डा. सुकराज राईआलम्बनका र उपकरणका आधारमा खनालकाे ‘नमरी संसार देखिन्न’ निबन्ध (२)
'म' पात्रलाई उनका आफन्तहरूले वागमतीको चिसो अर्धजलमा तेस्र्याउँछन् र उनका आफन्तहरू मौन रहन्छन् । मरि सकेको अभिनय गर्ने 'म' पात्र एक्कासी हाँसेर खिस्सी गिल्ली (रेडिक्युल) को प्रयोग गर्न पुगेका छन् ।
डा. सुकराज राई :
ख) उपकरणका आधारमा ‘नमरी संसार देखिन्न’ निबन्ध
प्रस्तुत निबन्ध व्यङ्ग्य प्रधान हास्यव्यङ्ग्य निवन्ध हो । यो निबन्ध हास्यव्यङ्ग्य प्रविधिका दृष्टिले निकै महत्त्वपूर्ण रहेको देखिन्छ । यस निबन्धको शीर्षक नै वक्रोक्ति वा आइरनी प्रविधिको प्रयोग गरी राखिएको छ । ‘नमरी संसार देखिन्न’ नेपाली प्रचलित उखान पनि हो र यहाँ यसको अर्थ अभिधाभन्दा भिन्न रहेको छ। संसार बाँचेर देख्न सकिन्छ अर्थात् ससार जीवित अवस्थाबाट हेर्न/पहिचान गर्न सकिन्छ, मरेपछि त मानिस चेतना सून्य हुने भएकाले ससार देख्न/पहिचान गर्न सकिन्न तर यहां निबन्धकारले त्यसरी अभिधा अर्थमा नभनी व्यञ्जनापूर्ण ढङ्गले संसार हेर्न मरेर मात्रै सकिने कुरा आइरनी उपकरणको प्रयोग गरी व्यक्त गरेका छन् ।
‘म’ पात्र आर्थिक अभावले अत्यन्त पीडित भएका छन् । उनलाई सान्दोगान्हो हुँदा कसैबाट पनि सानो सहयोग हुन सकेको छैन जसका कारण ‘म’ पात्र मृत्युशय्यामा पुगेको अभिनय गर्न वाध्य भएका छन् । ‘म’ पात्र मृत्युशय्यामा परि रहेको अभिनय गर्दा उनलाई हेर्न आउने उनका आफन्तजनहरू ‘म’ पात्रप्रति चेपारे ढङ्गले सहानुभूति प्रकट गर्छन् । ‘म’ पात्र उनका आफन्तहरूको त्यस्तो चेपारे सहानुभूतिपूर्ण अभिव्यक्तिप्रति मृत्युशय्यामा नै रही उपहास र वाग्वैदध्य (विट) को संयुक्त प्रयोग यसरी गर्छन्, जस्तै :
म दङ्ग परें, आफ्ना इष्टमित्रका सङ्ख्या देखेर । म सद्दे भएका बखत पेटमा दुई मुठी अन्न हाल्नका निम्ति जब मालिक हराएको कुकुरजस्तो गल्ली गल्लीमा घुम्थें, त्यो बखत यी सब कहाँ थिए होलान् । मलाई हेर्न आउने सव राक्षस हुन् । म मरेको हर्ने इच्छाले आएका हुन् । … तिमीहरूले मलाई यो अवस्थामा पुऱ्याएका हौ र अब आफ्नो सफलताको प्रत्यक्ष प्रमाण हेरेर आनन्द लुट्न आएका हौ भन्थ्यो मेरो मन (पृ.२) ।
म’ पात्रले आफू मृत्युशय्यामा परेको अभिनय गरेपछि उनका आफन्तजनहरू जो हिजो उनलाई साह्राेगाह्राे पर्दा सानो सहयोग गर्न नमान्नेहरू चेपारे पार्दै सहानुभूति प्रकट गर्न आएका छन्, यहाँ तिनीहरूप्रति उपहास र तिरस्कार गरिएको । ‘म’ पात्र आफूलाई समस्या पारे सहयोगको अनुरोध गर्दा उनका आफन्तजन कसैले सहयोग नगरी ‘म’ पात्र मालिक हराएको कुकुर झैं गल्ली गल्ली हिंड्नु परेको आफ्नो दुर्दशा बताउदै अहिले म मर्छु भनेर मेरा आफन्तजन मलाई