सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पैसा ! पैसैपैसा !!

पैसाको विनाश र संरचनामा रोक नभए पनि पैसा साधन होस्, साध्य नहोस् । घर व्यवहार चल्ने चलाउने जिनिस बनोस् । पैसा ! पैसा ! पैसा ! पैसा ! सब पैसा, पैसाको साम्राज्य, पैसाको वर्चस्व नहोस् ।

Nepal Telecom ad

डा. सुकराज राई :

‘पैसाविनाको ज्यान कोरा ज्ञान’ सम्भवतः पर्यावाची रूपभन्दा फरक नपर्ला । ज्ञानले गर्दा मान्छे संसारका सबै प्राणीहरू मध्येका उत्कृष्ट भएर कहलिएका छन् । ज्ञान मान्छेमा नहुँदो हो त मान्छेलाई कुकुरले घोडा चढ्थे होलान्, बाँदरले गोठालो बनाउँथे होलान् । भन्छन् विद्वान्हरू, “कुकुरको जतिकै बुद्धि, बाँदरको जतिकै शारीरिक संरचना एवम् सुगा मैनाको जति बोली भएका कुनै जीव छ, त्रिगुणा सम्पन्न भने त्यो मान्छेभन्दा कमका प्राणी होइन ।” तर, भइदिएको र पाइएको मान्छे नै ज्ञानले संसारको सर्वोत्कृष्ट प्राणी ।

ज्ञान, मानवीय संरचना, चेतना, वेदना, भावना, कल्पना, सपना आदि सबै मान्छेहरूमा हुँदाहुँदै पनि पैसाविनाको मान्छेको ज्यान त्रिगुणबाट कतै कुनै गुण गुमाएका प्राणी जस्तै वर्तमानमा दरिन पुर्गेका छन् । मक्सद, यसो भनौँ कि कुकुर जस्तै, कि बाँदर जस्तै, कि सुगा मैना जस्तै । अझ भनौँ, ‘मान्छे’ मानवीय प्राणी भएर पनि मानवेत्तर भएर बाँच्नु परेको छ, पैसाका अभावमा, पैसा नहुनेहरू । त्यहाँ यस्तो पनि ठनाइ हुन सक्छ, “कुकुर र बाँदर नभएर सुगा मैना भए बेसै भो ?” तर सुगा मैना हुन झन् जटिल हो, किनकि उनीहरू त रनवन चहार्न नपाएर सानो आकाश, सानो क्षितिज, साँघुरो घेराभित्र बन्दी भएर पिँजडामा बस्न पनि पर्ने हुन्छ । अर्को कुरा ‘मान्छे’ मान्छे नभएर मानवेत्तर प्राणीमा गणना हुन यो पनि नमज्जाको कुरो नै हो । आजको युग भौतिकवादी युग । आजको युग विज्ञानको युग । आजको युग वस्तुवादी उपभोगवादी युग । सर्वत्र मान्छे भौतिक मोहमा आक्रान्त छन्, अपवादबाहेक ।

यो युगलाई परिचालन गर्ने रिमोट चाहिँ पैसा भइदिएको छ । उहिले हाम्रा तल्लाघरका बडा बा भन्थे “छ पूजी चल… ।” उखान आज त्यहीँ भएको छ । पूँजी नहुनेहरू ट्वाँ परेर व्वाँ भएर बसिरहेका छन् । आफूलाई मध्ययुगीन सामन्त बर्बरयुगमा व्यतित गरिरहेका छन् । अघोर चुक घोप्ट्याएको कालरात्रीभित्र लमतन्न आफ्नो ज्ञान, चेतना र विवेकलाई पसारिरहेका छन् । ‘कसरी ?’ भन्नु होला, यसका लागि धेरै दिमाग खियाउनु नै पर्दैन । पैसा नहुनेहरूको मुख मूक छ, आँखो अन्धो छ, हातगोडा लुला लङ्गडा छन् ।

