चूडामणि रेग्मीप्यारोडी पाराका गफ
पहाड-जो मरिसकेको छ हिमालको तातो हावा कठ्याङ्ग्रिएको लास उपर स्याउँस्याउँती दुर्गन्ध वोकेर गफडीको शिरउपर चढेको छ, लाग्दछ, खोलालाई ढुङ्गाले खुटिरहेछन्, लाग्दछ ।

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।
अब जसले जे भनोस् !
१
अब जसले जे भनोस् चाकरी विद्या म गर्छु
चुक्ली विद्या गरेरै अरूलाई पछार्छु ।
आफ्नो विरोध गर्नेलाई मौकामा नै लछार्छु ।
भुसको डोरी बाटेर होइन भने म मर्छु ।
२
भन्ने भनिरहोस् है अब जसले जे भनोस्
अल्छी गरी खान्छु म जाँगर म जान्दिनँ
ठगी खान पाएसम्म अरू कुरा जान्दिनँ
भुसको डोरी बाटेर होइन नमरी छाड्दिनँ ।
३
अब जसले जे भनोस् भनुन् लेखून् कराऊन्
इन्कलाव नै गरुन् वा नारा लाई घन्काऊन्
तिन पिंडीलाई खान पुग्ने खातामा पैसा राख्छु
भुसको डोरी बाटेर होइन भने म मर्छु ।
४
आफ्नै मान्छे लान्छु म अब जसले जे भनोस्
ठुला पद राम्रो पद आफ्नैलाई पार्छु म
होइन भने- सरापेरै भुसको डोरी बाट्छु म
वालुवाको वोटमा पासो लाई मर्छु म ।
५
अब जसले जे भनोस् कट्टर नै बन्छु म
आफ्ना सबै कर्मठलाई मास्तिर नै तान्छु म ।
बुद्धिजीवी सुद्धिजीवी कुरा उठ्यो भने त
भुसको डोरी बाट्छु र झुन्डिएरै मर्छु म ।
६
अब पेट्रोल जे हओस् कार चाहिँ चढ्छु म
देश पछि परे परोस् चिप्लै कार रोज्छु म
ढाक्रे भाको देश भनुन् जेजे भनुन् सुन्दिनँ
सुन्नु परे मर्न निम्ति भुसकै डोरी रोज्छु म ।
७
मुसाको विद्या सिक्छु म अब जसले जे भनोस्
जुन अड्डा गए पनि खेलो खत्तम पार्छु म
घुसको ‘पोको लिन्छ’ म, ‘पोको पनि लान्छु’ म
भुसको डोरी बाटेर होइन भने मर्छु म ।
८
अब जसले जे भनोस् जिम्मेवारी जान्दिनँ
पैलो भर्न पाएपछि नडकारी छाड्दिनँ
आफू बन्नु’ मन्त्र हो- यै नगरी छाड्दिनँ
भुसको डोरी बाटेर नत्र नमरी छाड्दिनँ ।
म खाऊँ मै लाऊं
१
म खाऊँ मै लाऊँ अरू सब मरुन् दुर्वलहरू
म नै जाऊँ माथि पद पनि ठुलो प्राप्त म गरूँ
कमाऊँ मै मात्रै मजति नवढून् सेवक दरा
वनूँ मै नै राम्रो मसरि नबनुन् कर्मठ खरा ।
२
म वाँचू मैले नै अतिशय गरें कर्मठ बनी
भनूँ जम्मै ल्वाँठा अझ शठ हऊन् कर्मठ बनी
म नै सोल्टी जाऊँ अभयसित हासू मरी-मरी
सदा मेरो हाँसो गजवसित उर्नोस् मुखभरि ।
कुन मन्दिरमा जान्छौ साथी
कुन मन्दिरमा जान्छौ साथी
कसलाई चुक्ली दल्ने हो
कुनकुन क्लवमा नाङ्गो नाच
बाज भया’ छ हेर्ने हो ?
मान्छे । रद्दी बाटो छाड
भित्र छ जगती अपरम्पार
नाच गान सुरा-सुन्दरीको
मोजमजा छ अपरम्पार ।
आफ्नै घाउ मलम लगाऊ
मानिस । आफू हँसाऊ
फर्कफर्क हे मेरा साथी ।
बकम्फुसेको दुनियाँवाट
भित्र छ जनी अपरम्पार ।
यहीं आऊ बस्तछ सच्चा ईश्वर
यही जगती अपरम्पार ।
अरू मन्दिरमा किन जान्छौ साथी
यहीं छ मन्दिर अपरम्पार ।
आफ्नै दिव्य मुहार हँसाऊ ।
छोरीलाई मानचित्र पढाउँदा
यो नेपाल हो !
