सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देवकाेटाकाे ‘कविराजको च्याङ्ग्रे खच्चर’ निबन्धमा हास्यव्यङ्ग्य

ती साना कदका मान्छे उस्तै वाहनमा चढ्दा कविराज उपहासात्मक एवम् खिसी गिनी गरिने वा ‘उस्तैलाई उस्तै ल टक्क मिलेछ’ भनिने हास्यास्पद आलम्बनका राज्यी देखा पर्दछन् ।

Nepal Telecom ad

डा. सुकराज राई :

कविराजको च्याङ्ग्रे खच्चर निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रहमा सङ्ग्रहित छ । चूडामणि बन्धु (२०६७ । ९३) ले यस निबन्धको रचनाबारे यस्तो लेखेका छन “मुकुन्द देवकोटाका अनुसार यी कविराज देवकोटाकै निकटतम सम्बन्धी हुन् ? उनलाई एक जनाले च्याङ्ग्रे खच्चर दिएका थिए । कविराजले त्यो चढ्ने गरेको देखेर देवकोटाले यो निबन्ध लेखेका हुन्” । यो चार पृष्ठमा छापिएको मझौला आकारका लामा छोटा गरी जम्मा पाँच अनुच्छेदमा संरचित निबन्ध हो । हास्यव्यङ्ग्य निबन्धका दृष्टिले यो सफल निबन्ध हो । यहाँ हास्यव्यङ्ग्य निबन्धका आलम्बन र उपकरणका आधारमा ’कविराजको च्याङ्ग्रे खच्चर’ निबन्धको विश्लेषण गरिएको छ ।

आलम्बनका आधारमा ’कविराजको च्याङ्ग्रे खच्चर’
‘कविराजको च्याङ्ग्रे खच्चर’ देवकोटाको सशक्त हास्यव्यङ्ग्य निबन्ध हो । यो आख्यानात्मक तथा वस्तुपरक निबन्धका रूपमा पनि रहेको छ । लक्ष्मीप्रसाद देवकोटाले यस निबन्धमा कविराज च-प्रसाद र उसको च्याङ्ग्रे खच्चरलाई प्रमुख आलम्बन बनाई कविराजलाई उपहास र खिस्सी गिल्ली गर्दै नेपाली समाजको तथाकथित कविराज प्रभूतिका व्यक्तिको चरित्र चित्रण गरेका छन् । च-प्रसाद विरामीलाई औषधि उपचार गर्ने वैद्य वा कविराज हो। ऊ हिँडडुल गर्न सजिलाका लागि वामन बनजरबाट च्याङ्ग्रे खच्चर (साना खालको घोडा) लिन्छ । च्याङ्ग्रे खच्चर सानो कदको भएकाले कविराजलाई च्याङ्ग्रे खच्चरमा चढ्न र च्याङ्ग्रे खच्चरबाट ओर्लन समस्या हुँदैन ।

एक दिन ऊ उक्त वाहन चढी विजुली घर नजिकै पुग्छ । धोवीले एउटा गधालाई दुईतर्फ पोका बोकाएर ल्याइरहेको उसले भेट्छ । धोबीको गधा यालदार सिंह झै गर्जिन्छ । त्यसको गर्जनबाट कविराजको च्याङ्ग्रे खच्चर तर्सिएर घरि उत्तर घरि दक्षिण र यता उता गर्न लाग्छ । त्यति नै बेला घन्टाघरले चार बजेको घन्टी दिन्छ । त्यसको आवाजले कविराजको खच्चर झन् तर्सिन्छ अनि फेरि त्यति नै वेला नम्बर प्लेट स्पष्ट नभएको अजङ्गकाे गाडी ‘भ्वाँक !’ ‘भ्वाँक !’ गर्दै त्यहीँ आइपुग्छ । यसले गर्दा कविराजको वाहन झन् तर्सिएर यता उता गर्न लाग्छ कविराज च-प्रसादलाई पनि आतेस पर्छ । खच्चरबाट कविराज सडकमा पछारिन्छ । उसको चस्मा फुटे पनि उसको आँखा भने केही हुँदैन तर बायाँ हातको हड्डी भने खुस्कन्छ । डाक्टर द्रव्यरञ्जनकहाँ गई कविराजले काम्रो कसाएर द्रव्य रज्जनको प्रेस्क्रिप्सन लिई उनी ’कस्तो ओखती हो ? रसादि हो कि कष्टादि ?’ भन्दै देवकोटासँग सोध्न पुग्छ । देवकोटाले उनलाई ’घोडामा ठुलो र तेजिलो नै मजाको हुन्छ’ भन्ने सल्लाह दिए पनि उनले स्वीकार नगरी उपचारबाट निको भएपछि पनि पुनः त्यही घोडा चढेर यता उता विचरण गरि हिँडेको कुरा यस निबन्धमा उल्लेख गरिएको छ ।

