चूडामणि रेग्मीकविता गफ !
आय । प्रतिदिन घट्ती व्यय ! प्रतिदिन वढ्ती ! समस्या ! चर्कदै गए समाधान ! मर्कंदै गए इमान : अभावतिर जमान : खोल्सातिर नैतिकता - अवमूल्यन ।

चूडामणि रेग्मी :
पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
एउटा अभिव्यक्ति-प्रमोसन नहुनेको
सर्वप्रथम वधाई छ- ढिलो भए पनि
भाग्य जागेका समस्त ती मित्रवरहरूलाई
जसले ‘खुल जा सिमसिम’ खोले-
भाग्यमानी ती ठेलीवाललाई
वधाई छ ! वधाई छ !
ती आमाहरूलाई पनि वधाई छ,
जसले यस महँगीमा पनि
विल्डिङ उठाउन समर्थ पुत्ररत्न पैदा गरे,
त्यस्ता सुपुत्र पैदा गरे ती माताले, जसले
यो खपीनसक्नु दौडमा
‘एक रेकर्ड’ कायम गरे ।
(आफ्नो समस्त योग्यता पुर्याउन पुरा समय पनि पाए)
अनि ती श्रीमती फलानीहरूलाई पनि
हार्दिक वधाई छ !
जसले फुच्चे रहन-सहन सुधार्न एउटा गरिमामय मौका पाए ।
लिपिस्टिक र पाउडर
ब्लाउज र सारीमा पनि
अव थप सुविधा प्रयोग गर्ने भए !
हार्दिक वधाई छ है आदरणीय भाउजूहरू !
अनि ए मित्रहरूका चाकरी खानेहरू !
तपाईहरूलाई त झन् वधाई छ !
जसले तिनलाई ठेलाउन
पुरा-पुरा-पुरा चानस मिलाइदिनुभयो ।
विना अल्छी कति सोर्सका फोन सुनिदिनुभयो ।
जसले जिल्लाका हामी जस्ताका योग्य प्रतिवेदन पढी
हामीलाई पुरा रातो पारी
उहाँहरूलाई उठ्ने सौभाग्य प्रदान गर्नुभयो ।
तपाईंहरूलाई पनि आफ्नो मालिक
रिझाउन मौका पाउनुभएकोमा
हार्दिक वधाई छ है।
हे योजनाकार हो !
तपाईहरूलाई त झन् वधाई छ है !
तपाईको कसैलाई मुन्ट्याउन सक्ने
(जस्तै सिनियरलाई पनि)
कसैलाई उठाउन सक्ने
(जस्तै जुनियरलाई पनि !)
कसैलाई जरैदेखि उखेल्न सक्ने
कसैलाई ‘ऊर्ध्वमूल’ जुरुक्क उठाउन सक्ने ।
‘मूल्याङ्कन योजना’ चमत्कारी योजना
नातावाद कृपावाद आफन्तवादको
नवीन आविष्कार गराउने
तथा हे ठुलो ठाउँ ! हे ठुला मान्छेहरू !
हे हजुरहरू ! तपाईं सवैलाई हार्दिक वधाई छ ।
म ‘खप्पर फुटेकी’ माताका छोराको !
हे आमा ! सम्झनोस् र मन पराउनोस्, यो म
अटुकुचे फलानो हुँ ।
हे मेरी फलानी ! तिमी पनि सम्झ ।
तिम्रो सिउँदो भरिलो राख्न
बाँचेको म फलानो ।
हे नामर्दकी माता !
हे नामर्दकी फलानी ।
आफ्ना आँसु वन्द गर !
जीवन अवमूल्यन !
आफ्ना कुण्ठा वन्द गर ।
म भन्छु – खुला भन्छु-
म फलानो सबकुछ प्रमोसन होइन
म सबकुछ ‘योजना’ को
म त फलानो पो हुँ त ।
म त्यो फलानो हुँ
जो आफ्नो मूल्यमा शतायु वाँच्तछ ।
म त्यो फलानो हुँ
जसका आफ्नो कर्मले नै मूल्याङ्कन गर्दछ ।
हे मेरा हितैषीहरु ।
म खुला भन्छु मलाई प्रमोसन हुनवाटै रोक
रोक मलाई यान्त्रिक गडवडी हुनबाट
मलाई फलानो रहन देऊ !
मलाई यो दुनियाँमा रहन देऊ !
‘ठेली’ मा उफ्रनवाट रोक
सृजनावाट फुत्कनवाट रोक ।
रोक हजुर-प्रभुको रोगवाट रोक
रोक ‘धावन्ती’ विद्यावाट
रोक पतन-जगत् दुर्गुनतिरवाट
हे आमा ! तिमी भाग्यमानी वन
(कम-से-कम मनले त वन !)
