बासुदेव शर्माकाे ‘भुत छैन’ निबन्धको विश्लेषण
यस निबन्धमा प्रमुख रूपमा वाक्वैदग्ध्य (विट) उपकरणको प्रयोग गरिएको छ भने अतिरञ्जना (क्यारिकेचर) र उपहास (लाफ्टर) प्रविधिको प्रयोग पनि कुशल रूपमा भएको देखिन्छ ।
डा. सुकराज राई :
‘भुत छैन’ प्रबन्धात्मक हास्यव्यङ्ग्य निबन्ध हो । बासुदेव शर्मा लुइँटेलले गाउँ सेविका विद्यालय मनोहरामा अध्ययन गर्न बसेकी उनकी कान्छी श्रीमती शान्तिदेवी भुतबाट झस्केको घटनाबाट प्रेरणा लिएर भुत नहुने कुरालाई बढवा दिन यस निबन्धको रचना गरेका हुन् (राई, २०५४ : ७५) । यो एक्काइस पृष्ठमा छापिएको लामो आकार भएको निबन्ध हो । यसमा लामा छोटा गरी जम्मा अठहत्तर वटा अनुच्छेदहरू रहेका छन् । यहाँ हास्यव्यङ्ग्य निबन्धका आलम्बन र उपकरणका आधारमा ‘भुत छैन’ निवन्धको विश्लेषण गरिएको छ ।
(क) आलम्बनका आधारमा ‘भुत छैन’ निबन्धको विश्लेषण
प्रस्तुत निबन्ध वस्तुपरक हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धको मूल कथ्य नै भुत हो । हाम्रो समाजले परम्परागत रूपमा भुत स्वीकार गर्दै र कतै भुतको विरोध पनि गर्दै आइ रहेको अवस्था छ, यहाँ यही विषयमा चर्चा र बहस गरिएकाले यस निबन्धको प्रमुख आलम्बन भुत रहेको छ । यस निबन्धमा निबन्धकारले ‘भुत हुन्छ’ भन्ने अन्धविश्वासी धारणालाई ‘भुत हुँदैन’ भन्ने मूल आलम्बनको प्रतिपादनमा केन्द्रित रहेर भुत ‘हुन्छ’ र ‘हुँदैन’ विचको द्वन्द्वलाई विभिन्न आलम्बनको माध्यमबाट प्रस्तुत गरेका छन् । ‘भुत छ’ भन्ने विश्वास कसरी र किन अस्तित्वमा रहेको छ भन्ने कुरा र ‘भुत हुँदैन’ भन्ने धारणाका विकास कसरी हुदै आएको छ र त्यसको प्रमाणको रूपमा विभिन्न घटनालाई वणर्नात्मक रूपमा विभिन्न उपकथात्मक प्रसङ्गहरू समावेश गरी निबन्धकारले ‘भुत छैन’ भन्ने चिन्तन प्रस्तुत गरी ‘भुत छ’ भन्नेहरूप्रति व्यङ्ग्य प्रहार समेत गरेका छन् ।
यस निबन्धको आलम्बन सामाजिक अन्धविश्वास पनि हो । ‘भुत छ’ भन्ने धारणा मानसिक दुर्बलताको कारण हो । अकालमा मरेका मान्छे भुत भएर आउने, त्यसलाई धामी झाँक्रीका झारफुक गर्दा निको हुने जस्ता अन्धविश्वासका कुरालाई वास्तविक तथ्यका आधारमा ठम्याउन नसक्दा भुत छ भन्ने विश्वास गर्ने सामाजिक संस्कारप्रति व्यङ्ग्य गरिएको छ । “भुत झसङ्ग हुँदा भयास्स लाग्दछ, फुक्ता उड्दछ, झार्दा झर्छ, खरानी हालेको पानी पिउँदा पच्तछ, पहेंलो अक्षता पुछेर फालिदिंदा फालिन्छ, फुटेको कतारोमा भुस हालेर मन्छि दिँदा पन्छिन्छ (पृ १०)” भन्ने निराधार कुराहरूमा विश्वास साँचर राख्ने समाजमा मनोवैज्ञानिक ढङ्गले सोच्ने र त्यसको प्रमाण खोज्ने