चिरञ्जीवी दाहालहाँसो र यसका प्रकारहरू
एउटा प्रसिद्द भनाइ छ, “कुकुरको स्वभाव भुक्ने हो मान्छेको स्वभाव हाँस्ने हो ।” त्यसैले कुकुरले भुक्नु पर्छ र मान्छेले हाँस्नुपर्छ । धर्म संस्कार र परम्पराको जस्तोसुकै मान्यता होस्, हाँस्न भने छोड्नु हुन्न ।

चिरञ्जीवी दाहाल :
तनावपूर्ण र कठोर परिस्थितिको सामना गर्दा, मनभित्र डर उत्पन्न हुन्छ । त्यसबेला रचनात्मक शक्ति स्थिर हुन्छ र मष्तिष्क स्तब्ध हुन्छ । यस प्रकारको तनावमा मान्छेले केही सोच्न सक्दैन । यसबेला उसले कुनै किसिमको निणर्य गर्न पनि सक्दैन । तसर्थ यस प्रकारको तनावमा तुरुन्त उपचारको खाँचो पर्छ । समयमा उपचार नपाए मान्छेको मानसिक सन्तुलन बिग्रन सक्छ । त्यस्तो अवस्थामा तुरुन्त उपलब्ध हुने सर्वसुलभ प्राथमिक उपचार भनेको हाँसो हो । हाँसोमा त्यस्तो शक्ति हुन्छ, जसले तनावपूर्ण अवस्थालाई तुरुन्त सहज वातावरणमा ल्याइदिन्छ ।
मानव हाँसो विभिन्न उत्तेजना, आन्तरिक र बाह्य प्रतिक्रियाको परिणामस्वरूप प्रस्फुटन हुने एक शारीरिक प्रतिक्रिया हो । जुन एकै समयमा अनुहार र मुखले आन्दोलन गर्दा एक प्रकारको विशिष्ट आवाजको साथमा निस्कन्छ र तुरुन्त समाप्त हुनेगर्छ ।
हाँस्दा मानसिक एवं शारीरिक स्वास्थ्यमा निकै फाइदा पुग्छ भन्ने गरिएको छ । दिल खोलेर हाँस्दा मान्छेको सोच्ने शक्तिमा बढोत्तरी हुन्छ । कल्पना गर्ने क्षमतामा वृद्धि हुन्छ । भनिन्छ, हाँसेको बेला फोक्सोले छिटो छिटो काम गर्ने भएकाले शरीरले प्रशस्त मात्रामा अक्सिजन पाउँछ भने उच्च रक्तचाप घटेर सामान्य अवस्थामा आउँछ । त्यसैले आजैबाट हाँस्न सुरु गरिहाल्नुहोस् । श्रेष्ठताको भावनाले हाँसो पैदा गर्छ । हाँसो तब आउँछ जब कसैलाई असहज स्थितिमा देखिन्छ । कसैले गल्ती वा मूर्खतापूणर् व्यवहार देखाउँछ, यस्तो स्थितिमा हाँसो आउँछ । हाँस्यव्यङ्ग्य साहित्यका निबन्ध, कथा, कविता, प्रहसन, नाटक, गीत आदि प्रस्तुत गर्दा कुनै पात्र कल्पना गरेर उसलाई मूर्ख बनाएर, उस्को गल्ती र कमिकमजोरी देखाएर हाँस्य सामाग्री तयार गर्ने गरिन्छ । कसैलाई अप्ठ्यारो पर्दा वा कसैको दुर्भाग्य देखिँदा पनि मान्छेहरू हाँस्ने गर्छन् । सर्कसमा, जोकरले हिँड्दा र अभिनय गर्दा दर्शकहरू हाँस्छन् । हुनत यति मात्र पनि सबैका लागि पर्याप्त र बलियो आधार नहुन सक्छ । एउटै विषयले सबैलाई हँसाउन सकिन्छ भन्ने हुँदैन । जब हामी कसैसँग कुरा गर्दा हाँस्छौँ भने यसलाई राम्रो मानिँदैन । यसरी हाँस्दा उसले आफूलाई सानो तुल्याएको, होच्याएको वा मुर्ख भन्न खोजेको ठान्न सक्छ । अतः हाँस्दा विचार पुर्याएर मात्र हाँस्नुपर्छ । मुख्य कुरा के सम्झनुपर्छ भने हाँस्न र हँसाउन त्यति सजिलो भने छैन ।
हाँसो र धर्म :-
