यादव खरेलश्रीमती पुराण
"गृहलक्ष्मी" नाम कति प्यारो, नाम अनुसारको काम मिलेको कति सारो, कडोरी मल, हजारीमल सब यिनकै दास ; घरमा जतिसुकै कमाएर ल्याऊ सब सर्वनास ।

यादव खरेल :
टाउकेदेखि ख्याउटे कविसम्मले बयान गरेर पार नपाएको,
अहिलेकी श्रीमतीको म के पुराण सुनाउँ ?
झ्याउरेदेखि फ्याउरेसम्मले गाएर नटुङ्गिएको
म के गीत गाउँ ?
विष्णुका झैं यिनका पनि कति हुन कति अबतार,
ब्रह्मा, विष्णु, महेश्वर तिमी नै,
तिम्रो लिला अपरंपार ।
विवाह भयो घरमा आइन्
शान्त मूर्ति नाम कमाइन्र,
श्रीमानलाई गुरू मन्त्र सुनाइन,
अलि दिनमा नै बम पड्काइन् ।
अनि
राम, लक्ष्मण बनबास पसेका
नङ मासु भै मिलि बसेका
दुबै भाइ गर्छन् मारामार;
तिम्रो लिला अपरंपार ।
सिनेमा आयो टिकट ल्याऊ,
बेलुको न्यूरोडको सफर हुन्छ, पछि पछि धाऊ,
दिउँसो कुनै युवतीसंग भेट भयो ? सब बयान सुनाऊ,
जे जे दिन्छिन सुरू सुरू खाऊ ।
होइन भने,
महाभारतको रिहर्सल, आफ्नो बेहाल,
साथै सूचना टांगिन्छ “चूलो हडताल”,
तिमी नै रक्षक, तिमी नै भक्षक, तिम्रो लिला अपरंपार ।
“गृहलक्ष्मी” नाम कति प्यारो,
नाम अनुसारको काम मिलेको कति सारो,
कडोरी मल, हजारीमल सब यिनकै दास ;
घरमा जतिसुकै कमाएर ल्याऊ सब सर्वनास ।
यसो नगरन भन्यो भने
आफ्नै घरमा नयाँ प्रदर्शनी खुल्छ,
टोल भरि घर घरमा के के कुरा पुग्छ,
आखिर साँक्क, सुँक्क, घाँक्क घुँक्क रुवाई सुरू हुन्छ-
जब सब अस्त्र हुन्छ बेकार;
तिमी विनु मेरो छैन सहारा
तिम्रो लिला अपरंपार ।
०००
०२९ कातिक ११
खलबल (२०४६)
Subscribe
Login
0 Comments
Oldest








































