सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्यागुता महान्

भ्यागुताका फुलका रूप-रचनाबाट प्रेरणा लिएर नै आजको प्रमुख सभ्य र प्रोटिनयुक्त आहार चाउचाउ (नूडल्स) बनाइएको हो । र वास्तवमा यही आहारले नेपालीको सरदर आयु एकैपटक छयालिस वर्ष पुगेको छ ।

Nepal Telecom ad

चोलेश्वर शर्मा :

भ्यागुताहरू प्रकृतिले उभयचर (एम्फिबियन्स) हुन् । तर तिनलाई जलमा स्थलमा कतै सुरक्षा छैन । मानिसजस्तो स्थलचर भएर पनि जलका सुविधा भोग्न भ्यागुताले पाएका छैनन् । दिनमा चियाका गिलास र रातमा रक्सीका समुद्रमा पौर्ने सौभाग्य भ्यागुतालाई छैन ।

भ्यागुताहरू साहै प्राचीन हुन् । तिनको इतिहास पनि प्राचीन छ । तिनका प्राचीनताको सानो प्रमाण नेपालको स्वयम्भू छाउनीको राष्ट्रिय सङ्ग्रहालयका ढोकामा तेर्स्याइएको ढलेको रूखजस्तो वस्तु छ । त्यो वस्तुतः भ्यागुताको दाहो हो । र २० करोड वर्ष पुरानो मानिन्छ । त्यहीँ वि. सं. १९९० को भूकम्पमा बाङ्गिएको सत्तरी भनेर जुन वस्तु राखिएको छ, त्यो पनि यथार्थमा बच्चो भ्यागुताको पछिल्लो खुट्टो हो ।

जुन बेलादेखि मान्छेले माछा खान जान्यो र खोलानाला, ताल, पोखरी, सरोवर र समुद्रमा माछा मार्न लाग्यो त्यस बेलादेखि नै भ्यागुताहरू विषमताका शिकार भए । तिनलाई मान्छेले तिरस्कार गर्‍यो । हात परेका भ्यागुतालाई यत्रतत्र मिल्काइदियो । आज आएर बल्ल भ्यागुताको उचित कदर हुन थालेको छ । वास्तवमा भ्यागुताहरू प्राचीनकालमा पनि भ्यागुताहरू नै थिए । ती हात्ती थिएनन् । ती न कङ्गारु वा हरिण नै थिए, जस्तो मानिसहरू पहिले बाँदर थिए भनिन्छ । यद्यपि आज यो धारणा भ्रमपूर्ण प्रमाणित भइसकेको छ ।

भ्यागुताहरू हाम्रा बालक्रीडा र मनोरञ्जनका प्रमुख आधार हुन् । ती नभए हाम्रा केटाकेटीले आफ्ना अभावका दिन र खोक्रा पेटले आत्तिएर आत्महत्या गरिसक्थे । ती ‘चि मूसी ची’ खेल्छन् । “मेरा बाबु तिम्रा बाबु माछा मार्न गए” गाउँछन् । आफ्ना मनका जलराशिमा भ्यागुता लुकाएर । तिनले नेपालमा आशावादी दर्शनको बीउ रोपे । उज्यालो भोलिका आशामा बाँच्न सिकाए । तर त्यो उल्लू भोलिचाहिँ आजसम्म आइपुगेको छैन । तिनैले आफ्ना बाबुहरू रित्तै आउँदा “माछो माछो भ्यागुतो” गाएर आफ्ना अभावलाई बिर्से । यथार्थमा “माछो माछो भ्यागुतो” हाम्रो बालक्रीडाको, जीवन र दर्शनको निचोर हो । महर्षि, चिन्तक, दार्शनिक र महात्माहरूले संसारलाई “माछो माछो भ्यागुतो” ठाने । भ्यागुता नभए संसार “माछो माछो” मात्र हुन्थ्यो जो सर्वथा मिथ्या हुन्थ्यो । भ्यागुता भएकै कारणले “माछो माछो भ्यागुतो” छ । संसार छ । भ्यागुताहरू छन् । मानिसहरू छन् ।

सङ्गीत भ्यागुताहरूको विशेष क्षेत्र हो । कोइलीपछि सङ्गीतका आचार्य दुई प्राणी संसारमा छन् । गधाहरू – हजूर गधाहरू । यो मैले गधाहरूलाई मात्रै भन्दै छु र भ्यागुताहरू । गधामहिमा पछि गाउँला, आज म भ्यागुतातर्फ एकोहोरिएको छु ।

वर्षाका बेला भ्यागुताका समवेत स्वरका प्रभावबाट अनेक व्यक्ति सङ्गीतकार भएका छन् । भ्यागुता नभए सङ्गीतका सात सुरमा एक हुँदैनथ्यो । सङ्गीतकार हुँदैनथे । भ्यागुताका सङ्गीतको मर्म नबुझी कोही नारायण गोपाल, लता मंगेशकर वा मोहम्मद रफी वा बब गिल्डफ वा लुडविग वान बिथोफन भएको मलाई विश्वास हुन्न ।

साहित्यमा पनि भ्यागुताको विशेष योगदान छ । ग्रीसेली एरिस्टोफेनसदेखि नेपाली लेखनाथ र जापानी बाशोसम्मका साहित्यमा भ्यागुताकै एकछत्र शासन छ । लेखनाथले आफ्नो प्रसिद्ध काव्य ‘ऋतुविचार’मा सबभन्दा राम्ररी विचार वर्षामा गरे । वर्षामा गरे भन्नुको अर्थ भ्यागुतामा गरे । भ्यागुताले नडाकी वर्षा ऋतु आउँदैन । वर्षाविचारका जुन जुन श्लोकमा भ्यागुताका वणर्न छन्, ती लेखनाथका महान् उपलब्धि हुन् । हेर्नोस् न : “भ्यागुताको जहाँ बास उहीँ कमल फुल्दछ ।”

यही एक पङ्क्ति मात्रले पनि कवि शिरोमणि लेखनाथ र भ्यागुताको शक्ति देखिन्छ । यति राम्रो पङ्क्ति ऋतुविचारमा वर्षामा बाहेक अन्यत्र कतै छैन । न त ‘तरुण तपसी’ मा नै छ । ‘गङ्गागौरी’ मा उनले गङ्गाका भ्यागुताबारे दुईचार सर्ग अवश्य लेख्ता हुन्, तर निष्ठुर विधिलाई यो सह्य भएन ।

भ्यागुता नभएका भए ‘भ्यागुतो भएको बाकस’ हुँदैनथ्यो । र ‘भ्यागुतो भएको बाकस’ नभएको भए केकेम नुक्च्यो पोखरेलका कथामा प्रोटिन हुँदैनथ्यो ।

भ्यागुताका भ्यागुत्ताले कायल किशोर नेपालले पनि भ्यागुताको वर्णन  गर्नुभयो र हाम्रो जीवनको “उपलब्धिः भ्यागुतो” बराबर भएको ठहर्‍याउनुभयो ।

भ्यागुताको महत्ता स्वीकारेर नगेन्द्र शर्माले, ‘अण्डादेखि भ्यागुतोसम्म’ खानुभयो र लेख्नुभयो । मलाई विश्वास छ, नेपालीले कुनै दिन साहित्यमा नोबेल पुरस्कार पायो भने-भगवानले त्यस्तो दिन नल्याऊन् त्यो ग्रन्थ भ्यागुतासम्बन्धी नै हुनेछ ।

भ्यागुताकै कारणले मानिस डाक्टर हुन्छन् । दुर्घटना भनौँ । भ्यागुताका खुट्टा नतानी कुनै मानिस डाक्टर भएको मलाई विश्वास छैन । भ्यागुता नभए डाक्टरी पढ्नेले मानव-शरीर-संरचना बुझ्दैनथे । शल्यक्रिया गाह्रो हुन्थ्यो । आजभन्दा बढी शल्यक्रिया असफल हुन्थे । स्टेथोस्कोप झुन्ड्याउने मान्छेको दर्शन दुर्लभ हुन्थ्यो । यही खुट्टा तान्ने प्रवृत्ति डाक्टर नभएका मानिसले पनि आजीवन अवलम्बन गर्छन् र सुखपूर्वक बाँच्दछन् ।

भ्यागुताहरूले नै मानिसले भन्दा बढी औलेज्वरो (मलेरिया) का रोकथाममा सहयोग गरेका छन् । तापनि कुनै भ्यागुतालाई कुनै संस्था वा विश्वविद्यालयबाट डी. लिट्. को मानार्थ उपाधि (अनरेरी डिग्री) प्रदान गरिएको थाहा छैन । अरुहरूलाई बरू प्रदान गरियो । गरिँदै छ । काम गर्ने हनुमान् जस पाउने ढेडु संसारको परम्परा हो । समयले मानिसलाई भ्यागुताको शक्ति र सामर्थ्य चिनाएको छ । उसप्रतिको दृष्टिकोण पनि फेरिएको छ ।