सामान्यतयाः सबै धर्म सम्प्रदायका अनुयायीहरूले हाँस्ने गरे पनि अधिकांश धर्मले भने हाँसोलाई त्यति राम्रो मान्दैनन् । पारसी धर्म बाहेक संसारका अधिकांश धर्महरू हाँसोको विरुद्धमा देखिएका छन् । हिन्दू परम्परामा हाँसोलाई उपहास मानिन्छ । इस्लाम धर्ममा पनि हाँस्न निषेध गरिएको छ । तर धेरै होइन हल्का हाँस्न सकिन्छ । लामो र चर्को हाँसो पूर्ण रुपमा निषिद्ध गरिएको छ । क्रिस्चियन धर्ममा हाँस्नुलाई उचित मानिँदैन त्यसैले क्रिस्चियन धर्ममा हाँस्नुलाई पाप मानिन्छ । बौद्ध धर्ममा हाँसोलाई अपराध मान्ने गरिएको छ । बौद्ध भिक्षुहरूको नियममा हाँसेर अपराध गर्ने भिक्षुलाई संघले हाँस्नु पर्ने कारण सहितको स्पष्टीकरण सोध्ने गरेको सुनिन्छ । जैन धर्मले भने हाँसोलाई अपराध मान्दैन । जैन शिक्षकहरूका लागि हाँसो आफैँमा ध्यान हो । तर हरेक धर्ममा बिस्तारै धर्म संस्कार हराउँदै जाने क्रममा अचेल हाँसोलाई त्यति ठूलो अपराध मान्ने गरेको पाइँदैन ।
हाँस्ने तरिकाहरू एकप्रकारको मात्र पनि हुँदैन । साच्चै वर्गिकरण नै गर्ने हो भने हाँसो सयौँ प्रकारका हुनसक्छन् । तर यहाँ भने हामीले प्रयोगमा ल्याउने गरेका र चलनचल्तीमा रहेका केही प्रमुख हाँसोको व्याख्या गर्ने कोशिस गरिएको छ ।
१. इमान्दार हाँसो :-
इमानदार हाँसो भनेको त्यस्तो हाँसो हो, जुन स्वाभाविक र अन्जानमा आउँछ । यो हाँसो प्राकृतिक भावना र उत्तेजनाबाट उत्पन्न हुन्छ । इमान्दार हाँसोमा कुनै निश्चित उद्देश्य हुँदैन । किनकि यो हाँसो सहज रूपमा भित्रदेखि देखापर्छ । इमान्दार हाँसो स्वास्थ्यका लागि अत्यन्त लाभदायी हुन्छ । शरीरलाई सबैभन्दा आनन्द दिने हाँसो पनि यही हो । यस प्रकारको हाँसो धेरैजसो हास्यव्यङ्ग्य सामाग्रीहरू लेख, कविता, प्रहसन आदिबाट प्राप्त गर्न सकिन्छ ।
२.नक्कली हाँसो :-
यस्तो हाँसोलाई निकै खतरनाक हाँसो मानिन्छ । नक्कली हाँसोमा मान्छेको आँत हाँस्दैन, दाँत मात्र हाँसेको हुन्छ । कहिलेकाँही कसैलाई उपहास गर्न पनि यस्तो हाँसोको प्रयोग गरिन्छ । यस्तो हाँसो स्वेच्छाले भन्दा देखाउनका लागि मात्र गर्ने गरिन्छ । यो सहज अवस्थामा हाँस्ने हाँसो होइन । कुनै एउटा उद्देश्य पूर्तिका लागि यस्तो हाँसो हाँस्ने गरिन्छ । विशेष गरेर कपटी र ईष्र्यालु मान्छेहरूले यो हाँसोको प्रयोग गर्ने गर्छन् । त्यसकारण, नक्कली हाँसो प्राकृतिक भावनात्मक उत्तेजनाबाट आउँदैन, यो हाँसोलाई व्यक्ति आफैले प्रेरित गर्नुपर्छ । यस प्रकारको हाँसोले इमानदार हाँसोले जस्तै शारीरिक एवं मानसिक रुपमा फाइदा पुर्याउन सक्दैन ।
३. अट्टहास वा चर्को हाँसो :-
