साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलम्बनका र उपकरणका आधारमा खनालकाे ‘नमरी संसार देखिन्न’ निबन्ध (१)

निबन्धमा मुख्यतः जीवित छउन्जेल वेवास्था, असहयोग र बङ्ख्वाइँ गर्ने अनि मृत्युपछि प्रशसा गर्ने मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । निबन्धकार मानिसले आफ्नो सत्कर्मको प्रशसा जीवित अवस्थामा नै पाउनु पर्ने विचार राख्छन् ।

Nepal Telecom ad

डा. सुकराज राई :

श्रीधर खनालकाे यो निबन्ध ‘नमरी संसार देखिन्न’ निबन्ध सङ्ग्रहमा सङ्गृहीत छ । याे मझौला आकारको निबन्ध हो । प्रस्तुत निबन्धले यस निबन्ध सङ्ग्रहकाे प्रतिनिधित्व गरी कृतिको नाम ‘नमरी ससार देखिन्न’ राख्न गर्न सफल रहेको देखिन्छ । यसमा लामा छोटा दश वटा अनुच्छेदहरू रहेका छन् भने यो निबन्ध पाँच पृष्ठमा फैलिएको छ। यो व्यङ्ग्य प्रधान हास्यव्यङ्ग्य निबन्ध हो । यहाँ आलम्बन र उपकरणका आधारमा प्रस्तुत निबन्धको विश्लेषण गरिन्छ ।

प्रस्तुत निवन्ध निबन्धकार श्रीधर खनालको अत्यन्त प्रसिद्ध हास्यव्यङ्ग्य निबन्ध हो । खनालले यस निबन्धमा ‘नमरी ससार देखिन्न’ भन्ने नेपाली उखानलाई अभिधा रूपमै ‘म’ पात्र मरेको अभिनय गराएर चरितार्थ पारेका छन् । उनी जीवित रहुन्जेल मानिसलाई असहयोग, बदनाम र बद्ख्वाइँ  गर्ने अनि तिनको मृत्युपछि प्रशंसा, सम्मान र आदर गर्ने नेपाली संस्कार एवम् परम्परा रहेको कुरा व्यक्त गर्छन् । यस निबन्धको प्रमुख आलम्बन स्वयम् निबन्धकार अर्थात् ‘म’ पात्र हुन् ।

प्रस्तुत निबन्धमा मानिसको मृत्युपछि गुणगान गाउनेहरूप्रति सशक्त रूपमा व्यङ्ग्य गरिएको छ । मान्छेको जन्मपछि मृत्यु अवश्यंभावी हुन्छ तर जन्म जति खुसी र प्रसन्नताको विषय हो त्यति नै मृत्यु त्रासद र कहाली लाग्दो हुन्छ । मान्छे जन्मिंदा डाहा गर्ने अनि उसको मृत्युमा हाँस्ने/प्रशन्न हुने व्यक्तिहरूका चरित्रलाई पनि यहाँ देखाउन खोजिएको छ । निबन्धकार यहाँ मानिसलाई मानवीय भावना, संवेदना र दृष्टिकोणले हेरिनु पर्छ भन्ने महत्त्वपूर्ण विचार राख्छन् । उनी गिर्दो मानवीय मूल्य र मान्यताप्रति संवेदनशील हुँदै समाजका यस्ता विकृति विसङ्गति सधैंका निम्ति यस नेपाली धर्तीबाट हटेर जानु पर्छ भन्ने विचार व्यक्त गर्छन् । उनी मानिसको संरक्षण, सम्बर्द्धन र सदा हित हुनु पर्ने विचार राखी मानवीय निकृष्ट व्यवहारप्रति लाग्नेहरूलाई व्यङ्ग्य गरी मानवीय निकृष्ट व्यवहार नगर्न आग्रह समेत गर्छन् ।