योजनाविद्हरूले नेपालका विकासका लागि नयाँ रणनीतिक योजना (स्ट्राटेजिक प्लान) तयार गरेका छन् । यसअनुसार अब नेपाली विकासको मूल भ्यागुताकेन्द्री हुनेछ । सम्पूर्ण विकास आयोजना भ्यागुताले सञ्चालन गर्नेछन् । यसअन्तर्गत अर्थ मन्त्रालयमा पनि भ्यागुता विभाग खोलिनेछ । वाणिज्य मन्त्रालयअर्न्तगत एउटा ‘भ्यागुता व्यापार प्रवर्द्धन केन्द्र’ खोलिनेछ । यसले नेपाली भ्यागुताको निर्यात व्यापार वृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरमा कोशिश गर्नेछ । यसको प्रधान कार्यालय काठमाडौंमा र शाखाहरू बैङ्कक, मनिला, टोकियो, मास्को, लन्डन, जेनेभा र न्यूयोर्कमा रहनेछन् । गृह मन्त्रालयले भ्यागुताका नागरिकताका समस्या सुल्झाउन एक शाखा खोल्नेछ । परराष्ट्र मन्त्रालयमा पनि भ्यागुता शाखा खोलिनेछ । यी सबैमा उप सचिव र शाखा अधिकृतहरू पर्याप्त खपत हुनेछन् । यसले देशमा नयाँ काममामका अवसर खुल्नेछन् । तिनलाई पूर्ति गर्न लोसे आयोग (लोकसेवा आयोग) ले पनि बढी काम पाउनेछ । आजभन्दा बढी परीक्षा फाराम बिक्नेछन् ।

भ्यागुतालाई प्राथमिकता दिई देशको विकास गर्न कृषि विभागमा भ्यागुता शाखाहरू खोलिनेछन् । भ्यागुताका फार्महरू तिनै शाखाअन्तर्गत रहनेछन् । जहाँ स्वस्थ र उन्नत जातका चेपागाँडाको उत्पादन र वितरण गरिनेछ । भ्यागुताका जाति र वंश – विज्ञानमा कैयौँ नेपालीले विदेशी विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्नेछन् । र दुईचार वर्षमै तिनले भ्यागुताको वंशानुगत गुण (जीन) र त्यसको डि.एन.ए. को अध्ययन र विश्लेषणद्वारा कम्तीमा ठोटरीजत्रा भ्यागुताको विकास गर्नेछन् । तीमध्ये केही विशेष अध्ययनशीलहरूले चेपागाँडाका पुच्छरका पीएच. डी. समाउनेछन् । पीएच. डी. भनेपछि मरेका बाघका जुगामा होस् वा जिउँदा भ्यागुताका पुच्छरमा-एउटै हो ।

हाम्रो वाणिज्य र अर्थ-व्यवस्थामा पनि भ्यागुताको ठूलो भूमिका हुन सक्छ । भारतले बर्सेनि दश करोड रुपैयाँभन्दा बढी मूल्यका भ्यागुता निर्यात गरेर विदेशी मुद्रा कमाउँछ । नेपालले यसतर्फ ध्यान दिएको छैन । गण्डकी, कोशी, कर्णाली, रापती, वाग्मती आदि अनेक नदीका भ्यागुता पानीसँगै भारत पुगेका छन् । र भारतको भ्यागुता उत्पादनको करिब चालिस प्रतिशत नेपालबाट भागेका भ्यागुता छन् । तिनमा कति भ्यागुता शिक्षित छन्, थाहा छैन । भ्यागुताले पनि आफू जन्मेको देश छोड्नु निश्चय नै गम्भीर छ । महान् महान् भ्यागुताको यो पलायन (ब्रेन ड्रेन) बारे सोच्नु देशका बुद्धिजीवीहरूको काम हो । मजस्ता मूढको होइन । मैले यो उहाँहरूलाई नै छोड्छु । यसबारे भारतसँग द्विपक्षीय वार्ता गरी भ्यागुता फिर्ता ल्याउन वा त्यसका सट्टा वर्तमान अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य प्राप्त गर्ने काम गर्नुपर्नेछ । यो वार्ता प्रत्येक वर्ष पालैसँग नयाँ दिल्ली र काठमाडौंमा गर्नु उपयुक्त हुनेछ । यो मेरो क्षुद्र विचार हो । मूढमति । आगे बुद्धिजीवीहरूको मर्जी ।