देवकोटाले प्रस्तुत निबन्धमा नेपाली समाजका व्यक्ति र समुदायको दिनचर्यालाई प्रस्ट्याएका छन् । उनले हाम्रो समाजभित्र अनेकता छ तर अनेकताभित्र एकता रहेको छ भन्ने सन्देश यस निबन्धबाट दिन खोजेका छन् । झुस्मुसे दाह्री पालेर बिरामीको औषधि गर्ने कविराज च-प्रसाद नेपाली समाजका अनेक मध्येको एक हो भने गधालाई भारी बोकाई कपडा धुन लाने धोबी, भ्वाँक ! भ्वाँक ! गर्दै मोटर गुडाउने मान्छे, कविराजलाई च्याङ्ग्रे खच्चरले सताउँदा रमिता हेर्ने मान्छेहरू, कविराज च-प्रसादको खुस्किएको बायाँ हातको काम्रो कसिदिने डाक्टर द्रव्य सज्जन आदि प्रवृत्ति र स्वभावगत अनेकता बोकका पात्रहरू हुन् । समाज विशिव्य काम, स्वभाव, प्रवृत्ति, पेसा, व्यवसाय, धर्म, संस्कार, रीति आदि क्षेत्रका मानिसभिन्न मेलबाट बनेको हुन्छ । समाज एक व्यक्तिको विशुद्ध मौलिक पहिचानका विषय होइन र सबै सम्प्रदाय, क्षेत्र, वर्ग, जातजाति आदिका एकीकृत मिलन बिन्दु विषय हो भन्ने कुरा यहाँ देवकोटाले प्रस्ट पारेका छन् । यसबाट देवकोटाले यस निबन्धमा समाजलाई आलम्बन बनाएको देखिन्छ ।

देवकोटाले यस निबन्धमा कविराज च-प्रसादलाई प्रमुख आलम्बन बनाई उसका माध्यमबाट यस प्रवृत्तिका मान्छेहरूप्रति व्यङ्ग्य गरेका छन् । समाजमा रहेका मान्छेले समाजमा बसेपछि सामाजिक मर्यादा कायम गर्नु पर्दछ अर्थात् आफू र समाजको अवस्था के हो भन्ने बोध गर्नु पर्दछ भन्ने देवकोटाको विचार रहेको देखिन्छ । देवकोटा मूलतः मानव जीवन र मानव सभ्यता बामपुड्के र जोकर बन्दै गएको सन्दर्भसँगै पुड्किँदै गएको अस्तित्व र त्यसको बोध गर्न नसक्ने हाम्रो सामर्थ्य हीनताप्रति यहाँ उपहासात्मक व्यङ्ग्य गर्छन् ।

यस निबन्धमा काठमाडौंको विकासोन्मुख अवस्थालाई पनि ‘भ्वाँक’ ‘भ्वाँक’ गर्दै गुड्ने गाडी र गाडीबाट त्रसित चौपायाका प्रसङ्गबाट देखाइएको छ । समाजभित्रका मान्छे पृथक् पृथक् सोच र चिन्तनबाट परिलक्षित हुन्छन् र सबै व्यक्ति एउटै स्वभावको हुन नसक्ने कुरा देवकोटाले यहाँ व्यक्त गर्न खोजेका छन् । विशेषतः देवकोटाले समाजमा आफ्नो सामाजिक अवस्था के छ भनी समाज र व्यक्तिको अन्तर्सम्बन्ध पहिचान गर्न नसक्नेहरूप्रति व्यङ्ग्य वाण प्रहार गरेका छन् । व्यक्तिको बाँच्ने सबैभन्दा ठूलो आधार स्थान समाज हो । जसरी पानीबिना माछा जीवित रहन सक्तैन त्यसै गरी समाजविना मान्छे बाँच्न र वस्न सक्तैन भन्ने देवकोटाको विश्वास छ ।

