सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घटाेत्कच शर्माकाे ‘आलोचक बन्नु होस्…’ निबन्धमा व्यङ्ग्य

अध्ययन र अनुसन्धान नै नगरी कुशल समालोचक बन्नेहरूप्रति र बन्न चाहनेहरूप्रति व्यङ्ग्य गर्न एवम् यस निबन्धलाई सार्थक हास्यव्यङ्ग्य निबन्ध बनाउन वाक्वैदग्ध्य, वक्रोक्ति र बर्लेस प्रविधिक प्रयोग गरेका छन् र ती हास्यव्यङ्ग्यका संश्लिष्ट प्रविधिहरूले यस निबन्धलाई निकै सफल र पूर्ण हास्यव्यङ्ग्य निबन्ध बनाउन पनि सहयोग गरेको देखिन्छ ।

Nepal Telecom ad

डा. सुकराज राई :

प्रस्तुत निबन्ध दमाहा निबन्ध सङ्ग्रहमा सङ्गृहीत छ । वस्तुपरक शैलीमा लेखिएको दुई पृष्ठको यो लघु आकारको एक अनुच्छेदमा संरचित निबन्ध हो । यो व्यङ्ग्य प्रधान हास्यव्यङ्ग्य निबन्ध हो । यसको भाषा सरल, सहज र आकर्षक छ । यहाँ हास्यव्यङ्ग्य निबन्धका आलम्बन र उपकरणका आधारमा प्रस्तुत निबन्धको विश्लेषण गरिएको छ ।

आलम्बनका आधारमा ‘आलोचक बन्नु होस्’

निबन्धकार घटोत्कच शर्माले यस निबन्धमा कुनै पनि कतिको विश्लेषण अध्ययन नै नगरी हचुवाका भरमा गुण दोष छुट्याई समालोचना गर्ने समालोचकहरूप्रति व्यङ्ग्य गरेका छन् । उनी कृतिको समलोचना गर्ने काम अत्यन्त जटिल हो भन्दै सामान्य अड्कल र अन्दाजका भरमा कृतिका समालोचना गर्ने समालोचकहरूको सङ्ख्या बढ्दै गइ रहेको कुरा बताउ छन् । समालोचकको आफ्नो समालोचकीय धर्म हुने कुरा बताउदै उनी कुनै पनि सर्जकको सिर्जनालाई समीक्षा गर्नु त्यति सहज नहुने कुरो उल्लेख गर्छन् । निबन्धकार कथा, कविता, निबन्ध आदिमा साहित्यिक सिर्जना गर्न सजिलो हुने तर समालोचना गर्नु गाह्राे हुने कुरा बताउँछन् । उनी कुनै बसाइ, आवेश र सोंचमा समालोचनाइतरका साहित्य सिर्जना गर्न सकिने कुरा बताउदै त्यही ढङ्गमा समालोचना विधामा चाहिँ कलम चलाउन नसकिने कुरा उनी बताउँ छन् ।

निबन्धमा समालोच्य कृतिको गहन अध्ययन नै नगरी र समालोचनाका गहन अर्थ एवम् मर्म नबुझी कुनै पनि सर्जकका सिर्जनालाई भन्दा सर्जकलाई हेरी समालोचना गर्ने तथाकथित समालोचकहरूलाई प्रस्तुत निबन्धमा निबन्धकार शर्माले प्रमुख आलम्वन बनाएका छन् । निबन्धकार त्यस्ता समालोचकहरूका कार्यप्रति असन्तुष्टि प्रकट गर्छन् र उनीहरू त्यस्ता कार्यबाट टाढा रहनु पर्छ भन्ने मान्यताको समेत आग्रह गर्छन् ।

निबन्धकार समालोचना कार्य गर्नु भनेको कसैलाई गाली गर्नु मात्र नभएको कुरा बताउँछन् । दस बिस वटा गालीका शब्दहरू कन्ठ पारेर त्यही गालीका शब्दहरू कुनै पनि सर्जकका सिर्जनाका बारेमा प्रस्तुत गर्नुलाई उनी समालोचना कार्य भन्ने चाहँदैनन् । यसै सन्दर्भमा उनी किताब लेखक र प्रकाशकको नाम, मोल र पृष्ठ सङ्ख्या मात्रै थाहा पाएर पनि सर्जकका सिर्जनाहरूको समालोचना भइ रहेको कुरा व्यक्त गर्छन् ।