नेपालका जलस्रोतबाट भ्यागुताहरूलाई भाग्न नदिन प्रहरी र सेनाबललाई सङ्गठित गरी प्रयोग गरिनेछ । प्रहरीहरूलाई भ्यागुताको चिप्लोपनासँग लड्ने क्षमता प्रदान गरिनेछ । तिनलाई सुन्तलापानीमा होइन सङ्लो पानीमा पौर्ने तालिम दिइनेछ । पौर्ने तालिममा विदेश भ्रमणको अवसर पनि दिइनेछ । यसले प्रहरी सेवामा आकर्षण बढाउनेछ । विदेश प्रस्थानअघि तिनको टाई लगाएको फोटो गोरखापत्रले मुखपृष्ठमा छाप्नेछ ।

सेनाका सन्दर्भमा नेपाल-अङ्ग्रेज युद्धकालका आरनहरूलाई गाउँ-गाउँ जीवित तुल्याइनेछ । तिनमा बन्दूक बनाइनेछन् । ती बन्दूक भ्यागुताहरूमाथि कठबाँसका लट्ठीझै पनि प्रयोग गर्न मिल्ने किसिमका हुनेछन् । शान्ति क्षेत्रमा भरसक बन्दूक नपड्काउनु नै राम्रो ।

प्रहरी र सेनालाई नदीका क्षेत्रमा बस्न ब्यारेक बनाइनेछन् । तिनको निर्माण रातारात हुनेछ । ठेक्का व्यवसाय बढ्नेछ । सरकारलाई ठेक्काकर प्रशस्त हुनेछ । बालुवा, सिमेन्ट र खाद्यान्नको व्यापार फस्टाउनेछ । ब्यारेकवरिपरि पनि ससाना बजार खुल्नेछन् । तिनमा प्रहरी र सिपाहीहरूलाई मन पर्ने लहरी साहित्य, कर्नल रंजीत र ओमप्रकाश शर्माका जासूसी तथा प्रेम वाजपेयी र गुलशन नन्दाका महान् सामाजिक उपन्यास, भोटको सवाई, अलबर्ती मोरावियाको ‘रोमकी रमणी’ (द वुमन अफ रोम) जस्ता उच्चस्तरीय पुस्तक तथा जुगामा लगाउने मैन र जुत्ता टल्काउने पालिस पाइनेछन् ।

प्रहरी र सेनाबल बढाउनाका लागि नयाँ नयाँ भर्ती केन्द्रहरू खोलिनेछन् । नेपाल आमाका सन्तानले देशमै जागिर पाउनेछन् । यसको एउटा दूरगामी र राम्रो प्रभाव पनि पर्नेछ । ई. १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पँदा त्यहाँ रहेका नेपाली सैनिक नेपाल फिर्ता गरिए तिनलाई पनि त्यसैमा सामेल गराइनेछ ।

नेपालका भ्यागुता स्वविवेकले भागेका हुन् वा त्यसमा कुनै अन्तर्राष्ट्रिय तस्कर समूहको हात छ भन्ने बुझ्न विशेष प्रहरीलाई तैनाथ गरिनेछ । आवश्यक परे अन्तर्राष्ट्रिय प्रहरी (इन्टरपोल) को पनि सहयोग लिइनेछ ।

माछा मात्र मार्दा एकरसताले हैरान भएका देश र विदेशका शिकारीहरूलाई भ्यागुताका शिकारले नयाँ आयाम थप्नेछ । जलमा शिकार गर्ने साहसीले जलमै भ्यागुताको शिकार गर्नेछन् । र अपेक्षाकृत डरछेरुवा शिकारीले वृक्षका आडमा लुकेर भ्यागुताका शिकार गर्नेछन् । रामचन्द्रले वालीको शिकार गरेझैँ ।

जल र थलमा भ्यागुता शिकार गर्दाका ठूला र रोमाञ्चकारी चलचित्रहरू शाही नेपाल चलचित्र संस्थानले निर्माण गरी वितरित गर्नेछ । सिनेमा घरहरू खचाखच भीडका साथ चल्नेछन् । शाकाहारीले पनि घुटुपुटु थूक निल्दै भ्यागुताका शिकारसम्बन्धी चलचित्र हेर्नेछन् ।

