साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तारे गोरु

घरको डिलमा बसेर हेरिरहेको काइँला बाले केही गर्न नभ्याउँदै तारेले उनैको आँखा अगाडि सब काम तमाम गरेछ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

तारे भन्ने बित्तिकै निधारमा सेतो अन्यत्र अर्कै रंगको रौं भएको भन्ने बुझाई सामान्य हो । तारा भनेको ब्रम्हाण्डमा रहेको अनेकन पिण्डहरू मध्येको कुनै एक पिण्ड हो जुन रातमा टलल टल्किएको देखिन्छ । यस अर्थमा तारे नाम विशेष महत्वको हो भन्ने बुझ्नुपर्छ ।

यहाँ चर्चा गर्न लागिएको विषय अलि फरक खालको र प्रेमकहानीमा आधारित छ । एकपटक एउटा तारे गोरुले छिमेकमा भएकी माली गाईलाई देखेछ । माली गाई चिटिक्क परेकी झिलिमिली देखिने रहिछ । तारे माली देखेर भुतुक्क हुँदोरहेछ । माली पनि बेलाबखत पल्लो गोठतिर हेरेर बाँ बाँ गर्दिरहिछ । तारे र मालीको धेरै समयसम्म आँखा जुधाजुध पछि प्रेम बसेछ । डाँडागाउँको हरियो चौरमा चर्न गएको बेला कतिपटक त भेटघाट पनि भएको रहेछ । भेटेको बेला दुवै मिलेर डाँडाघरे काइँला बाको बारीमा पसेर बाली पनि खाइदिएका रहेछन् ।

विचरा ! तारे आफू युवावस्थामा नै सुमरिएको त भुसुक्कै भुलेको रहेछ । एकदिन डाँडाघरे काइँला बाको परालको माचमुनी खसेका परालका त्यान्द्रोहरू खान भनेर गएको बेला तारेले भित्तामा ठड्याएर राखेको हरिस देखेछ । हरिस देख्नेबित्तिकै विचराको खलखली पसिना झरेछ । पसिना झर्नुको कारण त के रहेछ भने तारेको चारै गोडा बाँधेर लडाई त्यही हरिसले केही समय अगाडि मात्रै राजखानी चेपेर सुमरेको रहेछ । हरिस देख्नासाथ ऊ बेला उसलाई सुमर्ने काममा काइँला बा पनि लागेका रहेछन् भन्ने थाहा भएर हो कि के हो काइँला बाप्रति तारेले बदलाको भावना लिएछ । त्यति मात्रै हो र ! काइँला बाले तारेलाई लगेर गैह्री सिमखेतमा पटक पटक जोतेको र जोत्दा हलो ढुङ्गामा अड्केको बेला समेत डडाल्नुमा लौरोले ठोकेको समेत रहेछ । विचरा ! तारे यी सबै कुरा सम्झेर एकछिन त परालको त्यान्द्रो खान छोडेर धुरुधुरु रोएछ ।

एकदिन माली गाईले साँढे खोजि गरे झैं गरेर कराएको सुनेर काइँला बाले पल्लो गाउँबाट घच्चिको साँढे खोजेर ल्याई तारे कै अगाडि माली गाई साँढेलाई सुम्पिदिएछन् । तारे रिसले चुरचुर भएर भएभरको बल झिकेर दाम्लो छिनाई पल्लो गोठ तिर हुईकिएर गै साँढेको बातो बस्ने गरी सिङ्ले हानेछ । विचरो ! साँढेको पछाडिको गोडामा ठूलै घाउ भएकोले पछाडिको गोडाले शरिरको बोझ थाम्न नसकेर साँडे मालीगाईको बुई चढ्न नसक्ने भएछ ।

घरको डिलमा बसेर हेरिरहेको काइँला बाले केही गर्न नभ्याउँदै तारेले उनैको आँखा अगाडि सब काम तमाम गरेछ । गोरुले साँढेलाई हानेर आफूले गाई ओगटेर बसेको देखि नसकेका काँइला बा रन्थनिँदै सिमलीको लाठो लिएर तारेलाई ठोक्न तम्सेर लम्केको बेला तारेले एकछिन अगाडि मात्रै गोब्र्याएको गोबरमा खुट्टा परेर चिप्लिएर लडेछन् । आइयौ ! भन्दै उठ्न नपाई तारे सुईंकुच्चा ठोकेछ । माली गर्भिणी हुने सम्भावना क्षीण छ भन्ने कुरा काइँला बालाई राम्ररी थाहा थियो । हरिसले चेपेर तारेलाई आफ्नै हातले सुमरेको थियो काँइला बाले ।

अब साँढे घर ल्याएर केही नहुने भो गाई नै पल्लो टोल तिर लगेर साँढे लगाएर ल्याउनु पर्यो भनेर काइँला बा माली लिएर हिडेछन् । यता तारे माली गएको बाटो हेर्दै सुक्सुकाउँदै बसेछ । तारेले मन मनमा सोचेछ कि मलाई हरिसले नचेपेको भए आज माली लिएर गाउँ गाउँ चहार्नु पर्थ्यो ? ठिक्क पर्यो ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x