खलिल जिब्रानउचाई
म त यहाँ मात्र मदिरा देख्छु जसलाई म पिउन चाहन्छु ता कि ममा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस् र यहाँहरूको उचाईमा पुग्न सकुँ।

अनुवाद :: एकदेव अधिकारी
चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभिइरहेका थिए।
पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”
दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ ।”
तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाई आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु । म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन् ।”
चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर ! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु । म त यहाँ मात्र मदिरा देख्छु जसलाई म पिउन चाहन्छु ता कि ममा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस् र यहाँहरूको उचाईमा पुग्न सकुँ।”
अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।
ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।
०००
‘Poets’ बाट
Subscribe
Login
0 Comments
Oldest


