नेपालमा भ्यागुताका शिकारका लागि आवश्यक हातहतियार गुलेली, मट्याङ्ग्रा, भाला, बल्छी, बन्दूक र शायद बमको पनि उद्योग फस्टाउनेछ । यी पछिल्ला दुई मेरा विचारमा नराम्रा छन् । तर पैसा कमाइने भएपछि मानिसले जे पनि जस्तो पनि बनाउँछ, बेच्छ । अस्तु, यसबाट नयाँ नयाँ औद्योगिक क्षेत्र स्थापित हुनेछन् । नेपाल यसैसाथ औद्योगिक युगमा प्रवेश गर्नेछ ।

नेपालमा पर्यटन उद्योगका सीमा र क्षेत्र साँगुरिँदै छन् । उनै हिमशृङ्खलाहरू, उनै तरेली परेका पहाडहरू, उनै तराइका फुङ्ग उडेका मैदानहरू र सधैँ पसिनाले नुहाइने ठाउँहरू । सगरमाथा हिजो जस्तो थियो आज उस्तै छ । फरक यत्ति छ वरिपरि पर्यटकहरूले थुप्याएका फोहर मैलाहरूले हिमाली क्षेत्रमा यत्रतत्र सगरमाथाहरूलाई उछिन्दै छन् । यिनले नेपालको पर्यटनमा नराम्रो प्रभाव पारेका छन् । यसैले भ्यागुताका शिकारले पर्यटकहरूलाई पनि नयाँ आकर्षण थप्नेछ । तिनलाई डाँडाकाँडा दौड्नुपर्नेछैन । यसबाट पर्यटकका सङ्ख्यामा उल्लेख्य वृद्धि हुनेछ । परिणामतः हिमाली क्षेत्र प्रदूषित नभई विदेशी मुद्रा आर्जनमा बढोत्तरी हुनेछ। पर्यटकहरूले प्रयोग गरेका प्यान्ट र जुत्तासुत्ता अपेक्षाकृत नयैमा हाम्रा हात पर्नेछन् । विदेशी मुद्राले हामीले थप विलासका सामग्री, नयाँ कोट र नयाँ जुत्ताहरू पनि किन्नेछौँ । यसको प्रयोग बुद्धिमानीपूर्वक यस्तैमा गर्नाले देशलाई ठूलो लाभ पुग्नेछ । तर थोरै बुद्धिमानीपूर्वक प्रयोग गरे जुत्ताचाहिँ खुट्टामा बाहेक अन्यत्र पनि प्रयोग गर्न सकिने हुनेछन् ।

दशौं योजनाअर्न्तगत भ्यागुताहरूको यथार्थ सङ्ख्या बुझ्न र तिनका समस्याको जानकारी राख्न भ्यागुता मन्त्रालय खोलिनेछ । मन्त्रालय भएपछि मन्त्री पनि हुनेछन् । तिनले मानिसका भन्दा भ्यागुताका सङ्ख्या र समस्या हेर्नेछन् । त्यसअर्न्तगत आयोगहरू रहनेछन् । बङ्गलादेशमा करीब सात करोड भ्यागुता भएको जानकारी भएको छ । यसले त्यस देशको तथ्याङ्क विभाग र त्यसको व्यवस्था दुरुस्त भएको जनाउँछ । तर नेपालमा कति छन् भ्यागुता कसैले भन्न सक्तैन । हाम्रो देशमा कुनै कुराको तथ्याङ्क दुरुस्त रहेको होलाझै लाग्दैन । राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंक तथ्याङ्कमा सधैँ झगडा गर्छन् । यी दुवै राष्ट्रका भलादमी संस्था न हुन् । तथ्याङ्क मिथ्याङ्कका जादूगर ।

कति जीववैज्ञानिकहरूले भ्यागुताका रुचिका आहार, पानी, जलवायु, कीरा आदिमा शोधखोज गरी अन्तर्राष्ट्रिय भ्यागुता अनुसन्धान केन्द्रमा प्रस्तुत गर्नेछन् । परिणाम जस्तो होस्, तिनले काम पाउनेछन् ।

