देवकाेटाकाे ‘हाइ ! हाइ ! अङ्ग्रेजी’ मा हास्यव्यङ्ग्य
यस निबन्धका वाक्यांश, वाक्य र अनुच्छेद सबैमा प्रायः भनाइको विदग्धताको कारण उक्तिमा चमत्कार आएर वाक्वैदग्ध्यको निर्माण भएको छ ।
डा. सुकराज राई :
प्रस्तुत निबन्ध लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहीत छ । यो मझौला आकारको निबन्ध हो । यसमा लामा छोटा गरी जम्मा सोर वटा अनुच्छेदहरू रहेका छन् । यो व्यङ्ग्य प्रधान हास्यमुखी निबन्ध हो । यसको भाषा सरल, सहज र अनुप्रासयुक्त छ । यो निबन्ध आकर्षक र पठनीय हुनाका साथै ललित हास्यव्यङ्ग्यले पूर्ण छ । यहाँ हास्यव्यङ्ग्य निबन्धको आलम्बन र उपकरणका आधारमा ‘हाइ ! हाइ ! अङ्ग्रेजी’ निबन्धको विश्लेषण गरिएको छ ।
आलम्बनका आधारमा ‘हाइ हाइ । अङ्ग्रेजी’
‘हाइ ! हाइ । अङ्ग्रेजी’ देवकोटाको प्रसिद्ध हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा देवकोटाले बी. ए. गरेपछि दिनको तेर घन्टा ट्युसन पढाउन थालेको अनि अङ्ग्रेजीमै विचार गर्न र बोल्न लागेको कुरा गर्दै आफू पण्डितका छोरा भएकाले प्राचीन सभ्यता र संस्कृतिमा श्रद्धा भए पनि पण्डितहरू देख्दा आफूलाई त्यति बेला सङ्कुचित जस्तो लाग्ने गरेको तर पछि बुझ्दै जाँदा अङ्ग्रेजीले त उनलाई अनुवाद पो गरेको रहेछ भन्ने अनुभव हुन थालेको यथार्थतालाई व्यक्त गरेका छन् ।
उनी आठ वर्षका हुँदा उनका दाजु इन्ट्रन्स उत्तीण गरी ट्युसनबाट मासिक तिन सय रुपियाँ कमाउँथे । उनका आमा र धाई उनलाई त्यसरी पढ्नु पर्छ बाबै । दाज्यू जस्तै भनी आदर्शको शिक्षा दिन्थे । उनी पनि भविष्यमा ‘दाजु जस्तै पढ्नु पर्छ र कमाउनु पर्छ’ भन्ने मान्यतामा लीन भई अङ्ग्रेजी शिक्षा पढ्न लागे । देवकोटाले अध्ययन गर्दै जाने क्रममा बी. ए. उत्तीर्ण गरे । बी ए उत्तीर्णपछि उनी तेर घन्टासम्म ट्युसन गरी अर्थार्जन गर्न लागे । उनी त्यस बखत अङ्ग्रेजीमा मात्रै कुरा गर्दथे, नेपाली बोल्ने मान्छेसँग उनी बाटामा बोल्दैनथे भने उनी अङ्ग्रेजी बोल्ने मान्छेसँग धारा प्रवाह कुरा गर्दथे । आफू ब्राह्मणको छोरा एवम् प्राचीन सभ्यताको हिमायती भए पनि अङ्ग्रेजी नजान्ने, ब्राह्मण र पुरोहितलाई सङ्कुचित मानिस ठान्थे । सबै नेपालीहरूले अङ्ग्रेजी बोल्न, लेख्न जानुन् भन्ने मान्यता उनमा विकसित भएको थियो तर अन्ततः बुझ्दै जांदा ती सबै नेपाली भाषाप्रतिको उपहास र अङ्ग्रेजी भाषाप्रतिको खोक्रो आडम्बर मात्रै रहेछन् भन्ने यथार्थ बोध भएको कुरा देवकोटाले यस निबन्धमा व्यक्त गरेका छन् ।
हाम्रो समाजमा नेपाली भाषाप्रति वितृष्णा र अङ्ग्रेजी भाषाप्रति मोह बढि रहेको छ । हामी अङ्ग्रेजी शब्दकोशको ज्ञान भएका, अङ्ग्रेजी बोल्ने र अङ्ग्रेजी लेख्नेलाई विद्वानको संज्ञा दिन्छौँ। वास्तवमा, अङ्ग्रेजी भाषाको ज्ञान हुने सबै मानिस विद्वान् हुन्छन् भन्ने मान्यता गलत हो भन्ने विश्वास देवकोटामा विकसित भएको छ । त्यस्तै हामी हाम्रो भाषा र साहित्यलाई कनिष्ठ एवम् अङ्ग्रेजी भाषा र साहित्यलाई वरिष्ठ ठान्छौँ । यो पनि गलत हो भन्ने मान्यता उनमा छ ।
देवकोटा आधुनिक भाषा, साहित्य र संस्कृतिलाई आत्मसात् गर्न पुगे पनि नेपाली भाषा, साहित्य र संस्कृतिको अस्तित्वमाथि अङ्ग्रेजी भाषा, साहित्य र संस्कृतिले अतिक्रमण गरेर यिनलाई सङ्कटमा पारेको बताउँछन् । उनी हाम्रा नानीहरूलाई अङ्ग्रेजी शिक्षा लदाएर ‘कानमा डोरी लगाएको बयल जस्तो’ बनाएको भन्दै उदाहरण प्रस्तुत गरी आफ्नो भाषा, सभ्यता र शिक्षाप्रति हेला गरिएको सन्दर्भ प्रस्तुत गर्छन् । औपचारिक शिक्षा भनेको कागजको खोस्टो मात्रै हो । त्यसले मान्छेलाई गधा झैँ बनाइ रहेको छ । यस्तो शिक्षाले मान्छेलाई अनावश्यक रूपमा घमण्डी, स्वार्थी र ठग बनाइ रहेको छ भन्दै देवकोटाले नेपाली भाषामाथि अङ्ग्रेजीको अतिक्रमण र अङ्ग्रेजी शिक्षालाई नचाहिँदो महत्त्व दिने प्रवृत्तिलाई यहाँ व्यङ्ग्यको प्रमुख आलम्बन बनाएका छन् ।
देवकोटा अङ्ग्रेजी शिक्षाले मात्र हाम्रो भाग्य र भविष्य उज्ज्वल हुन सक्छ भन्ने धारणा गलत रहेको स्वीकार गर्छन । उनी नेपाली समाजमा बढ्दै गएको अङ्ग्रेजी भाषा र साहित्यप्रतिको मोह नेपालीहरूका लागि महारोग हो भन्दै यसले नेपाली भाषा र साहित्यलाई चुनौती दिइ रहेको कुरा व्यक्त गर्छन्। देवकोटा हाम्रा समाजका एकाथरी व्यक्तिहरूमा अङ्ग्रेजी भाषाविना बस्न, खान र बाँच्न नै नसकिने धारणा विकसित भएको कुरा व्यक्त गर्छन् । त्यस्ता मान्छेहरू अङ्ग्रेजी भाषालाई बिसौं शताब्दीको भाषा, आधुनिक आँखा, परराष्ट्र सम्बन्ध र दैनिक जीवनको बाँच्ने आधार ठान्छन् भन्दै देवकोटा अङ्ग्रेजी शिक्षाप्रति मोहित त्यस्ता व्यक्तिलाई घमण्डी, धाक र रवाफमा बाँच्ने व्यक्ति एवम् आडम्बरी प्रवृत्तिका व्यक्ति भनी व्यङ्ग्य गर्छन् ।
देवकोटाले प्रस्तुत निबन्धमा अङ्ग्रेजी भाषा र अङ्ग्रेजी भाषाप्रति मोहित हुने व्यक्तिलाई व्यङ्ग्यको प्रमुख आलम्बन बनाएका छन् । अङ्ग्रेजी भाषालाई नेपाली समाजमा महत्त्वको र प्रतिष्ठाको विषय ठानिएको छ । अङ्ग्रेजी भाषा बोल्न, पढ्न र लेख्न जान्ने मानिस मात्रै विद्वान् हुन्, अरु विद्वान् होइनन् भन्ने भनाइप्रति यसमा असहमति जनाइएको छ । भाषा सबै बराबर हुन्, भाषाले विचारको विनिमय गर्दछ भन्ने गूढ कुरा नेपाली समाजका सबै मान्छेले बुझेका छैनन् । सबै भाषाको आआफ्नो स्थान र परिवेशमा महत्त्व हुन्छ । विदेशी भाषाको अन्धानुकरणमा लागेर आफ्नो भाषाप्रति वितृष्णा फैलाउनु कुनै पनि नेपालीको सत् कर्म होइन भन्ने देवकोटाको भनाइ छ ।
वर्तमान सन्दर्भमा नेपालमा च्याउ झैँ उम्रिएका अङ्ग्रेजी विद्यालयहरू र ती विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थी एवम् अध्यापन गराउने शिक्षक र अभिभावकहरूप्रति समेत यस निबन्धमा सशक्त व्यङ्ग्य प्रकट भएको देख्न सकिन्छ । यसमा अङ्ग्रेजी पढेर धाक, रवाफ देखाउने र आफ्नोपन तथा संस्कृतिप्रति नाक चेप्राउनेहरूप्रति तिखो छेड गरिएको छ । यस निबन्धको व्यङ्ग्य कुनै व्यक्ति वा कुनै संस्थाप्रति नभएर अङ्ग्रेजी भाषा र साहित्य एवम् तीप्रति नचाहिँदो ढङ्गले मोहित व्यक्ति र समुदायप्रति लक्षित रहेको छ ।
अङ्ग्रेजी शिक्षाले हामीलाई आफ्नोपन र आफ्नो जीवन शैलीबाट निकै पर पुर्याउँदै लगेको कुरा यसमा व्यक्त गरिएको छ । यसरी व्यङ्ग्यको विषयगत वर्गीकरणका सन्दर्भमा प्रस्तुत निबन्धमा भाषिक एवम् शैक्षिक व्यङ्ग्य समेतको निर्माण भएको छ भने आफ्नो भाषालाई उपेक्षा गरेर अङ्ग्रेजी भाषा साहित्य र शिक्षाप्रति मोहित हुने व्यक्ति र परम्परालाई व्यङ्ग्यको प्रमुख आलम्बन बनाइएको छ । भाषा विचार विनिमयको साधन हो । सबै भाषाका आआफ्नो स्थान, अवस्था र परिवेशमा उतिकै महत्त्व हुने गर्छ । यो निबन्ध वैचारिक दृष्टिले यथार्थवादी चिन्तन धारामा केन्द्रित हुँदाहुँदै पनि केही हदसम्म आदर्शवादको सङ्केत पनि देखिन्छ ।
उपकरणका आधारमा ‘हाइ । हाइ । अङ्ग्रेजी’
‘हाइ ! हाइ ! अङ्ग्रेजी’ निबन्ध एकातिर राणा शासकले जनतामाथि शोषण दमन गरिरहेको र अर्कातिर नेपाली समाजलाई पश्चिमी आधुनिकताले गाँजेर अङ्ग्रेजी भाषी हुने नाउँमा नेपाली समाजमा विकृति विसङ्गति फैलिरहेका बेला त्यस्ता विक्ति विसङ्गति उपर सुधारको अपेक्षा राखी लखिएको देखिन्छ । उनको अभिप्राय मूल रूपमा नेपाली भाषा, साहित्य र शिक्षाप्रति वितृष्णा गरी अङ्ग्रेजी भाषा, साहित्य र शिक्षाप्रति मोहित हुने व्यक्ति र समुदायप्रति व्यङ्ग्य गर्नु रहेको छ तथापि यस निबन्धमा हास्यको पुट पाउन सकिन्छ ।
