डा. बमबहादुर जितालीएनसेलको सेल
विदेशमा फकाएर फुँडी लुकाउँछन् आमालाई सुकाएर भुँडी फुकाउँछन् । सानीआमा भित्र्याउने चलखेल भयो आलोपालो चल्यो देश भड्खालोमा गयो ॥

डा. बमबहादुर थापा ‘जिताली’ :
सेलजस्तै घुमेको छ एनसेलको फन्को
माथिदेखि तलसम्म राजनीतिकाे रन्को ।
सेलभित्र घिउ तेल जेरी जेलेको छ
जल्ले थाल्यो घुमाउन उल्ले पेलेको छ ॥
माखेसाङ्लो बनाउँदै, घुमाउँदै लाँदा
परजीवी मोटाउँदै गएका छन् खाँदा ।
खाँदाखाँदै नेपालको अर्थ सुकेको छ
यसैभित्र भ्रष्टाचारी गाँठो लुकेको छ ॥
गाँठी कुरा फुकाउन आँखा चनाखा छन्
खाँटी कुरा लुकाउन टाउके लागेका छन् ।
लुकामारी खेल्दाखेरि चुरो कुरो लुक्यो
भेल आयो खहरेमा ऐले पानी सुक्यो ॥
सन्नासोले च्यापेका छन् फुत्किएला भनी
लिनसम्म लिएका छन् डलरमा गनी ।
मुखबुझो लागेको छ अरबको मुठो
ठूलो मुठो कुम्ल्याउँदा देश बन्यो सुठो ॥
विदेशमा फकाएर फुँडी लुकाउँछन्
आमालाई सुकाएर भुँडी फुकाउँछन् ।
सानीआमा भित्र्याउने चलखेल भयो
आलोपालो चल्यो देश भड्खालोमा गयो ॥
परदेशी हँसाउने स्वदेशीको खेलो
चर्तिकला चलेको छ चर्को खेलोमेलो ।
चलखेल चलाउने चर्खा चलेतक
भण्डाफोर गरे पनि मान्ने छैनन् धक ॥
सनातनी समाई फेरो ।
तोडिदिन्छु पातकी चौघेरो ॥
०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१
Subscribe
Login
0 Comments
Oldest






