शरीरभरि कोर परेको छ अनि किन भएन त त्यसो ? धितधरान नछोडी धर्मलाई शिरमा राखेर, कर्तव्यलाई पालना गरेर, विचारलाई सही मार्गमा विचरण गराएर अनि मानवतालाई साक्षी राखेर भन्नु पर्दा वर्तमानमा पैसाको साम्राज्य चलेको छ, संसार पैसा ! पैसा ! पैसैपैसाको भएको छ । हुन त म विदेशको ज्ञान नभएको वैदेशिक सामाजिक व्यवहार नजानेको मान्छे हुँ, मेरो बौद्धिकताको घेरो सानो होला । म मेरो आकाशलाई कोठाको सिलिङजति छ भनूँला, मेरो धर्तीलाई मेरो गाउँ जत्रै मात्र भनूँला तर म आफू कति पानीमा छु, त्यस पानीको सतह र मेरो उचाइ चाहिँ मलाई थाहा छ ।

यसै र भन्नुपर्दा यसो भनौँ “पैसाको वेट धेरै छ ।” यसलाई तौल गर्दा थाहा लाग्छ । तराजुको दुई पल्ला मध्ये एउटा पल्लामा पैसा र अर्का पल्लामा राजनीति (सबैभन्दा ठूलो नीति राज्यको), शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, मानवअधिकार, न्याय, अरु प्रभूति राखेर तौल गर्दा पैसामात्रै राखेको पल्लाले ती सबै जिनिसलाई करक्क किचेर आफ्नो वेट देखाउँछ, आफ्नो भार प्रस्तुत गर्दछ । होइन, तपाईंलाई विश्वास नलाग्न पनि सक्छ, त्यसैले एकपटक विचारको लागि तौल गर्नुहोस् अनि मसँग यस विषयमा बहस गर्न आउनुहोस् । म तपाईंसँग नेपाल टेलिभिजनको बहस कक्षामा, कुनै विद्युतीय सञ्चार एवम् कुनै मिडियामा चित्त बुझ्दोढङ्गले बहस गर्न सक्छु ।

अच्चमै लाग्दो पो छ त पैसाको करामत । यसले हुने नहुने, चाहिने नचाहिने, दायाँ बायाँ, उँधो उँभो, तल माथि सबै ठाउँ साम्राज्य चलाएको छ । सबैलाई फनफनी घुमाएको छ । यसको वरिपरि सबै मान्छे घुमिरहेका छन् । जादूगरको जादूभन्दा यसले चौपट गरेको छ । कसलाई यसले नचाएको छैन । आफूबाटै उदाहरण प्रस्तुत गरूँ कि कसो ? किन अरुलाई अगाडि राखेर आफू चाहिँ यसबाट विमुख हुन खोजे जस्तो अलि पछिल्लो नम्बरतिर आफूलाई उभ्याऊँ । मेरो पेसा खरी घोट्ने, घोक्रो फुल्याउने । अक्सर ङिच्च हाँस्ने, नमस्कार दिने अनि मौका पर्दा नमस्कार लिने । मलाई पनि यसले गर्नु गराएको छ, म पनि यसैको पछिपछि नदौडी भएको छैन । पछि लागिनँ भने छोराछोरीको आँखा बन्द हुन्छन्, श्रीमतीले चौकामा जान छाड्छिन् अनि अरुअरु बाधा र व्यवधान खडा हुन्छन् । यसको मक्सद म यसलाई साह्रै खेदो गरेर लागेको छुइनँ तर तपाईंलाई विश्वास नहुन सक्छ ।

अब अरुका विषयमा चर्चा गरौँ । मबाहेक र म जस्ता बाहेक अरु कसलाई पैसाले घुमाएको छैन ? अब चाहिँ ठूलै तह ओहदा मानमर्दन भएका पेसाकर्मी मान्छेबाट सुरु गर्छु- नेतालाई, राजनेतालाई पैसाले घुमाएको छ, छैन विचार्नु होस् ? किन मेचीमा लाग्ने पुल दुधकोसीमा लाग्ने भयो ? अनि कोसीमा पनि हावाको पुल लाग्यो, कागजमा मात्र लाग्यो ? त्यो पनि यसैको करामत हो । यो त सानो दृष्टान्त मात्र हो अरू कति छन् कति । यसले सबैलाई यसरी नै घुमाएको छ, कर्मचारीलाई, उद्योगपतिलाई, मजदुरलाई, कर्मीलाई, ज्यामीलाई, धामीलाई अनि सबै हामीलाई । यसो म सम्झन्छु हामी पैसाको नटनटी हौं कि जस्तो पनि लाग्छ । पैसा चाहिँ दर्शक र प्रदर्शक । यसले हामीलाई नचाइरहेछ, वरिपरि घुमाइरहेछ । रै’त भन्छु संसार पैसाको । पैसा, पैसा पैसा, सब पैसा !

