साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यदेव वासुदेवको स्मृति दिवस : वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई अर्पण

परिचय प्रस्तुतिपछि प्रमुख अतिथि भैरवबहादुर थापाले दोसल्ला ओढाएर यस वर्षको वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई समर्पण गर्नुभयो । पुरस्कारमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाकौ थैली, सम्मान पत्रका साथै कौवा प्रकाशनको प्रतिक चिन्ह रहेको छ ।

Nepal Telecom ad

काठमाडौं, २०८० भदौ २३ । नेपाली हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेव लुइँटेलको स्मृति दिवस । हरेक दुई वर्षमा प्रदान गरिँदै आएको ‘वासुदेव लुइँटेल पुरस्कार’- २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ ।

नेपाली नृत्यकलाका ओजश्वी र पाका व्यक्तित्व भैरवबहादुर थापाको प्रमुख आतिथ्य र शान्तदास मानन्धर, रोचक घिमिरे एवम् यादव खरेल विशिष्ट आतिथ्यमा प्रशासनिक प्रतिष्ठानको सभाकक्ष जाउलाखेलमा सम्पन्न भएको हो ।

सम्मान समारोहको आरम्भमै वासुदेव-विद्यादेव लुइँटेल गुठीका अध्यक्ष प्रा.डा. सुष्मा आचार्यले अतिथि एवम् सबै आमन्त्रितहरूलाई स्वागत गर्दै श्रद्धेय पिता एवम् हास्यव्यङ्ग्यका भीष्मपितामह वासुदेवप्रति श्रद्धाभाव व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि भैरवबहादुर थापाले वासुदेव लुइँटेलको छोपिएको तस्विर अनावरण गरि माल्यार्पण गर्नुभएपछि उद्घोषक सरोज घिमिरेले त्यही तस्विरका वासुदेवलाई समारोहको सभापति घोषणा गर्नु भएको थियो ।

वासुदेव-विद्यादेव लुइँटेल गुठीका उपाध्यक्ष डा. मुकेश चालिसेले गुठीका गतिविधिमााथि प्रकाश पार्नुभएपछि सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले यस वर्ष सम्मानित हास्यव्यङ्ग्यकार चट्याङ् मास्टरको परिचय-सन्दर्भ लिखित रुपमा प्रस्तुत गर्दै भन्नु भयो- “भ्रष्टाचारी, दूराचारी, व्यभिचारी, अल्छी, घुस्याहा, कामचोरहरूमाथि खरा दरा र हास्यव्यङ्ग्यको गजब सन्तुलन चट्याङ् मास्टरका व्यङ्ग्यका विशेषता हुन् । माग्ने कविता सर्वाधिक चर्चित कविता हो । लेखन र वाचन दुवै प्रस्तुतिमा चट्याङ मास्टर मास्टर पिस कवि हुन् ।”

यो परिचय प्रस्तुतिपछि प्रमुख अतिथि भैरवबहादुर थापाले दोसल्ला ओढाएर यस वर्षको वासुदेव लुइँटेल पुरस्कार चट्याङ मास्टरलाई समर्पण गर्नुभयो । पुरस्कारमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाकौ थैली, सम्मान पत्रका साथै कौवा प्रकाशनको प्रतिक चिन्ह रहेको छ ।

वासुदेव विद्यादेव गुठीले यसपटक अरु दुईजना जेष्ठ स्रष्टालाई पनि जनही नगद रु १० हजार सहित सम्मानपत्र समर्पण गर्दै सम्मानित गरेको छ । यसरी सम्मानित हुनुहुनेमा काठमाडौंका जेष्ठस्रष्टा रमेश खकुरेल र झापाका जेष्ठस्रष्टा चूडामणि रेग्मी हुनुहुन्छ ।

समारोहमा प्रा.डा. सुषमा आचार्यद्वारा लिखित बालकृति ‘खाँदै घुमौँ’ लोकार्पण गरियो । कृति लोकार्पणमा विशिष्ट अतिथि शान्तदास मानन्धरकासाथ चार बालबालिका समरा आचार्य, कृति रावल, अथिव विनोद पोखरेल र अर्श्या चटौत हुनुहुन्थ्यो ।

सम्मानित हास्यव्यङ्ग्यकार चटयाङ मास्टरले मन्तव्यका क्रममा यो पुरस्कारलाई नेपाली हास्यव्यङ्ग्यको मदन पुरस्कार, नोबेल पुरस्कार हो भन्नु भयो । ‘आज ममात्र सम्मानित भएको हैैन, सिस्नपानी नेपाल र हास्यव्यङ्ग्यको श्रीवृद्धिमा क्रियाशील सिस्नुपानी नेपालका सबै साथीहरू सम्मानित हुनु भएको छ, र यो पुरस्कारको हकदार उहाँहरू पनि हुनुहुन्छ ।’

मन्तव्यको क्रममा कवि रमेश खकुरेलले वासुदेवसँग पहिलो भेट हुँदादेखिको संस्मरण सुनाउनु भयो भने गुठीका पूर्व अध्यक्ष यादव खरेलले वासुदेव-विद्यादेव गुठी स्थापना र पुरस्कार घोषणाको ऐतिहासिक सन्दर्भ स्मरण गर्नु भयो ।

त्यसै गरी गुठीकाअर्का पूर्व अध्यक्ष रोचक घिमिरेले हास्यव्यङ्ग्यप्रति वासुदेवले गर्नुभएको समर्पण, त्याग र कौवा प्रकाशनको स्थापना सन्दर्भमा बोल्नु भएको थियो भने शान्तदास मानन्धरले हास्यव्यङ्ग्यमा वासुदेवले पुर्‍याउनु भएको योगदान स्मरण गर्दै बालबालिकासँगै बालकृति विमोचन गर्न पाउँदा अत्यन्त रमाइलो लागेको बताउनु भयो ।

प्रमुख आतिथेय मन्तव्यको क्रममा नृत्य सम्राट भैरवबहादुर थापाले २०१०/११ सालदेखि वासुदेवसँग सम्पर्क सम्बन्ध रहेको चर्चा गर्दै २०१५ सालतिर वासुदेवले लेख्नुभएको रेशम फिरीरी व्यङ्ग्यात्मक गीतका केही टुक्रा सुनाउनु भयो । वासुदेवले पन्ध्र सालमा देख्नु र लेख्नु भएको देशको अवस्था आजसम्म पनि रेसम फिरीरी नै रहेको पाउँदा आफूलाई आश्चर्य लागेको बताउँदै भन्नु भयो- ‘यस्तो बेथितिका बीच वासुदेव अझै जीवित हुनुहुन्छ, यो बेथितिका विपक्षमा हास्यव्यङ्ग्य गरिरहनु भएको छ ।’

गुठीका सदस्यसचिव डा. विद्यादेव लुइँटेलले आमन्त्रित सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । फित्कौलीका सम्पादक नरनाथ लुइँटेलले वासुदेवकै अभिप्रेरणाद्वारा आरम्भ भएको फित्कौलीमा प्रकाशित ‘हास्यदेव-वासुदेव’ शीर्षकको कवितासँगै आरम्भ भयो रसमाधुरी अन्तर्गत हास्यव्यङ्ग्य कविता सिर्जनाको प्रस्तुति ।

डा. बमबहादुर जितालीले आफ्नो व्यङ्ग्य कवितामा वासुदेवलाई नै स्मरण गर्नु भयो भने अनिल पौडेल ‘कीर्ते’को कविताले चाहिँ वासुदेवकै सहयात्री भैरव अर्याललाई सम्बोधन गरेको थियो । गायत्री लम्सालको हामी सबैलाई पशु बन्न आग्रह गरेको थियो भने प्रेम ओलीको कविताले शहरबासीको दुर्दशलाई ओकलेको थियो । डिल्लीप्रसाद मूलतिहुनको छन्दकवितामा पनि वासुदेव, चटयाङ र हास्यव्यव्यङ्ग्यको हैकमलाई उजागर गरिएको थियो ।

कवि डम्बर घिमिरेले मन्त्रीका ढ्याङ्ग्री न्याङ्ग्री भन्दा आफ्नै बुढी राम्रीलाई स्वरबद्ध गरेर हँसाउनु भयो भने अन्त्यमा धीरेन्द्र प्रेमर्षिले चटयाङको चर्चित सङ्गीतबद्ध कविता ‘भोटै दिए पनि आउने यिनै हुन्…’ गाएर साँच्चैको रसमाधुरी पान गराउनु भएको थियो ।

फित्काैली डटकमका सल्लाहकार चट्याङ मास्टरलाई खित्काैलीपूर्ण बधाई ।

०००
– रेहित सैजू, फित्कौली डेस्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x