विद्वानहरूले भ्यागुताका शत्रु-सर्प, कछुवा, काग, पानीमूसा र मानिसबाट पनि तिनमा परेका चापको शोध गर्नेछन् र तिनका आक्रमणबाट भ्यागुताको संरक्षणका उपाय सुझाउनेछन् । आफ्नो जीवन त्यसैमा लगाउनेछन् । लुई पाश्चरले बौलाहा कुकुरले टोकेको औषधि वा सर अलेक्ज्यान्डर फ्लेमिङले पेनिसिलिनमा लगाएझै ।

शाही नेपाली चलचित्र संस्थानले भ्यागुताका जिब्राको अनौठो संरचनाबारे सामान्य शिक्षाप्रद वृत्तचित्रहरू पनि निर्माण गर्नेछ । यो ससाना कक्षाका विज्ञानका किताबमा पनि पाइन्छ तापनि चलचित्रमा जे भए पनि राम्रो हुन्छ । यसलाई भ्यागुताले कुनै गीत गाएको अवसरमा प्रस्तुत गर्न सकिन्छ । र रेडियोले पनि आफ्ना कार्यक्रममा भ्यागुता कार्यक्रम समावेश गर्नेछ । मैले थाहा पाएसम्म यही एउटो कार्यक्रम मात्र हाम्रो रेडियोबाट प्रसारित हुँदैन । भएको छैन ।

भ्यागुताका फुलका रूप-रचनाबाट प्रेरणा लिएर नै आजको प्रमुख सभ्य र प्रोटिनयुक्त आहार चाउचाउ (नूडल्स) बनाइएको हो । र वास्तवमा यही आहारले नेपालीको सरदर आयु एकैपटक छयालिस वर्ष पुगेको छ ।

अन्त्यमा, भ्यागुताका मासुबारे थप कुरा उल्लेख नगरे यो निबन्ध अधूरो रहनेछ । वैज्ञानिक अनुसन्धानअनुसार सम्पूर्ण खाद्य पदार्थहरूमध्ये सबभन्दा बढी प्रोटिन भ्यागुताका मासुमा हुन्छ । प्रोटिन पाइने भएपछि सबै कुरा आँखा चिम्लेर आहार बनाउनु आजको सभ्यता हो । आजका अखाद्य भोलि प्रोटिनयुक्त भएर के के पर्छन् खाद्यमा, हेर्दै जानोस् । यसैले बर्सेनि यसको माग बढ्दैछ विदेशमा । यो कति चाखले खाइन्छ, हाम्रै छिमेकी थाइल्यान्डलाई सोध्नोस् वा गोरखापत्र संस्थानका महाप्रबन्धक श्रीमान् नगेन्द्र शर्माज्यूलाई । उहाँले कसरी स्प्रिङ चिकेन खानुभयो र पछि त्यति स्वादिष्ट कुन चरो रहेछ भन्ने उहाँको जिज्ञासा उहाँकै अगाडि धागामा तुर्लुङ्ग झुन्डिएर आएको भ्यागुताले त्यो स्प्रिङ चिकेन भन्ने पाजी आफू नै भएको कुरो निवेदन गरेपछि कति प्रसन्नता जाहेर गर्नुभयो ।

‘अण्डादेखि भ्यागुतोसम्म’ खानु, लेख्नु र पढ्नु सबै नेपालीको जीवनको लक्ष्य हुनुपर्छ । नेपालमा जन्मेर भ्यागुता नचाखी मर्नु नेपाली नहुनाको चिन्ह हो ।

त्यसै पनि कुपोषणका शिकार हामीलाई भ्यागुताको शिकार अभीष्ट छ ।

मैले पहिल्यै भनेथेः भ्यागुता महान् छन् । अझै भ्यागुताजीहरू महान् हुनुहुन्छ ।

महान् भएकै कारणले भ्यागुताले बाशोको यो हाइकु कति मर्मस्पर्शी बनाएको छ, हेर्नुहोस्ः

ताल पुरानो
उफ्य्रो भ्यागुतो
गुडुप्…

०००
‘सगरमाथा एक पहाडको नाम होइन’ (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
तसमो मा ज्योतिर्गमय

तसमो मा ज्योतिर्गमय

चाेलेश्वर शर्मा
लेडिज छाता

लेडिज छाता

चाेलेश्वर शर्मा
राजधानी त सधैं गजेटेड छ

राजधानी त सधैं गजेटेड...

चाेलेश्वर शर्मा
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन