चाेलेश्वर शर्मापुरस्कार पाउनुको नमज्जा
पाल्पा निवासी हास्यव्यङ्ग्य स्रष्टा चाेलेश्वर शर्मालाई ०८० भदौ ९ गते आयोजित ‘फित्कौलीको खित्कौली सभा-२’ अन्तर्गत पुस्तक लोकार्पण तथा सम्मान समारोहमा फित्कौली अनलाइन मिडियाले ‘फित्काैली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान -२०८०’ समर्पण गरेकाे छ । शर्मालाई हार्दिक बधाई ज्ञापन गर्दै प्रस्तुत गर्दछाैँ उहाँको एउटा हास्यव्यङ्ग्य निबन्ध :

चोलेश्वर शर्मा :

देशमा पुरस्कारको स्वर्ण युग आएको छ । र साहित्यको पनि । पुरस्कार पाएपछि साहित्यमा कुद्ने महारथी साहित्यकारहरूले साहित्य र सुनको पनि मूल्य बढाएका छन् । वर्तमानमा पुरस्कार नपाउनुभन्दा पाउनु नै गौरवपूणर् र आनन्ददायी कुराजस्तो लाग्छ तर मैले निर्णय गर्न सकेको छैन, कुन बेला मलाई बढी सन्तोष हुन्छ, पाउँदा वा नपाउँदा ।
गत २०५२ मार्ग मासान्तमा भैरव पुरस्कार गुठीले भैरव हास्यव्यङ्ग्य पुरस्कार दिएर मलाई धूलाबाट उठाइदियो । तर मैले अहिले थाहा पाउँदै छु, पुरस्कार पाउनुको नमज्जा । आकाशमा उचालिएर धूलामा पछारिनुको स्वाद ।
भैरव हास्यव्यङ्ग्य पुरस्कार २०५१ का पात्र लेखकको चयन भयो । समारोह निश्चित गरियो । निमन्त्रणा बाँडियो । प्रमुख अतिथि पहिल्याइए । एक थान परिचायक-समालोचक पनि निम्त्याइए । कुर्सीहरू मिलाइए । लामादेखि शर्मासम्म आमन्त्रित थिए । अध्यक्ष तोकिए । भैरव अर्यालको एक थान फोटोमा एक थान माला पनि अर्पण गरियो । माल्यार्पण भयो । समारोहमा पुरस्कृत व्यक्तिका रूपमा मेरो परिचय गराउने, मलाई नङ्ग्याउने जिम्मा लिने मेरा विद्वान् मित्र हुनुहुन्थ्यो निबन्धकार-समालोचक राजेन्द्र सुवेदी । हास्यव्यङ्ग्य निबन्ध लेखेको छु भनेर आफ्ना पत्नी र पुत्रहरूसँग गफ लगाउने लेखक भइटोपलेको चोलेश्वरका रचनाको मूल्याङ्कन गर्न उहाँभन्दा उपयुक्त व्यक्ति अरू को हुन्थ्यो ! गुठीले मानिस पहिल्याएकै हो । गुठीहरू मानिस पहिल्याउनाका लागि त हुन् । म पनि रद्दी लेखकहरूका समूहबाट छानिएको हूँ । महारद्दी छु । जति रद्दी भए पनि महा थपिएपछि महान् भइन्छ । हुन्छ । महानगरपालिका नै हेरौँ ।
प्रारम्भिक कार्यक्रमपछि राजेन्द्रजीले परिचयका क्रममा जे जति भन्नुभयो त्यसले मलाई – अत्यन्त हर्षित गरायो । महारद्दी भएरै पनि नेपालीको सर्वोत्कृष्ट हास्यव्यङ्ग्यकार मै रहेछु भन्ने मलाई लाग्यो । प्रशंसा मन नपराउने को होला ? म ज्यादै आनन्दित छु । थोरै आनन्द मैले यहाँहरूलाई पनि बाँड्नुपर्छ ।
