यक अर्थसङ्कलन गर्न सहयोग गर्नुहोस् । सङ्कलनपश्चात् तपाईंहरूले केही गर्नुपर्दैन । हामीले गछौं। हामी कामको बाँडफाँट गरेर काम गर्छौं।
कुनै पनि पार्टीको राष्ट्रनीतिभन्दा परराष्ट्रनीति स्पष्ट हुनुपर्छ। राष्ट्रनीति लटरपटर भए पनि केही फरक पर्दैन । हाम्रो परराष्ट्रनीति स्पष्ट छ। जुन राष्ट्रले हामीलाई आँटोपिठो दिन्छ, त्यही हाम्रो मित्रराष्ट्र । हाम्रो पार्टीको अठोट छ हामीले डिल्लीबजारलाई नयाँ दिल्ली बनाउँछौं, फसिकेवलाई मास्को र पुलचोकलाई थियेनआमेनचोक । यही नै हाम्रो पार्टीको परराष्ट्रनीति हो। इत्यादि ।
चुनाउ घोषणापत्रमा पार्टीका नाउँ नपढ्दासम्म शिरपुच्छर एक हुन्छ। जब पार्टीको नाउँ पढिन्छ तब थाहा हुन्छ, कुन पार्टी हो। घोषणापत्र पढेपछि कुनचाहिँ मूर्खले दिनदिनै देशमा आम चुनाउ होस् नभन्ला । संसारका ठूलाठूला, कहलिएका राष्ट्रले विगत पचास वर्षमा जुन कार्य गर्न सकेनन्, हाम्रा पार्टीहरूले पन्ध पृष्ठका घोषणापत्रले गर्छन्। कागजी काममा हाम्रा नेताहरू पनि कम छैनन् । सधैं अगाडि छन्, संसारले जानिसकेको छ। यसैकारण पनि हामी सबै कुरामा पछि छौं भन्ने हीनताबोध गर्नु हुँदैन ।
म आम चुनाउका फाइदा सोच्तै छु। सोच्तै छु एउटा मुर्रा भैंसी, चार बिघा जग्गा र एउटा घर दिने पार्टीलाई भोट दिऊँ। भैंसी आफू पालिन्न। पन्ध्रबिस हजारमा बिक्ला नै। मुर्राको सन्तान । यहींनेर पापी मनमा विचार उठ्छ कागजको टुक्रो भोटका साटो पाइने घर, भैंसी र चार बिघा जग्गा पनि कागजकै मात्र त होइनन् ? यहीं मलाई हार्दिक प्रसन्नता हुन्छ र आत्महत्याको इच्छा प्रबल भएर आउँछ।
सोच्छु – प्रत्येक वर्ष आम चुनाउ आओस्, यस्तै प्रकारले चार बिघा र मुर्रा भैंसीको समृद्धि ल्याओस् । डर लाग्छ कहीं यस खुसीमा मेरो हृदयगति नै बन्द नभइजाओस् ।
आम चुनाउले एउटा कुरो स्पष्ट पार्छ नागरिक आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहनुपर्छ । सचेतताको त्यो धर्म भोटसँग छ र खसाल्नुसँग छ । कसै गरी होस् । जुन व्यक्ति पञ्चायतकालमा पञ्चायतका सुविधा र शक्ति उपभोग गरेर पञ्चायतका गुणगानले थाक्तैनथे, पञ्चायतका झन्डा फरफरदार थिए, ती कुनै परिवर्तनविना सजिलै कट्टर प्रजातान्त्रिक वा प्रगतिशील भएका छन् । पार्टीका प्रतिबद्ध नेता भएका छन् । बोलिरहेका छन्-चर्का स्वरमा । म मनले पञ्चायतकालमा पनि काङ्ग्रेसी थिएँ, वामपन्थी थिएँ । धेरै खरानी घसेका नयाँ जोगीहरू यस्ता राजनीतिक नेताको, समर्पित व्यक्तित्वको खाँचो देशलाई युग युगमा, समय समयमा परिरहन्छ ।
आज हामी आस्थाले, समर्पणले, भावनाले, मनले भन्दा बढी अवसरले राजनीतिमा छौं । अवसरवादी भएका छौं। हामी रातारात लालसलाम भएका छौं । हामी रातारात जय नेपाल भएका छौं । वर्तमान अन्तरिम मन्त्रीमण्डलमा प्रधानमन्त्री भट्टराई हुनुभएकाले म जय नेपाल छु । सहानाजी प्रधानमन्त्री हुनुभएको भए म पनि लालसलाम हुन्थेँ । मेरो अन्तरात्माले यही भन्छ। तपाईंकाले भन्दैन ? अन्तरात्माका आवाजको कदर त हुनैपर्छ।
०००
पाल्पा
सगरमाथा एक पहाडको नाम होइन (२०७९)
Subscribe
Login
0 Comments
Oldest






































