साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यसेवी संपादक र पारिश्रमिक

- यार, हिजोको पिकनिकमा दश लेख खर्च भयो । - यो सुट को मोल जम्मा ३० लेख पाँच कविता । टाइको मात्र २० मुक्तक । - पेट्रोलको भाउ बढ्यो, लिटरको एक कविता ।

Nepal Telecom ad

योगीश कृष्ण :

उनका सा-साना आँखाबाट आँसु झर्ला झर्ला झैँ देखिन्थ्यो । उनको यस्तो हालत देखेर डर पनि लाग्यो । मलाई आँसुदेखि खूब डर लाग्छ, त्यसमाथि पुरुषको । मेरो अधिल्तिर बत्तीस तेत्तीस वर्षीय मोटोघाटो मानिस भन्दै थियो- “हेर्नूस्, कत्ति दुःख कष्ट सहेर हामी पत्रिका निकाल्छौँ । तर कसैले हाम्रो मर्म बुझ्दैनन् । यत्रो घाटा सहेर कति दिन साहित्यको सेवा गर्ने ?”

साँच्चिकै दुर्भाग्यको कुरा हो- धेरैजसो साहित्यिक पत्रिका घाटामा चल्छ । तर साहित्यसेवी संपादकहरूको हातबाट साहित्य सेवा जस्तो दुरुह कार्य सम्पन्न हुन्छ । कतिपय संपादकका परिवारका सबै सदस्य साहित्यसेवी हुन्छन् । कसैले प्रकाशकका रूपमा त कसैले पत्रिकाको व्यवस्थापनको भार ग्रहण गरेर साहित्यको सेवा गरिरहेका हुन्छन् । मेरा अघिल्तिरका संपादक भने ससुरालप्रेमी पनि रहेछन् । कौटुम्बिक उपक्रमबाट प्रकाशित एक थान पत्रिका उनले मेरो हातमा थमाए ।

पत्रिका हेरेँ- जिल्ला पंचायतदेखि गाउँसभा सदस्यसम्म, मन्त्रीदेखि लिएर जिल्ला हाकिमको शुभकामना विज्ञापन छ । उता बिँडीदेखि लिएर आयो नूनको गुणगान पनि यसैमा छ । त्यसबाहेक ‘वर्तमानको शूल र विगतको भूल’ जस्ता शीषर्कका तीनचारेक कविता पनि रहेछन् । सरसरती केही कविता हेरेँ । उनी मुस्कुराए- “अघि हेर्नुभएको कविता मेरो सालोको हो, यो मुक्तक मेरी सालीको । यो कथा भने मेरी उनकी हो ।”

उनीप्रति श्रद्धा जाग्यो- आहा ! आफू त संपादक छँदै छन् । त्यसमाथि परिवार पनि साहित्य सेवामा । धन्य हो ! मैले मनमनै विज्ञापनको हिसाब गरेँ- प्रकाशित विज्ञापनबाट यिनले खर्च कटाएर मासिक तीनचार हजार रुपियाँको साहित्य सेवा गर्ने रहेछन् । संपादक महोदयलाई सोधेँ- तपाईं एक्ला-एक्लै साहित्य सेवा गर्नुहुन्छ कि, लेखकहरूलाई पनि त्यस्तो अवसर दिनुहुन्छ ?”

उनका आँखा चम्किए- “हाम्रो उद्देश्य नै साहित्यिक प्रतिभालाई अघि ल्याएर साहित्य सेवा गर्नु हो ।”
“हैन ।” मैले कुरा स्पष्ट पारेँ- “तपाईं महिनाको कम्तीमा पनि तीनचार हजार रुपियाँको साहित्य सेवा गर्नुहुँदो रहेछ । तपाईंको पत्रिकाका रचनाकारहरूलाई पनि सयपचासको साहित्य सेवा गर्ने अवसर प्रदान गर्नुहुन्छ कि हुन्न भनेर जान्न खोजेको । सानोतिनो साहित्य सेवा गर्न म पनि इच्छुक छु ।”