हेर्न आएका हुन् भन्दै ‘म’ पात्र आफन्तजनहरूप्रति आक्षेप, दोषारोप, निन्दा र तिरस्कार समेत गर्छन् । प्रस्तुत गद्यांशमा ‘म’ पात्रले आफ्ना आफन्तहरूलाई उनीहरूको व्यवहार सम्झदै उपहास र तिरस्कार गरेका छन् । उक्त गद्यांशमा भनाइका विदग्धताका कारण उक्तिमा चमत्कार पनि प्रकट भएको छ । यहाँ ‘म दङ्ग परें’, जब मालिक हराएको कुकुर जस्तो गल्ली गल्लीमा घुम्थें’, ‘सब राक्षस हुन्’ र आनन्द लुट्न आएका हौं’ वाक्यहरूले आर्थी विदग्धता प्रकट गरेको छ। आर्थी एवम् शाब्दी विदग्धताका प्रयोगले हास्य एवम् व्यङ्ग्य निर्मितिमा सहयोग पुगेको देखिन्छ ।
‘म’ पात्रले मृत्युशय्यामा पुगेको अभिनय गरेपछि उनका आफन्तहरू उनलाई असल, राम्रा, धर्मात्मा आदि भनी प्रशंसा गर्छन् । त्यसै बखत ‘म’ पात्र मन मनै ती उनका आफन्तहरूलाई लेम्पुन वा अक्रमकोक्तिको प्रयोग गरी यसो भन्छन् :
“अँ… आज तिमीहरू मेरो नभएको गुण पनि जमाएर गान गछौं तर अस्तिसम्म तिमीहरू मेरो बङ्ख्वाई घर घरमा गर्थ्यो । मेरो घरमा कुल्च्यो भने पाप लाग्छ भन्थ्यौ । डाक बोलाउ बन्द गरेथ्यौ । नास्तिक, भट्टी भट्टी चहारा, कुलको धुन्धुकारि भन्थ्यौ मलाई । ‘तिमीहरू मरेपछि पिन्डपानी पाउने होइनौ, बरू जोगीको मन्त्र सुनेर मर’ भनेर मेरा बाआमालाई उचाल्थ्यौ। अहिले के को लोलोपोतो हो यो’ (पृ.३) ?”
यहाँ ‘म’ पात्र मृत्युशय्यामा परेको अभिनय गर्नुभन्दा पहिले उनका आफन्तहरूले उनका वाआमालाई छोराले मरेपछि पिन्डपानी केही दिदैन भनी ‘म’ पात्र उपर घृणा र तिरस्कार गरिएको कुरा व्यक्त गरिएको छ तर जब ‘म’ पात्र आफन्तहरूका सहयोगका अभावका कारण मृत्युशय्यामा परेका अभिनय गर्छन् त्यसपछि उनका आफन्तहरू ‘म’ पात्रलाई सद्भाव र प्रशसा गर्न पुग्छन् । त्यसकै परिणतिमा ‘म’ पात्र आफ्ना आफन्तहरूप्रति वैमनस्य, इर्प्या र दुष्टताको भाव राख्दै लेम्पुन प्रविधिको प्रयोग गरी व्यङ्ग्य गर्छन् ।
‘म’ पात्रले आफू मर्न लागेको अभिनय गरि रहेका छन् । उनका आफन्त जन उनको गुणको अतिरञ्जना गरिरहेका छन् । अन्ततः ‘म’ पात्रका आफन्तहरू यथासक्य चाँडो ‘म’ पात्रको प्राण जाओस् भन्ने सोचमा छन । ‘म’ पात्रकी श्रीमती ‘म’ पात्रको प्राण कि त काशीमा कि त कोठमा जाओस् भन्ने ‘म’ पात्रको धारणा रहेको बताउँछिन् तर ‘म’ पात्रका आफन्तहरू ‘म’ पात्रकी श्रीमतीलई काशी लगिने कबोल गरी पशुपतिको आर्यघाटमा लान छलकपट गर्न लागेका छन् । त्यसै बखत ‘म’ पात्र मनमनै “ढाँटी आशा लिएर मेरो मृत्यु होओस् र म नरक परूँ भन्ने इच्छा तिमीहरूको रहेछ । तिम्रो धर्ममा नहिँडेको बदला चुकाउन कति राम्रा जाल बुन्न सकेको” भन्दै ‘म’ पात्र आफ्ना आफन्तहरूप्रति ईर्प्या र दुष्टताको भाव व्यक्त गरी लेम्पुन प्रविधिपूर्ण अभिव्यक्ति प्रकट गर्छन् (पृ. ४)। यहाँ’म’ पात्रले आफूलाई सहयोग नगर्ने स्वार्थी आफन्तहरूका दोष, त्रुटी वा कमजोरीलई सस्मरण गरी व्यङ्ग्य गर्छन् ।