प्रवृत्ति भने पाइदैन । सासूको कचकच सहन गर्न नसकी भान्सा पकाउँदै गर्दा स्वालहवाल छादी मुर्छित हुने बुहारीलाई पानी नचल्ने सार्कीबाट टाढैबाट पानी फुकेर खुवाएपछि बुहारी निको भएको प्रसङगबाट यस निबन्धमा जातीय विभेदलाई देखाइएको छ । आमाहरू आफ्नो बच्चा रोए ‘गुजी आयो, हाउ आयो, नानीलाई हाइ गर्छ’ भन्दै बच्चाहरूलाई सानै अवस्थादेखि भुतप्रेत र डरत्रासको वातावरणमा हुर्काइने प्रसङ्ग उल्लेख गरिएको छ । लुईटेल यस निबन्धमा समाजका अन्ध धारणाप्रति झुकाव राख्नेहरूलाई व्यङ्ग्य गर्दै समाज परिवर्तनको अपेक्षा राख्दछन् जसले गर्दा यस निबन्धका आलम्बन समाजका विभिन्न व्यक्ति र समुदाय समेत रहन पुगेको देखिन्छ ।
यस निबन्धमा निबन्धकारले प्रकृतिको स्वभाविक प्रक्रियालाई मानिसले नबुझेर अन्ध विश्वासग्रस्त हुनु पर्ने स्थितिलाई पनि व्यक्त गरेका छन् । आफ्नो कमजोर डरपोकले गर्दा जुन सुकै वस्तुलाई पनि भुत ठानेर आत्म दुर्बलतालाई नियन्त्रण गर्न नसक्दा त्यसको परिणामबाट भुत छ भन्ने विश्वासको सिर्जना हुन्छ भन्ने तर्क ल्याएर त्यसको वास्तविकतालाई निबन्धकारले यसरी प्रस्ट पारेका छन् :
पूर्वपट्टि चन्द्रमा छन् र लामघारे दाइ पश्चिमपट्टि जान लागे भने उनको छाया उनकै अगाडि लाग्छ । पूर्वतिर जान लागे भने लामघारे दाइको छाया पछि पछि लाग्दछ ।… कोही मान्छे भुतले बाटो छेक्यो अथवा लखेट्यो पनि भन्छन् । जस्तै आफू उभियो भने ऊ पनि उभिन्छ, नडराएर फटाफट हिड्यो भने ऊ पनि उस्तै गरेर अगिअगि हिँड्छ (पृ. ४) ।
प्रस्तुत गद्यांशमा प्रकृतिको स्वभाविक प्रक्रियालाई नबुझेर भुत बनाइएको सन्दर्भ उल्लेख गरिएको छ । आफू हिड्ने दिशा र चन्द्रमाको प्रकाशले आफ्नै छायाको विविध स्थितिबाट झल्किने भुतको विश्वास गराइएको छ । त्यस्तै गरी काहीं विषादियुक्त जडीबुटी भएको ठाउँमा चलेको दूषित हावाले पारेको नराम्रो असरलाई पनि भुत लागेको ठानिन्छ । मनलाई डरमुक्त गरेर हेर्दा जे कुरो पनि स्वस्थ र यथार्थ रूपले देखिन सक्छ तर मानसिक कमजोरीको अथवा भययुक्त मनले हेरेको खण्डमा कुनै पनि वस्तुको वास्तविक रूपमा त्यसै परिवर्तन आएको देखिन्छ। यसै सन्दर्भमा लुइँटेल लेख्छन् :
यस्तो किसिमको दिग्भ्रम पनि हुन सक्छ कि असुराको, केत्तकेका यस्तै अरू कुनै बुटोलाई भालु बनाएर तर्सिने, कोठाकै दलिनमा घुसारेको सुकेको सालको पात अरू कुनै चिजलाई हेर्दा हेर्दै कमजोर दृष्टिले गर्दा सर्पको टाउको सम्झेर झस्कने, यस किसिमका मान्छे पनि पाइएलान् (पृ.५) ।
उक्त गद्यांशमा कमजोर एवम् भयमुक्त मनले जुन सुकै वस्तुलाई हेर्दा पनि वास्तविक नदेखिई भय र त्रास फैल्याउने वस्तु देखिने कुरा उल्लेख गरिएको छ । त्यस्तै खोला वा नदीको बगरमा, पोखरीको किनारमा वा ओसिलो घाममा एक किसिमको आगोको ज्वाला जस्ता धपधप बल्ने, हुर्रर गरी हिँड्ने ग्याँस निस्किन्छ तर त्यो दिनमा सूर्यको तेजले स्पष्ट देखिँदैन जब रात परेर अँध्यारो हुँदै जान्छ अनि मात्र देखिन थाल्छ, त्यसलाई राँके भुत भनेको पाइन्छ । यसरी केही प्राकृतिक वस्तुहरूको लक्षण अथवा तिनीहरूको आफ्नो खास विशेषता नजान्दा मान्छेमा भ्रमको सिर्जना भई त्यसैलाई भुत भनेको देखिन्छ भन्दै निबन्धकारले विभिन्न प्राकृक्तिक वस्तुहरूलाई समेत आलम्बन बनाउन पुगेका छन् ।
यहाँ ‘भुत छैन’ भन्ने कुरामा सड्का उठाएर ’भुत हुन्छ’ र भुतले भेट्टाएपछि राम्रो किसिमको झारफुक भएन भने मरिन्छ भन्ने भ्रम फैल्याएर भुतलाई धामी झाँक्रीको झारफुकवाट हटाउने वहानामा जीविका चलाउनेहरू पनि हुन्छन् भन्ने कुरा देखाइएको छ । सबैले भुतका विश्वास गर्न छाडे भने यस्ता झारफुके धामी झाँक्रीहरूको पेट भर्ने उपाय नहुने कुरा व्यक्त गरेर निबन्धकारले भुतका नाममा जीवन धान्नेहरू पनि हुन्छन् भन्ने कुरा देखाएका छन् । जन मानसमा अन्धविश्वास जगाएर यसलाई आफ्नो जीविकोपार्जनको साधन बनाउने व्यक्ति पनि यही समाजमा छन् भन्ने व्यङ्ग्य समेत गरिएको देखिन्छ ।
यस निबन्धमा मूलतः ‘भुत छ’ भन्नेहरूप्रति व्यङ्ग्य गरिएको छ । नेपाली समजमा ‘भुत हुन्छ वा छ’ भन्ने मान्यता भ्रम हो भन्ने कुरा यहाँ प्रस्ट पारिएको छ । समयक्रमसँगै विश्वमा कति नयाँ विचार र मान्यताहरू स्थापित भइ सके तर नेपाली समाज चाहिँ अन्ध परम्परामा नै रहि रहेकामा उनीहरूमा नवीन चेतनाको विकास हुनु पर्ने कुरा उल्लेख गरिएको छ। यस निबन्धमा ‘भुत छ’ र ‘भुत छैन’ भन्ने मान्यता बिच द्वन्द्व देखाइ युवा पुस्ता र प्रौढ पुस्ता बिचको विचारलाई व्यक्त गर्न खोजिएको प्रस्ट हुन्छ । समयको बदलिँदो परिस्थितिसँगै युवाहरू भुत नहुने कुरामा विश्वास गरी भौतिकवादी चिन्तनतर्फ लीन भएको र प्रौढहरू भुत भएको कुरामा विश्वास गरी अध्यात्मवादी चिन्तनलाई पक्रि रहेको सन्दर्भ समेत निबन्धकारले यहां प्रस्ट पार्न खोजेका छन् । निबन्धकारले यस निवन्धमा विभिन्न घटना, सन्दर्भ, कथा, उपकथा, दृष्टान्त आदि प्रस्तुत गर्दै ‘भुत भएको’ र ‘भुत नभएको’ वारे चर्चा गरेका छन् र अन्ततः ‘भुत छैन’ भन्ने बारेमा सबैलाई ढुक्क हुन आग्रह गरिएको छ । जोसँग ’भुत छ’ भन्ने विश्वास छ त्यो भ्रम हो भन्ने निबन्धकारको विचार देखिन्छ । निवन्धकार ’भुत छ’ भन्ने मान्यता मात्रै होइन अरू यस्तै धेरै भ्रमपूर्ण रूढी र अन्ध धारणाहरू छन् भन्दै त्यसलाई नेपाली समाजले आत्मसात् गरि रहनु नहुने कुरा व्यक्त गरी ती त्यस्ता धारणाहरूबाट मुक्त हुन पर्ने कुरा व्यक्त गर्छन् । यस निबन्धको व्यङ्ग्य कुनै व्यक्ति विशेष वा समाज विशेषलाई किटान गरेर लक्षित गरिएको छैन । समग्र नेपाली समाज र नेपाली सस्कृतिप्रति यस निबन्धको व्यङग्य लक्षित भएकाले यस निबन्धलाई विषयगत आलम्बनका आधारमा सामाजिक एवम् सांस्कृतिक व्यङ्ग्यका कोटीमा राख्न सकिन्छ । यहाँ भुतको सन्दर्भ प्रस्तुत गरी भौतिकवाद र आध्यात्मिकवाद विच दृन्द देखाएर भुत भनेको भुल हो भने प्रमाणित गर्न खोजिएको छ । यो निबन्ध वैचारिक दृष्टिले यथार्थवादी हुनका साथै सुधारवादी रहेको देखिन्छ ।
(ख) उपकरणका आधारमा ‘भुत छैन’ निबन्धको विश्लेषण
प्रस्तुत निवन्ध ‘भुत छ’ भन्ने अन्ध विश्वासका पक्षमा रहने व्यक्ति र समुदायप्रति व्यङ्ग्य गरिएको हास्यव्यङ्ग्य निबन्ध हो । यस निबन्धमा व्यङ्ग्यका साथै हास्यको पुट पनि पाउन सकिन्छ । हास्यव्यङ्ग्य उपकरणका आधारमा यो निबन्ध सफल रहेको देखिन्छ । यस निवन्धको सुरुवात् अत्यन्त विदग्धतापूणर् ढङ्गले भएको छ । यहाँ शब्दको विन्यासमा नै विदग्धता अपनाइएको छ । ‘भूत होइन’ वा ‘भुत हुँदैन’ भन्ने विचारलाई व्यक्त गर्ने क्रममा वाक्वैदग्ध्य (विट) को निम्नानुसार प्रयोग गरिएको छ, जस्तै :
भु-
‘त’ कि ‘ल’ (पृ.१)
यहाँ निबन्धकारले शब्दको प्रयोग चमत्कारपूणर् ढङ्गले गरेका छन् । उनले शब्द प्रयोगको चमत्कारका साथै नेपाली समाजमा अन्ध विश्वासका रूपमा स्वीकार गरिँदै आएको ‘भुत’ भनेको ‘भुल हो’ भन्ने कुरा वाक्वैदग्ध्यको प्रयोग गरी व्यक्त गरेका छन् । निबन्धकार यहाँ ‘भुत छैन’ वा ‘भुत हुँदैन’ भन्दै भुतलाई ‘छ’ वा ‘हुन्छ’ भन्नु भुल हो भन्ने मान्यता प्रकट गर्छन् । प्रस्तुत उद्धृत अंशका भाव, शब्द र विचारका तहमा समेत चमत्कार छ । उक्त उद्धृत अंश थोरैमा धेरै भन्न सक्ने, गूढ कुरा भन्न सक्ने र सूत्रात्मक छ । यहाँ शाब्दी एवम् आर्थी दुवै विदग्धताको सुन्दर प्रयोग भएको देखिन्छ ।
यस निबन्धको उठान जुन शैलीमा भएको छ र बैठान पनि सोही शैली वा ढङ्गमा भएको छ । निबन्धकार यस निबन्धमा नेपाली समाजले परम्परागत रूपमा स्वीकार गर्दै आएको ‘भुत छ’ भन्ने अन्धविश्वासलाई विभिन्न दार्शनिक तथा वैज्ञानिक विचार, घटना सन्दर्भ र उदाहरण प्रस्तुत गर्दै अन्ततः ‘भुत छैन’ भन्ने विचार व्यक्त गर्न सफल रहेका छन् । ‘भुत छैन’ भन्ने मान्यतालाई निष्कर्षका रूपमा व्यक्त गर्ने सन्दर्भमा निबन्धकारले यस निबन्धका अन्त्यमा वाक्वैदग्ध्य (विट) को प्रयोग निम्नानुसार गरेका छन् :
भु-
‘त’ होइन ‘ल’ (पृ २१) !
