यादव खरेलमैन जस्तो ऐन
यस्तै छ यो कानूनी राज्य, कार्यपालिकाको भोटे ताल्चा भित्र, न्यायपालिका बन्धकी परेको छ । ऐन कानून त सबै जिउँदै छन् केबल “न्याय” मात्र मरेको छ ।
यादव खरेल :
हाम्रो ऐन पनि मैन जस्तै छ,
व्यवहारमा बेला बखतमा लच्किन्छ ।
मानिसको औकात हेरी
घरि घरि हच्किन्छ ॥
के गरोस् बिचरा ?
नियमको आदेशमा कुद्दा कुद्दा
ऐनको पाईन करेको छ ।
नियमले पनि के गरोस् ?
सर्कुलरको उर्दी तामेल गर्दा गर्दा,
लखतरान परेको छ ।
सर्कुलरको पनि आफ्नै गुनासो छः-
“टेलिफोन कुर्दा कुर्दा हत्तु भैसकियो
अब त जागीर छोड्न मन छ ।”
टेलिफोनको मर्का कल्ले बुझोस् ?
“यो निणर्य कहाँबाट भयो कहाँबाट ?
मैलाई थाहा छैन ।”
फोन गर्ने खुसुक्क भन्छ ।
यस्तै छ यो कानूनी राज्य,
कार्यपालिकाको भोटे ताल्चा भित्र,
न्यायपालिका बन्धकी परेको छ ।
ऐन कानून त सबै जिउँदै छन्
केबल “न्याय” मात्र मरेको छ ।
०००
२०२१ । ३ । २५
‘खलबल’ (२०४६)
Subscribe
Login
0 Comments
Oldest







































