साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोप्टे युग

घरमा आएका पाहुना मोबाइलमा घोप्टनेदेखि, घरवाला चिया पकाउने धुनमा भान्सामा घोप्टनेसम्म, बालबच्चा टिभी खोलेर ल्यापटपमा घोप्टिनेदेखि, हजुरबा थला परेर ओछ्यानमा घोप्टने सबै परिस्थितिगत घोप्टाइहरु हुन्।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

आधुनिक युगलाई चुनौती दिँदै विकास भएको नयाँ युग हो, घोप्टे युग । यो युगका जन्मदाता कुनै व्यक्ति विशेष होइनन् । यो युगको सुरुवात कसले ग-यो त्यो अनुसन्धानकै पाटो रह्यो । घोप्टे युगसँग हातेमालो गरेर यसलाई मलजल गर्न तपाईं, हामी हाजिर छौं रात दिन।

तपाईँ हामीले मलजल नगर्ने हो भने यो अल्छे तिघ्रो स्वादे जिब्रो हुनेका लागि समय कटाउने मेलो नपाएर डोरीको फेरो लगाई स्वर्गको ढोका ढकढक्याउने मार्ग तर्फ उन्मुख हुने देखिन्छ ।

अचेल मोबाइलमा घोप्टिन नपाए बच्चाबच्चीले न दुध घुट्क्याएर आँत रसाउँछन् न अन्नको गाँस नओकली पेट भर्छन्। केटाकेटीको धाई नै बनेको देखिन्छ मोबाइल।

केटाकेटीको मात्र कुरा के गर्नु । युवा युवतीलाई पनि यसो विचार गरौं। खाना खाने बेला होस् वा शौचालयमा विकार त्याग्ने बेला होस् मोबाइल सँगै भएन भने यिनीहरुलाई न खानाको गाँस रुच्छ। न पेटको विकार निकास हुन्छ। सुत्दा पनि मोबाइल साथै चाहिने पढ्दा पनि मोबाइल साथै चाहिने हुनाले सबैभन्दा बढी यसको युवा जगतले नै मलजल गरेको देखिन्छ । आफ्नो गिजा देखाएर रेस्टुरेन्टमा पिजा खाइरहेका छोराछोरीसँग मस्किने बुढाबुढी पनि के कम । उनीहरूको विषयमा कुरा गरिदिएन भने कुचोले झट्याउने हुन् या लोहोरोले बजार्ने हुन् पत्तो हुँदैन। बिहान भगवानको भजनमा घोप्टिने, दिउँसो लोकगीत संगीतमा घोप्टिने र बेलुका गन्थन मन्थनमा भेटिने बुढाबुढीले विदेशमा गएका आफ्ना आफन्तजनसँग हाँसो छोड्दै आँसु झार्दै कुरा गरिरहेका हुन्छन्। त्यसैले यो सबैको मनमा बसेको छ, घोप्टे युग भएर ।

हजुरबाले तलामाथि जान उहिले उहिले घोप्टे लगाएर थुनिदिन्थे । घोप्टे लगाएपछि न बिरालोले ठेकीको दुध पोखिदेला भन्ने पिरलो न जहान परिवारले घ्युको हर्पे कुदाउलान भन्ने झिरलो सबैबाट मुक्त हुन लगाइने छप्परी थियो घोप्टे। घोप्टे तान्न नजाने औंला च्यापेर आँखा रसाउनेदेखि टाउकोमा आलु फलाउन समेत बेर नलाग्ने । जे होस् त्यसबेलाको उपयोगी सन्दुक नै हो घोप्टे । जहाँ पनि जतिबेला पनि घोप्टिरहने भएकोले सबैको मानमर्यादा राख्दै यसलाई घोप्टे युग भनेर शीर्षक राख्न मलाई कुनै आइतबारको साइत हेर्नु परेन।

आधुनिक घोप्टे युगको आधार मोबाइल नै हो । अहिले ओठ निचर्दा दूध आउला जस्ता केटाकेटीहरू कम्तीमा १५ /२० हजारका मोबाइल गोजीमा खाँदी कानमा ठेडी जाकेर आफै सुर बेसुरमा कलेजमा घोप्टिन आइपुग्छन्।