निबन्धकार समालोचकले समालोचकीय धर्मलाई आत्मसात् गरी सर्जक व्यक्ति हेरेर होइन सर्जकका कृति हेरेर गुण दोषका आधारमा समालोचना गर्न पर्ने करा व्यक्त गर्छन् । उनले सर्जकको सिर्जनाको सही समालोचना नहुँदा लेखकलाई मात्र घाटा र अन्याय नभई समग्र पाठकहरूलाई नै राम्रा पुस्तक पढ्न नपाएर अनि ज्ञान आर्जन गर्न नपाएर घाटा र अन्याय हुने कुरा बताएका छन् । निबन्धकार शर्मा अङ्ग्रेजी साहित्यका महान् कवि किट्स सही समालोचनाका अभावमा समालोचककै कार्यबाट आत्महत्या गरी मनु परको दृष्टान्त प्रस्तुत गर्दैहाम्रो जस्तो देशमा र हाम्रो जस्तो साहित्यमा सही समालोचना गर्ने असल कर्तव्यनिष्ट समालोचकको आवश्यकता भएको कुरा व्यक्त गर्छन् ।

निबन्धकार कृतिको गुण र विशेषताका आधारमा नभएर कृतिकारसँग निहित स्वार्थ पूरा गरी कृतिकारका गुण र विशेषता मन पराएर कृतिकारका कृतिको चढाई चढाइ गरी समालोचना गर्ने समालोचकहरूप्रति तीव्र व्यङ्ग्य गर्छन् । उनी हल्लाका भरमा समालोचना गर्नेका दिन राम्रो हुँदै गएको र सैद्धान्तिक आधारमा समालोचना गर्नेहरूका दिन बिग्रदै गएको चर्चा गर्दै उनी असल सदाचारी कर्तव्यनिष्ट र पूर्ण समालोचकीय धर्मनिष्ठ समालोचकहरूलाई अन्याय भएका कुरा बताउँ छन् । निबन्धकारको प्रस्तुत विचार वर्तमानका सन्दर्भमा अझै चरितार्थ र सार्थक देखिन्छ । निहित स्वार्थ पूर्तिका लागि समालोचना गर्ने सर्जकहरू वर्तमानका सन्दर्भमा यस्ता प्रवृत्तिबाट झनै क्रियाशील रहेको देखिन्छ ।

निबन्धकार कति अवस्थामा सर्जकको भविष्य समालोचकको हातमा नै निहित भएको बताउँछन् । उनी यसै सन्दर्भमा कुनै समालोचकले राम्रा कृतिलाई नराम्रो कृति भनी समालोचना गरि दिए भने उक्त सर्जक समालोचककै कारण हतोत्साही भई जीवनभर साहित्य सिर्जनाका लागि कलम नै नसमाई बस्ने स्थिति भएको कुरा बताउँछन् । त्यस्तै कुनै नराम्रा कृतिलाई चाहि राम्रो कृति भनी फुक्याएर समालोचना गरि दिए भने उक्त सर्जकले आजन्म राम्रा सिर्जना नै गर्न सक्दैनन भन्दै निबन्धकार समालोचकका समालोचकीय कार्यले सर्जकको सिर्जनात्मक लेखनलाई प्रभाव पार्ने कुरा बताउ छन् । अतः उनी सही ढङ्गको समालोचनाले मात्रै सर्जकको सिर्जनात्मक भविष्य सुनिश्चित हुने कुरा बताउ छन् । उनी सबै समालोचकहरूलाई कुनै पनि सर्जकको कुनै पनि कृतिको अतिरञ्जनात्मक ढङ्गले समालोचना नगर्न पनि निबन्ध मार्फत् आव्हान गर्छन् ।

