याेगीश कृष्णशुभेच्छुसँग क्षमा याचना
मलाई लाग्छ, यो मुलुकका हरेक व्यक्ति वरिष्ठ चिकित्सकसरह योग्य छन् । हड्डी खिएर ओछ्यान परेको बिरामीलाई बाबा रामदेवको सर्वाङ्गासन गर्न सिकाउँछन् । मुटुको दीर्घ रोगीलाई दिनमा दश किलोमीटर दौडिन सल्लाह दिन्छन् ।

योगीश कृष्ण :
म बिरामी भएँ । जो पनि बिरामी हुन्छन् । वास्तवमा म विरामी भएको थिइंँन । कुरै कुरै कुरामा बिरामी भएँ । बिदाको दिन । बिहानै एक जना आफन्तको फोन आयो- “तपाईंसँग भेट नभएको धेरै दिन भयो । तपाईंलाई पनि साह्रै निराश लागेको होला । सपरिवार तपाईंकहाँ खानपिन गरेर अरु आफन्तकहाँ भेट्न जाउँ भन्ने सोचेर फोन गरेको ।”
वास्तवमा उनलाई भेटने इच्छा मलाई कहिले हुन्न थियो । उनलाई टार्न भनिदिएँ “तपाईले भनेको कुरा सही हो । म पनि निराशिएर भुतुक्कै भइसकेको थिएँ । कहिले बोलाउँ भनेर सोच्दै थिएँ । तपाईंले फोन गर्नुभयो । खुसी लाग्यो । मलाई अलि बिसन्चो छ । आजकाल विभिन्न सरुवा रोगको बिगबिगी छ । तैपनि आउनुस् न । जे त पर्ला ।”
उनले निराश स्वरमा भने “ केही छैन । पिर नगर्नूस् । पछि आउँला ।”
राहु पन्छ्याएकोमा म दङ्ग परेँ । मेरो भ्रम त्यतिबेला टुट्यो जब एक जना मित्रको फोन आयो “के भयो ? डाक्टरलाई देखाएको हो ? के भन्यो ? लापरबाही नगर है । तिम्रो कुन आफन्तले हो, फेसबुकमा ‘शीघ्र स्वास्थ्य लाभको कामना’ भनेर ट्याग गरेको छ, अनि थाहा पाएको । खबर गर्नुपर्छ नि ।”
मित्रलाई सब कुरा बताएँ । उनले भने “अब शुरु हुन्छ तिम्रो दशा ।”
हुन पनि त्यस्तै भयो । फोन त खास आएन । फेसबुक म्यासेन्जर र भाईबर भने बारम्बमर बजिरहन्थ्यो ।
त्यसपछि त्यही बाटो भएर मन्दिर गएका एक हुल मलाई हेर्न आए । म आरामसाथ बसेको देखेर उनीहरूको अनुहार कालो भयो । सोचेका थिए होलान्– थलिएर निस्लोट भएको होला । चिनेजानेका सबलाई बढाईचढाई समाचार सुनाउँदा खूब रमाइलै हुन्छ । त्यस्तो स्थिति नदेखेपछि निराश हुनु स्वभाविक पनि हो ।
उनीहरू मलाई विभिन्न प्रश्न सोधिरहन्थे । उत्तर दिँदादिँदा मुख गल्यो ।
कहिलेकाहीँ म झुक्किन्थेँ –मेरो टाउको दुखेको हो कि, आँखा । मेरा शुभचिन्तकहरू चेताउँथे “अघि त आँखा धेरै दुखेको भनेको होइन, अहिले त टाउको दुखेको भन्नुहुन्छ ।”
भन्न त मन थियो “हुन त मलाई केही भएको छैन । तपाईंहरूको प्रेम र सदभावले मेरो टाउको पनि दुख्न थालेको हो ।”
एक जनाले टाउको दुखेको हो कि होइन, गम्भीर भएर परीक्षण गरे । खुइय गर्दै भने “मानव जीवन भ्रम नै भ्रममा बाँचिरहन विवश प्राणी हो । वास्तवमा तपाइँको टाउको दुखेको होइन रहेछ, नाक दुखेको हो । तपाइँलाई थाहा भएन।”
उनले मेरो टाउको नै वास्तवमा नाक हो भन्ने तर्क गर्नुअघि उनको फोनको घण्टी बज्यो र उनी बिदा भए ।
अर्का शुभेच्छु आत्तिए “जाबो टाउको दुखेको भनेर नबस्नू है । मेरो छिमेकीको घरमा डेरा गरी बस्नेको दाजुको ससुराको मामाको गति होला । कठै, सम्झ्यो कि अझै मुटु पोल्छ ।”
उनी पिर परेको अनुहार बनाउन चाहन्थे, सकेनन् । हास्यास्पद देखियो । के गर्नु हाँस्न मिलेन । उनले भने “ए , टाउको दुखेको त हो नि । यसो तातो खाए ठिक भैहाल्छ भनेर बसे । भोलिपल्ट त गए । विचरा, मुखमा गंगाजल पनि परेन । अँ साँच्चि, तपाईंकहाँ गंगाजल छ कि छैन ?”
