डा. बमबहादुर जितालीमार्न थाले गाँठे !
स्वदेशको माटाबाट बाटा अन्तै बने विदेशको उन्नतिमा खाल्टा यता खने । खाल्टोभित्र स्वतन्त्रता पार्न पनि आँटे स्वाभिमानी राष्ट्रियता मार्न थाले गाँठे !!!
डा. बमबहादुर थापा जिताली
सिद्धिन्छ कि ! सेटिङमा मुलुकको मुटु
सम्झ्याे कि त ! खान्छ मेरो मुटु कुटुकुटु ।
दायाँ-बायाँ गरी-गरी घुमेको छ जाँतो
हातो अन्तै दिएकाले गएको छ सातो ।
नातागोता पर्नेहरू धुरी चढेका छन्
योग्यता र क्षमतामा दूरी बढेका छन् ।
नीति बन्यो देश छोडी परदेश जाने
यसैलाई समृद्धिको मूल मन्त्र ठाने ।
युवाहरू विदेशिए जन्त गएसरि
मुलुकको खेतबारी बाँझो हुने गरी ।
भन्ने गर्थे जन्तभन्दा अन्त जान निको
किन गर्छन् विदेशीको विकृतिको सिको ?
पौरख र मौलिकता पुग्यो कता-कता
सिलो खोज्न परेको छ राष्ट्रियता यता ।
ऋषिमुनि हटाएर सिसीमुनि आए
मौलिकता राष्ट्रियता स्वाधीनता खाए ।
स्वदेशको माटाबाट बाटा अन्तै बने
विदेशको उन्नतिमा खाल्टा यता खने ।
खाल्टोभित्र स्वतन्त्रता पार्न पनि आँटे
स्वाभिमानी राष्ट्रियता मार्न थाले गाँठे !!!
भर्न थाले विदेशी ढुकुटी
पार्न थाले स्वदेशी सुकुटी ॥
(रचनाः पुस-माघ, २०७८)
०००
रानीवन, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































