सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तसमो मा ज्योतिर्गमय

उसले गरेका कुरा गहिरा हुन् होइनन् मलाई थाह छैन । तर के चाहिँ थाहा छ भने कुरा यत्ति हुन् । चारैतिरबाट प्रकाश पारिँदा पारिँदा हाम्रा शरीर पनि यत्ति अप्रकाशित भइसकेका छन् भनी सध्य छैन । मलाई बौलाहा तुल्याउने शायद यही बढी प्रकाश हो ।

Nepal Telecom ad

चाेलेश्वर शर्मा :

तिहारको होहल्लापछि अर्को हल्ला फिजियो- टिमुरे बैलायो रे ।
‘खोर्साने बाबु ! ढुङ्गो खोज्दा के नाम देउतै मिल्यो’ मेरा काका लसुने कताकताबाट आइपुगेर मलाई सङ्केत गर्दै खोर्सानेसँग भन्न लागे ‘यस के नाम टिमुरेको हालचाल ठीक छैन है भनेर मैले तपाईंसँग के नाम अस्ति नै भनेथेँ । हेर्नुहोस् त अब के नाम झन् बढिसकेको छ । अब के नाम राँची नेै नलगी नहुने भयो ।

‘के नाम’ काका लसुने बोल्न आँट्तै थिए खोर्सानेले उछिन्यो, “है, तैतै अझ राम्ररी नै बोलाओस् र राँची लगेर यसको बहुलठ्ठीपन झारेर निखार्नुहोला ।” मसँग एक बचन नबोली उसले यसप्रकार निर्णय सुनायो मानो बहुलाउनु मात्र मेरो जन्मसिद्ध अधिकार हो । म निरीहझैँ सुनिरहेँ ।

“मुख पनि फुङ्ग उडेजस्तो छ । अनुहारमा रगतै छैन, खै  ।” उसले मेरा आँखा त्यसरी च्यातेर हेर्न थाल्यो जसरी डाक्टर साहेबले कुखुराको फुल खानुपर्छ भन्नु अघि हेर्नुहुन्छ । भनी दिँदैमा ट्याक्स लाग्दैन (हाम्रा अर्थमन्त्रीको कानमा नपरोस् हैं) ।
‘ऐया’ कराएँ म ।
‘ब्यूँझिस् बल्ल’ जाग्यो खोर्साने ।
‘हैन म ब्यूँझिएकै छु ।’
‘सुन्, तेरो व्यथा राम्ररी ठम्याएँ । बुझिस् त ?’
एक छिन घाेरियो ऊ शायद प्रत्युत्तरको आशा गरेर । मबाट केही प्रत्युत्तर नपाएपछि उसले फेरि भन्यो- अँ भन्न मूला । अब म यसबारे तँलाई प्रकाश पार्छु ।’ मेरो पेट पीरो भयो ।
‘तैँले पनि प्रकाश पार्ने ? हे कलि ।’ म आश्चर्यचकित भएँ ।
‘तँ के सक्दैन भनिठान्छस् ?’
‘तँ मन्त्री होस् ?’ मैले सोधेँ उसलाई धारिलो प्रश्न ।
उसले टाउको हल्यायो नाइँमा । हुन पनि मन्त्रीका नाउँमा कोही जम्बूमन्त्री पनि भए भन्न उसका खलकमा । कसरी हुँ भनोस् ।
‘त्यसो भए सचिव होस् ? नेता होस् ? अभिनेता होस् ?’
उसको टाउको बडो नमज्जासँग ‘नाइँ’ मा हल्लिरह्यो । म भन्दै गएँ- ‘तँ अधिकृत होस् ? प्रधान होस् ? पञ्च होस् ?’
‘सबै छुनुमुन । तँ, फेरि तँ कसरी प्रकाश पार्छस्- पुङमाङ ?’
‘मैले तँलाई प्रकाश पार्छु भनेपछि ढुक्क हो न । कस्तो अविश्वासी जैरे रहेछ यो टिमुरे ?’ ऊ बर्बरायो टिमुर पर्पराएझैँ ।

‘हैन’ मलाई खपिसक्नु भएन र मैले भनेँ- “यो प्रकाश पार्ने भन्ने कुरो के हो ? यसको कुनै अदृश्य सङ्घ, संस्था वा प्राइभेट कम्पनि पो छ कि ? यो पनि के के के जस्तो त होइन ?’

खोर्सानेले मलाई टोल्हाएर हेर्‍यो । केही बेरसम्म ऊ नबोलेपछि मैले फेरि भनेँ, ‘आखिर हाम्रा सबै कार्यालयका काम गोठमा मोटर बाँध्नु र चढ्नु हो । त्यसैले यो पनि कुनै दृश्यमान् सङ्घसंस्था हो भने यसका पनि त रोई-कराई टोयोटा र होण्डा वा नागासाकी हो कि कावासाकी चढ्ने कोही न कोही हुनन् । को को हुन् ? बेलिबिस्तार लगा । आखिर बेसारे साहूदेखि बगरेसम्म सबैले प्रकाशै पार्छु भन्छन् ।’

अब अचम्म पर्ने पालो थियो उसको । मैले अझै थपेँ, ‘कि तेरो पनि केही बिकाउनु वा बाँड्नु छ ?’
‘मेरो चाहिँ बिकाउनु बाँड्नु त केही छैन । तर तेरो व्यथा चर्को छ । र यसबारे तँलाई प्रकाश पार्नु कर्तव्य ठानेर मात्र आँटेको हुँ ।’ खोर्सानेले मुख गुलियो पारेर भन्यो, ‘सुखमा मात्र तँसँग हिँड्ने घमाइलो दिके मात्र रमाइलो मित्र होइन म बुझिस् ? ‘राजद्वारे श्मशाने च…’ सुन्याछस् ? मलाई त्यसैमा गहिरो विश्वास छ ।’

त्यसपछि खोर्साने के के बोल्यो के के । के के कुरा बतायो के के । मेरा आँखा पनि लागेछन् त्यहीँ चौतारामा । उठेर उताउति हेरेँ । खोर्साने थिएन । हँ, प्रकाश पारेरै पो गयो त त्यो त्यसो भए ? मन तरङ्गियो । रहीरहेछ कि क्या प्रकाश पार्ने भन्ने ? अरू ननिंदाउन्जेल कच्कचाइरहने ? अरूलाई बेहोश तुल्याउने, लट्ठयाउने ?
यसपछि खोर्साने फेरि टुप्लुक्क आइपुग्यो त्यहीँ । अशान्त मनस्थितिमा ऊसँग धेरैबेरसम्म त्यहीँ बसिरहे । यस सम्बन्धमा खोर्सानेले मलाई जे जति प्रकाश पार्‍यो त्यो यहाँहलाई दुई शब्दमा निवेदन गर्छु । अवगत गर्नुहुन अनुरोध छ । (सरकारी भाषा) ।

हाम्रा आदि भाषणकर्ता, आत्मालोचक च्यापजु-हिमजु आर्यहरूले नै प्रत्येक विषयवस्तुमा प्रकाश पार्न थालेका हुनाले नै उनैका सन्तान हामी शिक्षक, चिकित्सक, निरीक्षक, पत्रकार, अलपत्रकार, सन्त महन्त, पञ्च प्रपञ्च, ढाक्रे, जागीरे, रक्षक, भक्षक आदि सबैले आफ्ना पैतृक गुण लिई यस खौडे पृथ्वीमा उत्रिएका छौँ र आफ्ना ठाउँ र आसनबाट, बल र राशनले कुरा र भाषणलाई अगुल्टो र ढिब्रीदेखि भुइँचम्पा र बिजुलीसम्म बनाई प्रकाश पारिरहेका छौँ ।

चौरासी लाख जुनीमा श्रेष्ठ गनिएको जुनी रे मान्छेको । प्राणीहरूमा अब्बल । कुरामा डब्बल । बिलो जगाउँदा यसलाई बुद्धिको भाग बेसी परेकोले यो माप्पाको छ । सानो ठूलो नहेरी लाप्पा खेल्नु यसको प्रिय दिनकटनी हो । यसैले यो जाद्रो जात हो । जाद्रो हुँदै निस्केको हो । यसको मागी खाने भाँडो भनाइको मतलब बुद्धिको भाँडो निकै बलियो नै हुनुपर्छ । होला पनि । यसमा कतैबाट प्रकाश छिर्ने विवरहरू छैनन् । न त यसको रचनाबारे विशेष विवरण नै छन् । तर आवरण चाहिँ अवश्य कठोर छ । झ्याल छैनन् । ढोका छैनन् । त चुहिने ठाउँहरू नै छन् । चुहिने भाँडा भए यो भाँडो टिक्दो हो पो कति नै र ? बलियो नै पनि कति नै हुँदो हो ? यसैले मान्छे आप्mनो मागी खाने भाँडोमा प्रकाश पार्न निरन्तर छटपटाउँदै छ । छटपटाइरहेछ । प्रकाश ! प्रकाश ! प्रकाश !

मान्छे मूलाका के कुरा ? प्रभु ईशामसीह पनि त प्रकाशका लागि छटपटाए- प्रकाश ! प्रकाश ! भन्दै । (लर्ड जेसस् सेड लेट देअर बी लाइट्, एण्ड देअर बाज् लाइट् ।)

त, विश्वभरि मान्छे छाती पिटी-पिटी छटपटाइरहेछ चिच्याइरहेछ । यसै हुनाले सबैले आ-आफ्ना ठाउँबाट प्रकाश पनि पार्न सक्नु आजको राष्ट्रिय दायित्व र मानवीय कर्तव्य ठहरिएको छ । यसैमा परोपकार छ । व्यास बाबाका अठार अठार पुराणका डुङ्गुरमा दुईसार वचन ‘परोपकार पुण्याय पापाय परपीडनम् ।’ ले पनि यही देखाउँछन् ।

कोक्रादेखि बोक्रा छोडाएर प्रकाश पार्ने कामको श्री गणेश भएपछि भाग्यमानी ठहरिएको मान्छे कक्षा उकालो सरेखि सरासर प्रकाश पारिँदै निरन्तर बल्दै, निरन्तर खारिँदै अगाडि बढ्छ । पढ्छ लड्छ र सड्छ । आफूलाई अभागी ठान्नेले पनि व्यर्थै चित्त दुखाएर अमलपित्त वा कमलपित्तलाई निम्तो दिनुपर्दैन । निरन्तरका सभा, समारोह, भेला, मेला, अधिवेशन, गोष्ठी, सङ्गोष्ठी प्रगोष्ठी वा अधिगोष्ठीबाट पुलिङ्गी होस् कि स्त्रीलिङ्गी, नपुङ्सकलिङ्गी होस् कि ज्योतिर्लिङ्गी स्फुलिङ्गीमा परिणत हुने मौका पाउँछ ।

विद्यालयमा सर अथवा गुरुले प्रकाश पार्नुभयो । सिस्ने युग थियो त्यो । स्वेदशी उत्पादन सिस्नो र पानी मात्रले प्रकाश पथ्र्यो । प्रभाव अमिट हुन्थ्यो । एक प्रकारको एक्युपङ्क्र चिकित्सा थियो त्यो । अफशोच । छिटै लोप भयो । नत्र हामीलाई महालङ्गुर हिमालय श्रेणी काटेर चीन-चीन धाउनु पर्दैनथ्यो । महाविद्यालय विश्वविद्यालयमा चारथरी प्राध्यापकहरूले प्रकाश पार्नुभयो । तर त्यस अवस्थामा प्रकाश राम्ररी परेन । चित्र-विचित्रका विचित्र हेर्ने र मनमोजले वनोजले जाने काल थियो त्यो । जागिरमा चाहिँ पर्नुंपर्‍यो प्रकाश । धेरैधेरै हाकिमहरूबाट । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि । एक हाकिमबाट परेको प्रकाश अर्का हाकिमबाट रद्द हुन्थ्यो । नयाँ हाकिमबाट फेरि नयाँ प्रकाश ।

गाउँघरमा ठूला बडाले प्रकाश पारे । उपप्रपञ्च र प्रपञ्चले अथवा उप्रधान पञ्च र प्रधान पञ्चले घञ्चमञ्च सहेर मंचमा बिसन्चो भएकालाई सन्चो हुँदासम्म परिपञ्च मिलाएर प्रकाश पारे ।