यस निबन्धमा मुख्यतः समालोचकहरूको गलत प्रवृत्तिप्रति व्यङ्ग्य गरिएको छ । यस निबन्धको वर्णन्य  विषय नै समालोचकका समालोचना कार्य हो । समालोचकहरू व्यक्तिका गुण र दोषबाट प्रेरित भएर होइन उक्त व्यक्तिका कृतिको गुण र दोषका आधारमा समालोचनात्मक धर्मलाई पालन गरी अगाडि बढ्नु पर्ने निबन्धकारको विचारमा रहेको छ । गाली, हल्ला र विज्ञापन लेखेर कुनै पनि कृतिको सही समालोचना हुन सक्तैन । कृतिको सही समालोचना कृतिलाई राम्ररी अध्ययन अनुसन्धान गरेपछि मात्रै हुन सक्छ भन्ने विचार यस निबन्धमा निबन्धकारको रहेको देखिन्छ । प्रस्तुत निबन्धको व्यङ्ग्य मूलतः समालोचकीय धर्म नष्ट गरी समालोचना गर्ने समालोकहरूप्रति लक्षित रहेको देखिन्छ ।

यति हुँदा हुँदै पनि यस निबन्धको व्यङ्ग्य कुनै व्यक्ति विशेष वा संस्था विशेषप्रति लक्षित नभएर समग्र मानवहरूका साझा प्रवृत्ति प्रति नै लक्षित रहेको देखिन्छ । प्रस्तुत निबन्ध समालोचना र समालोचनाका बारेमा नै केन्द्रित भई सोही विषयमा नै वणर्ित भएकाले विषयत आलम्बनका दृष्टिले प्रस्तुत निबन्ध साहित्यिक व्यङ्ग्यका कोटिमा पर्न गएको देखिन्छ । समालोचना गर्नु जटिल कार्य हो । यस्ता कार्य गर्दा गहन अध्ययन र अनुसन्धानको आवश्यकता पर्छ । कुनै पनि कतिको सतही ढङ्गले अध्ययन गरी अनुसन्धान गर्ने कार्य गलत हो । यस्ता कार्यलाई यहाँ निषेध गर्न खोजिएको छ । अतः यो निबन्ध वैचारिक दृष्टिले सुधारवादी रहेको छ ।

उपकरणका आधारमा ‘आलोचक बन्नु होस् !… ’ निबन्ध 

प्रस्तुत निबन्ध छोटो भइकन पनि निकै कसिलो र सूत्रात्मक छ । यस निबन्धको शीर्षकबाट नै व्यङ्ग्य निर्मितिका लागि वाक्वैदग्ध्य प्रविधिको प्रयोग गरिएको छ । यस निबन्धको शीर्षक ‘आलोचक बन्नुहोस् ! नाम फिजाउनुहोस् ।’ मा ‘आलो चक’ ले अर्थका स्तरमा चमत्कार प्रकट गरेको छ ।

निबन्धकार सबै मानिस नामका भोगी हुने कुरा बताउँदै सजिलै नाम कमाउनका लागि सिद्धान्तविहीन आलोचक नहुन आग्रह गर्छन् । उनी सच्चा आलोचक भएर होइन कुनै पनि कृतिका बारेमा गाली र हल्ला लेखेर आलोचक बन्नेहरूप्रति व्यङ्ग्य गर्ने क्रममा वाक्वैदग्ध्य (विट) प्रविधिको प्रयोग निम्नानुसार गर्छन्, जस्तैः

तपाईंलाई आफ्नो नामको ढ्याँग्रो चारैतिर बजेको सुन्न मन छ भने त्यसको सजिलो उपाय म बताइदिन्छु-आलोचक (चक सुकेको हुन्छ नभन्नुस्, सुकेको चक लिएर तपाईंको मनसुबा पुरा हुँदैन । बन्नुस्, आलो चना लेख्नु होस् । आलो चना खाए तागत बढ्छ, लुरे झुत्रेलाई सजिलै पछार्न सकिन्छ (पृ.३५) ।

