ओम आचार्यअजम्मरी बाहरूका डेरा, घेरा र फेरा
तानातान मानामान हानाहान कोही ल्याइते कोही व्याइते थोरै फुर्के धेरै घाइते बाहरू ओस्ताद काइते लठ्ठी छाता अरु समाइदे सुशासनजति सबै आकाश पाताल डेरा जमाइदे होइनभने काँचो वायु फेरा समाइदे।
ओम आचार्य :
यता,
बालुवाटारमा घाम छन् बा
शीतल निवासमा राम छन् बा
बुढानिलकण्ठमा भाम छन् बा
घरी दायाँ जाने बाम छन् बा
घरी बायाँ जाने हाम छन् बा
जीर्ण चित्र काया विचित्र
सत्तापिण्ड बाहेक नखाने
मै मरूँ,के गरूँ
स्वयंपाक्य बा छन् बा ।
उता,
केटकेटी हराएका हराइछन्
यता,
बाहरू कराएका कराइछन्
भेडाबाख्रा चराएका चराइछन्
चरिचरन सकिन लागे
भूत,प्रेत,पिशाच,प्रथमगण दिउसै जागे
जिभ्रो पड्काइ पड्काइ
भक्ष अभक्ष सबै जाके ।
उतै बिर्सिए छन् हिँजो हिडेका बाटाहरू
यतै कतै देखिन्छन् चिरेका घाउ टाटाहरू
देउसी भैलो भट्टाउँछन् लाठाहरू
तल मथि फट्टाउँछन् बाठाहरू
कोही भन्छन् देऊ बा देऊ बा
कोही भन्छन् लेऊ बा लेऊ बा
कोही भन्छन् ढेउवा ढेउवा
छोरी भन्छन् अलि ठूलो पोको बानाऊँ बा
पालो कुरुवा दा दाहरू हा!हा !!
खै कुन्नी के भा,के भा?
यता
बकसमा बाहरू छन्
उता सकसमा दाहरू छन्
औँशी पूर्णे हेरेर
भुराहरू हल्लीखल्ली गर्छन्
टुहुराहरू अँध्यारा गल्ली गल्ली मर्छन्
साँढेहरू सुङ्नै व्यस्त
छानिछानि माउ कोरली डोर्छन
उस्तैपरे घरै फोर्छन्
जाति विजाति सबै चोर नै चोर छन्।
जोक विजोक छताछुल्ल
आउँछन् जान्छन् हुल्ल हुल्ल
बाहरूका साझी बासी खानदान सन्तान
जहिलेसुकै लुछाचुँडी
तानातान मानामान हानाहान
कोही ल्याइते कोही व्याइते
थोरै फुर्के धेरै घाइते
बाहरू ओस्ताद काइते
लठ्ठी छाता अरु समाइदे
सुशासनजति सबै
आकाश पाताल डेरा जमाइदे
होइनभने काँचो वायु फेरा समाइदे।
०००
अर्घाखाँची।
Subscribe
Login
0 Comments
Oldest







