निबन्धकारले यस निबन्धमा आर्थिक कमजोरीका कारण भोकभोकै बस्नु पर्ने कुरालाई पनि व्यक्त गरेका छन्। अभावपूर्ण जिन्दगी अपुरो हुने र आर्थिक अभावले मानवीय जीवनमा अत्यन्त कष्ट हुने कुरा निबन्धमा व्यक्त गरिएको छ । यस निबन्धमा डबल निमोनिया लागेर ‘म’ पात्रको छोरो मर्नु, ‘म’ पात्र समाजमा समान हैसियत राखेर बस्न नसक्नु, ‘म’ पात्र आफ्नो घर व्यवहार टार्न नसकी तड्पिएर बस्नु पर्ने बाध्यता हुनु एवम् ‘म’ पात्र आफू विरामी परेको अभिनय गरी आर्यघाटमा मृत्युशय्यामा पर्नुपर्ने पनि आर्थिक आभावको परिणति हो।

हाम्रो नेपाली समाजमा आर्थिक हैसियत अलिक उँचो भएकाहरूको मान मर्यादा पनि उँचो हुने र आर्थिक हैसियतले तल परेकाहरूको मान मर्यादा पनि तल पर्ने कुरा यस निबन्धमा व्यक्त गरिएको छ । आर्थिक दृष्टिले कमजोर भएका हाम्रो समाजका मानिसहरू सामाजिक दृष्टिले पनि कमजोर रहेका छन् भन्ने विचार निबन्धकारको रहेको देखिन्छ । समाजमा अर्थतन्त्रले ल्याएको सामाजिक एवम् वर्गीय भेद हटेर जानु पर्छ भन्ने ठनाइ पनि निबन्धकारको रहेको छ, जसले गर्दा समाजमा आर्थिक दृष्टिले सम्पन्न एवम् विपन्न दुवै खाले मानिस यस निबन्धको आलम्बन बन्न पुगेका छन् ।

निबन्धकारले यस निबन्धमा चेपारे प्रवृत्तिलाई पनि उदा‌ङ्गो पार्ने काम गरेका छन् । ‘म’ पात्रको छोरो डवल निमोनियाले सताएर सिकिस्त विरामी परी उपचारार्थ रुपियाँ माग्दा कसम लगाई लगाई रुपियाँ छैन भनी रुपियाँ नदिने ‘म’ पात्रकी सानीमा ‘म’ पात्रकाे उक्त छोरो मरेपछि भने आफ्नो छोरा मरेको भन्दा बढी बिलाप गरी रुँदै अरू  मानिस समीप चेपाराे पार्छिन् । ‘म’ पात्रलाई बदनाम गर्ने र बङ्ख्याई गर्नेहरू नै ‘म’ पात्र धर्मात्मा भएको, असल व्यवहारशील भएको, हरिभजन गर्ने आदि भनी प्रशंसा गरी एक आपसमा ‘म’ पात्रको चारित्रिक विशेषताको चर्चा गर्छन् । प्रस्तुत निबन्धमा हाम्राे समाजमा भएका चेपारे प्रवृत्तिलाई निबन्धकारले राम्ररी उजागर गरेका छन् र उनले त्यस्ता चेपारे प्रवृत्ति अवलम्बन गर्ने व्यक्तिहरूमाथि हास्यात्मक ढङ्ग्यले व्यङ्ग्य गरेका छन् । अतः निबन्धकार हाम्राे समाजका त्यस्ता चेपारे प्रवृत्तिका मानिस पनि यस निबन्धमा आलम्बन बनाउन सफल रहेका छन् ।