रमाइलो त त्यतिबेला भयो जब हाम्रा टोलका दुई घाघडान बुद्धिजीवी एकसाथ आइपुगे । एक जनाले भने “यस्तोमा बेलाबेलामा मनतातो पानीमा तुलसीको पात उमालेर मह र कागती मिसाएर खाए फाइदा गर्छ ।”
अर्काले प्रतिवाद गरे “के नचाहिँदो कुरा गर्नुभएको ? कसैकसैको शरीरलाई मह विष नै पो हुन्छ । शरीरको क्षमता अनुसार विचार गर्नुपर्छ । हचुवाको भरमा खान दिनु हुन्न । यसरी खाँदा कैयन् मानिसको नाथ्रो फुटेर रक्तस्राव भइ मृत्युसमेत भएको सुनेको छु ।”
एक छिनपछि प्रात भ्रमणमा देखिने जोडी आइपुग्यो । सम्पन्नता प्रदर्शन प्रतियोगितामा भाग लिएर आएजस्ता । पत्नीको घाँटीमै दुईचारेक हिरा जडित आभुषण । पतिको गलामा कुकुर साँग्लो जस्तो देखिने सिक्री । आफूहरूलाई मानिसहरूले प्रसिद्ध समाजसेवी भन्ने गरेका छन् भन्थे । साँचो कुरा भन्ने सुन्ने नै जानून् । आगामी चुनावमा सांसद भएर मन्त्री बन्ने प्रस्ताव आए पनि विषय विचाराधीन रहेको बताउँथे । पत्नीको हातमा हर्लिक्स थियो, पतिको हातमा दुईचार दाना स्याउसहितको झोला थियो । मलाई बीचमा राखेर पतिदेवले सेल्फी लिँदै भने “खोइ, नयाँ मोडलको आइफोन कहिलेदेखि बजारमा आउँछ कुन्नि । त्यसको क्यामेरा गज्जब छ । उनले हाताहाती फोटो फेसबुकमा अपलोड पनि गरिदिए । क्याप्सन थियो “दीनदुखीमा समर्पित हाम्रो जीवन । आज बिहान यति बजेर यति मिनेटमा फलानोको स्वास्थ्य अवस्थाको जानकारी लिँदै ।” बिहान बिहानै तिनले मलाई आधिकारिक दीनदुखी बनाइदिए ।
केही बेरपछि एक दुई जना साथी बिदाको दिन गफसफ गर्न भनेर आए । उनीहरूलाई देख्नासाथ समाजसेवी जोडीको फूर्ति बढ्यो । पतिले थुक चुहिएला चुहिएला जस्तो रसिलो मुख पारेर भने “यत्रो बेर भयो, हामी आएको । केही खाएको देखिएन । यो स्याउ गज्जब मीठो छ । महङ्गो छ, तर उम्दा खालको रसिलो छ ।”
उनकी पत्नी के कम “यसो तातो पिउने हो कि । म हर्लिस बनाउनु भन्छु । यो एरियामा एक किलोको हर्लिस नपाइने नै रहेछ । दुइतीन वटा पसल चहारेपछि बल्ल सानै भए पनि पाइयो ।”
मेरा साथीहरूले राम्रैसँग बुझे टेबलमा राखिएका जिनिसको स्रोत को हो भनेर । एक जनाले रमाइलो मान्दै भन्यो “म्याम, बजारमा एक किलोको हर्लिक्स सर्टेज छ रे । हिजो एउटा पसलमा सुनेको ।”
पत्नी अलि मुखर थिइन् । उनको फोन बजिरहन्थ्यो । फोन गर्नेलाई आफ्नो समाजसेवाको वर्णन गर्नुका साथै बजारमा सर्टेज भएका कारण आफूले चाहेर पनि एक किलोको हर्लिक्स ल्याउन नसकेकोमा दुख व्यक्त गरिरहन्थिन् । अलिकति तातो मेरो पेटमा नपारी उनको मनले मानेन रे । अलिकति खाएँ । उनले मेरा साथीहरूतिर फर्केर सन्तोष मानिन् “हामी आएको यत्रो बेर भैसकेको थियो । पेटमा केही परेको रहेनछ । अलिकति तातो परेपछि, हेर्नूस् न अनुहार नै उज्यालो भयो । के गर्नू , बजारमा एक किलोको हर्लिस सर्टेज रहेछ । यो मोरो हर्लिक्स पनि चाहिएको बेलामा नपाएर कस्तो आपद ?”
मलाई लाग्छ, यो मुलुकका हरेक व्यक्ति वरिष्ठ चिकित्सकसरह योग्य छन् । किडनीको विरामीसँग भेट्न जाँदा सुझाव दिन्छन् – पानीको कमी भएजस्तो छ । दिनको पाँच लिटर पानी नापेर पिउनुपर्छ । सब ठिक हुन्छ । पेटको अल्सरले पीडित भएकालाई सुझाउँछन् “बिहान बेलुकी टन्न अकबरे खुर्सानी खानूस्, अल्सर सल्सर छु मन्तर । हड्डी खिएर ओछ्यान परेको बिरामीलाई बाबा रामदेवको सर्वाङ्गासन गर्न सिकाउँछन् । मुटुको दीर्घ रोगीलाई दिनमा दश किलोमीटर दौडिन सल्लाह दिन्छन् ।
यस अघि कोभिडका कारण अक्सिजन लिएर बसेको थिएँ । एक जना आफन्तले भने “चारैतिर रुख बिरुवा भयो भने अक्सिजनको कमी हुन्न । मेरो घरमा टन्न फूल बिरुवा लगाएको छ । हावा नै गज्जबको हुन्छ । तपाईंको त जग्गा नै कम छ । मेरो भक्तपुरमा पाँच रोपनी खेत छ । आधामा काउली आधामा मुला लगाएको छ । यता फर्कियो काउलीकाे, अर्कोतिर मुलाको फ्रेस अर्गानिक अक्सिजन । एकछिनमा फ्रेस होइन्छ । धन्य, उनले कुखुरा पालेका रहेनछन् ।
उर्दूका कवि राहत इन्दौरीले यत्तिकै लेखेका रहेनछन् –
अफवाह थि की मेरी
तबियत खराब है
लोगो ने पुछ पुछ कर
तवियत खराब कर दिया ।
०००
काठमाडौं







































समाजको यथार्थता राम्ररी आयो ।
क्या बात !