यहाँ नामको सुवास चारैतिर फैलिएको उत्तम ठान्ने मानवीय प्रवृत्तिको उल्लेख भएको छ र त्यस्ता सुवासले भरिएको नाम फैल्याउनका लागि आलोचक भन्नु पर्ने धारणा वाक्वैदग्ध्य प्रविधिको प्रयोग गरी राखिएको छ । उक्त गद्यांशमा भनाइको विदग्धताको कारण उक्तिमा चमत्कार प्रकट भएको छ । ‘आलो चक’ र ‘आलो चना’ शब्दका अर्थका स्तरमा चमत्कार पाइन्छ । उक्त गद्यांशमा ‘चक सुकेको हुन्छ त्यसले तपाईंको मनसुवा पुरा हुदैन’ भन्ने अभिव्यक्तिमा आर्थी विदग्धता प्रकट भएको देखिन्छ । त्यस्तै ‘आलो चक’ शब्दमा आर्थी विदग्धता प्रकट भई गूढ कुरा सूत्रात्मक ढङ्गले व्यक्त गरिएको छ ।

निबन्धकार सच्चा समालोचक भई नाम कमाउन निकै मिहेनत गर्नु पर्ने कुरा उल्लेख गर्छन् । तथाकथित केही समालोचकहरू कृतिका लेखक, प्रकाशकको नाम, मोल र पृष्ठ सङ्ख्या मात्रको जानकारी लिई समालोचना गर्ने गरेका कुरा व्यक्त गर्छन् । त्यस्तालाई व्यङ्ग्य गर्नका लागि वक्रोक्ति (आइरनी) र वाक्वैदग्ध्य (विट) प्रविधिको प्रयोग निम्नानुसार गरिएको छ, जस्तै :

नयाँ सडकको छातीमा गधामा उल्टो चढेर हिँड्नुमा भन्दा यसमा नाम कमाउन सजिलो छ । यसका लागि शब्द भण्डार चाहिँदैन, पन्ध्र बिस वटा गालीका शब्द कन्ठ गरे भो । आलो चना गर्ने किताब पढ्ने दुःख नगर्नोस्, किताब पढेर आलो चना तयार पार्ने कोसिसतिर लाग्नु भयो भने तपाई कोरा मूर्ख मानिनु हुन्छ । किताब लेखक र प्रकाशकको नाम, मोल र पृष्ठ सङ्ख्या थाहा पाए प्रसस्त पुग्छ ।

यहाँ नयाँ सडकको छातीमा गधामा उल्टो चढेर हिँड्नुभन्दा यसमा नाम कमाउन सजिलो हुन्छ’ भन्ने अभिव्यक्ति वक्रात्मक रहेको देखिन्छ । त्यस्तै समालोचक । बन्नकै लागि शब्द भण्डारको अथाह ज्ञान हुनु पर्ने, समालोच्य कृतिको गहन अध्ययन गर्नु पर्ने र कृतिका लेखक, प्रकाशक, मूल्य र पृष्ठ सङ्ख्या थाहा हुनु पर्ने कुरा ध्वन्यात्मक रूपमा व्यक्त गरिएको छ । उक्त गद्यांशमा हास्यको पुट दिँदै । घुमाउरो तरिकाले भनिएकाले आइरनीको प्रयोग भएको स्पष्ट हुन जान्छ भने ‘आलो चना’ शब्द प्रयोगका कारण आर्थी विदग्धताको प्रयोग यस गद्याशमा भएको प्रस्ट हुन जान्छ ।

निबन्धकार प्रसिद्ध समालोचक बन्नका लागि त्यति धेरै मिहेनत गर्न पर्दैन भनी ठट्टा नक्कल (बर्लेस) प्रविधिको प्रयोग गर्छन् र उनी मिहेनत नै नगरी समालोचक बनेकाहरूलाई व्यङ्ग्य गर्नका लागि बर्लेस प्रविधिको निम्नानुसार प्रयोग गर्छन् :

