चूडामणि रेग्मीयो झापा हो
झापाली गफडीले होरेसको 'उदात्तता' कुन्तकको 'वक्रोक्तिवाद' अभिनवगुप्तको साधारणीकरणको नमुना पनि झापा नै ठानेको छ । हेर्नोस्, मिलवाल 'कति उदात्त छन् !' हेर्नोस्, राष्ट्रभक्त सेठहरूका भुँडी कति उदात्त छन् ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
पिचै-पिच, विचै-विच पहिलो घाम झुल्कने जिल्लामा
तपाईं यदा-कदा सुन्नुहुन्छ, झापावारे- “यो सवभन्दा वेसी उब्जा हुने, केन्द्र सरकारलाई धेरै राजस्व दिने तर ठगिएको जिल्ला हो।” गफडी भन्छ- छाती खोलेर सफा भन्छ, ‘यो विकेन्द्रीकरण लागू भएको, थुपै कर्मठ भएको, अनेकौं इस्कुल र एउटा क्याम्पस चलाउने झापा ठगिएको जिल्ला अवश्यै होइन । मेची पुल नभएकाले यो ठगियो । भन्छन् करोड नाघ्ने खर्चमा त्यो पनि भद्रपुरेलाई उकास्ने पुल नबन्दैमा झापा कसरी ठगिन्छ ? भन्छन्- भद्रपुर केचनासडक बनेन र झापाको दक्षिणी क्षेत्र उपेक्षित भयो ?’ देशमा कति क्षेत्र उपेक्षित छन् भने झापा मात्र कसरी ठगियो ? जवकि भद्रपुर-केचना शब्दभित्र भद्रपुर पनि छ । अरे ! दक्षिण त ‘वहुमत’ पार्ने वेलामा पो चाहिन्छ त । विकास गर्ने वेलामा यो क्षेत्र किन चाहियो ?
भन्छन्-‘झापामा कमर्स क्याम्पस भएन, जुन क्याम्पस खुल्दा पनि भद्रपुरमा चाहिँ खुल्नुहुन्न !’ भनाइमै प्रस्ट छ भद्रपुरमा कमर्स क्याम्पस नखुल्नाले नै झापा किन ठगिन्छ ? भन्छन्- झापाबाट कुनै प्रधानमन्त्री हुने ग्रह हुन्न । यहाँ सहायकमन्त्रीसम्म हुने ग्रह त छ, त्यो पनि सधैं होइन । कोसी र वागमती नदीको प्रतापले गर्दा त्यस अञ्चलका एकाधलाई प्रधानमन्त्रीसम्म हुने ग्रह छ- तर ‘झापा ठगिएको छ’ भन्ने सुन्दा गफडी तिनलाई मुखभरिको जवाफ दिन चाहन्छ- “यहाँ राजमार्गमा पिचै-पिच हिड्न पाइन्छ भने यदा-कदा पिच-पिचको विचै-विच हिड्न पनि पाइन्छ । गफडी सम्झन्छ- कुनै वेला भारतका रेलमा जाक्किएर यहाँबाट अर्को जिल्लामा धाउनुपर्ने डरलाग्दा कुरा र मेची र माईले कतिपटक कतिलाई बगाएको कथा पनि छ । गफडी आज पिचै-पिच देख्छ । बस दुगुर्छन्, कार चिप्लिन्छन्, मोटर साइकल भट्भटाउँछन्, त झापा एकदम अघि छ नि ! पहिलो झुल्का घामले यही विकासका किरण फ्याँक्छ नि !
यो झापा हो !
‘यहाँ लेखकै छैनन् ।’ कोही कोही यसो भन्छन् । गफडी भन्छ- गफडी पनि लेखक हो, निष्पक्ष पनि लेखक हुन् । ‘भानुजयन्तीका दिन भिड भएन’ उनीहरूको तर्क । गफडी भन्छ- यहाँ वडे-वडे पन्डा लेखक छन् नि, पन्डा सम्पादक पनि छन् । अरूतिरका लेखक र हाम्रा लेखकमा थोरै मात्र फरक छ । हाम्रा केही लेखक इस्कुले शिक्षक छन् । लेखक भएकाले प्रशासनको आड पाएर ‘थोडा वहुत’ यदा-कदा ‘कक्षावहिष्कार’ गर्छन् । हाम्रा थोडावहुत सम्पादक लेखक पनि छन्, जसको सफलताले चुली छोएर ‘विकास अधिकारी’ सम्म हुँदै छन् कोही भने कोही व्यापारी प्रतिनिधिमण्डलका वरिष्ठ सदस्य पनि बन्दछन् ।
कुनै राम्रा आकारका डल्ला भए पनि कलमका तिखा, उँच्चा र राजनीतिमा निपूर्ण पनि छन् जसले राजनीतिका अनेकौं चक्रव्यूह अभिमन्यले के तोड्छन र साहेबका खातामा Good मा दरिन्छन । वडा राष्ट्रवादी छन् है हाम्रा केही लेखक त ! जसको महान् आदर्श नेपालको न सही झापाको इतिहासमा अनन्त-अनन्तसम्म झन्किइरहनेछ- म.वि. झैं, कालिदास झैं अथवा आई.ए. रिचर्डस झैं । केही त्यस्ता लेखक यहाँ छन् जसको योगदान घर-आँगनबाट ओर्लिएर सडकसम्म पुगिसकेको छ त्यसैले, अब महानन्द हाँस्तैछन् खुसीते, भानु, देवकोटा लेखनाथ हाँसे झैं । गफडी पनि पहिला लम्बरकै हो है हजुर हो- पुरानाे ‘चक्रपथ’ बाट हालसालै ‘रिटायर्ड’ निष्पक्ष तिनै ‘अदना नेपाली’ हुन्-जसलाई कुनै बेला गफडीका कलमका भूतले तर्साउने प्रयत्न गरेथ्यो । अँ, रिटायर्ड लेखनाथका कुरामा एक जना ‘राजनीति रिटायर्ड’ ले पनि झापाली लेखकका पङ्क्तिमा आफूलाई मिसाएका छन्- जसका राजनीतिक उडान र गुडान झै साहित्य नभए पनि भाषा भरिभराउ हुने लच्छिन छ ।
झापा के होइन ?
अर्थमन्त्रीजिउका वजेटका पाताभित्रका केही करोड यो झापा हो । जड्गल-मङ्गल यही झापा हो। झापा हो- कुनै प्रभावशाली मन्त्रीले आफन्त खेद्ने ठाउँ । धा.चा.क. को महाप्रवन्धक पदमा प्रधानमन्त्रीका भाइको बस्ने न सही कुस्र्याउने ठाउँ पनि यही हो- मतलव ठुलाका टी.ए.डी.ए. आदि सम्ठ्याउने रसमय थलो । यहाँको क्याम्पसकाे विशेषता पनि नयाँ शिक्षक हुल्ने र पुराना भएपछि मास्तिर तान्ने प्रमुख हो । यहाँका इस्कुलमा छात्र र गौचरमा चर्ने गाईवस्तुमा के फरक छ भनेर कोही सोधनी गर्छ भने गफडी भन्छ-मानिस र पशुमा जति अन्तर छ उति नै अन्तर छ ।
यहाँको खेलकूद ! यहाँको रङ्गशाला । ढङ्ग भएका खेलाडी न सही त खेलअधिकारीको मनोरञ्जन र मजाका लागि अवश्य हो । साम्स्कृतिक गतिविधिमा रेडियोका गाना यहाँ मजले गाइन्छन् र एक दिन हुटेलको खाना मजले डकारिन्छ ! दुई दिन रियर्सल, तेस्रो दिनमा नाच ! मजले नाचिन्छन् । ‘ड्रामा’को लेठो यहाँ किन ? यहाँका कलाकारहरू घर-घरमा आफ्ना नानी मजले सुमसुम्याउँदै छन् । राजनीतिका कुरा ‘छोटी मुँह वडी वात’ गर्दैन- गफडी। सवलाई फापसिद्ध । इदम् सिद्धम् । यहाँका अफिस र कार्यालयका कर्मचारीका कुरा गर्दा वडा प्रजातान्त्रिक पनि छन् यी प्रजातन्त्र फापेको छ अफिसहरूमा । वस । यी कुरा हेर्दा लाग्दछ- झापा केको नमुना होइन ? अञ्चलको सदरमुकाम माथि पहाडको इलाममा भए पनि यसैको ताता हावा मिठो मानेर यहीं प्रायः विद्यमान हुन्छन् अञ्चलका प्रमुख । यस्तो छ पापा जस्तो मिठो झापा ।
लाटाको पापा !
यो पर्मिट जस्तो महत्वपूर्ण कुरा खाने केन्द्र हो- सिरिफ जिल्ला होइन नि जिउ ! झापा भनेको जग्गा हत्याउने प्रमुख स्थान पनि हो । झापा भारेभुरे जिल्ला मात्र होइन नि ! बसोवास र झोडाको महापुराण भएको झापा हो- मात्र यहाँ एक जना वेदव्यासको अभाव छ । यो स्वास्थ्य विगार्ने ठाउँ होइन, बरु सपार्ने ठाउँ हो । हो। इ (हेर्नोस् यहाँ आउनेका भुँडी !) औलो र महँगी ? भन्नु होला- औलो प्रत्येक हाकिमले आफ्ना पोकामा पोक्याएर लगे । हाकिमले मात्र होइन जिउ, वहिदारसम्मले पनि यस बराव औलोलाई बोकेर लगे र औलो उखेल्न मद्दत दिए । त्यसैते, इलाम जानेले केटी ल्याउँदैन, झापा आउनेले जग्गा जोड्दैन भने- भनाइ छ त्यस लाटाले पापा खान्छ । यो झापा हो- जहाँ १४ अञ्चल र ७५ जिल्लाका एकसे एक जम्वूमन्त्री छन् भने पापा खाने लाटाहरू पनि छन् ! लाटाका कुरा आए ।
गफडीले समीक्षामा पढ्यो- टङ्कपर्सादको भासन । त्यसमा के र’छ भने- ‘साहित्यकारको आर्थिक स्थिति ठिक नभएकोले साहित्यको विकास भएको छैन !’ गजवकै ठुला-वडा विचार भएको राजधानी काठमाडौं हो- जहाँबाट छरिएका कुरा यस झापाले सुविचारका रूपमा पढ्नुपर्छ । हो, गफडीले पनि पर्मिट पाएको भए र खाएको भए, जग्गा हत्याएको भए र धन कमाएको भए ठुलै लेखक हुन्थ्यो होला ! जस्तै हाल प्रज्ञाप्रतिष्ठाने छन् । यस्ता थुप्रै गजवका विचार पढ्नुपर्छ- राजधानीबाट छरिएको भनी यहाँकाले । सौभाग्यपूर्वक झापाले ‘समीक्षा’ मा छापिएका नयाँ कविताहरूलाई युगीन मानेर पनि पढ्दैछ- झापा यस युगमा कुनै भूमिवाल नहुने उदारता प्रकट गरी पहिलो घामका झुल्का पाएर मख्ख छ ! पापामा झापा मख्ख छ ।
पातमा पात ! बातमा बात !
झापाली गफडीले होरेसको ‘उदात्तता’ कुन्तकको ‘वक्रोक्तिवाद’ अभिनवगुप्तको साधारणीकरणको नमुना पनि झापा नै ठानेको छ । हेर्नोस्, मिलवाल ‘कति उदात्त छन् !’ हेर्नोस्, राष्ट्रभक्त सेठहरूका भुँडी कति उदात्त छन् । हेर्नोस् जङ्गल-मङ्गल गर्ने कर्मठहरू कति उदात्त छन् ! झापा कसरी ठगिएको जिल्ला हो यो वक्रोक्ति ठिक छैन । झापा भद्रपुर होइन नि । यो सुन्दर वक्रोक्ति हो । यहाँका लेखक, यहाँका पत्रकार, यहाँका राजनीतिज्ञ सचेत नमुना हुन्- तिनैमा गफडी आफूलाई पनि साधारणीकरण गर्छ । (पातमा पात हुँदा झै वातमा वात हुँदा) थुप्रै प्रेसहरू भएको, थुप्रै नामुद अखवारहरू भएको पढे-लेखेकाहरूको जमघट बढ्दै गएको, थुप्रै इस्कुलहरू र क्याम्पस भएको यो झापा, गफडी कदापि ठगिएको मान्दैन ।
गफडीका दृष्टिमा घामको पहिलो झुल्का पाउने भाग्यमानी झापा मेची नदीमा पुल नभएर, कमर्स क्याम्पस नभएर, दुई-चार इस्कुलघर नभएर जर्खरिने होइन । यहाँ आउनोस्, हेर्नोस्, पिचै- पिचै विचै-विच ! चियावगान र धानले सम्पन्न झापा स्वतः वदलिएको छ । झापाको वाहिर मात्र झिलिमिली छैन । कतै वाहिर मात्र टेलिफोनको घन्टी रन्कँदैन । यो चहकमय छ । गफ तुर्नुभन्दा अघि गफडी अज्ञात कविको निम्न कविताप्रति पुरा हाँसो प्रकट गर्दछ-
१
पापा ठानेर झापामा ब्रह्मलुट गरिकन
रमाउँछन् ठुलाठालु झन्डा फरफराउन ।
२
झन्डे अञ्चलका थुप्रै कति आए कति गए !
झापा आएर पोको लीकन मात्रै सवै गए ।
३
औलो लाग्छ भनी पैले झापावाट डराउँथे
‘ज्यमद्वार’ भनी भन्थे अव ती के डराउँथे ?
४
विकेन्द्रीकरणै याहीं भू.सु. को कार्य नै सुरु
कमाउने सबैले नै कमाए है खुरुखुरु ।
५
थुप्रै सेठ यहीं वस्छन् ठुलो वेपार नै यहाँ
कार्यकर्ता निकै तेजी जम्नेका हुल है यहाँ ।
६
झोडाको जग्जगी याहीं वसोवास पनि यहीं
गोडा दुएक गाडीमा वसी जम्ने पनि यहीं ।
७
यहाँ गुप्तचरी गर्ने छन् है चित्र-विचित्रका
खुवी ‘एक’ जनालाई ‘नाना पन्थी’ विचित्रका ।
कैयौं गुप्तचरी गर्छन्, सित्यैमा भई लाउके
राष्ट्रवादी निकै नै छन् आफैंका ती त टाउके ।
९
चुक्ली- चाकरी गर्नेमा खग्गू छन् कति कर्मका
‘विपक्षी’ हुन्छ है तिन्को अ.त. वा रद्दी धर्मका ।
१०
जनता पञ्चमा फाटो गराई कति लुट्दछन्
लुट्ने वर्ग दिनौं माथि पुग्दै अत्यन्त फुल्दछन् ।
११
आजलाई कुरा धेरै कथुरें प्रभु हो यहाँ
आफैलाई भुलाएर झापाभित्रै म छु यहाँ ।
१२
आगे फेरि कुरा अर्को अङ्कमा गर्नु मात्र छ
झापाको भूमिमा वस्ता गर्मीको मार मात्र छ ।
०००
युगज्ञान वर्ष ११, अङ्क ४१, २०३७
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