प्रस्तुत गद्यांशमा ‘भूत होइन भुल हो’ भन्ने विचार वाक्वैदग्ध्य (विट) प्रविधिको प्रयोग व्यक्त गरिएको छ । निबन्धकार लुईटेल ‘भुत छ’ भन्ने परम्परागत अन्ध धारणालाई स्वीकार गर्दैनन् । उनले यस निबन्धका उठानमै ‘भुत कि भुल’ ? भनी प्रश्न गरी यसैका बारेमा निबन्धभरि चर्चा गरेर ‘भूत होइन, भुत भनेको भूल हो’ भन्ने मान्यता निबन्धको अन्त्यमा वाक्वैदग्ध्यपूर्ण ढङ्गले बताएका छननेल ज शाब्दी र आर्थी दुवै विदग्धताको प्रकट भई शब्द, भाव र विचारमा समेत चमत्कार प्रकट भएको देखिन्छ । यहाँ शाब्दी र आर्थी दुवै विदग्धता प्रकट भई थोरैमा धेरै र गूढ कुरा सूक्तिमय अभिव्यक्तिबाट प्रकट भएको छ ।
निबन्धकार लुइँटेल नेपाली समाजमा बाल मानसपटलबाटै विशेषतः आमाहरूले केटाकेटीहरूलाई ‘भूत छ’ भन्ने धारणा बसाएको कुरा उल्लेख गर्छन् । उनी आमाहरू केटाकेटीले निदाउन नमान्दा वा अन्य कुनै काम अभिभावकका विपरीत सोच अनुसारका कार्य गर्दा उनीहरूलाई आफ्नो वशमा ल्याउन ‘गुजी आयो’, ‘हाउ आयो’, ‘हाङ गर्छ’ जस्ता भनाइ अभिभावकहरूबाट गरिन्छ र त्यहीबाट नै बालकहरूका मानसपटलमा ‘भुत छ’ भन्ने धारणा बस्न जान्छ भन्ने कुरा उल्लेख गर्छन् । समय परिवर्तनशील भए पनि ‘भुत छ’ भन्ने अन्धविश्वास नेपाली समाजबाट परिवर्तन हुन नसकेकामा अन्धविश्वासले ग्रस्त नेपालीहरूप्रति व्यङ्ग्य गर्ने क्रममा वाक्वैदग्ध्य (विट) को प्रयोग निम्नानुसार गरिएको छ, जस्तै :
बुबु खाने नानीबाबुलाई नुनु गराउँदा मानेनन् भने आमाले ‘ऊ गुजी आयो, हाउ आयो, नानीलाई हाङ गर्छ’, भनेको कुरा सझेर ऐलेसम्म पनि थरथर काप्ने हो भने बामे सर्न छोडेर ताती गर्न पनि सुहाएन, ठम्ठमाएर हिँड्ने खोइ कहिले । संसारमा हिड्नेलाई गुड्नेले, गुड्नेलाई उड्नेले जितै गइसके (पृ. २१) ।
यहाँ निबन्धकारले दुधे बालबालिकाले सुत्न नमान्दा ‘गुजी आयो’, ‘हाउ आयो’, ‘नानीलाई हाङ गर्छ’ भन्दै उनीकी आमाले बाल मानसपटलबाटै ‘भुत छ’ भन्ने धारणा बसाइ त्यो धारणालाई विकसित गराउन लागेको दृष्टान्त प्रस्तुत गरी नेपाली समाजले अन्ध परम्परा र धारणालाई वाक्वैदग्ध्य (विट) प्रविधिवाट व्यक्त गरेका छन् । उक्त गद्यांशमा भनाइको विदग्धताका कारण उक्तिमा चमत्कार प्रकट भएको छ । ‘बुबु खाने नानीबाबुमा नुनु गराउँदा मानेनन्’ र ‘उ गुजी आयो, हाड आयो, नानीलाई हाड गर्छ’ वाक्य विदग्धतापूणर् रहित आर्थी विदग्धता प्रकट भएको छ । त्यस्तै गरी एकै किसिमका शब्दहरू ‘हिँड्ने’, ‘गुड्ने’, ‘उड्ने’ जस्ता प्रयोग गरिएबाट शाब्दी विदग्धता पनि प्रकट भएको छ ।
नेपाली समाजमा भुत प्रेतको बारेमा चर्चा भइरहने गरेको देखिन्छ । भुतका विषयमा चर्चा हुँदा भुतको रूप, रङ, स्वरूप आदिका बारेमा समेत बहस हुने गरेका छन् । लुईटेल भुत नै नहुने कुरामा विश्वास गर्न आग्रह गर्छन् जसले गर्दा भुतको प्रकृति र स्वरूप नै कल्पना गर्न नसकिने कुरा बताउँदै ‘भुत हुन्छ’ भन्नेहरूप्रति व्यङ्ग्य गर्ने क्रममा अतिरञ्जना (क्यारिकेचर) को प्रयोग निबन्धकार निम्नानुसार विचार व्यक्त गर्छन् :
