सुलसुलेराष्ट्रिय कविता महाेत्सवका उत्कृष्ट १० कवि पुरस्कृत
नेपाल प्रज्ञा -प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव- २०८०’ का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा पुरस्कार अर्पण गर्नुभयो ।

काठमाडौँ। नेपाल प्रज्ञा -प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव- २०८०’ का उत्कृष्ट कविहरूलाई प्रमुख अतिथि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा पुरस्कार अर्पण गर्नुभयो ।
यसैगरी काठमाडौँका कवि उमेश पुनको नेपाली भाषाको कविता ‘छोरी, सिमाना र देश’, सुनसरीका कवि कृपा करुणा पोखरेलको नेपाली भाषाको कविता ‘रक्तिम कथा’, दार्चुलाका कवि खिमानन्द जोशीको डोटेली भाषाको कविता ‘ईजा ! मुई गोठ नाइँ झान्या हुँ’, उदयपुरका कवि जीवन आरोहीको नेपाली भाषाको कविता ‘प्रश्नहरूको विज्ञप्ति’, रोल्पाका कवि टङ्कबहादुर झाँक्री मगरको खाम मगरभाषाको कविता ‘हुन्के बे बड्डा’, सुनसरीका कवि तीर्थराज विश्वकर्माको नेपाली भाषाको कविता ‘कविले के सम्झियो ?’, दाङका कवि नवीन अभिलाषीको नेपाली भाषाको कविता ‘भेरी : अभिशप्त बगिरहेछ’,डोटीका कवि पूर्णानन्द ओझाको डोटेली भाषाको ‘कविता सन्निको मान्स’, सुनसरीका कवि प्रकाश दिप्साली राईको नेपाली भाषाको कविता ‘नौरानको नाम’र काठमाडौँका कवि राधिका कल्पितको नेपाली भाषाको कविता ‘परिचय-पत्र’ गरी १० जना उत्कृष्ट कविताका कवि जनही २० हजार र प्रमाणपत्रसहित पुरस्कृत हुनुभयो ।
उक्त पुरस्कार अर्पण समारोहका विशिष्ट अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ‘कविले नेपाली समाजलाई अध्येताको आँखाबाट हेर्न सक्नुपर्छ ,विश्वलाई नेपाली कविले मौलिक स्वादका कविता दिन सक्नुपर्छ’भन्ने धारणा राख्नुभयो।
यसैगरी राष्ट्रिय कविता महोत्सव -२०८० पुरस्कार अर्पण समारोह नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा सम्पन्न भयो । उहाँले ‘यस पटकदेखि सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा-प्रतिष्ठान भन्ने मूल ध्येयका साथ कविता महोत्सवलाई समावेशी र सहभागितामूलक सिद्धान्तको रूपमा आत्मसात् गर्दै प्रथम, द्वितीय र तृतीय हुने परम्परागत ढाँचालाई बदल्दै प्राप्त कविका कविता मध्येय उत्कृष्ट १० कवि र कविता घोषण गर्न सुरु गरेका हौँ।यसले नेपाली जातजाति र भाषाभाषीको साझा भावनालाई विकास गर्छ।’ भन्नुभयो ।
समारोहमा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’ विमल निभा’ले स्वागत मनतव्य राख्नु हुँदै ‘एकलभाषी कविता महोत्सव हुँदै आएकोमा यससम्बन्धी संरचनात्मक शैली हेरफेर गरेर राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाएकाले नै सबै भाषाका कविहरूको आकर्षण बढेको हो’ भन्नुभयो ।
यस समारोहको सञ्चालन गर्दै प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले फरक स्वाद र शैलीका साथ यस पटकदेखि सुरु गरिएको बहुभाषिक ‘राष्ट्रिय कविता महोत्सव’मा सर्वाधिक कविता आएका छन्। यसले प्रज्ञा-प्रतिष्ठानप्रति कविहरूको आस्था र विश्वास बढेको बताउनुभयो ।
यस्तै प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले यस पटकदेखि राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक र समावेशी बनाइएकाले नेपालमा बोलिने १२४ भन्दा बढि भाषाभाषीको आस्थाको केन्द्र प्रज्ञा-प्रतिष्ठान भएको बताउनुभयो । उहाँले ८९२ वटा कविता इमेल र प्रत्यक्षमार्फत दर्ता हुन आएकामा मूल्याङ्कन समितिले १० वटा उत्कृष्ट कविता छनौट गरेको उल्लेख गर्दै युगको ज्वलन्त आवाज कविताले बोलेको प्रष्ट पार्नुभयो। यसै क्रममा बस्नेतले राष्ट्रिय कविता महोत्सव -२०८०को सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
यस प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतको संयोजकत्वमा ५ सदस्यीय ‘राष्ट्रिय कविता महोत्सव-२०८० कविता मूल्याङ्कन समिति’ गठन भयो । यसैगरी सदस्यहरूमा प्रतिसरा सायमि, रमण घिमिरे, ओमकार उप्रेती ‘प्रथा’, हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात ) र दीपक सापकोटा रहेको उक्त समितिले उत्कृष्ट १० कवि र कविताको चयन गरेको हो ।
०००
– चेतनाथ धमला
Subscribe
Login
0 Comments
Oldest












