प्रकाश पार्ने काममा कुनै त्रुटि हुन पाए । बेला मौका निराहार निर्जल रहेर पनि प्रकाश परेको ठाउँमा सरिक होइयो । हुनु पर्‍यो । अर्कातिर जसलाई भेट्न गयो उसैले प्रकाश पार्‍यो । जति देउराली उति पाती । पछिपछि भेट्नु भनेको मन्त्री बहेक अरू कसैलाई पट्टै परेन । मन्त्रीलाई चाहिं साह्रै भेट्नु पथ्र्यो । नून छैन मन्त्री भेट । तेल छैन न्त्री भेट । सिमेण्ट छैन मन्त्री भेट । ठेक्का पाइएन मन्त्री भेट । धक्का लगाउन पाइएन मन्त्री भेट । निद्रा लागेन मन्त्री । तन्त्रा लागेन मन्त्ती । उठाऊ मन्त्री । सुताऊ मन्त्री । यी चीज हुने कहिल्यै भएनन् । बाह्रै महीना मन्त्री भेट्ने काममा भएपछि प्रकाश कति पर्‍यो होला तपाईं नै विचार गर्नुहोस् ।

चामल किन्न जाँदा प्रकाश पार्नेलगायत कहिलेकाहीँ तीन महनिाको पेश्की पैसा जुटार काम्लो किन्ने तरखरमा हुँदा काम्लेले समेत प्रकाश पार्‍यो । खसी हो होइनमा बाह्र सत्ताइस छलफल गरेपछि खसी होइन भन्ने तर्कमा विषेशाधिकार (भीटो) प्रयोग गरेर बगरेले प्रकाश पार्‍यो र अन्तमा हामी सबैले एकजुट भई मासु चिन्नुपर्छ भन्ने कुरा बतायो ।

सृष्टिमा मात्र होस् कि दृष्टिमा पनि यहाँ जसलाई हेर्‍यो उही उज्यालो छ । गोबरमाटोले लिपेको घरआँगनजस्तो । आकाश होस् कि प्रकाश होस्, उज्ज्वल होस् कि प्रोज्ज्वल । सूर्य होस् कि चन्द्र होस्, आभा होस् कि प्रभा । झलक होस् कि टलक होस्  । दीपक होस् कि दीपिका । नामले सबै यहाँ उल्लूका आँखाजस्ता छन् । कोही छैनन् अँध्यारा । त फेरि प्रकाश कसलाई पार्नुपर्‍यो ? व्यवहारले उज्यालो खोज्नुपर्‍यो भने कण्ट्रोलको पानी मिसिएको हूलमा पिसिएर लिएको मट्टितेलको टुकी बालेर बाह्र वर्ष प्रकाश पार्नुपर्ला तर व्यवहार पो खोज्नै किन पर्‍यो ? व्यवहारले खान दिन्न । लाउन दिन्न । यस मिथ्या आवरणले वरण गरेको युगमा । नाममा घुम्नुपर्छ । दाता श्रीराम भएपछि ठाउँमा पुगेको नामले कम र मामको सारा टण्टा तमाम हाड घोटेर मात्र धरै गरेर मात्र केही हुन्न । बुद्धि चाहिन्छ । संसार घुम्नुभन्दा आफ्ना बाबु-आमा घुम्ने भुँडे गणेशलाई पहिले पहिले पूजा गर्ने हामी नै त हौँ फेरि ?

आँखा चिम्ली विचार गर्दा ममा प्रकाश पार्ने कामको शिलान्यास भएको १८-२० वर्ष भयो र पनि प्रकाश पार्ने काम निरन्तर चलिरहेकै छ । तर मेरो मष्तिष्कका पिललिलाउँदा तन्तुहरू हाल अप्रकाशित अवस्थामा परिणत भएका छन् । अथवा भनूँ ममा कुकुरको पुच्छरको आहान खरो उत्रियो । यो पुच्छर सोझिएला भन्नु चाहिँ हुटिट्याउँले आकाश खस्छ भनेर उत्तानाटाङ गरेर बस्नुभन्दा फरक छैन । प्रकाशले केही काम गरेन । भालुलाई पुराण सुनाउँजस्तो पो भयो । भूस तीन पाथी भूस । तर पनि मलाई प्रकाश पार्नामा प्रकाशहरू यति दत्तचित्त छन्, तिनीहरूको प्रकाश पार्ने काम माथिको आस्था देख्दा हामीले आँटेपछि गर्न नसकिने केही रहेनछ जस्तो लाग्छ ।

मान्छे यहाँ त्यस्तो वरदान लिएर आएको छ जसमा डुँडुलाले छुनासाथ सबै सुन्दर वस्तुहरू खरानी र अँगारमा परिणत हुन्छन् । ऊ शायद भस्मासुरको साक्खै नाति-पनाति हो वा लोभी राजा मिदासको पुनर्जन्म हो- जे छोयो- सुन-धातु- जड- निर्जीव- स्वाहा ।