देवकोटाले यस निबन्धमा मानिसमा अनिवार्य रूपमा सामान्य ज्ञान हुनु पर्ने कुरामा जोड दिएका छन् । यस निबन्धमा व्यङ्ग्यको भन्दा हास्यको प्रधानता रहेकाले यस निबन्धलाई हास्यप्रधान व्यङ्ग्यमुखी निबन्ध भन्न सकिन्छ । यस निबन्धको व्यङ्ग्य व्यक्ति र समाज दुवैप्रति लक्षित भएकाले विषयगत आलम्बनका दृष्टिले यसलाई व्यक्तिगतका साथै सामाजिक व्यङ्ग्यका कोटिमा राख्न सकिन्छ । यस निबन्धमा होचो र सानो च्याङ्ग्रे खच्चरले मानिसमा भएको विवेक, बुद्धि र मानवता पनि होचिँदै गएको कुरालाई सङ्केत गरिएको छ । यस निबन्धले मानवीय उच्च विचार र महानतालाई प्रश्रय दिएको छ जसले गदां यस निबन्धमा सुधारवादी एवम् प्रगतिशील विचार रहेको देखिन्छ ।

उपकरणका आधारमा ‘कविराजको च्याङ्ग्रे खच्चर’
‘कविराजको च्याङ्ग्रे खच्चर’ निबन्धमा हास्यको प्रवलता र व्यङ्ग्यको न्यूनता पाइन्छ । यो देवकोटाको सबैभन्दा सशक्त हास्य प्रधान निबन्ध हो । निबन्धकार देवकोटाले यस निबन्धमा झुस्मुसे दाह्री पालेको, सानो कदको, चस्मा लगाउने पैक्ट रूपमा सामाजिक वस्तुस्थिति पहिचान गर्न नसक्ने, सानो च्याङ्ग्रा वा खच्चर जत्रो घोडा चढ्ने कविराज च-प्रसादको अनुपातरहित ढङ्गले घटाएर एवम बढाएर च-प्रसादको वर्णन गरी अतिरञ्जनाका माध्यमबाट हास्यको सिर्जना गरेका छन् । उनले “शङ्कर साँढेमा चढेर कसले निन्दा गर्न सक्यो ? गणेश मुसामा चढेर साना भएनन् । सरस्वती हाँसमा चढेर पनि संसारको पूजा पाउँदै छिन् भनेर हाम्रा कविराज बाजेलाई च्याङ्ग्रे खच्चरमा चढ्दैमा नचिन्ने र ढोग्न नआउने को होला भन्दै कविराजको विशेषता, चालचलन र प्रवृत्तिलाई अतिरञ्जनात्मक ढङ्गले प्रस्तुत गर्दै उपहास गरेका छन् (पृ. ९६) ।

कविराजलाई घोडा होइन बोको चढ्ने, पहाड चढ्दैमा मान्छे ठुलो नहुने, च्याङ्ग्रे खच्चरबाट लडेर घाइते हुने र पछि पनि त्यही च्याङ्ग्रे खच्चरमा ओहर दोहोर गरी रहने व्यक्तिका रूपमा देवकोटाले यस निबन्धमा प्रस्तुत गरी कविराज उपर उपहास व्यक्त गरेका छन् र उनले कविराजको विसङ्गत पक्षप्रति आलोचना पनि गरेका छन् । यसबाट समाजका च-प्रसाद प्रभृतिका मान्छेहरू उपर अतिरञ्जनात्मक ढङ्गले व्यङ्ग्यको अभिव्यक्ति भएको छ।

यस निबन्धमा देवकोटाले मुख्य रूपमा उपहास र खिस्सी गिल्ली (रेडिक्युल) प्रकट गरेका छन् । ‘बाजे ! के बोको चढ्नु भएको यस्तो !! भन्ने भनाइबाट कविराजलाई उपहासका साथै खिस्सी गिल्ली गरिएको छ । यसबाट सूक्ष्म हास्यको पनि सृष्टि भएको छ भने व्यङ्ग्य चाहिँ उपहासी बनेको छ । बिजुली घर नजिकैको गधा, घन्टाघरको आवाज र मोटरले त्रसित हुन पुगेको कविराजको च्याङ्ग्रे खच्चरले कविराजलाई लडाएर उनको चस्मा फुट्दा र हात भाँचिएर उनलाई बिछट्टै हुँदा पनि उनले च्याङ्ग्रे खच्चरलाई आफ्नो वाहनको रूपमा नछोड्नु उपहासको पात्र बन्नु हो । यो चाहिँ मानिसमा रहेको एक किसिमको पुरानो जड मानसिकता हो । यो परिवर्तनलाई र नव युगलाई आत्मसात् गर्न नसक्ने स्वहीन मान्छेको उदाहरण हो । यो प्रवृत्ति र यस्ता मान्छे यहाँ व्यङ्ग्यका आलम्बन हुन् ।

