ओम आचार्यगाह्रो विषय
तर दुःखको कुरा यौटा छ यो जुनीमा जति मरिहत्ते गरे पनि भन्न आउँदै आएन 'मलाई थाहा छैन' 'मैले जान्दिन' 'मलाई केहीपनि आउँदैन' कस्तो गाह्रो विषय बा !

ओम आचार्य :
भूगोल सबै थाहा छ
उहिले मकवानपुरको मानीय
कविता बेच्ने मान्छे ।
इतिहास सबै कण्ठ
महेन्द्रको बहुदलमा जन्मेको
वीरेन्द्रको एकदले पञ्चायत पढी जागिरे
देशी गणतन्त्रको पिन्सिङे
यो भन्दा पर
‘राजा आउ देश बचाउ’
नभनम् भो।
राजनीति आफ्नै मूल विषय
फ्याट फ्याट
शुरु-‘जय देश जय नरेश’
नरहे बाँस नबजे बाँसुरी
‘जय नेपाल’
भाग शान्ति
‘लाल सलाम’
जे पाइन्छ त्यसैले काम चलाम ।
मौसम अनुसारको ट्यूनिक
उर्दी अनुसारको उपस्थिति
विशारद अन्तिम डिग्री हो यसमा।
अर्थशास्त्र
पढ्ने भन्दा गर्ने विषय
हिजोको फोटो
आजको तस्विर
हेर्दा आफै बोल्छ
कस्ले भन्यो ?
पृथ्वी गोल छ ।
धर्म, संस्कृति, ज्ञान, विज्ञान, अन्तरीक्ष
सबै मान्छेले बनाए
कतिले कनाए
कतिले खोस्रे
कति बसाए
कति गनाए ।
सभ्यता !
घाँटी घाँटी छ
कहिले कसको घाँटी
कहिले कसको घाँटी
डुलिरहन्छ
हेर्न भीमसेन स्तम्भ छ ।
आफै त हो
आफु बाहेक को छ र ?
नजानेको पो के छ र ?
सबैमा पारङ्गत !
तर दुःखको कुरा यौटा छ
यो जुनीमा
जति मरिहत्ते गरे पनि
भन्न आउँदै आएन
‘मलाई थाहा छैन’
‘मैले जान्दिन’
‘मलाई केहीपनि आउँदैन’
कस्तो गाह्रो विषय बा !
०००
अर्घाखाँची।







































गहन व्यंग्य बोकेको गजब कविता