त्यसैले लाग्छ- मान्छे यहाँ आफू अँगारमात्र नभएर अँगार निर्माता हो । घटना ताजै छ । हिरोशिमा र नागासाकीमा अत्यधिक प्रकाश पारिने कामबाट जापान स्तब्ध भयो । संसार स्तब्ध भयो । बढी प्रकाशले नष्ट भएका मान्छे र दिनको संझना गर्दै प्रत्येक वर्ष जापानीहरू विव्हल हुन्छन्- अब धेरै प्रकाश चाहिन्न । (नो मोर बम्स् ।)

मलाई हेर्नुहोस् न, मलाई प्रकाश पार्ने काम हिमाली प्रदेशको माटो जाँचपछि कृषि विशेषज्ञले ठहर गरी लगाएको आँपको बोटजस्तो ठहरियो । रातभरि करायो दक्षिणा हरायो । तापनि मैले आफ्नो पुर्पुराको दोष अरूलाई बोकाउन पाइन । हुन्न पनि चार जनाले के भन्लान् भन्ने चेत पनि आउँछ । हाम्रो नेपाली वंश-परम्परामै नभएको चेत ममा कसरी आयो ? मैले आफूलाई प्रकाश पार्ने सबै मान्छे, जन्तु र सङ्घ-संस्थाप्रति हार्दिक कृतज्ञता प्रकट गरेकै छु । जो हात सो साथ खुसी भइदिनुहोला । जलपान-चियापान नगराएकोमा धारेहात नलगाउनुहोला । यो कुरा मुटुमाथि ढुङ्गा राखी भन्नुपर्‍या छ ।

हाम्रा कार्यालयमा प्रकाश पार्ने काम माथिबाट हुन्छ । तलबाट चाहिँ प्रकाश पार्ने सुविधा नहुने हुनाले बत्ती बाल्ने चलन छ । प्रायशः सबैजसो नेपाली घरहरूमा लोग्नेहरूले स्वास्नीहरूलाई बत्ती बाल्छन् र केही थोरै स्वास्नीमान्छेहरू पनि लोग्नेमान्छेहरूलाई बत्ती बालेर तमास गर्छन् । कहिलेकहीँ त्यो बिचरो लोग्ने भन्ने जात, सृष्टिको तमास, घर स्वास्नीको बत्ती बाल्ने र कार्यालयमा हाकिमले प्रकाश पार्ने गरी कम डबल भइदिँदा भुइँमा खुट्टा राख्न पनि नपाएर बत्ताएर हिँड्ने गर्छ- जङ्गबहादुरको घोडा किन ।

प्रकाश पार्ने काम व्यापक हुँदै गएर कसैलाई सुख र सन्तोषको तास लिई गलैँचाम बस्न पनि दिएको छैन । कहीँ पनि भण्डार, गोदाम वा कोषमा प्रकाश पारिनुहुन्न । ठूलाबडा गोदाममा प्रकाश पारिँदा मिलावटी बस्तु उत्पन्न हुन्छन् । यस्ता कार्यालयले विशुद्ध बस्तुको शुद्ध वितरण व्यवस्थाको ठेक्का पाएका छन् । क ज गर्छन् कागजमा । विडम्बना !

यसरी सारा कुरामा प्रकाश पारिँदा हाम्रा उदरगत र मस्तिष्कगत सारा बस्तु मिलावटी ठहरिन सक्छन् । हाम्रो आफ्नै अस्तित्व र एक्स् एक्स् (ह्, ह्) हो कि एक्स् वाई (ह्, थ्) के मिलावटबाट भएको यकीन भइसकेपछि हामीले यस कुरालाई सित्तैँका च्यूराझैँ वडावडा गाँस बनाई चपाउन-पचाउन नसक्नु पनि ठूलो दुःखको कुरो हो । यसलाई बिस्तारै पचाउनु पर्छ । यसका लागि बिहान-साँझ आँखा चिम्लेर नाङ्गा खुट्टाले चहुर मैदानमा दाड्नु राम्रो हो । अथवा वैद्यहरू यसका लागि झण्डू वा वैद्यनाथ वा डावरको घोडेपाचक खाने निर्देशन दिन्छन् । यसले भएन भने कच्चा वैद्यको मात्रा शास्त्रअनुसार हेलचक्रयाइँ- हर्रो, दुष्ट्याइँ- बर्रो र कपट्याइँ- अमला मिलाई बनाइएको त्रिफलाचूणर्को सेवन उत्तम छ, कदाचित् यमपुरीको यात्रा भएन भने ।