कति ठूलो जिनिस पैसा ! पैसै मात्रै हो संसार भने झैँ कहिलेकाहीँ त मलाई महसुस हुन्छ । हग्न जाऊ पैसा, मुत्न जाऊ पैसा, उठ पैसा, बस पैसा, सुत पैसा, नाच पैसा, हास पैसा, खान त परै जाओस् पैसाविना अझ केही हुँदै हुन्न । तपाईंसँग यदि पैसा भएन भने प्राकृतिक कुरालाई पनि, काम व्यवहारलाई पनि थाती राखेर विरामी पर्नुपर्ने हुन्छ । अरू के भनौं, जानुहोस् रत्नपार्कमा बेसरी छेराउटी लागेको होस्, नगई नभएको अवस्था होस् सौचालय छिर्न पर्दा के पैसा आवश्यक नहोला । पैसाविना तपाईं छेर्न पाउनु हुन्छ ? यदि तपाईंसँग पैसा छैन भने पेट मिचिमिचि हिँड्नु पर्ने हुन्छ कि पाइन्ट बिगार्नुबाहेक अर्को उपाय रहँदैन । करबलले छेर्न सौचालयभित्र पस्नुभयो भने पनि सौचालयका ठेकेदार तपाईंलाई कन्नामै छेर बोकाएर भगाउन पछि पर्ने छैन । यसो बढी पानी पिएर कोठाबाहिर जान पनि आजभोलि आफ्नो लागि घाटा छ, पिसाप लाग्यो, मुत्न गइयो कि पैसा, एक त पानीको महङ्गी नेपालमा, नेपालीभित्रको पनि काठमाडौँ खाल्डामा । पानी पनि पैसा, मुत्न पनि पानी पिएर पैसा । यसो भएकाले बरू पानी नपिउनु, मुत्न नपर्नु र पैसाको वचन हैन त ? पैसा जोगाउने हो भने तपाईंलाई म उपाय सिकाउँछु, नखानुहोस्, नपिउनुस् । सुचि र मुचि आउदैन अनि पैसा पनि सौचालय गएर खर्च हुँदैन ।

शौचालय गइरहने झन्झट भएन, परेसानी भएन । अब खाने पिउने कार्य छोड्नुहोस् । डेरैमा भए पनि यदि सोफा जोड्नु भएको भए र टिभी किन्नुभएको छ भने अनि हातमा हेन्डफोन छ भने मज्जाले बसेर श्रीमतीसँग पैसा बचत गर्ने उपायका बारे साथीलाई फोन गर्दै बस्नुहोस् । तपाईंको कोठैको पनि शौचालय सफा भएन र ? कि कस्तो लाग्यो ? पैसा पनि वचत अरु पनि फाइदै फाइदा ।

एउटा गजबको अनुभव छ मसँग कुरो २०५१/५२ सालतिरको हुनु पर्छ । म पहाडे भुच्चुक, गाउँमै बिए पास गरेर नेपाल खाल्डो छिरेँ, एमए पढ्न । पढाइ कीर्तिपुरको, बसाइ नयाँ बानेश्वरको । बानेश्वरबाट बस चढेर रत्नपार्क गए, कीर्तिपुर जाने बस चढ्न । डेरामा बेस्सरी भातसँग पानी पिएर गएको । रत्नपार्कमा बसबाट उर्तन पा’को छैन, आफूलाई मुतले साहै सतायो । यसो कुनो घुम्ती खोजेर सुईक्याइदिनु पर्‍यो भनी टोलाउँदै त्यस्तो ठाउँ खोज्दै थिएँ । एउटा मान्छे मभन्दा अझै त्यो पहाडे भुच्चुक नै हुनुपर्छ एउटा कुनामा आपत्तिका साथ मुत सुइक्याउँदै रहेछ छरर… थरर… ।

