साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको दशौँ वार्षिकोत्सव सम्पन्न

कार्यक्रममा मञ्जुश्री साहित्यिक सम्मान तथा पुरस्कार २०८१ साहित्यकार अञ्जना पौडेल'अनुश्रुति'लाई प्रदान गरियो भने बिपि-भूपि साहित्यिक पुरस्कार तथा सम्मान २०८१ लघुकथा लेखक तथा समालोचक युवराज मैनालीलाई प्रदान गरियो।

Nepal Telecom ad

काठमाडाैं, २०८१ चैत २७ । मञ्जुश्री साहित्यिक समाजको दशौँ वार्षिकोत्सवका अवसरमा एक विशेष कार्यक्रम गरी मनाइएको छ।

समाजका अध्यक्ष डा.बमबहादुर थापा जितालीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व कथाकार नरेन्द्रराज पौडेल रहेका थिए भने अन्य विशेष आमन्त्रित व्यक्तित्वहरूमा समालोचकद्वय ठाकुर शर्मा तथा गोपी मैनाली, महाकाव्यकार प्रा.सीताराम अधिकारी, प्रतिष्ठित लोकगायिका चन्द्रकला शाह तथा बिपि-भूपि पुरस्कार कोषका संस्थापक श्रीरामसिंह बस्नेत समेतको उपस्थिति रहेको थियो। कार्यक्रम रानीवनस्थित रानीवन पार्टी प्यालेसमा भएको हो।

कार्यक्रममा मञ्जुश्री साहित्यिक सम्मान तथा पुरस्कार २०८१ साहित्यकार अञ्जना पौडेल’अनुश्रुति’लाई प्रदान गरियो भने बिपि-भूपि साहित्यिक पुरस्कार तथा सम्मान २०८१ लघुकथा लेखक तथा समालोचक युवराज मैनालीलाई प्रदान गरियो। दुबै पुरस्कारको रकम नगद राशि रू १५१२५/- रहेको छ।

कार्यक्रमका प्रमुख व्यक्ति व्यङ्ग्य लेखक तथा कथाकार नरेन्द्रराज पौडेलले पुराना दिनहरूको स्मरण गर्दै कुनै पनि संस्था चलाउन ज्यादै गाह्रो हुने हुँदा साहित्यिक संस्था चलाउन झन् कठिन हुने कुरा बताए। मञ्जुश्री साहित्यिक समाजले विगतदेखि पुर्याउँदै आएको योगदानका बारेमा चर्चा गर्दै प्रमुख व्यक्तिको आसन ग्रहण गराएकोमा आभार प्रकट गरेका थिए।

सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष डा. थापाले संस्थाको स्थापना र गतिविधि बारे प्रकाश पार्दै आर्थिक अभावका कारण पुरस्कारको रकम बढाउन नसकेको यथार्थ कुरा औँल्याएका थिए।

कार्यक्रममा पुरस्कृत तथा सम्मानित व्यक्तित्व लघुकथा लेखक तथा समालोचक युवराज मैनालीले बिपि-भूपि जस्ता महान् साहित्यकारका नाममा स्थापित पुरस्कार प्राप्त भएकोमा खुशी प्रकट गर्दै बिपि-भूपिको उचाइ बढाउने काममा आफूमाथि जिम्मेवारी बढेको कुरा बताए। साथै,उनले आफ्नो घरपरिवारका नाममा पुरस्कार स्थापना नगरी साहित्यका महान् हस्तीका नाममा पुरस्कार स्थापना गरेकोमा पुरस्कार स्थापक श्रीरामसिंह बस्नेतको प्रशंसा गरेका थिए।

त्यसैगरी,अर्का पुरस्कृत व्यक्तित्व अञ्जना पौडेल ‘अनुश्रुति’ले कविशिरोमणि लेखनाथ पौडेलका कविताबाट प्रभावित उनकी माताले वाचन गर्ने गरेको कविताबाट आफू प्रेरित भएर साहित्यमा लागेको बताइन्।

बिपि-भूपि पुरस्कारका संस्थापक तथा यौन कथाकार श्रीरामसिंह बस्नेतले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै काठमाडौं उपत्यकाको बस्ती बसाउने ऐतिहासिक पात्र मञ्जुश्रीका स्मृतिमा संस्थाको नामाकरण गरिएको बताए। प्रमुख सल्लाहकार समेत रहेका बस्नेतले साहित्यमा सिर्जनशीलता र विमर्श बढाउन जरुरी छ भन्दै विमोचनमा अलमलिएर साहित्यको उन्नयन हुन नसक्ने बताए।

कार्यक्रममा समालोचक गोपी मैनालीले शुभकामना मन्तव्य व्यक्त गर्दै साहित्यलाई गुणात्मक बनाउँदै लैजानु पर्नेमा जोड दिएका थिए भने अर्का वक्ता प्रा. सीताराम अधिकारीले आफ्नो शुभकामना मन्तव्यमा कार्यक्रमको महत्त्व र औचित्यमाथि संक्षेपमा प्रकाश पारेका थिए।

त्यसैगरी समालोचक ठाकुर शर्मा भण्डारीले पुरस्कृत व्यक्तित्वहरूको कृतिका बारेमा प्रकाश पार्नुका साथै समालोचनाका क्षेत्रमा पुरस्कृत व्यक्तित्व युवराज मैनाली २०३५ सालदेखि बालकृष्ण सम तथा बिपिका कृतिका बारेमा समालोचना गरेको सन्दर्भ उठाउँदै दुबै जनामा शुभकामना मन्तव्य समेत राखेका थिए।

कार्यक्रमको शुरुआत राष्ट्रगान तथा स्वागतगानबाट गरिएको थियो भने संस्थाका संस्थापक सचिव वीरबहादुर लोहनीले विदेशबाट मोबाइलमा पठाएको स्वागतगानलाई अध्यक्ष जितालीले पोडियममा उभिएर सुनाएका थिए।

संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने सदस्य प्रभा बरालले कार्यक्रमको सञ्चालन गरेकी थिइन्।

०००
डा. बमबहादुर जितालीकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x