साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यसेवी संपादक र पारिश्रमिक

- यार, हिजोको पिकनिकमा दश लेख खर्च भयो । - यो सुट को मोल जम्मा ३० लेख पाँच कविता । टाइको मात्र २० मुक्तक । - पेट्रोलको भाउ बढ्यो, लिटरको एक कविता ।

Nepal Telecom ad

योगीश कृष्ण :

उनका सा-साना आँखाबाट आँसु झर्ला झर्ला झैँ देखिन्थ्यो । उनको यस्तो हालत देखेर डर पनि लाग्यो । मलाई आँसुदेखि खूब डर लाग्छ, त्यसमाथि पुरुषको । मेरो अधिल्तिर बत्तीस तेत्तीस वर्षीय मोटोघाटो मानिस भन्दै थियो- “हेर्नूस्, कत्ति दुःख कष्ट सहेर हामी पत्रिका निकाल्छौँ । तर कसैले हाम्रो मर्म बुझ्दैनन् । यत्रो घाटा सहेर कति दिन साहित्यको सेवा गर्ने ?”

साँच्चिकै दुर्भाग्यको कुरा हो- धेरैजसो साहित्यिक पत्रिका घाटामा चल्छ । तर साहित्यसेवी संपादकहरूको हातबाट साहित्य सेवा जस्तो दुरुह कार्य सम्पन्न हुन्छ । कतिपय संपादकका परिवारका सबै सदस्य साहित्यसेवी हुन्छन् । कसैले प्रकाशकका रूपमा त कसैले पत्रिकाको व्यवस्थापनको भार ग्रहण गरेर साहित्यको सेवा गरिरहेका हुन्छन् । मेरा अघिल्तिरका संपादक भने ससुरालप्रेमी पनि रहेछन् । कौटुम्बिक उपक्रमबाट प्रकाशित एक थान पत्रिका उनले मेरो हातमा थमाए ।

पत्रिका हेरेँ- जिल्ला पंचायतदेखि गाउँसभा सदस्यसम्म, मन्त्रीदेखि लिएर जिल्ला हाकिमको शुभकामना विज्ञापन छ । उता बिँडीदेखि लिएर आयो नूनको गुणगान पनि यसैमा छ । त्यसबाहेक ‘वर्तमानको शूल र विगतको भूल’ जस्ता शीषर्कका तीनचारेक कविता पनि रहेछन् । सरसरती केही कविता हेरेँ । उनी मुस्कुराए- “अघि हेर्नुभएको कविता मेरो सालोको हो, यो मुक्तक मेरी सालीको । यो कथा भने मेरी उनकी हो ।”

उनीप्रति श्रद्धा जाग्यो- आहा ! आफू त संपादक छँदै छन् । त्यसमाथि परिवार पनि साहित्य सेवामा । धन्य हो ! मैले मनमनै विज्ञापनको हिसाब गरेँ- प्रकाशित विज्ञापनबाट यिनले खर्च कटाएर मासिक तीनचार हजार रुपियाँको साहित्य सेवा गर्ने रहेछन् । संपादक महोदयलाई सोधेँ- तपाईं एक्ला-एक्लै साहित्य सेवा गर्नुहुन्छ कि, लेखकहरूलाई पनि त्यस्तो अवसर दिनुहुन्छ ?”

उनका आँखा चम्किए- “हाम्रो उद्देश्य नै साहित्यिक प्रतिभालाई अघि ल्याएर साहित्य सेवा गर्नु हो ।”
“हैन ।” मैले कुरा स्पष्ट पारेँ- “तपाईं महिनाको कम्तीमा पनि तीनचार हजार रुपियाँको साहित्य सेवा गर्नुहुँदो रहेछ । तपाईंको पत्रिकाका रचनाकारहरूलाई पनि सयपचासको साहित्य सेवा गर्ने अवसर प्रदान गर्नुहुन्छ कि हुन्न भनेर जान्न खोजेको । सानोतिनो साहित्य सेवा गर्न म पनि इच्छुक छु ।”

उनी शायद रिसाए । सुन्छु, मेरो बारेमा उनी भन्दै हिँड्छन्- त्यो त खत्तम मान्छे रहेछ । साहित्यिक ‘टाइप’को मानिस भनिठानेको, होइन रहेछ ।

एकजना अर्का संपादकभित्र तीनचार महिनाको अन्तरले साहित्य सेवा गर्ने भावना प्रबल हुँदै जान्छ- अब चूप बसिन्न । जे गर्ने हो, साहित्यका खातिर गरिन्छ । नयाँ वर्षमा उनी साहित्यमा नयाँ जोश भर्न तरखर गर्छन् । विजया दशमीमा उनी साहित्यलाई दुर्गा झैँ शक्तिशाली बनाउन मरिमेटछन् । लक्ष्मी पूजामा नेपाली साहित्यको श्रीवृद्धि गर्न कम्मर कस्छन् । संविधान दिवस, जन्मोत्सव जस्ता दिवसमा साहित्य सेवा नगर्ने त कुरै भएन । उनै साहित्यसेवी संपादक चार-पाँच महिनाको अन्तरमा मसँग हात मिलाउँछन् । चिया पिउन आग्रह गर्दछन् । यताउति साहित्यका दुईचार कुरा गरेपछि भन्छन्- “तपाईंको रचना मलाई खूब मन पर्छ । खूब हाँसो उठ्छ- “ही ही ही । तपाईंले लेखेको सबै स्तरका पाठकले बुझ्दछन् । ही ही ही । राम्रो साहित्यको लक्षण नै यही हो ।”

सोच्दछु- कुनै कविसँग यिनी भन्दा हुन्- तपाईंको कविता कति सुबोध र सरल छ । निबन्धकारसँग भन्दा हुन्- तपाईंको निबन्ध ‘रियल्ली इन्टलेक्चुअल’ छ । कथाकारसँग भन्दा हुन्- अहा । कति सजीव चित्रण छ । क्या कथानक छ । यसैगरी सय पचासप्रति प्रकाशन गरिने उनको साहित्यिक पत्रिकालाई सामग्री जुटाइएला । मेरो सोचाइलाई भंग गर्दैै संपादक महोदय भन्छन्- “सेलाउँछ । खानोस् न चिया ।”

चियाको अन्तिम सुर्को तानेर उनको अनुहारतिर हेर्छु- कुनै संपादकले कुनै लेखकलाई पारिश्रमिक दिँदा उत्पन्न हुनुपर्ने खालको भाव प्रष्ट छ ।

यस्ता साहित्यसेवी संपादकले ठूलो त्याग गर्छन् । विज्ञापन र ग्राहक बटुल्न मुलुक भ्रमणमा निक्लन्छन् । हवाइजहाज चढेर विज्ञापनको बिल भुक्तानी लिन हैरान हुन्छन् । हवाइ टिकट पनि साहित्य सेवा गरेबापत निशुल्क प्राप्त गर्छन् । साहित्यको निम्ति सबथोक गर्छन् ।

यस्ता साहित्यसेवी संपादकहरूले एउटा लेखको बीस रुपियाँ पारिश्रमिक दिने विचार गरे भने पनि उनीहरूबीचको कुरा यस्तो हुँदो हो-
– यार, हिजोको पिकनिकमा दश लेख खर्च भयो ।
– यो सुट को मोल जम्मा ३० लेख पाँच कविता । टाइको मात्र २० मुक्तक ।
– पेट्रोलको भाउ बढ्यो, लिटरको एक कविता ।
– एक पटक तीनचार जना साथीभाइ रेस्टुराँतिर पस्यो भने एउटा धाराबाहिक उपन्यास खर्च हुन्छ ।

साहित्यसेवी संपादक सहनशील हुन्छन् । लेखकले श्रमको त परै जाओस्, हुलाक र तिनकै पत्रिका किन्ने खर्च समेत नपाउँदाको दुःख पनि आफै सहन्छन् । विचरा साहित्यसेवी संपादक ।

०००
रचनाकाल २०३८, राजबिराज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x