मेरो नाम, जन्ममिति र जन्मस्थान राजेन्द्रजीले छोटो रूपमा प्रस्तुत गर्नुभयो । यद्यपि यिनलाई दिनभरि बयान गरेर पनि सकिँदैनथ्यो । कम्तीमा पनि आफ्ना व्याख्यानको आधा समय यिनमा लगाउनुहोला भन्ने ठानेका थिएँ मैले । पहिलो र मूल कुरो उहाँले मेरो परिचयमा पूर्व जे.टि.ए. भन्न बिर्सनुभएन । पूर्व जहिले पनि पूर्वै हो । पञ्च वा अध्यक्ष, सांसद् वा मन्त्री, उपकुलपति या प्रधानमन्त्री, जागिरे वा ढाक्रे जहाँ रहे पनि गरिमापूणर् छ पूर्व । पूर्व थपिएपछि चोर वा ठग पनि सम्मानित हुन्छन् नेपालमा । ठग र चोरहरू सम्मानित हुन मन भए नेपाल पसे हुन्छ । यो सम्मानित भैसक्नुभएका पूर्वहरूप्रति अनादर होइन । निश्चय नै, मैले केही वर्ष जे.टि.ए. भएर गरेको योगदानको स्मरण उहाँले गराउनुभयो । मलाई एकछिन के भ्रम भयो भने मलाई यो पुरस्कार हास्यव्यङ्ग्य रचनामा समर्पित लेखनभन्दा मैले जे.टि.ए. का हैसियलते उत्पादन गरेको बिस किलोको मूला वा मेरो गोठको दुई मात्र सीङ भएको थारो भैंसी वा एउटो पनि सीङ नउम्रेको तर साह्रै मिठो बोल्ने गधा पाजीका माध्यमबाट गरेको कृषि सेवाका लागि हो ।
मलाई लाग्यो, उहाँ भन्दै हुनुहुन्छ – पूर्व जे.टि.ए. ले निबन्ध किन लेख्छ ? कसरी लेख्छ ? मिल्दै मिल्दैन । जे. टि. ए. सँग त आलु, मूला, यूरिया, उन्नत बीउ र बूढी आमैको सङ्गति मिल्छ । बस्छ । लेखोस् आलु निबन्ध । पढोस् मूला व्यङ्ग्य । पिँडालु हास्यव्यङ्ग्य । पूर्व र वर्तमान जे.टि.ए. हरूले आलु, मूला, बङ्गुर, सुँगुर हेरून्, नतिजा प्रदर्शन गरून् र पो देशको कृषि उत्पादन बढ्छ । मूला मौलाउँछ । बङ्गुर सप्रन्छ । आफूचाहिँ पूर्व जे.टि.ए. अरे, लेख्न हिँडे निबन्ध । हास्यव्यङ्ग्य । अनि त हुन्छ सत्यानाश कृषिको, आलुमूलाको । साहित्यको । राजनीति त होइन साहित्य जो जे बोले पनि ठिक । जसले जे लेखे पनि ठिक । आलुमूला त होइन साहित्य, जसरी रोपे पनि ठिक । खेतमा आँखा चिम्लेर पनि आलु रोपे आलु फल्छ । मूला रोपे मूला उब्जन्छ । बारीमा रोप आलुमूला उब्जन्छ आलुमूला । साहित्यमा त मन र मस्तिष्क दुवै ठिक रहनुपर्छ । जे होस्, निबन्ध आफै महत्त्वपूणर् हुनुभन्दा म पूर्व जे.टि.ए.हुनाका कारणले ती महत्त्वपूणर् भएका रहेछन् । जस्तो चन्दादाता, नेता, उद्योगपति, सचिव, मन्त्री आदिका रचना र बकवास अभिव्यक्ति पनि साहित्य वा भाषण नभए पनि ठूला मानिसबाट रचिएका हुनाले पदेन उत्कृष्ट साहित्य र भाषण हुने गर्छन् नेपालमा । त्यसैले मेरा रचना पनि पुरस्कारयोग्य भएका रहेछन्, एकपटकका लागि र फेरि लेख्न नहुने गरी ।