एउटै कृतिको गुण र दोष छुट्याउनतिर लाग्नु भयो भने पनि तपाईं बिग्रनु भयो । आफूलाई मन परेका अथवा बराबर होटलमा लगेर चिया चमेना गराउने लेखकका कृतिको तरिफै तारिफ गर्नुस्, आफूलाई मन नपरेका लेखकका कृतिको चाहिँ शब्दमा दोषै दोष देखाउनोस् । तपाई प्रसिद्ध समालोचक बनि हाल्नु भयो, तपाईंको नाम चारैतिर फिजिहाल्यो (पृ. ३६) ।

उक्त गद्यांशमा केही हास केही उपहास र केही ठट्टा पनि छ । समालोचक बन्नेहरूका लागि बढाइचढाइ अथवा खिस्सी गिल्ली पनि गरिएको छ । असली समालोचक बन्नका लागि होटलमा चिया चमेना गराउने सर्जकका सिर्जनाको गुणै गुण लेख्नु पर्ने र अरूका दोषै दोष लेख्नु पर्ने भन्दै बर्लेस प्रविधिको प्रयोग गरिएको छ । यहाँ समालोचना जस्तो भव्य वा विशिष्ट विषयवस्तुलाई सामान्य रूपमा प्रस्तुत गर्नु पनि बर्लेस प्रयोगको अर्को पुष्ट्याइको आधार हुन जाने देखिन्छ ।

निबन्धकार प्रस्तुत निबन्धमा सफल समालोचक बन्नका लागि ‘गाली गलौजका शब्द टिपी समालोचना गर्नु पर्ने वा हाँगामा बसेर फेद काट्नु पर्ने वक्र भनाइ प्रस्तुत गरी आइरनीको प्रयोग गरी गहन अध्ययन, अनुसन्धान र चिन्तन नगरी नै समालोचक बनेकाहरूप्रति व्यङ्ग्य गर्छन् । जस्तै :

गाली गलौजका शब्द फेला परेसम्म कन्ठ पारेर त्यसलाई बराबर प्रयोगमा ल्याउन चाहिँ कहिल्यै नविस नोस् । यति गर्दा पनि सफल हुनु भएन भने हाँगामा बसेर फेद काट्नु होस् अथवा मुखमा मोसी लगाएर अरुलाई ‘किन यस्तो फुस्रो भएको ?’ भनेर सोध्नु होस् (३६) ।

निस्कर्षमा

यहाँ निबन्धकारले भने के गाली गलौजका शब्द सङ्कलन गरी समालोचना गर्ने हो भने त्यो समालोचना बन्नै सक्तैन यसर्थ यो भनाइ वक्र भनाइ हो । असल समालोचक बन्नका लागि गहन अध्ययन र चिन्तनको आवश्यकता पर्दछ । निबन्धकारले भने झैँ ‘रुखको हाँगामा बसेर फेद ढाल्न खोज्दा’ वा ‘मुखमा मसी लगाएर अरूलाई किन यस्तो फुस्रो भएको ?’ भनी सोध्दा पनि सफल समालोचक बन्न सकिँदैन यी दुवै पदावली घुमाइरो वा ध्वन्यात्मक रहेका छन् जसले गर्दा वक्रोक्तिको प्रयोग स्पष्ट हुन जान्छ ।

निबन्धकारले यस निबन्धमा मिहेनत, अध्ययन र अनुसन्धान नै नगरी कुशल समालोचक बन्नेहरूप्रति र बन्न चाहनेहरूप्रति व्यङ्ग्य गर्न एवम् यस निबन्धलाई सार्थक हास्यव्यङ्ग्य निबन्ध बनाउन वाक्वैदग्ध्य, वक्रोक्ति र बर्लेस प्रविधिक प्रयोग गरेका छन् र ती हास्यव्यङ्ग्यका संश्लिष्ट प्रविधिहरूले यस निबन्धलाई निकै सफल र पूर्ण हास्यव्यङ्ग्य निबन्ध बनाउन पनि सहयोग गरेको देखिन्छ ।

०००
आधुनिक नेपाली निबन्धमा हास्यव्यङ्ग्य  (२०७९)

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x