हे फलानाका आफन्तहरु
नहटाऊ मलाई गुन्द्रुक र भातको स्वादवाट !
यस कुटीको सामान्यतावाट !
अझ पनि यो आँधी-हुरीको आनन्द
अझ पनि यो घाम-पानीको आनन्द
अझ पनि पसिनाप्रतिको आस्था
मवाट पर हुन नदेऊ
मलाई ‘म’ मै रहन देऊ !
जिल्लाका शिक्षकवारे एक अभिव्यक्ति
जिल्ला-जिल्ला वर-पर पढाउँछन् शिक्षक
नयाँ-नयाँ शिक्षा-शिक्षा यिनी दिन्छन् शिक्षक
कोठा-कोठा खाँदा खाँद चउरमा छात्र
हावा-पानी आँधी-वेरी खप्छन् हाम्रा छात्र
महँगीले सात रु. छ चिनी सेर एकको
चामल वा लुगा-फाटो महँगी छ सवको
खाना-पानी दाना-पानी मरु हाम्रा शिक्षक
घोटिएर पढाउँछन् विचरा यी शिक्षक
सभापति प्र.जि.अ. र जि.शि.अ. को चल्ती
यता गरे उता गरे बन्द चल्ती-फिर्ती
कसैलाई रिस उठे सरुवाको पुर्जी
माग गरे केही गरे खोसुबाको पुर्जी
योजना र ठुलो-ठुलो काम भने नास्ति
मूल्याङ्कन भन्ने कुरा चाकरीमै अस्ति ।
निम्न कर्मचारी – एक अभिव्यक्ति
निम्न भयौं कर्मचारी ढोका कुर्ने काम
कार कुछने कुर्सी उड्नेलाई ढोग्ने काम
एकमानो चामल नै घरमा छैन खान
एकसरो लाउन त परै रहोस् जान
महँगीले ठुला-वडा कुधिर’छन् सधैं
हाम्रो भन्ने ढाढ सेक्यो मरिरे’छौं सधैं
तलबको वृद्धि हुँदा ठुलै रमाउँछन्
सुविधा र सुख्ख-भोग ठुलै पड्काउँछन्
यता गर उता कुध ‘गर्’ भनेको मान
नमाने त बेकार भै वस्नुपर्ला जान !
चुस्नेहरु माथितिर हामी भयौं तल
‘मूल्याङ्कन’ कुरा माथि हामी पर्यो तल !
मर्न ऑट्यौं पर्नु हो ! वोलिद्यौन,
हाम्रा लागि, सवै जना,
यौटै आवाज यौटै स्वर गरेर ।
सर्व-साधारण- एक अभिव्यक्ति
शिक्षा-मुस्किल भयो !
किनी खान- नसकिने भयो !
स्वास्थ्य । खत्तम भो !
उब्जनी- घट्तै गयो !
उन्नति- खस्तै गयो ।
आय । प्रतिदिन घट्ती
व्यय ! प्रतिदिन वढ्ती !
समस्या ! चर्कदै गए
समाधान ! मर्कंदै गए
इमान : अभावतिर
जमान : खोल्सातिर
नैतिकता – अवमूल्यन ।
वार्षिक-दशा- एै
गाउँ-सुक्तैछन् !
टाउन- वढ्दैछन् ।
विल्डिङ उभौलीतिर
झुप्रा – कुप्रैतिर
कुटी – कुटिदैछन् !
जिन्दगी-गन्दगी
सफाइ गन्दगी, लगाई- ऐं
लुवाइ-खुम्च्याइ ! विषमता-उग्रता !
लौ न हजुर मरियो ।
सोचौं राम्रो नेपालीका
दुःख पिर सवै जना
एक भएर ।
पातमा पात ! वातमा वात !
गफडीले वात गर्दा धेरै वात भए
पातमाथि पात हुँदा धेरै वात भए ।
कपि हुन मन भई कवि भयो ल्वाँगे
सम्पादक हुने जस्तै हाकिम भो झाँगे
आजलाई कविताको रहर है पुग्यो
पढिदिए धन्य ठान्दै आजलाई भयो !
बाँकी रैछ एक कुरा कविहरू विग्रे
आफ्ना साथी-वन्धु विर्सी सारै-सारै विग्रे
लौ है भयो ! भयो ! भयो ! कविता है भयो ।
कविताका कुरा सकौं गफ धेरै भयो ।
कविताले के-के कुरा मनभित्र मागे
कुराहरू रहे भने भेटौला है आगे ।
०००
युगज्ञान वर्ष ११, अङ्क ३८, २०३७
गफडीका गफ (२०६८)
Subscribe
Login
0 Comments
Oldest







































