साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शिक्षासेवी इन्द्रबहादुर खड्का र उदीयमान स्रष्टा सरस्वती पाण्डे पुरस्कृत

भाषा आयोगका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा. लवदेव अवस्थीले सम्मानपत्र प्रदान गर्नुभयो भने पुरस्कार राशि प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कडेल तथा साहित्य पुरस्कारका संस्थापक शिवप्रसाद अधिकारीले हस्तान्तरण गर्नुभयो।

Nepal Telecom ad

काठमाडाैं । गुरु पूर्णीमाकाे अवसरमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले प्रदान गर्ने राष्ट्रियस्तरको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ अग्रज शिक्षासेवी इन्द्रबहादुर खड्का र धादिङ जिल्ला स्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ (दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार) साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’ लाई समर्पण गरिएको छ।

ठाकुर प्रसाद शर्मा प्रतिष्ठान धादिङकाे पहिलाे हाइस्कूल गजुरी स्थित आदर्श माविका प्रधानाध्यापक ठाकुरप्रसाद शर्माकाे नाममा पूर्व विद्यार्थीहरुबाट स्थापित प्रतिष्ठान हाे ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहमा भाषा आयोगका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव डा. लवदेव अवस्थीले सम्मानपत्र प्रदान गर्नुभयो भने पुरस्कार राशि प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कडेल तथा साहित्य पुरस्कारका संस्थापक शिवप्रसाद अधिकारीले हस्तान्तरण गर्नुभयो।

प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक प्रधानाध्यापक तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्मा, शिक्षाविद् प्रा. डा. शोभाखर कँडेल, साहित्यकार नरनाथ लुइँटेल, साहित्यकार दुर्गा रिमाल अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाललगायत शिक्षा, साहित्य र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षा क्षेत्रमा पाँच दशकभन्दा लामो योगदानको सम्मान :
‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ बाट सम्मानित इन्द्रबहादुर खड्का दोलखाको गौरीशंकर गाउँपालिकामा जन्मिनुभएका वरिष्ठ शिक्षासेवी हुनुहुन्छ। हाल जिरी नगरपालिका–६ मा बसोबास गर्दै आउनुभएका उहाँले शिक्षा क्षेत्रमा ४५ वर्षभन्दा बढी समय समर्पित गर्नुभएको छ।

उहाँ जिरी माध्यमिक विद्यालयमा १८ वर्ष प्रधानाध्यापक, जिरी क्याम्पसमा १८ वर्ष संस्थापक क्याम्पस प्रमुख तथा जिरी बुद्धिष्ट कलेजमा ९ वर्ष क्याम्पस प्रमुखका रूपमा कार्यरत रहनुभएको थियो। जिरी प्राविधिक विद्यालयमा समेत अध्यापन गर्नुभएका खड्काले हाल पनि स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गर्दै आउनुभएको छ।

शिक्षा क्षेत्रको दीर्घकालीन योगदानको कदर गर्दै शिक्षाविद् तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्रा. डा. शोभाखर कँडेलको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसमा उहाँलाई पुरस्कार प्रदान गरिएको हो।

बालसाहित्य र शिक्षामा सक्रिय ‘सरस’ सम्मानित:
धादिङ जिल्ला स्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ बाट सम्मानित सरस्वती पाण्डे ‘सरस’ धुनिवेशी नगरपालिका–९ निवासी साहित्यकार तथा शिक्षक हुनुहुन्छ।

एम.फिल. (नेपाली साहित्य) सम्म अध्ययन गर्नुभएकी पाण्डे २०७१ सालदेखि डिल्ली सावित्री माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्छ। यसअघि धुनिवेशी आदर्श क्याम्पसमा पनि प्राध्यापन गर्नुभएको उहाँले स्थानीय पाठ्यक्रम तथा सन्दर्भ सामग्री निर्माणमा समेत महत्वपूर्ण योगदान दिनुभएको छ।

बालसाहित्य क्षेत्रमा विशेष पहिचान बनाउनुभएकी पाण्डेले ७२ भन्दा बढी बालसाहित्यका पुस्तक सम्पादन गरिसक्नुभएको छ। उहाँका ‘सरी आमा’, ‘म र मेरो परिवार’, ‘आदित्यले मोबाइल हेरेन’, ‘गुलाफ र भंगेरी’, ‘झिँगोको दाउ’ लगायतका सचित्र बालकथा तथा ‘काँचो माटो’ नाटक सङ्ग्रह प्रकाशित छन्। साथै १२ वटा ‘व्याकरण सिकाउने सचित्र बालकथा’ प्रकाशोन्मुख छन्।

गजल, कथा, कविता, समीक्षा, समालोचना तथा अनुसन्धानमूलक लेखहरू मधुपर्क लगायतका साहित्यिक पत्रिका, जर्नल तथा अनलाइन माध्यममा नियमित प्रकाशित हुँदै आएका छन्। वरिष्ठ साहित्यकार नरनाथ लुइँटेल संयोजक रहेको सिफारिस समितिले उहाँलाई पुरस्कारका लागि छनोट गरेको थियो।

पुरस्कृत व्यक्तित्वको प्रतिबद्धता :
पुरस्कार ग्रहणपछि दुवै पुरस्कृत व्यक्तित्वले पुरस्कारले आफूहरूलाई थप जिम्मेवार बनाएको बताउँदै शिक्षा र साहित्यको क्षेत्रमा निरन्तर योगदान दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा बद्रीप्रसाद दाहाल, सुमनदास श्रेष्ठ, ठाकुरप्रसाद शर्मालगायतले शुभकामना व्यक्त गर्दै प्रतिष्ठानले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वको सम्मान गर्ने परम्पराले नयाँ पुस्तालाई प्रेरणा दिएको धारणा राख्नुभयो।

त्यसैगरी आदर्श माध्यमिक विद्यालयका पूर्वविद्यार्थी राजेन्द्र पाण्डे (एसएलसी २०२९) र सुरेन्द्र पाण्डे (एसएलसी २०३०) ले पनि आफ्नो धारणा राख्दै प्रतिष्ठानले गुरुहरूको योगदानलाई जीवन्त राख्ने कार्य गरेको बताउनुभयाे।

०००
प्रविण रिजाल/धादिङकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x