भुत भनेको हामी जस्तै जिउँदो मान्छे होइन । त्यो त अकालमा मरेका मान्छेको छाया अथवा हावा हो । झसङ्ग हुँदा त्यो भयास्स लाग्दछ, फुक्ता उड्दछ, झार्दा झर्छ, खरानी हालेको पानी पिउँदा पच्तछ, पहेला अक्षता मुछेर फालिदिँदा फालिन्छ, फुटेको कहतारोमा भुस हालेर मन्छिदिँदा पन्छिन्छ, यस्तैलाई भुत भन्ने चलन छ (पृ.१) ।
यहाँ भूतलाई अनुपात रहित ढङगले अतिरञ्जित गरिएको छ । भूत जिउँदो मान्छे यहाँ भनभएको, अकालमा मरेको मान्छेको छाया, झ्यास्स लाग्ने, फुक्दा उड्ने, झार्दा झर्ने, पिउँदा पच्ने, फाल्दा फालिने र मन्छ्याउँदा मन्छिने भनी अतिरञ्जनात्मक बुद्गले भुतको वणर्न गरिएको छ । ‘भूत’ अमूर्त वस्तु वा चिज भएकाले भुत माथि भनिए झै नहुन सक्छ । यो निबन्धकारको अतिरञ्जनात्मक अभिव्यक्ति मात्रै हो ।
निबन्धकार लुईंटेल भूत नहुने कुरा व्यक्त गर्दै भूत धारणा मात्रै हो यसले मानिसलाई केही नगर्ने बताउँछन् । उनी मन कमजोर भएका मानिस भुतबाट प्रताडित र त्रसिद हुने गर्दछ भन्ने विचार व्यक्त गर्छन् । भुतलाई विश्वास गर्नेहरूप्रति व्यङ्ग्य नै क्रममा उपहास (लाफ्टर) र वाक्वैदग्ध्य (विट) को निम्नानुसार प्रयोग गर्छन्, जस्तैः
हुँदो न खाँदोको भुतले जबर्जस्ती घुस्ने ठाउँ ता खालि कमजोर मन मात्र हो । बाबाहरूको मन बलियो हुन्छ । त्यसैले आफ्नो आफ्नो अड्कलले बनाएको भुतले मसानमा बसेका कुकुरलाई त त्यताबाट लखेट्न सकेको छैन, कहाँको बाबाको कुरा। मन कम्जोर कसरी हुन्छ ? कसरी बलियो ? यो झन् गहिरो कुरा छ । म बलियो छ भन्ने विश्वास मात्र गरे पनि भुत भागि हाल्छ (पृ.१४) ।
उक्त गद्यांशमा भुत हुँदैन भन्दै भुत छ भन्नेहरूलाई भुत छ भन्ने कुरा आफ्नो मन मात्र भएको कुरा उपहासात्मक ढङ्गले व्यक्त गरिएको छ । मन बलियो गरे भुत भए पनि भाग्ने कुरा बताउँदै बाबा (जोगी) हरूको मन बलियो भएकाले उनीहरूलाई केही नभएको कुरा वाक्वैदग्ध्यको प्रयोग गरी बताइएको छ । यहाँ ‘बाबा’ शब्दले आर्थी विदग्धता प्रकट गरेको छ भने प्रस्तुत गद्यांशको भनाइ चातुर्यका कारण उक्तिमा चमत्कार आएको ।
प्रस्तुत निबन्ध हास्यव्यङ्ग्य उपकरणका दृष्टिले पूर्ण सफल निबन्ध हो । यस निबन्धमा प्रमुख रूपमा वाक्वैदग्ध्य (विट) उपकरणको प्रयोग गरिएको छ भने अतिरञ्जना (क्यारिकेचर) र उपहास (लाफ्टर) प्रविधिको प्रयोग पनि कुशल रूपमा भएको देखिन्छ । उपर्युक्त प्रविधिहरूका संश्लिष्ट प्रयोगले यसलाई सफल हास्यव्यङ्ग्य निवन्ध बनाउन सहयोग गरेको छ ।
०००
भक्तपुर
‘आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य’
सुन्दर समीक्षा