निकै जोडसँग र ठूलो आवाजमा हाँसिने यस प्रकारको हाँसोलाई अट्टहास तथा चर्को हाँसो भनिन्छ । यस्तो हाँसोले व्यक्तिको मनको कुरा प्रस्तुत गर्छ । त्यसैले एउटा व्यक्तिको अट्टहास अर्को व्यक्तिले नक्कल गर्न सक्दैन । अट्टहासमा पेट, आँखा, गाला र दुवै कुमको भरपुर कसरत हुन्छ । यस्तो हाँसो हाँस्दा प्रायः पेट समातेर हाँस्नु पर्ने हुन्छ । अन्यथा आन्द्रा बटारिने खतरा हुन सक्छ । यो हाँसो हाँस्नुपर्दा टिस्यू पेपर साथमा हुनु आवश्यक मानिन्छ, किनकि यस्तो हाँसोमा आँसु चुहिने सम्भावना हुन्छ । जसका लागि टिस्यू पेपरले सजिलोसँग आँसु पुछ्न सकियोस् । यो हाँसोमा पेटको मसल दुख्न सक्छ । लामो समय हाँस्नु पर्ने कारण मुख पनि दुख्न सक्छ ।
४.सामाजिक हाँसो :-
सामाजिक हाँसो भनेको त्यस्तो हाँसो हो जसले व्यावसायिक वा व्यक्तिगत सम्बन्धमा स्पष्ट संवाद गर्ने काम गर्दछ । मान्छे एक सामाजिक प्राणी हो । उसले समाजमा आफू राम्रो, असल र इमान्दार भएको देखाउन चाहन्छ । तसर्थ हरेक दोस्रो व्यक्तिसँग भेट हुँदा र कुरा गर्दा अधिकांश मान्छेहरू फिस्स हाँस्दै प्रस्तुत हुने गर्दछन् । यस्तो हाँसो केवल औपचारिकताका लागि मात्र हाँस्ने गरिन्छ । यस्तो हाँसोमा आँत र दाँत दुबै हाँस्नु पर्दैन, अलिकति ओठ फिट्दा गरेर मुस्कुराए झैँ गरे पुग्छ । । यो हाँसो केवल औपचारिकताका लागि मात्र हाँस्ने गरिन्छ । यसैलाई सामाजिक हाँसो भनिन्छ । यो हाँसो उद्देश्य प्राप्तिका लागि हाँसिने हाँसो हो । कसैको मन जित्न र मान्छेलाई क्षणिक खुशी दिन यो हाँसोको प्रयोग गरिन्छ । यस हाँसोलाई सजिलैसँग दोस्रो व्यक्तिले नक्कल गर्न सक्छ । तर यो हाँसो पूर्ण रूपमा वास्तविक भने हुँदैन ।
५. सुरक्षात्मक हाँसो :-
कहिलेकाहीँ हाँस्न मन नलागेको अवस्थामा पनि हाँस्न सक्नु पर्छ । अत्यन्त अनुपयुक्त परिस्थितिमा पनि हाँस्नु पर्ने र नहाँस्ने हो भने कसैको मुक्का खानु पर्ने स्थिति आउनसक्छ । त्यस्तो अवस्थामा यस्तो हाँसोको प्रयोग हुन्छ । केही उशृङ्खल भिडमा कुनै व्यक्ति वा राजनीतिक दलका कार्यकर्ताले कसैलाई तथानाम गाली दिँदै गर्दा वा हँस्सीमजाक गरिरहेको स्थानमा तपाईंलाई मन नपरे पनि हाँस्न बाध्य हुनुपर्छ । अन्यथा तपाईंमाथि मुक्का प्रहार पनि हुन सक्छ । यसबेला हाँस्नुको अर्थ होस् वा नहोस् तपाईं हाँस्न सक्नुपर्छ । अन्यथा सामाजिक सन्दर्भमा आधारित अप्ठ्यारो क्षणहरू निम्त्याउन सक्छ । परिस्थिति वस् यो हाँसो तपाईंलाई नै लक्ष्य गरेर तपाईंको विषयमा नराम्रा कुरा गरिरहेको किन नहोस्, तर पनि वाध्य भएर हाँसी दिनुपर्छ । वास्तवमा यो हाँसो मस्तिष्कले प्रयोग गर्ने सुरक्षात्मक संयन्त्र हो ।
६. लहरे हाँसो :-
यो हाँसो आकारमा केही लामो हुन्छ । भित्री मनदेखि निस्कने भएकोले यो अर्गानिक हाँसो हो । मनैदेखि निस्केको कारण यसलाई बीचमा रोक्न भने सकिँदैन । यसले व्यक्तिलाई सिधै पेटमा असर पुर्याउने सम्भावना रहन्छ । किनकि यो हाँसोमा पेट मिचिमिची हाँस्नु पर्ने हुन्छ । अन्य हाँसोको तुलनामा यसलाई अमूल्य मानिन्छ । किनकि यसले अतुलनीय भावनात्मक कल्याणको भाव विकसित गराउँछ ।
७. लुप्त हाँसो :-