‘म’ पात्रका आफन्त जन ‘म’ पात्रको प्राण पखेरु उड्न लागेको ठानी उनको विगतका कमी कमजोरीहरूका खोजी निन्दा नगरी एकोहोरो रूपमा प्रशंसा अतिरञ्जना वा क्यारिकेचरको प्रयोग गरी निम्नानुसार गर्छन्, जस्तै :
अर्कोले भन्नु भयो, “यो बडो धर्मात्मा थियो । विचरो वाहिर देखाएर भने पुजापाठ नगरे पनि आधा रातमा बसेर ओछ्यानमै गायत्री जप्थ्यो” यस्तैमा फेरि अर्कीले थप्नुभयो, “हो त नि ! यो गुप्ती भक्त हो भगवान्को । मलाई भाउज्यूले घरको कागत गरि दिनु भएकै थिएन, त्यति नगरी घर विक्री नहुने भयो अनि यसैले त हो नि, भदालाई थाहै नदिई भाज्यूबाट कागत लिई दियो (पृ. ३) ।”
यहाँ ‘म’ पात्रलाई अनुपातरहित ढङ्गले वढाएर भगवान्को भक्त, गायत्री जप गर्ने एवम् भदालाई थाहै नदिई भाउज्यूबाट जग्गाको कागत उपलब्ध गराइ दिने सहयोगी भनी प्रशंसा गरिएको छ जसवाट अतिरञ्जना प्रविधिको प्रयोग भएको प्रस्ट हुन्छ ।
‘म’ पात्र विरामले सिकिस्त भएको अभिनय गर्न सफल भएपछि उनलाई उनका आफन्तजन आर्यघाटमा लान्छन् अनि ‘म’ पात्र आफ्नो प्राण पखेरु उडेको पनि अभिनय गर्छन्, त्यसपछि ‘म’ पात्रलाई उनका आफन्तहरूले वागमतीको चिसो अर्धजलमा तेस्र्याउँछन् र उनका आफन्तहरू मौन रहन्छन् । मरि सकेको अभिनय गर्ने ‘म’ पात्र एक्कासी हाँसेर खिस्सी गिल्ली (रेडिक्युल) को प्रयोग गर्न पुगेका छन् जस्तै :
‘तिन घन्टासम्म म मरेर अर्धजलमा तेसिं रहें। अहिलेको जस्तो शान्ति मलाई कहिल्यै अनुभव भएको थिएन । मलाई कुर्नेहरू घुँडामा मुन्टो अड्याएर मरेका झै चुपचाप थिए । म औधी प्रसन्न भएँ, आफूलाई समाल्नै सकिन । एक्कासी खित्का छोडेर हास्न थाल भए मरेर पो संसार देखिने रहेछ भन्ने ज्ञानको उदयमा ।’ (पृ. ५)।
यहाँ तिन घन्टासम्म अर्धजलमा मरेको भान गरेर डुब्नु त्यस अवस्थामा अत्यन्त शान्ति मिल्न ठट्टामजाक वा खिस्सी गिल्ली मात्र हुन् र ‘म’ पात्र मरेर संसार देख्न पनि हस्यौली ठट्यौली हो । ‘म’ पात्र अर्धजलबाट अप्रत्यासित हाँसो प्रकट गर्न पनि हस्यौली ठट्यौली नै हो ।
समग्रमा हास्यव्यङ्ग्यका उपयुक्त प्रविधिहरूका प्रयोगले प्रस्तुत निवन्धमा प्रायः हास्य र व्यङ्ग्य सन्तुलित रूपमै निसृत भएको छ । यहाँ हास्य र व्यङ्ग्य एक अर्काको उपकारी र अन्योन्याश्रित रहेकाले यस निवन्धलाई खनालको उत्कृष्ट हास्यव्यइग्य निबन्ध अन्तर्गत राख्न सकिन्छ ।
०००
आधुनिक नेपाली हास्यव्यङ्ग्य (२०७९)
Subscribe
Login
0 Comments
Oldest





































