यादव खरेलसांसदको वकपत्र
गाउँका हजारौँ रोगीहरूको स्वास्थ बेचेर औषधी खर्च ख्वाएर आफ्नो स्वास्थ्य बनाइयो । पटकपटक विदेश जाँदा डलर भत्ताको दोहारो भुक्तानी लिएर पनि गनाइयो ।

जन आन्दोलनपछि, जनताले छानेको म सांसद हुँ
यो मेरो वकपत्र हो, यसलाई भाषण नठान्नु होला ।
म जे भन्दै छु, यसपाला त साँच्चै भन्दैछु
सांसदको बोली भनेर अन्यथा नमान्नु होला ।।
प्रत्येक पटक समीकरण बदल्ने बेलामा
आफ्नो प्रतिनिधित्व बेच्न पाइयो ।
राजनैतिक आस्था र विश्वास बन्धकी राखेर
बेला-बेलामा मन्त्रीको जागिर पनि खाइयो ।।
अदालतद्वारा अपराधी ठहर्याइएका
चोर, डाकु र ज्यानमाराहरूलाई पनि
पार्टी कार्यकर्ताको नाममा विशेष निणर्य गरेर छुटाइयो
सरकारी अड्डा र संस्थानमा मात्र होइन
सामाजिक संघ संस्थाहरूका पद पनि
आफन्तहरूलाई लुटाइयो । ।
संसदमा आफैले आफ्नो तलव भत्ता र सुविधाहरू बढाउँदा
जीवनभरिको राजनैतिक त्याग बेच्न पाइयो ।
गरीब नेपाली रैतीको रगत पसिनाको शोषण गर्दै
जनसंघर्षको इतिहास बेचेर खाइयो ।।
आफ्नो जिल्लाका फुस र स्वरका थुप्रै झुप्राहरू बेचेर
काठमाडौंमा बल्ल एउटा महल ठड्याइयो ।
आफूजस्तै सर्वहारा भएर छोराछोरीले दुःख नपाउन् भनेर
सन्तानका लागि वैभवको जग अड्याइयो ।।
गाउँका हजारौँ रोगीहरूको स्वास्थ बेचेर
औषधी खर्च ख्वाएर आफ्नो स्वास्थ्य बनाइयो ।
पटकपटक विदेश जाँदा
डलर भत्ताको दोहारो भुक्तानी लिएर पनि गनाइयो ।
जिल्लाका धेरै गोरेटो र घोडेटो बेचेको मूल्य
एउटा पजेरो पाइयो ।
त्यै पजेरो पनि व्यापारीलाई बेचेर
दस बाह्र लाख सित्तैमा कमाइयो ।
जनप्रतिनिधि हुनुको इमान बेचियो
चुनावमा जनतालाई दिएको जमान बेचियो ।।
देश र प्रजातन्त्रको आन बेचियो
नेपाली हुनुको स्वभिमान बेचियो ।।
खसिबोका जस्तै मूल्य सूची घाँटीमा टाँसेर
आफैलाई पनि बिक्रीमा लेखाइयो
अब बेच्न सकिने कुरै के बँकी छ र
सबै पुरूषार्थ जनतालाई देखाइयो ।।
०००
‘सिस्नुपानी’ बोट १, झाम्टो २, २०५५
Subscribe
Login
0 Comments
Oldest







































