सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हास्यव्यङ्ग्य अभियन्ता

मास्टर साहेब स्रष्टाहरूलाई हास्यव्यंग्य साहित्य लेखनतर्फ अभिप्रेरित गर्नाका साथै माया पनि गर्नुहुन्थ्यो । सधैं ठट्यौली मूडमा हुने मास्टर साहेबलाई मैले एकपटक रोएको देखेको छु, भैरव अर्यालको कसरी मृत्यु भयो भन्ने सन्दर्भ आउँदा ।

Nepal Telecom ad

यादव खरेल :

वासुदेव लुइँटेल नेपाली साहित्यको हास्यव्यङ्ग्य फाँटका एक जना स्रष्टा र व्यक्ति मात्र नभएर एउटा ठूलो संस्था हुन्, एउटा अखण्ड इतिहास हुन् र धेरै अर्थमा प्रेरणाका स्रोत पनि हुन् । नेपाली वाङ्मयको हास्यव्यङ्ग्य उपाविधाका क्षेत्रमा यिनीभन्दा ईमानदार र आजीवन प्रतिबद्ध अभियन्ता मैले आजसम्म भेटेको छैन । जीवनको अन्तिम क्षणसम्म पनि हास्यव्यङ्ग्य फाँटलाई कसरी उर्वर बनाइराख्न सकिन्छ भन्ने कुराले यिनी चिन्तित थिए । वचनका खरा, मनका भने कोमल वासुदेव मास्टर साहेबसँग पहिलोपटक भेट्ने मानिसले कस्तो जरखरिएको मानिस रहेछ भनी ठान्दथे तर संगत गर्दै जाँदा एक जना इमान्दार निःस्वार्थी र कोमल मन भएको हितैषी उद्घाटित हुँदै जान्थ्यो र समयको अन्तरालसँगै यिनलाई श्रद्धा गर्न थाल्दथे । यसरी वासुदेव मास्टर साहेबलाई श्रद्धा गर्ने धेरै मानिसहरू मध्ये म पनि एक जना हूँ ।

अरूलाई सङ्ग्रह गर्ने, उद्घाटित गर्ने तर आफू भने प्रचार प्रसारभन्दा टाढै बस्ने पर्दापछाडि बसेरै आफ्नो कर्तव्यमा निरन्तर लागिरहने यिनको बानी थियो । त्यसैले यिनलाई भेट्न यिनको कार्यलयमा अथवा घरमै जानुपर्थ्यो । सभा सम्मेलन समारोह पार्टी जस्ता कुनैपनि जमघटमा यिनी जादैन थिए । वासुदेव विद्यादेव लुइँटेल पुरस्कार गुठीको पुरस्कार वितरण समारोहमा समेत यिनको भौतिक उपस्थिति हुँदैन थियो । उक्त गुठीका संरक्षकको हैसियतले यिनको तस्वीरलाई सभापति बनाएर सभा संचालन गर्ने चलन थियो र अहिले पनि छ । वासुदेव मास्टर साहेव जम्मा तीनपटक मात्र बैठक भोज र समारोहमा गएको सम्झना छ मलाई । शायद २०३८ सालतिर कौवा प्रकाशनले काठमाडौंको राष्ट्रिय सभागृहमा हास्यव्यङ्ग्य कविसम्मेलन गरेको थियो । त्यही कविसम्मेलनको तयारीको सिलसिलामा मेरो धोबीधाराको घरमा बैठक बसेको थियो जसमा भाग लिन वासुदेव मास्टर साहेब पाल्नुभएको थियो। कविसम्मेलनको तयारी र सफलताबारे हामीभन्दा बढी मास्टर साहेब चिन्तित हुनुहुन्थ्यो । कविसम्मेलनमा श्रोताहरू जम्मा गर्ने काम त्यसबेला मात्र नभएर ऐलेसम्मन पनि गाह्रै छ । त्यसमा पनि राष्ट्रिय सभागृहको झण्डै ६०० सीट भर्न त्यसबेलाका लागी चुनौतीपूर्ण थियो । कविसम्मेलनको दिन हल खाली रहने हो कि भन्ने डर र शंका हामी सबैलाई लागेको थियो । हाम्रो शङ्काको विपरीत कार्यक्रमका दिन राष्ट्रिय सभागृहको हलमा ठाउँ नपुगेर श्रोताहरूले भुईमा बसेर पनि कविता सुने। झण्डै चार घण्टासम्म चलेको कविसम्मेलनबाट एकजना श्रोता पनि बीचमा उठेर गएनन् । त्यस दिनको कार्यक्रमको सफलताले हास्यव्यङ्ग्य क्षेत्रमा लागिपरेका हामी सबैलाई ऊर्जा र हौसला प्रदान गरेको थियो। वासुदेव मास्टर साहेब सबैभन्दा बढी प्रसन्न हुनुहुन्थ्यो ।

वासुदेव मास्टर साहेबसँग कुरा गर्दा उखानटुक्कामा संवाद गरेजस्तो लाग्थ्यो। यिनी थोरै शब्दमा धेरै कुराहरू भन्दथे । धेरै मानिसहरूबारे थुप्रै जानकारीहरू राख्दथे । यिनी इन्साइक्लोपिडिया जस्तो लाग्थे मलाई । मास्टर साहेबको स्मरणशक्ति पनि अद्भुतकै थियो । तीनधारा पाठशालामा पढ्न बसेको बेलादेखि नेपालीभाषा प्रकाशिनी समितिमा पण्डितको जागीर खाँदाका बेलामा महाकवि लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, बाबुराम आचार्य आदिसँगको संवाद घटना र मितिसम्म पनि यिनको दिमागमा ताजै हुन्थ्यो । ९२ वर्षको आयुका यिनको स्मरणशक्ति जीवनको अन्तिम क्षणसम्म पनि उस्तै थियो ।

आफू सङ्ग्रहित हुनुभन्दा पनि अरूहरूलाई सङ्ग्रह र संरक्षण गर्नमा यिनी खुशी मान्थे । विभिन्न स्रष्टाहरूको विचार र तस्वीरका साथै अन्तरवार्ता टेप गरेर सङ्ग्रह गर्ने कार्यको थालनी गरेका थिए। आफ्नै बारे लेख्ने क्रममा आफैप्रति इमानदार हुन सक्ने साहस र गुण थोरै मात्र लेखकहरूमा पाएको छु मैले, नेपाली सन्दर्भमा । आत्मवृत्तान्त, आत्मकथा, जर्नल जे नाम दिए पनि आफ्नै जीवनका बारे सत्यता लुकाएर, घटनाक्रमहरूको गलत व्याख्या गरेर आफैलाई संरक्षण दिनेहरूप्रति कृतघ्न भएर, आफैलाई नायक बनाएर लेखेका बेईमान लेखकका थुप्रै किताबहरू पढेको छु मैले । यस्ता बेईमान अष्टाहरूमाझ वासुदेव मास्टर साहबले लक्ष्मीप्रसाद देवकोटाको कविता चोरी गरेर आफ्नै नाममा छपाएको सत्यलाई स्वीकार्ने साहस गर्नुभएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा वृत्तचित्रमा उहाँसँगको अन्तरवार्तामा पनि यो प्रसङ्ग समावेश गरिएको छ ।

वासुदेव मास्टर साहेबको जीवनभर नै शिक्षा र साहित्यसँग अन्तरङ्ग सान्निध्य रहिरह्यो । तिनी अक्षरसँगै हुर्के र अक्षरसँगै भौतिक रूपमा समाप्त भए । रात्रिपाठशाला नक्साल, श्रीकान्तिईश्वरी राज्यलक्ष्मी हाईस्कूल, जुद्धोदय पब्लिक हाईस्कूलमा प्राध्यापन गर्नका साथै गोरखापत्र, नेपालीभाषा प्रकाशिनी समिति र जगदम्बा छापाखानामा जागीर खाँदा पनि जीवनभर नै यिनी अक्षरसँग खेलिरहे ।

मैले थाहा पाएसम्म वासुदेव मास्टर साहेब मध्यवर्गीय, साधारण आय भएका मानिस हुन् । धन नभए पनि यिनी मनका ठूला हुन् । नेपालीभाषा र साहित्यको विकासका लागि आफ्नो पसीनाको गाढा कमाई दानवीर भएर खर्चेका छन् । आर्थिक रूपमा घाटा पर्छ भन्ने थाहा हुँदा हुँदै पनि विभिन्न प्रकाशनका नाममा भिन्न भिन्न विषयका धेरै मानिसका सिर्जनालाई यिनले प्रकाशन गरेका छन् जसमा नेपालका मन्त्रीहरूको लगतदेखि जीवनी र साहित्यका विभिन्न उपविधाहरूका सिर्जनाहरू पर्न आउँछन् । शिक्षा र साहित्यको विकासका लागि थुप्रै पुरस्कारहरूको पनि स्थापना गरेका छन् ।

प्रकाशनका बारे करा गर्दा यिनले ढुङ्गाअड्डा प्रकाशन, भैरव प्रकाशन, नैकाप भञ्याङ, ३३ पुतली प्रकाशन जस्ता प्रकाशनहरूबाट धेरै लेखकहरूका सिर्जनाहरू प्रकाशित गरेका छन्। कौवा प्रकाशनले नेपाली हास्यव्यंग्य फाँटमा पुयाएको ठूलो योगदानलाई बिर्सन सकिन्न । साझा प्रकाशन भन्दा पनि पहिले कौवा प्रकाशनले हास्यव्यंग्यका कृतिहरू प्रकाशित गर्न शुरु गरेको हो । हास्यव्यंग्य फाँटका स्थापित र नवोदित स्रष्टाहरूका धेरै किताबहरू यस प्रकाशनबाट प्रकाशित भएका छन् । भैरव अर्यालको काउकुती, गलबन्दी, इतिश्री, दश औतार, भीमनिधि तिवारीको तितौरा र मस्यौरा, चाडबाड, श्याम गोतामेको, मपाई, दाताराम शर्माको सिस्नु ९७, राजेश्वर देवकोटाको युगल काव्य, श्रीधर खनालको उल्लीबिल्ली, रामकुमार पाँडेको सञ्चै छ, १२ मज्जा, बाबुको बिहे, विभिन्न कविहरूको संग्रह छ्याकन, सेलको माला आदि आदि धेरै किताबहरू प्रकाशित गरेर कौवा प्रकाशनले हास्यव्यंग्य फाँटको उर्वरता र ऊर्जालाई बल पैदा गरिरह्यो ।

कौवा प्रकाशनका लागि पैसा भने वासुदेव मास्टर साहेबले नै खर्च गर्नुहुन्थ्यो । हास्यव्यङ्ग्य फाँटमा खडेरी नपरोस् भन्ने मास्टर साहेबको चिन्ताको एउटा घटन को उल्लेख गरिहालेँ । हास्यव्यङ्ग्य कविताहरूको सँगालो छ्याकन त्रिवि नेपाली विभागको पाठ्यक्रममा राखिएको थियो । यो किताब बजारमा उपलब्ध हु छाडेपछि, एम.ए. का विद्यार्थीहरूलाई अप्ठेरो पर्यो । छ्याकनको अर्को संस्करण निकाल्नका लागि मास्टर साहेबसँग पैसा रहेनछ । मसँग सापटी मागेर अर्को संस्करण निकाल्नुभयो । केही समयपछि मसँग सापटी लिएको पैसा फिर्ता दिनुभयो । मैले पैसा फिर्ता लिएँ। हास्यव्यंग्य साहित्यको श्रीवृद्धिका लागि मास्टर साहेब जस्तै उदार र प्रतिबद्ध भएर पैसा फिर्ता लिन्न भन्न सकिन मैले, मास्टर साहेब स्रष्टाहरूलाई हास्यव्यंग्य साहित्य लेखनतर्फ अभिप्रेरित गर्नाका साथै माया पनि गर्नुहुन्थ्यो । सधैं ठट्यौली मूडमा हुने मास्टर साहेबलाई मैले एकपटक रोएको देखेको छु, भैरव अर्यालको कसरी मृत्यु भयो भन्ने सन्दर्भ आउँदा ।

पुलचोक नारायणी होटलका पछाडि मास्टर साहेबको घर थियो । त्यहाँ बेलाबेलामा हास्यव्यंग्यका लेखकहरूलाई जम्मा गरेर पुरी तरकारी खुवाउँदै हास्यव्यंग्यसँग सम्बन्धित कार्यक्रमहरूबारे चर्चा हुन्थ्यो । यसरी जम्मा हुनेहरूमा दाताराम शर्मा, श्रीधर खनाल, लक्ष्मण लोहनी, डा. धनञ्जय रिमाल, टेकवीर मुखिया, रामकुमार पाँडे, डा. भीष्मप्रसाद आदिसहित म पनि हुन्थें । एकदिन २०५० सालमा मास्टर साहेब कहाँबाट पुरी तरकारी खानका लागि शनिवार जम्मा हुने उर्दी आयो । त्यसदिन मास्टर साहेबले अपत्यारिलो प्रस्ताव सबैका सामु राख्नुभयो । त्यो प्रस्ताव के थियो भने पुल्चोकको घर बेचेर त्यसबाट प्राप्त रकमबाट हास्यव्यङ्ग्य फाँटको एउटा ठूलो पुरस्कारको स्थापना गर्ने । आफू बसिरहेको पुल्चोक जस्तो ठाउँको घर बेचेर पुरस्कार स्थापना गर्ने कुरामा विश्वास गर्ने गाह्रो भयो । तर मास्टर साहेबले त्यस्तै गर्नुभयो । पुल्चोक नारायणी होटलपछाडिको आफू बसिरहेको घर बेचेर रु १३ लाखको अक्षयकोष खडा गरी वासुदेव विद्यादेव लुइटेल गुठी खडा गरी त्यसै गुठीबाट १ लाख १ हजार १ रुपियाँको पुरस्कार स्थापना गर्नुभयो । त्यसबेला त्यति पैसामा एउटा पक्की घर बन्न सक्थ्यो । पक्की घर बनाउनको सट्टा भएको घर बेचेर आफू रिङरोड पारी ढुङ्गेअड्डातिर सर्नुभयो ।

गुठीको कार्यसमितिका संस्थापक सदस्यहरू निम्नबमोजिम हुनुहुन्थ्यो

डा. भीष्मराज प्रसाईं – अध्यक्ष
यादव रखेल – उपाध्यक्ष
जयराम शर्मा लुइँटेल – सदस्य सचिव
श्रीमती सुषमा आचार्य – सह सदस्य सचिव
उपेन्द्रलोचन सुवेदी – कोषाध्यक्ष
लीलासिंह कर्मा – सदस्य
हरिगोविन्द लुइँटेल – सदस्य
टेकवीर मुखिया – सदस्य
डा. विद्यादेव शर्मा – सदस्य

सल्लाहकार समितिका संस्थापक सदस्यहरू
आत्मदेव शर्मा लुइँटेल – संयोजक

डा. धनञ्जय रिमाल – सल्लाहकार
पद्मकुमार आचार्य,
लक्ष्मण लोहनी,
बालमुकुन्ददेव पाण्डे,
श्रीहरि रूपाखेती,
विश्वनाथ शर्मा

यस गुठीको उद्देश्य निम्नबमोजिम तय गरियो :

(क) नेपाली हास्यव्यङ्ग्य साहित्य

(ख) नेपाली व्यङ्ग्यचित्र

(ग) नेपाली भाषामा श्रव्य तथा हास्यव्यङ्ग्य प्रस्तुति गर्ने व्यक्ति वा संस्थालाई सो विचारको विकास र प्रवर्द्धन गर्न
गरेका योगदानका लागि पुरस्कार प्रदान गर्ने

हायव्यङ्ग्य साहित्यमा अभिरुचि राख्ने सबैलाई थाहा भएको कुरा हो वासुदेव विद्यादेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य फाँटको सबभन्दा सम्मानित र ठूलो पुरस्कार हो। यस पुरस्कारबाट लेखनतर्फ केशवराज पिंडाली, रामकुमार पाँडे, कार्टूनचित्रतर्फ वात्स्यायन, टेकवीर मुखिया बलराम तथा अभिनयतर्फ गोपालराज मैनाली, वसुन्धरा भूषाल, राजपाल सम्मानित भइसक्नुभएको छ। यस गुठीलाई हास्यव्यंग्य फाँटलाई माया गर्ने धेरैको सहयोग र सद्भाव प्राप्त भइरहेको छ ।

यति हुँदाहुँदै पनि मेरा मनमा खड्किएको एउटा कुरा छ जसलाई उल्लेख गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।

स्रष्टाहरूलाई सम्मान प्रोत्साहित गर्ने उदेश्यले गैरसरकारी क्षेत्रमा स्थापित धेरै गुठीहरू, प्रतिष्ठानहरू, संस्थाहरू अक्षयकोषबाट प्राप्त व्याजबाट सञ्चालित छन् । एकातिर ब्याज बढ्नुको सट्टा घट्दै जाने र अर्कोतिर रकमको क्रयशक्ति पनि घट्दै जाने हुनाले दिनदिनै आर्थिक रूपमा यस्ता संस्थाहरू कमजोर हुँदै जान स्वाभाविकै हो । यही कारणले गर्दा साल व साली पुरस्कार वितरण र सम्मानपत्र दिनुबाहेक प्रायः धेरैजसो संस्थाहरूका अन्य गतिविधिहरू देखिदैनन् । वासुदेव विद्यादेव लुइँटेल पुरस्कार पनि यस समस्याबाट मुक्त रहन सकेन । अक्षयकोष वृद्धि गरी गुठीका गतिविधिहरू विस्तारित गर्दै जान नसकेको र मास्टर साहेबले राखिदिएको धनबाट वार्षिक पुरस्कार वितरणमा मात्र सीमित रहन परेकोमा मलाई अपराधबोध भइरहेको थियो । यस गुठीसँग धेरै स्रष्टाहरूको सद्भाव गाँसिएको थियो । स्रष्टाहरू मिलेर हास्यव्यङ्ग्य प्रधान सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी अक्षयकोषको मूल धन सजिलै बढाउन सकिन्थ्यो । आयआर्जनका लागि मैले विभिन्न स्रष्टाहरूसँग छलफल गरें । तर सकारात्मक प्रतिक्रिया पाइनँ । धेरैजसोमा के भावना पाइयो भने यो निजी गुठी भएकाले यसमा परिवारले नै लगानी गर्नुपर्दछ । वास्तवमा मास्टर साहेबको चाहना निजी गुठीको रूपमा भन्दा पनि सार्वजनिक संस्थाको रूपमा विकास गर्ने थियो । त्यसै कारणले गर्दा यस गुठीको नेतृत्व कहिले पनि उहाँको परिवारका हातमा गएन। अर्को कुरा जीवनभर मास्टर साहेबले गुठीको काममा हस्तक्षेप गर्नुभएन । तर हामीले अरू स्रष्टाहरूलाई यस हास्यव्यङ्ग्य क्षेत्रका सबै स्रष्टाहरूको साझा संस्था हो भन्ने कुरा आत्मसात् गराउन सकेनौँ । एक किसिमले त्यो हाम्रै कमजोरी थियो । यसै सन्दर्भमा गीतकार वसन्त चौधरीको सहयोग भने उल्लेखनीय छ । वसन्त चौधरीबाट प्राप्त रु.१ लाख सिस्नुपानी नेपाललाई हास्यव्यङ्ग्य पुस्तकालय स्थापनार्थ उपलब्ध गराइएको थियो ।

वासुदेव मास्टर साहेब हास्यव्यङ्ग्य वाङ्मयको श्रीवृद्धिका लागि प्रतिबद्ध अथक अभियन्ता मात्र नभएर स्रष्टा पनि हुनुहुन्थ्यो । हास्यव्यङ्ग्य साहित्यमा उहाँको आफ्नै स्थान छ जय नेपाल, कुराउनी, कविता सङ्ग्रहभन्दा पनि उहाँको बहुचर्चित हास्यव्यङ्ग्य कवितासङ्ग्रह भीमसेनपाती हो । मैले धेरैपटक भीमसेनपातीका सबैजसो कविताहरू रेडियो नेपालको काव्यकुञ्ज कार्यक्रममा पढेको छु । भीमसेनपातीका कविताहरू त्यसताका साह्रै लोकप्रिय थिए । भीमसेनपातीका कविताहरूजस्तै लाग्छ मलाई उहाँको व्यक्तित्व पनि निडर, खरो, प्रष्ट, यथार्थवादी, प्रगतिशील र राष्ट्रवादी । उहाँको सिर्जनाको अर्को सशक्त पाटो हो प्रबन्ध निबन्धका संग्रहहरू जसलाई “भूत छैन”, “चिट्ठीचपेटा” “बाट, काकाका कुरा”, ले प्रतिनिधित्व गर्दछन् । अन्त्यमा के भन्दै म कुराको बीट मार्न चाहन्छु भने नेपाली साहित्यको हास्यव्यङ्ग्य उपविधा (लेखन, अभिनय, कार्टूनसहित) जति संमृद्ध हुँदै जान्छ मास्टर साहेबको आत्माले त्यति नै शान्ति पाउँछ ।

०००
पूर्व अध्यक्ष, वासुदेव-विद्यादेव लुइँटेल पुरस्कार गुठी
वैशाख- २०६८, कुमारीगाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दुई दनक

दुई दनक

यादव खरेल
मैन जस्तो ऐन

मैन जस्तो ऐन

यादव खरेल
जनता

जनता

यादव खरेल
काइदाको कञ्जुस

काइदाको कञ्जुस

शेषराज भट्टराई
धन्य ! कुर्सी

धन्य ! कुर्सी

डा. टीकाराम पोखरेल
कर्तव्यबोध

कर्तव्यबोध

कमला पन्थी अधिकारी
कन्फ्युजन

कन्फ्युजन

रमेश समर्थन
बास !

बास !

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x