कुन्नि कसरी समालोचक मित्रले यथार्थवादी धारणा राख्तै चोलेश्वर जन्मँदा कट्टु-सुरुवाल केही नलगाई जन्मिएको व्यक्ति भन्नुभएन । आजको यथार्थ यस्तै यस्तै छ र नाङ्गै जन्मिएर पनि अरूलाई नङ्ग्याउने चोलेश्वर शर्मालाई हास्यव्यङ्ग्य पुरस्कार दिन पाएकामा गुठीले पहिलोपल्ट सही निणर्य र काम गरेको गौरवको अनुभव गर्छ भनिनुपर्थ्यो गुठीका तर्फबाट, भनिएन ।
दोस्रो, उहाँले जुन ढङ्गले पुरस्कृत प्रतिभा अर्थात् मेरो परिचय गराउनुभयो त्यो उहाँको शैली मलाई ज्यादै मनपर्यो । मिठो, आकर्षक। हास्यव्यङ्ग्य लेखकका परिचायक समालोचक झन् महाहास्यव्यङ्ग्यकार देखिनुभयो । उहाँले मेरा रचनाका शीर्षकका नाउँ जे र जसरी लिनुभयो, त्यो निकै रोचक छ। पहिले त उहाँले मबाहेक अरू कसैको परिचय दिँदै हुनुहुन्छ, ठानेँ मैले । त्यसबाट एउटो कुरो के स्पष्ट भयो भने उहाँले नाम लिनुभएका शीर्षकका रचना मैले अहिलेसम्म त लेखेको छैनँ र सुदूर भविष्यसम्म पनि लेख्ने सम्भावना देख्तिनँ । हो, मरणोपरान्त के गर्छु, अहिले के भनूँ । हास्यव्यङ्ग्यको एक अमर प्रबन्ध रचना लेख्ने धोको छ। त्यसको लामो समालोचकीय परिचय लेख्न राजेन्द्रजीलाई नै अनुरोध गर्छु भन्ने सङ्कल्प गरेको छु। उहीँ भेट होला नै । कदाचित् रद्दी रचनाले समाज झुक्क्याएर, र पुरस्कार लिएको ठहर भएछ भने मलाई चित्रगुप्तले नरकवासको सिफारिस पो गर्ने हुन् कि ? समालोचक त दूधको दूध पानीको पानी छुट्ट्याउने मानिस । निष्पाप । निःस्वार्थ । निस्पृह । निरपेक्ष । उहाँ स्वर्गतिरै जानुहोला । त्यसो भए राजेन्द्रजीसँग भेट नहुन पनि सक्छ। चित्रगुप्त थरले खनाल पनि हुन् होइनन् । धर्मराज र चित्रगुप्तको थर के होला ? मैले धर्मराज भनेर नेपालका ख्यातिप्राप्तं गायक-गीतकार जनकवि केशरी थापाजीलाई सम्झेको होइन । उहाँ उहिले थापा हुनुहुन्थ्यो । काठमाडौंतिर बस्न थालेपछि उहाँको थर के भएको छ कुन्नि ?
निश्चय नै हास्यव्यङ्ग्यकारका रूपमा मेरो परिचय यसभन्दा रोचक र हास्यास्पद ढङ्गले हुनै सक्तैनथ्यो । यसले उहाँको स्मरणशक्ति, समालोचकीय दृष्टि र क्षमता देखाउँछ । यसबाट नेपालीका समालोचकका दक्षतासमेत देखिन्छ । उहँले दुईचार शब्दमा परिचयको कार्यक्रम सम्पन्न गर्नुभयो, गणितीय सूत्रमा । लेखकले नलेखेका, नसोचेका विषय र शीर्षक उहाँले देखाउनुभयो । “जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि” भन्छन् । कवि र समालोचक एकै बाबुआमाका सन्तान रहेछन् कि क्या ?
तेस्रो, उहाँले पुरस्कार – राशिको कुरो गर्दै – नेपालीमा लेखेर पनि केही अर्थोपार्जन गर्न सकिन्छ – भन्नुभयो। यही कुरो मलाई थाहा थिएन। समालोचकज्यूका धारणाअनुसार श्री चोलेश्वरजीजस्ता राजधानी, उपत्यकाबाहिर, मोफसलका साहित्यका कुरो के छ भने तिनका रद्दी – महारद्दी लेखनलाई पनि पाँच हजार ड्ड रुपैयाँको छ । यस्ता रद्दी लेखकले पनि यसरी पुरस्कार पाउनु सम्भव भएकाले नेपालमा साहित्यको विकास भएको देखाउँछ । जब बादाम, चना चटपटे बेच्नेलाई काम लाग्ने कागज पनि साहित्य भएर पुरस्कृत भयो, तब बुझ्नुहोस् – साहित्यको विकास भयो ।
नेपालमा लेखन वा लेखकभन्दा पुरस्कार ठूलो हो, राजेन्द्रजी यही भएर चोलेश्वरले पुरस्कार भनेपछि पाँच हजार त के पाँच पैसा पनि स्वीकार गर्छ । दया हो भने उसलाई पाँच लाख पनि मन्जुर छैन । राजेन्द्रजीका अभिव्यक्तिमा यो कुरा अरूले भन्दा चोलेश्वरहरूले थाहा पाउनुपर्छ- शैलीको थियो । निश्चय नै, यस कथनमा सत्यता छ । समालोचक भएपछि बोल्नुपर्यो, लेख्नुपर्यो । नबोल्न, नलेख्न मिल्दैन। यसै पनि नेपालीका समालोचक जे बोल्छन्, सही बोल्छन् । सत्य बोल्छन् । तारानाथ शर्मादेखि मोहनराज शर्मासम्म, आदे भट्टदेखि वादे त्रिपाठीसम्म, अभि सुवेदीदेखि राजेन्द्र सुवेदीसम्म । अनि लेखकलाई दिइने पुरस्कार न रत्नपार्कका चुरोटका नाङ्ले पसलका महाप्रबन्धकलाई दिइन्छ न त लेखकलाई उधारो रक्सी खुवाउने पसलकी अध्यक्षा पसल्नी दिदीलाई, चाहे उनी जतिसुकै राम्री होऊन् । लेखकलाई नै दिइन्छ, चाहे त्यो श्री श्री चोलेश्वरजीजस्तो वा अझै जतिसुकै रद्दी होस् ।
चौथो, उहाँले मेरा रचनाले भैरव अर्यालका परम्परालाई वहन गरेनगरेको कुरालाई सङ्केत मात्र गरेर छोड्नुभयो । यथार्थमा, त्यो उहाँको बठ्याइँ थियो । अरू भइएला, बाठो नभई समालोचक भइन्न । कसलाई कति उचाल्नुपर्छ, कसलाई कति पछार्नुपर्छ, खूब विचार पुऱ्याउनुपर्छ समालोचकले । नेपाली समालोचनामा शृङ्गारकालदेखि चलेको रीति प्रजातन्त्रपछि मौलाएको छ ।
मैले भैरव अर्यालका परम्परा वहन गरेर त्यस्ता स्तरीय, त्यतिका गहकिला हास्यव्यङ्ग्य निबन्ध लेख्न सक्ने कुरै भएन । म त रद्दी लेखक । न त मैले कतै आकाशमा मुठी बटारेर त्यस्तो लेख्छु लेख्छु भनेर किरिया खाएको छु । किरिया खाएकै भए पनि लेख्न सक्तिनँ । किरिया खाएका कुरा, पदीय आचरण र गोप्यताका शपथग्रहण गरेका कुरा हामीले कसले कति पूरा गरेका छौं । त्यस्तो भएर मैले लेख्न सकेको भए स्थिति उल्टो पनि हुन सक्थ्यो । मेरा नाउँमा स्थापित पुरस्कार लिन भैरव अर्याल आफ्ना हास्यास्पद रचना लिएर आउँदा हुन् र राजेन्द्रजीले यस्तै यस्तै मन्तव्य व्यक्त गर्नुहुँदो हो, जुन मेरा लागि अहिले गर्नुभएको छ र मचाहिँ फूलमालामा छोपिएको फोटोमा हाँस्तो हुँ । अहिले भैरव अर्यालजस्तै । स्वर्गीय भैसकेपछि हाँस्न केको डर ?
उहाँको भनाइको सार, त्यो परम्परा चोलेश्वरजीमा छैन, त्यो स्तर झन् छँदै छैन भन्ने थियो । मैले सकेको छैन स्तरीय लेख्न सक्तिनँ पनि । लाचार छु । म स्तरहीन मान्छे । रचनाको के स्तर खोजूँ ? म कहाँबाट ल्याऊँ ? सके राजेन्द्रजीले समालोचक रामकृष्ण शर्मा, डा. तारानाथ शर्मा, हृदयचन्द्रसिंह प्रधान, डा. वासुदेव त्रिपाठी, आनन्ददेव भट्ट, मोहनराज शर्मा डा. दयाराम श्रेष्ठका परम्परा वहन गरेर लेख्नुहुन्छ । वा निबन्धमा देवकोटा, हृदयचन्द्र, तारानाथ शर्मा, लामिछाने वा बालकृष्ण पोखरेल वा कृष्णचन्द्रजस्ता लेख्नुहुन्छ ? उहाँसँगै सोध्नुपर्ला । तर पनि परिचय गराउनाका लागि गुठीले उहाँलाई नै किन छान्यो, विचारणीय छैन । जसलाई छाने पनि केही गुनासो छैन । मलाई छान्दैनथ्यो । छानिहालेको भए पनि मेरो समालोचना पनि त्यति नै रद्दी हुन्थ्यो, जति यो व्यङ्ग्यरचना छ । तर पनि त्यति र त्यस्तो समालोचना गरेर जति पारिश्रमिक उहाँले समाउनुभयो त्यसले मलाई लेखक हुनुभन्दा त्यस्तै सूत्रात्मक नवीन अन्वेषणमूलक समालोचना गर्नु नै लेखनका स्वास्थ्यका ला उपयुक्त लाग्यो । पैसा आउनुपर्छ, पुरस्कारबाट होस् कि पारिश्रमिक ।
पुरस्कार पाउनुको मिठो नमज्जा पत्रकारहरूका प्रश्नहरूबाट आयो । पत्रकार भइसकेपछि केही नयाँ हुनैपर्छ । अरूजस्तो अलपत्र होइन । यसैले त पत्रकारितालाई राज्यको चौथो अगले विभूषित गरिएको । भलै केही पर्चाकारहरू पनि पत्रकारका पङ्क्तिमा बस्छन् नेपालमा । पत्रकारिताका नाममा आफ्नो नाम थाहा छ । भन्छन्- पत्रकार भएपछि जस्ता ठाउँमा पनि प्रवेश पाइन्छ । पत्रकार बन्नाको उद्देश्य यत्ति हो ।
“यो पैसा के गर्छस् ?” ई. एक्काइसौं शताब्दीको सँघार टेक्न लाग्दा यस लेखकलाई पत्रकार – “यति पैसा देखेको थिइस् ?” वा “कसरी खर्च गर्लास् ?” शैलीमा प्रश्न गर्छन् । जस्तो कतिपय आफूलाई बुद्धिमान् ठान्ने व्यक्तिहरू एक विवाहित / विवाहिता युवक/युवतीलाई सोध्छन्- “तँ आफ्नी / आफ्नो स्वास्नी / लोग्नेसँग कसरी, कति बेला सुत्छस् / सुत्छेस् ?” निर्लज्ज । क्या गजब छ, पैसाको उपयोग सोधिँदै छ । कसले पुरस्कारको पैसा के गरेको छ ? विवरण दिऊँ ? हास्यव्यङ्ग्य लेखूँ ? तर मेरो उत्तर साहित्यिक छैन । सामान्य छ मैले रक्सी खान सक्छु । पैसा नभएर खान सकेको छैनँ । चना-बादाम किनेर खान्छु । आखिर मेरो रचना पनि चना-बदाम पोको पार्न लायक कागज थियो । बाजा बजाएर छोराको बिहे गर्छु । वा आफै बिहे गर्छु र जेल जान्छु । जुत्ता किन्छु- धेरै खुट्टामा लगाउँछु र कताकति हातमा बोकेर अरूमाथि प्रयोग गर्छु सदुपयोग । वा कुनै साहित्यिक गुठीका कार्यकारी अध्यक्ष वा भाले सदस्यहरूलाई घरमा निम्त्याएर तातो-चिसो चियापान गराउँछु र अर्को पुरस्कार समाउँछु ।
पुरस्कारको रकम यसरी खर्च गर्नुपर्छ भन्ने आशय त दाताले कहीं प्रकट गरेका छैनन् । निर्देशन छैन, पुरस्कार यसरी खर्च गरियोस् । के म पूर्व जे.टि.ए. भएका नाताले दश बोरा यूरिया कालोबजारमा किनेर आलुमूला सपारूँ ? र बजारमा ल्याऊँ हास्यव्यङ्ग्यकारले उत्पादन गरेका आलुमूला । आलु एक रुपैयाँ किलो । नेपालका बजारमा एक रुपैयाँ किलो आलु किनेर खाँदा हास्यव्यङ्ग्यका उत्कष्ट रचनाबराबर आनन्द पाइन्छ आज ।
पुरस्कार समारोहका दिन सबभन्दा आश्चर्य मलाई के लाग्यो भने म पद्मकन्या क्याम्पसका कक्षाकोठाका सभाका सोफामा गजधम्म बस्ने सौभाग्य पाएँ जहाँ “यो पुरस्कार यस झ्याउरेलाई किन दिइएको ?” बोल्ने शयदुईशय आँखाका अगाडि मैले उभिएर बोल्नुपर्यो । बोल्नु त्यस ठाउँमा जहाँ भित्र पस्न पनि सङ्कोच मान्नुपर्छ । सङ्कोच मान्नुपर्छ त्यहाँ पस्न कम से कम मजस्तो दुब्लो पातलो व्यक्तिले ढाकाका टोपीमा जहाँ अभयारण्यका हरिणीहरू बुर्कुसी मार्छन् । हरिणीहरू बुर्कुसी मार्छन् त्यसैले त्यस अभयारण्यको क्षेत्र अनाहत होस् । त्यो क्षेत्र अनाहत होस् जसभित्रको भाग जतिसुकै थोत्रिए पनि भवनको बाहिरी रङ्गरोगन नयाँ छ । बाहिरी रङ्गरोगन नयाँ छ र भित्र सभागारका लहरका बीच बीचमा कुर्सी नास्ति छन्- थोते बूढीका गिजाका दाँत भएर । तर छात्राहरू सबै रङ्गिला छन् – कम से कम टोपीले….. याइ… रे… याइ …. रे…. जोर लगाके…।
नेपाली हास्यव्यङ्ग्यका कुशल शिल्पी भैरवका स्मृतिमा हास्यव्यङ्ग्यको अर्को मजस्तो तुच्छ लेखकलाई पुरस्कृत गरिँदाको समारोह यति नीरस कतिले टिप्पणी गरे । तर मलाई त रसिलो थियो । कौडीका मोलमा नबिक्ने लेखकलाई पाँच हजार । केही नगरी प्राप्त नगद नोट कोटका भित्री पाकेटमा थियो । सोचिरहेथें – कति बेला यो झ्याउरे कार्यक्रम सकिन्छ । पुरस्कृत प्रतिभा चोलेश्वर त धेरै-थोरै हास्यमय र व्यङ्ग्यमय थियो दुब्लो शरीर, चुच्चो नाक, ढाकाका खोलमा आधा लुकेको एक थान टाउको । हास्यास्पद लेखक । रचना र लेखकका व्यक्तित्वको मेल थियो । यस्तो नेपाली लेखकमा प्रायः पाइन्न । देवकोटामा मात्र पाइएला । दर्शक-श्रोताका मुख-मुद्रामा शोक व्याप्त थियो । त्यसको कारण चोलेश्वरजीका हातमा परेको पुरस्कारको खाम थियो ।
समारोहका अन्त्यमा चियापानको आयोजना साह्रै स्मरणीय थियो । भैरवका आत्माले शान्ति पाउने खालको । मैले त्यही क्षण पर्खिरहेको थिएँ किनभने भैरवले चिया खान र खुवाउन निकै रुचाउँथे । अझै चिया मात्र होइन, प्रत्येक नेपालीलाई “भान्सा भो हजूर ?” भन्थे । हास्यव्यङ्ग्यको मजस्तो लेखकको यस्ता समारोहमा उपस्थितिको उद्देश्य पुरस्कार र चियापान नै हुने गर्छ । पुरस्कारको लक्ष्य आफूलाई खुसी गराउनु र चियापान भैरवजीलाई । साँचो अर्थमा, त्यस दिनको सबभन्दा महत्त्वपूर्ण काम त्यही थियो । जहिले पनि समारोहको झारा टार्ने कार्यक्रमभन्दा चियापान अर्थपूर्ण हुन्छ नेपालमा । जुन सभा समारोहमा चियापान, जलपान छैन, हुँदैन, त्यो व्यर्थ हुन्छ, बेमतलब हुन्छ । बुद्धिमान्ले सभा-समारोहमा जानुको उद्देश्य नै चियापान हो भन्ने बुझ्नुपर्छ ।
त्यस सभाको सार – मलाई पुरस्कार नपाउनुभन्दा पाउनुको नमज्जा बढी स्तरीय लाग्यो । पुरस्कार घोषणापछि नै दुईचार अभिन्न मित्रहरूसँग ईर्ष्याको बीउ रोपियो । आफन्तहरूसँग ‘माइफो’ भयो । दशपाँच साहित्यिक मित्रहरूले आफ्ना पगरी खोसिन आँटेकामा मलाई चाँडै नै ठेगान लगाउनुपर्ने बाचा गरे, बम्बईया फिल्मी शैलीमा थोरै सुन्तलापानी खाएर । सङ्कोचसाथ सोफामा बसियो काठमाडौंमा । अनकनाउँदै भाषण गरियो । यद्यपि त्यसमा आफूलाई विनम्र, क्षुद्र र प्रतिभाहीन छु र लेखक होइन भन्ने देखाउने शैलीको ढाँटबोलीबाहेक केही थिएन । त्यो सभा आयोजक र समारोहका श्रोता सबैलाई थाहा थियो । प्रायः सबै भाषण यस्तै नीरस, अर्थहीन र बकवास हुन्छन् । भाषण गर्ने सबैले बुझेका छौँ । आखिर सबै हामी यही ढाँटढुँट संस्कारमा हुर्केका छौँ ।
“यत्ति पुरस्कारका लागि पाल्पादेखि किन आउनुपरेको होला ? पुरस्कारका भोका यहीं कति छौँ ।”
“चोलेश्वरजीलाई पुरस्कृत गर्ने संयोजक रमेश विकल पनि छँटाएछन् कि क्या प्राज्ञ भएपछि ?”