नेपालमा धेरै जात, भाषा, सस्कृति र धर्म भए पनि यी सबै अनेकताका बिच एकता छ। अन्ततः नेपालमा हिन्दू धर्म नेपालीहरूको सनातन धर्मका रूपमा रहेको कुरा व्यक्त गरिएको छ । हिन्दु धर्म परम्परा अनुसार मर्न आँटेका मान्छेलाई वैतर्नी गरि दिने, तुलसीका माेठमा लाने र कुनै घाट वा आर्यघाट लाने चलनलाई पनि यस निबन्धमा उल्लेख गरिएको छ । निबन्धकार हरेक मानिसका जन्मदेखि मृत्युसम्म आआफ्नै संस्कार र परम्परा हुने कुरालाई पनि यस निबन्ध मार्फत् व्यक्त गर्छन् । उनी समाजमा रहेका धार्मिक एवम् सांस्कृतिक परम्परा र मान्यतामथि पनि विसङ्गति भित्रिएको तथ्यलाई निबन्धमा स्थान दिन्छन् । धर्म र संस्कृतिमा आएको विकृति विसङ्गति अन्त्य हुनु पर्छ भन्ने मान्यता निबन्धकारको रहेको देखिन्छ । समाजका धार्मिक एवम् सांस्कृतिक क्षेत्रमा विकृति विसङ्गति फैल्याउने व्यक्तिहरू समेत प्रस्तुत निबन्धको आलम्वन बनेका छन् ।

यस निबन्धमा मुख्यतः जीवित छउन्जेल बेवास्ता, असहयोग र बद्ख्वाइँ गर्ने अनि मृत्युपछि प्रशंसा गर्ने मानवीय प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । निबन्धकार मानिसले आफ्नो सत्कर्मको प्रशंसा जीवित अवस्थामा नै पाउनु पर्ने विचार राख्छन् । उनी मृत्युपछिको प्रशंसा, मान र सम्मानको अर्थ र महत्त्व कम हुने धारणा पनि व्यक्त गर्छन् । जीवित अवस्थामा अभावपूर्ण जिन्दगी बाँचिरहँदा केही सानो सहयोग गर्न पनि मन्जूर नहुने तर मृत्युपछि आफ्नो सर्वस्व गुमे झैं विलाप गर्ने अनि जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने विचार व्यक्त गर्ने चेपारे प्रवृत्तिको विरोध पनि यहाँ गरिएको छ ।

निबन्धकार मानिसले समाजमा सामाजिक प्राणी भएर बस्नु पर्ने धारणा व्यक्त गर्छन् । ठुला, साना, धनी, गरीव, विभिन्न जात जाति, विभिन्न वर्ग समुदाय आदि विभेद र अनेकताका बिच पनि एकताका सूत्रमा बाँधिएको अमूर्त वस्तु समाज हो भन्ने निबन्धकारको विचार रहेको देखिन्छ । मानिस समाजमा बसेर सामाजिक व्यवहार गर्दै मानिस मात्रका हित र कल्याणका लागि अघि बढाउनु पर्ने विचार पनि उनी व्यक्त गर्छन् ।

यस निबन्धको व्यङ्ग्य कुनै व्यक्ति विशेष वा संस्था विशेषप्रति लक्षित नभएर मानिसका साझा प्रवृत्तिप्रति लक्षित रहेकाले विषयगत आलम्बनका दृष्टिले यसलाई सामाजिक र सांस्कृतिक व्यङ्ग्यका कोटिमा राख्न सकिन्छ । समाजका सबै मानिसमा एकै प्रकारका स्वभाव, गुण र प्रवृत्ति हुँदैनन् । व्यक्ति विशेषमा यस्ता गुणहरू फरक फरक हुन सक्छन् । यस्तै फरक फरक स्वभाव, गुण र प्रवृत्तिले युक्त मानिसको एकीकृत स्वरूप नै समाज हो । समाजका केही मान्छे चेपारे हुन्छन् भने केही ढोंगी, आडम्बरी र अन्य प्रवृत्तिका पनि हुन्छन् । समाजको यही वस्तुस्थिति यस निबन्धमा प्रस्तुत गरिएकाले यो निबन्ध वैचारिक दृष्टिले यथार्थवादी एवम् सुधारवादी रहेकाे छ।
क्रमश:

०००
आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x