खलिल जिब्रानदोश्रो भाषा
कुराकानीको क्रममा उनले भने, “म हमेशा जान्दथे कि तिमी एक दिन अवश्य एक महान संगीतज्ञ बन्नेछौ ।” मैले उनको भनाइमा विश्वास गरें किनकि मैले अब भने उस दुनियाँको भाषा बिर्सी सकेको थिएँ ।
भावानुवाद : टंक कार्की
म जन्मेको तीन दिन भएको थियो, म रेशमी झुलमा सुतेको थिएँ । म वरिपरिको नयाँ दुनियाँलाई आश्चर्य चकित नजरले हेर्दै थिएँ । मेरी आमाले धाई आमासित सोधिन्, “मेरो छोरो कस्तो छ ?”
धाई आमाले भनिन्, “साह्रै राम्रो छ, मालिक्नी । मैले उसलाई तीन पटक दुध पिलाई सकें । यो भन्दा अघि मैले यति सानो उमेरमा यस्तो प्रशन्न बच्चा देखेकै थिइन ।”
मलाई झ्वाँक चल्यो । म चिच्याएँ, “यो साँचो होइन, आमा ! मेरो विछ्यौना कडा छ । मैले चुसेको दुध त खल्लो थियो । उनको स्तनको दुर्गन्ध मेरो नाकमा ह्वास्सै आउँथ्यो । मलाई त साह्रै दुःख लागेको छ ।”
तर मेरी आमाले मेरो कुरा बुझिनन्, न त धाई आमाले नै । किनभने मैले बोलेको भाषा त म आएको उस दुनियाँको न थियो ।
म जन्मेको एक्कासौं दिनमा मेरो न्वारन हुँदै थियो, पादरीले मेरी आमालाई भने, “तपाई त खुशी हुनु पर्ने हो, मालिक्नी । तपाईंका सुपुत्र ईसाई नै भएर जन्मेका छन् ।”
म त चकित भएँ र मैले फादरलाई भनें, “त्यसो भए तिम्री आमा स्वर्गमा दुखित भएकी होलिन्, किनभने तिमी त ईसाई भएर जन्मेका थिएनौ ।”
मेरो भाषा पादरीको भेजोमा घुस्दै घुसेन ।
शुक्ल पक्षको सत्तमि पछिको कुरा हो, एक दिन एउटा ज्योतिषीले मेरी आमालाई भने, “तपाईंको छोरो राजनीतिज्ञ हुनेवाला छ र मानवजातिको ठुलो नेता हुने छ ।”
म चिच्याएँ, “यो भविष्यवाणी गलत छ । म त संगीतज्ञ बाहेक केही हुनेवाला छैन ।”
परन्तु त्यस उमेरमा मेरो भाषा बुझ्ने कोही भएन ।
तेतिस वर्षपछि । मेरी आमा, धाई आमा र पादरी सबका सब परमधाम गई सकेका थिए (हे भगवान उनको आत्माले शान्ति पाओस !) तर ज्योतिषी भने अझै जीवित थिए । मैले उनलाई एउटा मन्दिरको बगलमा भेट्टाएको थिएँ । कुराकानीको क्रममा उनले भने, “म हमेशा जान्दथे कि तिमी एक दिन अवश्य एक महान संगीतज्ञ बन्नेछौ ।”
मैले उनको भनाइमा विश्वास गरें किनकि मैले अब भने उस दुनियाँको भाषा बिर्सी सकेको थिएँ ।
०००
Subscribe
Login
0 Comments
Oldest