उनी शायद रिसाए । सुन्छु, मेरो बारेमा उनी भन्दै हिँड्छन्- त्यो त खत्तम मान्छे रहेछ । साहित्यिक ‘टाइप’को मानिस भनिठानेको, होइन रहेछ ।

एकजना अर्का संपादकभित्र तीनचार महिनाको अन्तरले साहित्य सेवा गर्ने भावना प्रबल हुँदै जान्छ- अब चूप बसिन्न । जे गर्ने हो, साहित्यका खातिर गरिन्छ । नयाँ वर्षमा उनी साहित्यमा नयाँ जोश भर्न तरखर गर्छन् । विजया दशमीमा उनी साहित्यलाई दुर्गा झैँ शक्तिशाली बनाउन मरिमेटछन् । लक्ष्मी पूजामा नेपाली साहित्यको श्रीवृद्धि गर्न कम्मर कस्छन् । संविधान दिवस, जन्मोत्सव जस्ता दिवसमा साहित्य सेवा नगर्ने त कुरै भएन । उनै साहित्यसेवी संपादक चार-पाँच महिनाको अन्तरमा मसँग हात मिलाउँछन् । चिया पिउन आग्रह गर्दछन् । यताउति साहित्यका दुईचार कुरा गरेपछि भन्छन्- “तपाईंको रचना मलाई खूब मन पर्छ । खूब हाँसो उठ्छ- “ही ही ही । तपाईंले लेखेको सबै स्तरका पाठकले बुझ्दछन् । ही ही ही । राम्रो साहित्यको लक्षण नै यही हो ।”

सोच्दछु- कुनै कविसँग यिनी भन्दा हुन्- तपाईंको कविता कति सुबोध र सरल छ । निबन्धकारसँग भन्दा हुन्- तपाईंको निबन्ध ‘रियल्ली इन्टलेक्चुअल’ छ । कथाकारसँग भन्दा हुन्- अहा । कति सजीव चित्रण छ । क्या कथानक छ । यसैगरी सय पचासप्रति प्रकाशन गरिने उनको साहित्यिक पत्रिकालाई सामग्री जुटाइएला । मेरो सोचाइलाई भंग गर्दैै संपादक महोदय भन्छन्- “सेलाउँछ । खानोस् न चिया ।”

चियाको अन्तिम सुर्को तानेर उनको अनुहारतिर हेर्छु- कुनै संपादकले कुनै लेखकलाई पारिश्रमिक दिँदा उत्पन्न हुनुपर्ने खालको भाव प्रष्ट छ ।

यस्ता साहित्यसेवी संपादकले ठूलो त्याग गर्छन् । विज्ञापन र ग्राहक बटुल्न मुलुक भ्रमणमा निक्लन्छन् । हवाइजहाज चढेर विज्ञापनको बिल भुक्तानी लिन हैरान हुन्छन् । हवाइ टिकट पनि साहित्य सेवा गरेबापत निशुल्क प्राप्त गर्छन् । साहित्यको निम्ति सबथोक गर्छन् ।

यस्ता साहित्यसेवी संपादकहरूले एउटा लेखको बीस रुपियाँ पारिश्रमिक दिने विचार गरे भने पनि उनीहरूबीचको कुरा यस्तो हुँदो हो-
– यार, हिजोको पिकनिकमा दश लेख खर्च भयो ।
– यो सुट को मोल जम्मा ३० लेख पाँच कविता । टाइको मात्र २० मुक्तक ।
– पेट्रोलको भाउ बढ्यो, लिटरको एक कविता ।
– एक पटक तीनचार जना साथीभाइ रेस्टुराँतिर पस्यो भने एउटा धाराबाहिक उपन्यास खर्च हुन्छ ।

साहित्यसेवी संपादक सहनशील हुन्छन् । लेखकले श्रमको त परै जाओस्, हुलाक र तिनकै पत्रिका किन्ने खर्च समेत नपाउँदाको दुःख पनि आफै सहन्छन् । विचरा साहित्यसेवी संपादक ।

०००
रचनाकाल २०३८, राजबिराज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x