दशैँ बिदामा काठमाडौंँमा दाँत कोट्याउँदै हिँड्दो थिएँ । रातो र पीरो हुँदै एक खाइहाल्दा सज्जन अगाडि आएर भने ‘भाइ ! यहाँ काठमाडौँमा कतै शौचालय छैन ? लौ न प्रकाश पारिदिनोस् ।’

‘धत्तेरी । पहिले-पहिले कस्ता न कुरामा प्रकाश पारूँला भन्ने मनमा जपना गरेको थिएँ । यस्तो ?’ मन कुँडियो ।
दाँत केट्याउन छोडेर एकपटक तलदेखि माथिसम्म ती महाशयको निरीक्षण गरेँ र भनेँ- ‘रेडियो सुन्नुहुन्न महाशय ? कुकुर बिराला पनि अन्तरिक्षमा पुग्ने यस युगमा तपाईं हाम्रा पहुँच भएका शौचालय जति बस-मोटर चढे ।’

ती सज्जन अलमलिए । मैले फेरि भनेँ- ‘तपाईं साँच्चै शौचालयका पारखी हुनुहुन्छ र त्यसको सौख पनि तपाईंलाई छ भने तपाईंहरूकै लोकप्रिय बस-मोटर चढ्नुहोस् । हैन, तपाईं बस- मोटर चढ्ने औकात र बल भएको मान्छे हनुहुन्न भने पहुँच नपुगेर उड्न नपाएका शौचालय र शोचनीय मान्छे यहाँ जताततै छन् । जुनसुकै सडकमा निर्धक्क बस्नुहोस् ।’ मैले राम्रै प्रकाश पारिदिएँ कि क्या उज्यालो अनुहार लगाएर ती महाशय हिँडे ।
खोर्सानेले मलाई पारेका प्रकाशका झिल्कामिल्की यत्ति हुन् । उसले गरेका कुरा गहिरा हुन् होइनन् मलाई थाह छैन । तर के चाहिँ थाहा छ भने कुरा यत्ति हुन् । चारैतिरबाट प्रकाश पारिँदा पारिँदा हाम्रा शरीर पनि यत्ति अप्रकाशित भइसकेका छन् भनी सध्य छैन । मलाई बौलाहा तुल्याउने शायद यही बढी प्रकाश हो ।

त्यसैले मलाई आजभोलिका हाकिमको होस् वा हाकिमको, सँगीको होस् कि सँगिनीको सिको गरेर अरूलाई खुबै प्रकाश पार्छु भनेर रेडियो, टेलिभिजन, ढ्वाँग वा माइक्रोफोन फुक्ने काम गरिहिँड्नुभन्दा आफ्नै पुर्खाका रीतिथितिलाई पन्छाउँ र भगवानलाई ने प्रकाश पार्न विन्ती चढाउँजस्तो लागेको छ । सुका पाउ प्रकाश र चुरोट गोटा प्रकाशक चाहिएनन् । आखिर भगवान्ले नै ‘प्रकाशोऽहम्’ भन्नुभएको छ । आफ्ना पूर्खाका रीतिथितिलाई पन्छ्याउनै पर्छ । ‘पुख्र्यौली नछोड्नू अर्घेलो नगर्नु’ भन्छन् । त्यसैले म भगवान्सँगै कराउँछु ‘तमसोमा ज्योतिर्गमय’ हे प्रभु ! मलाई अन्धकारबाट प्रकाशतिर लैजानुहोस् । ममा प्रकाश पार्नुहोस् प्रभु ! प्रकाश ! प्रकाश !प्रकाश !

०००
‘म त अप्रिल फूल भएँछु’  (२०४२) 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेपालको खेती

नेपालको खेती

चाेलेश्वर शर्मा
भ्यागुता महान्

भ्यागुता महान्

चाेलेश्वर शर्मा
लेडिज छाता

लेडिज छाता

चाेलेश्वर शर्मा
राजधानी त सधैं गजेटेड छ

राजधानी त सधैं गजेटेड...

चाेलेश्वर शर्मा
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन