याेगीश कृष्णनयाँ राजनीतिक दलको घोषणा
अधिवेशनले अनिवार्य रूपले अध्यक्षलाई सर्वसम्मत रूपले अध्यक्ष चयन गर्नुपर्ने छ । अध्यक्षले अधिवेशन शुरु भन्नासाथ अधिवेशन आरम्भ भएको मान्नुपर्ने छ । अधिवेशन समाप्त भन्नासाथ अधिवेशन समाप्त भएको मान्नु पर्नेछ ।

योगीश कृष्ण :
प्रत्येक नेपाली नागरिक र्झैँ मलाई पनि के थाहा छ भने देश बर्बाद भैसक्यो,। सबैतिर खत्तम छ । देशलाई सुधार्न मुश्किल छ । असंभव भने छैन । कसरी संभव छ त ? मैले मुलुक सञ्चालन गरे भने मुलुक सुध्रिन संभव छ । यसअघि मैले मुलुक सञ्चालन गर्ने इच्छा गरेकै थिइँन । यता निर्वाचन आयोगमा दिनहुँ दल दर्ता भइरहेको समाचार सुनेपछि मनले मानेन । अब चुप लाग्नु हुन्न, देशका लागि केही गर्नै पर्छ । त्यसैले मैले पनि एउटा दल गठन गर्ने निर्णय गरेँ ।
दलको प्रस्तावना
हामी कुनै विशेष अध्ययन, दक्षता, सीप नभएका, गफाडी एवम् अवसरवादी चरित्रका सर्वंश्रेष्ठ नेपाली नागरिकहरू जनता र देशसेवाका नाममा निजी स्वार्थ पूरा गर्न हाम्रो इतिहास, हाम्रो राजनीतिक संस्कार, विगतका उच्चतम् अभ्यासहरूको सम्मान गर्दै एउटा दल निर्माण गर्न प्रतिबद्ध छौँ ।
दलको नीति
– जसरी भए पनि सत्तामा जाने ।
– केन्द्रदेखि स्थानीय तहसम्मका राजनीतिक पदलाई आ–आफ्नो जायजेथा बढाउने साधन बनाउने ।
– आफ्नो आर्यआर्जनप्रति कसैलाई जवाफ दिन जरुरी नठान्ने ।
– दलको मञ्जुरी वेगर वा हाम्रो चित्त नबुझाई गरेको हरेक आर्थिक क्रियाकलापलाई गैरकानुनी मान्ने छौँ ।
– उपरिलिखित कार्य संपादन गर्न आवश्यक परे जस्तोसुकै आपराधिक कर्मलाई गैरकानुनी मानिने छैन ।
– जनताका लागि, जनताको हित, मुलुकको स्वार्थ आदि पदावली पल पलमा प्रयोग गरिने छ ।
दलको विधान
धारा १ दलको नाम : अवसरवादी भ्रष्टाचारवादी दल
धारा २ उद्देश्य
२. १ जुनसुकै अवस्थामा सत्तामा सहभागी हुने ।
२. २ भ्रष्टाचार र विधिविहीनतालाई आधुनिकीकरण गरेर अग्रगामी छलाङ मार्ने ।
धारा ३ दलको संरचना
३. १ केन्द्र, प्रदेश, जिल्ला, नगर, गाउँ तहसम्म र विदेशका ती देशहरू जहाँबाट बढी चन्दा आउने संभावना छ त्यहाँ संगठन निर्माण गरिने छ ।
धारा ४ सदस्यता
४ .१ सदस्यताका प्रकार
क. सम्माननीय सदस्य –
यस प्रकारको सदस्यता भ्रष्टाचार वा अन्य आपराधिक कार्यमा सजाय भोगेको वा आरोप लागेको व्यक्तिलाई प्रदान गरिने छ । अझ अन्तर्राष्ट्रिय तहमै यस्ता सुकर्म गरेकालाई प्राथमिकतामा दिइने छ । उनीहरूलाई दलको स्कूल विभाग एवम् प्रशिक्षण विभाग, आर्थिक विभागको नेतृत्व गर्ने अवसर दिइने छ ।
ख. विशिष्ट सदस्य –
दलका माथिल्लो तहका नेताहरूका पारिवारिक सदस्य, ससुराली खलक, भ्रष्टाचारबाट प्राप्त धनको व्यवस्थापन गरिदिने मित्र आदिलाई यस प्रकारको सदस्यता दिइनेछ ।
ग. सदस्यताका लागि न्यूनतम योग्यता
– नानाथरिका उखान टुक्का सुनाउन सक्ने, हावादारी गफ दिन सक्ने,
– केही नगर्नुलाई नै काम हो भनेर परिभाषित गर्ने ल्याकत भएका,
– पार्टीका नाममा चन्दा उठाएर सानो भाग आफू खाने ठूलो भाग नेताकहाँ पुर्याउने,
– नेतापत्नीलाई भाउजूको नाता लगाएर चाकडी गर्न सक्ने,
– जनविरोधी सबै कामलाई क्रान्तिकै अङ्ग हो भनेर लिँडेढिपी गर्न सक्ने ।
– विधिको शासन, सच्चरित्रता, निष्ठा एवम् सुकर्मप्रति विश्वास नगर्ने ।
धारा ५ नेतृत्व चयन
क. दलका अध्यक्षले इच्छा गरेमात्र अधिवेशन गरिने छ ।
ख. अधिवेशनले अनिवार्य रूपले अध्यक्षलाई सर्वसम्मत रूपले अध्यक्ष चयन गर्नुपर्ने छ ।
ग. अध्यक्षले अधिवेशन शुरु भन्नासाथ अधिवेशन आरम्भ भएको मान्नुपर्ने छ । अधिवेशन समाप्त भन्नासाथ अधिवेशन समाप्त भएको मान्नु पर्नेछ ।
घ. अध्यक्षले गोजीबाट पर्चा निकालेर लिएको नाम सर्वसम्मतबाट पदाधिकारी चयन भएको मान्नु पर्नेछ।
धारा ६ बैठक र निर्णय
क. अध्यक्षको इच्छा अनुसार बैठक बोलाइने छ ।
ख. बैठक कालोबजारी, तस्कर, विभिन्न आर्थिक अपराधीको बङ्गला, रिसोर्ट, होटल जुनसुकै स्थानमा हुन सक्छ ।
ग. छलफल र निर्णय अध्यक्षले बैठकको निर्णय सुनाएपछि छलफल आरम्भ हुनेछ । निर्णयलाई कुनै प्रतिकूल प्रभाव पार्ने गरी छलफल हुने. छैन ।
धारा ७ दलको आर्थिक स्रोत
क. हाम्रा विशिष्ट सदस्यहरूको योजना अनुसार अर्थ संकलन गरिने छ ।
ख. विभिन्न राजनीतिक एवम् अन्य उच्च पदहरूको बिक्री वितरणबाट प्राप्त रकम ।
धारा ८ अनुशासन
क. इमान्दारिता, देशभक्ति, निष्ठाको राजनीति गर्नु भनेको दलको नीति विरुद्ध मानिने छ ।
ख. नेताले जस्तोसुकै कुकर्म गरे पनि त्यसको समर्थन गर्नु पर्नेछ ।
ग. आ–आफ्नो तहमा भ्रष्टाचार बढाउन सक्रिय रहनुपर्छ ।
नोट उपरिखित काम गर्न नसक्नुलाई अनुशासनहीनता मानिने छ र त्यस्ता सदस्य कारवाहीका भागीदार हुने छन् ।
परिशिष्ठ १
दलको नारा भ्रष्टाचार समृद्धिको आधार
परिशिष्ठ २ दलको झण्डा
झण्डाको चारैकिनारमा विभिन्न देशका मुद्राको चित्र अंकित भएको हुनेछ । झण्डामा निलो, रातो, हरियो, गेरु रङका प्रयोग गरिनेछ ।
०००
काठमाडाैं






































Tyas party ma Maha mantri ko post khali bhaye Ma pani yeuta baliyo immediate hune aakanksha rakheko chhu.
दल को केन्दृय नेता हरु को नार्सिसिज्म को राम्रो प्रभुत्व रहेको हुनु पर्ने छ
Yogesh ji , फित्कौली मा सानो पित्को मैले नि हाल्दिये
अति सान्दर्भिक उठान
बलदेवले घोषणा गरेको पार्टी,प्रस्तावना र घोषणापत्र /उदेश्य नेपाली समाजमा राजनीतिक पार्टीहरूले छोडेको विद्रुप तस्विर हो ।
नेपाली समाजले सहनुको विकल्प छैन 🥲