पहिले पहिले शिक्षकहरुले ‘हातमा पोस्तक मनमा दश थोक’ भनेर विद्यार्थीलाई आहान सुनाउँथे । अहिले नियालेर हेर्दा त्यो दृष्टान्त सहित व्यवहारमा लागू भएको देख्दा शिक्षकलाई दूरदर्शी नभने कसलाई भन्ने । कक्षा कोठामा ढोका ढप्क्याएर पढ है केटाकेटी हो भन्दै मोबाइलमा घोप्टिने उम्दा शिक्षक हुन् वा वाइफाइको कनेक्सन खोज्दै भौतारीरहेका चुलबुले विद्यार्थीहरू सबै घोप्टिने युगका बफादार सदस्यहरू हुन्। सरकारले सम्पूर्ण सरकारी कार्यालयहरूलाई डिजिटलमा रूपान्तरण गरेपछि अहिले घोप्टिनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ। काम गर्दागर्दै ल्यापटप वा कम्प्युटरमा तास खेले पनि भो। प्रियसीसँग च्याट गरेर बसे पनि भो। भजन सुन्ने हो कि फिल्म हेर्ने हो टिकटक बनाउने हो कि र्याप गाउने हो सबै सुविधा भएपछि दुनिया न घोप्टे को घोप्टिन्छ । घोप्टिने कारणले मानिसको सिर्जना शक्ति मृत बनेको छ। अहिलेको मान्छे मस्तिष्कमा मरुभूमि बोकेर बाँचिरहेको छ ।

प्रविधिको विकाससँगै मौलाएको घोप्टे युग आजका पुस्ताको मार्गदर्शक बनेको देखिन्छ। के पुङ न पुच्छरको कुरा गर्छ भनेर चियो गर्न खोज्नु भयो होला । त्यो तपाईंले पाउनुहुन्छ । आफन्तकामा जाँदा हातमा एक हातो केरा कोसेली बोकेर पाहुना लाग्न जाने हुन् वा खाली हात चुइगम पड्काउँदै सोफामा अरगज्ज परि दहि , चिउरा र स्याउको आसमा थुक निल्दै गरेका दाम्रे पाहुना हुन् । यिनीहरु ट्वाल्ल परेर घरको वाइफाइ पाउने आसमा मुखामुख गरिरहन्छन् । वाइफाइ जोडिदिएपछि घरधनीको खाजा पनि टर्ने र समय बितेको पत्तो पनि नहुने ।

घोप्टने चलनले शरिरमा गानोगोला चल्ने र मनोरोग मौलाउने समस्या देखा परेको छ । टाउको दुख्ने , आँखा पोल्ने, कसैसँग बोल्न मन नलाग्ने, दिक्क लागेर आउने जस्ता समस्या बोकेर अस्पताल भरिएको छ । हिजोआज मानिसहरू यति घोप्टे भएका छन् कि घरमा आएका पाहुनासँग दुःख सुखका कुरा हुन छोडेका छन् भने सन्चो बिसन्चो औपचारिकतामा सीमित भएको छ। अचेलको मान्छे लामो गफ गरेर अलमलिनुभन्दा कोठाभित्र पसेर घोप्टिनुमै बढी उपलब्धि ठान्छ र दुई चार प्रश्नको उत्तरभन्दा बढी दिन रुचाउँदैन । यसभित्र तपाईँ र मभन्दा बाहेक अरुको साक्षी बन्नु पर्ला र । अचेल थरीथरीका घोप्टाइहरू विकास भएका छन् । घरमा आएका पाहुना मोबाइलमा घोप्टनेदेखि, घरवाला चिया पकाउने धुनमा भान्सामा घोप्टनेसम्म, बालबच्चा टिभी खोलेर ल्यापटपमा घोप्टिनेदेखि, हजुरबा थला परेर ओछ्यानमा घोप्टने सबै परिस्थितिगत घोप्टाइहरु हुन्।

संसारमा मानिसहरू कोही उन्नति प्रगतिका लागि घोप्टिरहेका होलान् ।कोही बकुल्लो झैँ केही पाउने आसमा घोप्टिरहेका होलान् । बेरोजगारीहरु रोजगारीका लागि कसैको पाउमा घोप्टिरहेका होलान् । लोकसेवा तयारी गरेका मान्छेहरु किताबका पाना पल्टाएर भविष्यको योजना बनाउन घोप्टीरहेका होलान् । घोप्टिने यो क्रम निरन्तर रूपमा जारी रहन्छ। घोप्टिएन भने मान्छेको जीवन निरर्थक हुन्छ। अधोगतितिर जान्छ। तपाईँ पनि अहिले के काममा घोप्टिरहनु भएको छ। यसो माथि हेर्नुस् त तपाईँलाई पनि कसैले घोप्टिएर हेरिरहेको छ । सचेत रहनुहोला सबै घोप्ट्याई फलदायी नहुन सक्छन्। कोही घोप्ट्यो भनेर उसको निन्दा नगरौँ।

निन्दा गरियो भने घोप्टे युग समाप्त हुन्छ र यो भन्दा जटिल युगमा बाँच्ने समय आउन सक्छ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
भोट माग्न आउनेहरू

भोट माग्न आउनेहरू

भोलानाथ सुबेदी
हाम्रो लौरो खै ?

हाम्रो लौरो खै ?

भोलानाथ सुबेदी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x