प्रस्तुत निबन्ध निबन्धकारको आत्मालापी वा स्वगत कथनको ढाँचामा संरचित छ भने केही मात्रामा यसले आख्यानात्मक स्पर्श समेत प्राप्त गरेको छ । भाषिक दृष्टिले देवकोटाका निबन्धको भाषा काव्यिक मात्र नभई प्रायः वाक्वैदग्ध्यपूणर् रहेको पाइन्छ र यस निबन्धमा पनि हास्यव्यङ्ग्यको एउटा उपकरणका रूपमा वाक्वैदग्ध्यको कुशल प्रयोग भएको देखिन्छ । ट्युसनको धपेडीका कारण बी.ए.को कक्षा राम्रोसँग लिन नपाएको सन्दर्भ प्रस्तुत गरी उनले प्रयोग गरेको ‘क्लासमा कान लगाइ दिन्थे र उठ्थें’ जस्ता वाक्यांशमा वाक्वैदग्ध्यको प्रयोग गरिएको देखिन्छ ।
देवकोटा अङ्ग्रेजीका शब्द, भाषा र साहित्य वुभन वित्तिकै मानिस विद्वान् हुन्छन् भन्ने विचारप्रति विमति जनाउँछन् । उनले अङ्ग्रेजी भाषाप्रति नेपालीको मोह बढ्दै गएको सन्दर्भ पनि उल्लेख गरेका छन् । नेपाली भाषा र शिक्षाप्रति बेवास्ता गर्ने र अङ्ग्रेजीतर्फ भने आकर्षित हुनेहरूप्रति व्यङ्ग्य गर्ने क्रममा उपहास र वाक्वैदग्ध्यको मिश्रित प्रयोग भएको साक्ष्य यस्तो छ :
अङ्ग्रेजी साहेब देख्नासाथ ग्रयाजुएटका ठाडो शिर नुन खाएको कुखुरोको सिउर जस्तै भुक्तछन् । अङ्ग्रेजी बोल्नु र अङ्ग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अङ्ग्रेजी लेख लेख्न चाहन्छौँ । जब, हाम्रो साहित्यले खोक्रो तार टुटेको सारङ्गी जस्तो र्याइँर्याइँ गर्न सक्तैन (पृ.४९) ।
उपर्युक्त उद्धरणमा अर्थका तहमा उपहास छ भने त्यसका निर्माणमा आर्थी र शाब्दी दुवै स्तरमा उक्ति वैदग्ध्य (विट) को सुन्दर प्रयोग गरिएको छ । ‘अङ्ग्रेजी साहेब देख्ना साथ ग्रयाजुएटका ठाडो शिर नुन खाएको कुखुरोको सिउरो जस्तै झुक्तछन्’ भन्ने वाक्यमा ‘स्नातक गरेका नेपाली पनि अङ्ग्रेजका अगाडि नतमस्तक हुने र ‘हाम्रो साहित्यले खोक्रो तार टुटेको सारङ्गी जस्तो र्याइँर्याइँ गर्न सक्तैन’ भन्ने वाक्यमा हाम्रो साहित्यको विकास भइ नसकेको तथ्यलाई प्रस्ट पार्न उक्ति वैदग्ध्यको प्रयोग गरिएको छ । यहाँ भनाइको विदग्धताका कारण उक्तिमा चमत्कार देखा पर्दछ ।
प्रस्तुत निबन्धमा निबन्धकार अङ्ग्रेजी शिक्षा लिनेहरूले हाम्रो परम्परागत मूल्य, मान्यता र संस्कृतिलाई बिटुलो बनाइ रहेको कुरा व्यक्त गर्छन् । आफ्नो मौलिक पहिचानको विषयलाई बिर्सिएर अङ्ग्रेजी शिक्षा लिनेहरूलाई व्यङ्ग्य गर्ने क्रममा वाक्वैदग्ध्यको प्रयोग गरिएको छ :
ग्रयाजुएटका निमित्त कृष्णजी पुराना कथाका राजा हुन्छन् । भागवतमा सच्याइ हुँदैन, व्यास ठग बन्छन्, पशुपतिनाथ ढुङ्गा हुन्छन्, हेज्लिन चन्दन बन्दछ, गोलभेडा पच्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्, पुराणहरू चलाकी तसावट बन्दछन्, स्वर्ग शून्य हुन्छन्, यमराज गफ बन्दछन्, देवताको सत्य हराउँछ र पुरखाहरू मूर्ख बन्दछन् (पृ.४९) ।
यहाँ भनाइका विदग्धताका कारण उक्तिमा चमत्कार प्रकट भएको छ र त्यो शब्दका तहमा भन्दा अर्थका तहमा सशक्त रूपमा देखा परेको छ । उपर्युक्त गद्यांशका भनाइले ग्रयाजुएट गरेका अङ्ग्रेजी भाषा र साहित्यप्रति लिप्त नेपालीप्रति लक्ष्य गर्दै सूक्ष्म छेड अभिव्यञ्जित गरेर विदग्धता प्रकट गरिएको छ । प्रस्तुत गद्यांशमा निबन्धकारले ‘कृष्णजी पुराना कथाका राजा भएको’, ‘व्यास ठग नभएको’, ‘पशुपति ढुङ्गा नभएको’ जस्ता गूढ कुरालाई समेत प्रस्ट पार्दै यहाँ व्यङ्ग्यका आलम्बनप्रति सूक्ष्म र परोक्ष रूपमा व्यङ्ग्य गरिएको छ ।
यस निबन्धमा निबन्धकार देवकोटा अङ्ग्रेजी शिक्षा ग्रहण गर्नेहरू सबै कुराले पूर्ण हुन्छन् भन्ने कुरामा असहमत देखिन्छन् । मानव जीवनको दैनिक व्यवहारमा प्रयोग भइ रहने भाषा महत्त्वपूर्ण भए पनि देवकोटा अङ्ग्रेजी भाषा संसारको सर्वोत्कृष्ट भाषा हो र यस भाषाका ज्ञानले त्यो मान्छे सर्वगुण सम्पन्न हुन्छ भन्ने विचारलाई स्वीकार गर्दैनन् । अङ्ग्रेजी भाषा र शिक्षा नै सबै थोक हुन् भन्नेहरूप्रति व्यङ्ग्य गर्ने क्रममा उनी पुनः वाक्वैदग्ध्यको प्रयोग गर्दै व्यङ्ग्य गर्छन् :
अङ्ग्रेजी पढ्नेलाई कुलीनकी छोरी छन्, बाबु साहेबका घरमा मेच, स्कुलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीहरूमा नाक, घन्टामा पचास र संसारमा सुवास, हाइ ! अङ्ग्रेजी ! (पृ., ५०) ।
यहाँ शब्द, भाव र विचारहरूको चमत्कारपूर्ण प्रयोग भएको छ । अङ्ग्रेजी शिक्षा ग्रहण गर्ने मान्छेलाई सामान्य आदर सत्कार गरिए पनि सबै ठाउँमा सधैँ आदर सत्कार नगरिने कुरा विदग्धतापूर्वक व्यक्त गरिएको छ । प्रस्तुत उद्धृतांशमा ‘पढ्नेलाई कुलीनकी छोरी छन्’, ‘बाबु साहेबका घरमा मेच’, ‘स्कुलमा छडी’, ‘कलेजमा दाह्री’ जस्ता पदावलीहरूले आर्थी विदग्धता प्रकट गर्दै स्मित हास्यका साथै व्यङ्ग्यको निर्माण गरेका छन् ।
प्रस्तुत निबन्धमा वावैदग्ध्य (विट) प्रविधिको अत्यधिक प्रयोग गरिएको देखिन्छ । यस निबन्धका वाक्यांश, वाक्य र अनुच्छेद सबैमा प्रायः भनाइको विदग्धताको कारण उक्तिमा चमत्कार आएर वाक्वैदग्ध्यको निर्माण भएको छ । निबन्धकार देवकोटाले शाब्दी एवम् आर्थी दुवै स्तरमा उक्ति वैदग्ध्यको प्रयोग गरे पनि यस निबन्धमा आर्थी विदग्धता सशक्त रहेको देखिन्छ । देवकोटाका अन्य सफल निबन्धहरूमध्ये यो हास्यव्यङ्ग्य उपकरणका आधारमा सफल निबन्ध हो ।
०००
आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य (२०७९)
Subscribe
Login
0 Comments
Oldest