यो तराईको विशाल फाँट
यो हो झापा, यो हो सुनसरी !
यो हो. यो हो……!
यो वन रेखा महान्
यो दुधे, यो झिलझिले
आराले खाएको
यो नागासाकी हो यो हिरोसिमा हो !
हेर, यो वन-कङ्गाल
फ्याँकिए झै छ अणुबम
शान्तिको देशमा !
यहाँ हेर,
केही दिन अघि यहाँ ब्रह्मलुट भयो ।
विकासप्रेमी हामी बन्दी छौं
आफ्नै खोरमा
आफ्नै सोरमा ।
(बाध्यता ! भएर दर्शक भएका छौं)
मेरी छोरी !
कुनै दिन त्यस्तो आउला
यहाँ सुपथ मूल्यको लकडीको नामले लुट नहोला
नोटाबालका लोटा
उतै गुड्लान् यता कतै नगुडलान् ।
हाम्रा यी घरविहीन मान्छे
झोडे नहोलान्, घोडेले मोज नमार्लान्
मेरी छोरी ! कुनै दिन त्यस्तो आउला
यस मानचित्रमा
रमाइलो हरियाली जङ्गल छाउला
शान्ति देशमा
शान्ति छाउला ।
विशाल वनको साम्राज्य होला
त्यहाँ चरा-चुरुङ्गीको सुरिलो स्वर गुंज्ला
तिमीले त्यतिखेर
यी हत्यारा आरा होइन
मायालुको गिदाङ्गे ताँती भेट्टाउली !
तिमीले खोजे पनि मरी-मरी
विमाखको आवाज नपाउली
रमाउली-
छोरी लिई छोरी !
ढलीमली हाँसौली !
पहाड-जो मरिसकेको छ
हिमालको तातो हावा
कठ्याङ्ग्रिएको लास उपर
स्याउँस्याउँती दुर्गन्ध वोकेर
गफडीको शिरउपर चढेको छ, लाग्दछ,
खोलालाई ढुङ्गाले खुटिरहेछन्, लाग्दछ,
समुद्रमा पैरो गइरहेछ
भुसाक्रान्त छाती यो, लाग्दछ,
घामको स्पर्शमा ढलिसकेको छ
मरेको छ यो पहाड-गफडीको
घाँसाको सिले जर्जरित भएर
सुन्दछ गफडी-योद्धाको स्वर मृतस्वर
गफडीको यो सगरमाथा
लाग्दछ,
जुनको जुनियरद्वारा आक्रान्त
विज्ञापित भइरहेछ घामद्वारा यी
‘पहाडको धुकधुकी खतम भइसकेको छ’
यो पहाड अझै सास भर्छ
ऊ सास विहीन भइसकेको छ
ऊ चेत विहीन भइसकेको छ
ऊ भलादमीद्वारा मृत घोषित भएर
‘शङ्खनाद’ भइसकेको छ !
अन्तविहीन मृत उसलाई
जलाउने बेला भइसकेको छ !
गफडी हेरिरहेको छ !
पातमा पात ! वातमा वात !
१
केराको पातमा पात दैलाको ठेलामा
यो पातो लेखमा गफ है फुर्यो प्यारोडी पारामा
२
आँखामा मेरो केराको बाेट पातमा पात छन्
गफमा गफ हुँदै नै जाँदा वातमा वात छन् ।
३
कुरो नै राम्रो बुझेको छैन कुरौटे त्यही छ
न राजनीति न सेवा नीति कर्मठ त्यही छ !
४
बुद्धि न सुद्धि गफ है लेखी भइयो बाेल्ने झै
न जाने पनि हर्फनमौला यहाँका मान्छे झै ।
५
सुन्दर हिमाल भन्ने है भए कविमा दिग्गज
ठेली है ठेल्ने विद्वान् नै भए टिपोटे दिग्गज ।
६
रुन्चे छ सिर्जन सर्जक रुन्चे आँसुको दहमा
काम छ रुन्चे ! लक्ष्य भो रुन्चे ! पिन्चिन्छ वहमा ।
७
कुरामा कुरा फोकड कुरा गरेर गफडी
यो पातो भर्छ विदा है माग्छ आज चैं गफडी
०००
युगज्ञान वर्ष ११, अङ्क ४०, २०३७
गफडीका गफ (२०६३)
Subscribe
Login
0 Comments
Oldest







