म पनि जिनिस निकालेर के सुइक्याउनु आटेको थिएँ, फिर फिर सिट्ठी बजेको सुनेँ । यसो सिट्ठीको आवाजतिर आँखा घुमाएको थिएँ, नगर प्रहरी हातमा लठी बोकेर ‘तँलाई ! तलाई ।’ भन्दै दौडेर आएको देखेँ । मेरो सात्तोपुत्लो उड्यो भागेँ । म त्यसपछि मुत्नु न सुत्नु तर त्यो भुच्चुकले मध्यमा पुर्‍याएको थियो क्यारे, त्यसले चाहिँ छोडेन । पुलिस न सुलिस । पुलिसले छोडभन्दा ऊ छोड्दैन । पुलिसको पालो पछाडि ढाडमा त्यो मुत्ने भुच्चुकलाई घोच्न थाले । त्यो भुच्चुक चाहिँ ह्वात्तह्वात्त अगाडि पछाडि हल्लिरहेछ पुलिसको लाठीसँगै । अनि ऊ भन्छ ‘एक छिन । एक छिन । एक छिन ! एक छिन !’ पुलिसलाई पनि दिक्दार लागेछ क्यारे करायो पुलिस “साले । त्यहाँ मुत्न हुन्न भन्ने थाहा छैन । ऊ त्यो होडिङ बोर्ड देख्तैनस्, स्वच्छ, सफा हराभरा काठमाडौं भन्ने ।” त्यसको लामो मुताइ खन्ड्याउन लाठीले ढाडमा बर्साए । आम्मम, म छक्क, मेरो मुत सुत कहाँ भाग्यो पता नहीँ । अनि चढेँ कीर्तिपुर जाने गाडीमा त्यत्तिकै । तपाईं किन यस्तो भयो ? भन्नु होला, यो पनि पैसाले गर्दा नै हो। मलाई र त्यसलाई यति चाहिँ थाहा थियो पहाडमा हग्दा मुत्दा पैसा नतिर्ने बानी, को तिर्छ पैसा ? सितैमा गरिन्छ भनेर हो वा हुन सक्छ ।

वास्तवमा पैसा एउटा निर्जीव जिनिस हो । यसले खुट्टा हात, दाँत मुख, शरीर पेट, खुत्ने सुत्ने बोकेर आएको छैन । तर, यो पैसा भन्ने जिनिस अमूर्त अत्यन्त शक्तिशाली जिनिस रहेछ । कहिलेसम्म यसको पछि ‘हो’ मा ‘हो’ भन्दै अन्धासुर पछि पछि लागेर दौडिनु पर्ने हो ? यो त विनिमयको सरल साधन हुनुपर्ने, किन साध्य भएर अहिले आइरहेछ । यसको विनाश गर्ने अनि संरचनामा रोक लगाए कसो होला ? सम्भवतः पैसाको अवसानसँग संसारमा वर्गीय असमानता हट्नेछ, स्वार्थ पलायन हुनेछ, तिकडमवाजी, खुरापाती हराउने छन्, मानवताको संरक्षण हुनेछ, मान्छेले मान्छेलाई चिन्ने छन् । पैसाको विनाश र संरचनामा रोक नभए पनि पैसा साधन होस्, साध्य नहोस् । घर व्यवहार चल्ने चलाउने जिनिस बनोस् । पैसा ! पैसा ! पैसा ! पैसा ! सब पैसा, पैसाको साम्राज्य, पैसाको वर्चस्व नहोस् । जय विनाशयः पैसा !

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा
समानता अभियान

समानता अभियान

सुरेशकुमार पाण्डे
जिब्रो

जिब्रो

रमेश समर्थन