कविराजको झुस्मुसे दाह्री स्वयम्मा उपहास हो भने च्याङ्ग्रा वा खच्चर जत्रो सानो घोडा चढ्नु पनि सबैका नजरमा उपहासको पात्र बन्नु र खिस्सी गिल्लीको विषय बन्नु हो । कविराजले वडा आदमीबाट कापालिनी बुटी हरियो दोसल्लासँग साट्नु, साँढे सार्कीको जुत्तालाई खिइनबाट जोगाउनु, वामन बनजारबाट दमको रोग उपचार गरे वापत च्याङ्ग्रे खच्चर लिएर चढ्नु, आफू पुड्को हुनु पनि यस निबन्धमा उपहासपूर्ण अभिव्यक्ति नै हुन् । यस निबन्धको शीर्षक नै उपहासपूर्ण एवम् खिस्सी गिल्लीपूर्ण रहेको देखिन्छ किनभने कविराजको वाहन अर्थात् कविराजको घोडा अरवी प्रजातिको, ठुलो, अग्लो, खाइ लाग्दो, रहर लाग्दो र लोभ लाग्दो नभएर ‘कविराजको च्याङ्ग्रे खच्चर’ भनेर च्याङ्ग्रा जस्तै वा च्याङ्ग्रा खच्चर जस्तै भनेर उपहास गरिएको छ र उपहासका साथै खिसी गिल्ली गरी तल झार्ने काम गरिएको छ । कविराज सानो कदको छ, उसको वाहन पनि उस्तै छ । ती साना कदका मान्छे उस्तै वाहनमा चढ्दा कविराज उपहासात्मक एवम् खिसी गिनी गरिने वा ‘उस्तैलाई उस्तै ल टक्क मिलेछ’ भनिने हास्यास्पद आलम्बनका रूपमा देखा पर्दछन् ।

यस निबन्धमा हरेक घरका बिरामी कोठरीमा हेर्न आउनेहरूको नजरलाई ‘ओहो ! ओहो !’ पार्दथ्यो भनी कविराज च-प्रसादको प्रशंसा गरिएको छ । यहाँ वाक्बैदग्ध्य (विट)को प्रयोग पनि भएको देखिन्छ । त्यसै गरी ‘पहाड नचढ त पखालै सही !’ ‘अरवी भनेको ज्यादै अग्लो जन्तु थियो’ र ‘वायुपङ्खी सिलिङ चढ्न भन्ने भनाइमा पनि वाक्बैदग्ध्यको प्रयोग पाउन सकिन्छ । यहाँ उक्तिको विचित्रता वा उक्तिवैचित्र्य छ । यी उद्धृत वाक्यांशहरूले सामान्य अभिधात्मक अर्थ मात्र बोध गराउँदैनन् । यी वाक्याशंहरूले अर्थलाई चमत्कृत बनाएका छन् । यी वाक्यांशहरू धोरैमा धेरै भन्न सक्ने, गूढ कुरा भन्न सक्ने र सूक्तिमय अभिव्यक्तिका रूपमा रहेका छन् । यी वाक्यांश बौद्धिक, सूत्रात्मक एवम् कलात्मक पनि छन् ।

प्रस्तुत निबन्धको कविराज च-प्रसाद, उनको च्याङ्ग्रे खच्चर र अन्य सन्दर्भलाई अनुशीलन गर्दा यस निबन्धमा शिष्ट गम्भीर हाँसोका साथै त्यस हाँसोमा करुणा, सहानुभूति र बाैद्धिकताको सम्मिश्रण पाउन सकिन्छ भने तिरस्कार, घृणा र आक्षेपयुक्त व्यङ्ग्य पनि पाउन सकिन्छ । यो निबन्ध हास्य र व्यङ्ग्यको संयोजन भएको हास्यव्यङ्ग्य निबन्ध हो तथापि यस निबन्धमा व्यङ्ग्यका तुलनामा हास्य नै सशक्त रहेको छ । यस निबन्धलाई विशेषतः उपहास (लाफ्टर) र खिसी गिल्ली (रेडिक्युल) प्रविधिले सशक्त बनाएको देखिन्छ ।

०००
‘आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य’

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोयलेट मोड़ (९)

टोयलेट मोड़ (९)

कृष्ण प्रधान
खोपडी खेल

खोपडी खेल

नन्दलाल आचार्य
खोपडीको घनत्व

खोपडीको घनत्व

शेषराज भट्टराई
विदा गराउने शोक

विदा गराउने शोक

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x