“सिफारिस समितिमा बस्ने श्रीधर खनालले खनाल हो भन्ने थाहा पाएपछि आँखा चिम्लिएर सिफारिश गरिदिए नि चोलेश्वरजीलाई ।” शैलीका पूणर् साहित्यिक अभिव्यक्तिका खासखुस सुनियो आनन्दसँग ।
यस पुरस्कारका सन्दर्भबाट मलाई कुन कुराले सबभन्दा बढी आनन्द लाग्यो भने मलाई पुरस्कारको पात्र ठानिनाको आधार म उपत्यकाबाहिरको हुनु थियो ।
“हो नि मित्रहरू। हामी उपत्यकाबाहिर नरहेका भए तपाईंहरूले सजिलै समाउनुभएका मोटा पुरस्कार समाउन पाउनुहुन्नथ्यो ।”
दुब्लो हुनु अर्को योग्यता । कट्टु-सुरुवाल केही पनि नलगाएरै जन्मनु अर्को विशेष योग्यता । यद्यपि यो कुरो राजेन्द्रजीले भन्नुभएन – सम्झेर पछि भन्नुहोला। पूर्व जे.टि.ए. हुनु अर्को योग्यता । मेरा रचनाका दृष्टिले, मेरा रचना – कर्मले वा रचनागत विशेषता वा नेपाली हास्यव्यङ्ग्य निबन्धमा मेरो बिस-तिस वर्षको साधना केही रहेनछ । हुन पनि दुब्लो मान्छेको के योगदान ? साधना ? उपत्यकाबाहिर रहेर पनि लेखकका रूपमा पाँच हजारको पुरस्कार पाउनुको गौरव कम हो ? लेखेर पनि अर्थोपार्जन हुन्छ नेपालमा भन्ने पहिलोचोटि थाहा पाउनु कम होइन । निश्चय नै, उपत्यकाभित्र नलेखेर पनि लेखेझैं गरेर अर्थोपार्जन भइरहेछ, यही भन्न खोज्नुभएको हो कि ? सोध्नुपर्ला । राजेन्द्रजी तपाईं कहाँ हुनुहुन्छ मित्र ? अरू कसैको परिचय -समालोचनामा जुट्नुभयो ? दशबिस समालोचना लेखिराख्नुहोस् । जहाँ आवश्यक पर्छ, रेडिमेड । जसरी आजभोलि मर्दा पर्दा, चाड-पर्व, उत्सव- उमङ्ग सबैतिर माधुरी दीक्षित बजिरहेछन्- मेरा पिया घर आया ओ रामा । वा अँखियाँ मिलाउँ…! – तपाईंका समालोचना बजिरहून्, घन्किरहून् ।
तर यति बेला मैले पुरस्कार पाउनुको नमज्जा गनिरहेको छु- नलेखेरै पुरस्कार पाएको, रद्दी लेखक भएर पनि पुरस्कार दिइएको, दयाले दिइएको, खनाल भएर खनालका सिफारिशमा परेको, भैरव अर्यालका परम्परा वहन नगरेकै भए पनि पुरस्कार दिइएको, दुब्लो मान्छेले पुरस्कार पाएको…. । पुरस्कार पाउनैपर्ने के लेख्या’ छ र त्यसले ?- खस्रा कुरा मीठा ।
“रमेश विकलजीले पनि यसो सोच्नु त पर्छ, पुरस्कार दिनुअघि त्यस्तालाई ।” यी सबै अभिव्यक्ति, गुनासा, गथासा, जिज्ञासा, प्रश्न, कुतूहल शत प्रतिशत सही हुन् ।
यी अभिव्यक्ति गुनासा, गथासा, जिज्ञासा, प्रश्न, कुतूहल शत प्रतिशत सही हुन् । यस्तै अभिव्यक्तिले मलाई लेख्न बल दिन्छन् ।
अन्त्यमा, चोलेश्वरले पुरस्कार पायो। भैरवका आत्माले शान्ति पाओस् । ओम् शान्ति ! ….
०००
‘सगरमाथा एक पहाडको नाम होइन’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह (२०८०)
Subscribe
Login
0 Comments
Oldest





