सामान्यतया लुप्त हाँसो, कसैले आफ्नो प्रशंसा गरिरहँदा ओठ नखुलाइ र दाँत नदेखाइ प्रकट गर्ने गरिन्छ । जुन, हाँस्ने व्यक्तिले पूर्ण रुपमा अनुभूति गरिरहेको हुन्छ भने देख्नेले निकै विचार गरेर मात्र देख्न सक्छ । यो सामाजिक सन्दर्भसँग सम्बन्धित भएकोले र यसलाई स्पष्ट अभिव्यक्त नगरिने भएकोले यो मौलिक हाँसो भने होइन । जसले पनि सहजै देख्न नसक्ने भएकोले यसलाई लुप्त हाँसो भन्ने गरिएको हो । वास्तवमा, गोप्य रूपमा हाँसिने भएकोले सबैले यो हाँसो नदेख्न पनि सक्छन् । लुप्त हाँसो निकै चतुर व्यक्तिले मात्र देख्न सक्छ । कुनै संस्थाबाट सम्मान पाउँदा, चुनावमा टिकट प्राप्त गर्दा र विजयी हुँदा, प्रतियोगितामा पुरस्कृत हुँदा र कसैले प्रसंसा गरिदिँदा प्रायः यस्तो हाँसो आफसेआफ निस्कने गर्छ । जसलाई रोक्ने प्रयास गरेपनि रोकिँदैन ।
८. सङ्क्रामक हाँसो :-
जँड्याहा, गँजडी र गुण्डाहरू यस प्रकारको हाँसोबाट अत्यन्त नजिक हुन्छन् । जब एउटा जँड्याहा, गँजडी वा गुण्डा हाँस्न थाल्छ, अरुहरू पनि सँगै हाँस्न थाल्छन् । न तिनीहरूलाई हाँस्नु पर्ने कुनै कारण चाहिन्छ न उनीहरू रोकिन्छन् । हाँसो मध्ये सबैभन्दा कठिन हाँसो यही हो । हाँस्ने समुहका सदस्यहरू बाहेक यो हाँसोको नक्कल गर्न कसैले पनि सक्दैनन् । यसलाई मनोरञ्जनात्मक हाँसोको श्रेणीमा राखिएको छ ।
९. व्यङ्ग्यात्मक हाँसो :-
कुनै व्यक्तिलाई कसैको कुरा मन नपर्दा, कसैको व्यवहार वा काम गराई मन परेन भने र सभ्य तरिकाले अर्को व्यक्तिलाई तुच्छ देखाउन यस्तो हाँसोको प्रयोग गर्ने गरिन्छ । व्यङ्ग्यात्मक हाँसो गैर-मौखिक सञ्चारको शक्तिशाली रूप हो ।
यो नक्कली हाँसोको अर्को रुप हो । कसैले व्यङ्ग्यात्मक हाँसो हाँसेको देखियो भने त्यसबेला उसको मनमा हाँसो बाहेक सबैकुरा उत्पन्न भएको हुन्छ । आफू भन्दा कमजोर ठानेको व्यक्तिले कुनै विषयमा आफूमाथि बिजय प्राप्त गर्यो, आफूलाई मन नपरेको व्यक्तिको कसैले प्रशंसा गरेको सुनियो भने मान्छेहरूले व्यङ्ग्यात्मक हाँसो हाँस्ने गर्छन् । राजनीतिक दलका समूह, साहित्यकारको समूह, शिक्षक समूह, विद्यार्थी समूह, कर्मचारी समूह र एउटै पेशा वा व्यवसायी बीच एक अर्कालाई व्यङ्ग्य गर्न र होच्याउन यो हाँसोको प्रयोग हुने गरेको छ ।
१०. दुष्ट हाँसो : –
यो एकप्रकारको नाटकीय हाँसो हो । जसमा कसैलाई षड्यन्त्र गर्नु अघि खराब नियतले हाँस्न थाल्छ भने यो दुष्ट हाँसो हो भनेर बुझ्नुपर्छ । दुष्ट हाँसो प्रायः चलचित्रमा खलनायकद्वारा, चुनावमा भाषण गर्दा नेताद्वारा र दुस्मनलाई प्रतिउत्तर दिँदा प्रयोग गरिन्छ । यस्तो हाँसोबाट मान्छेको मनभित्र लुकेको वास्तविक भाव र विचार स्पष्टसँग बुझ्न सकिन्छ । यस्तो हाँसो निकाल्न सक्ने मान्छेसँग सधैं सतर्क रहनुपर्छ । जसले दुष्ट हाँसो निकाल्न सक्छ, उसको व्यवहार र आनीबानी समेत दुष्ट स्वभावको हुन्छ । कलाकारले बाहेक अन्य कसैले यस प्रकारको हाँसो हाँस्दछ भने तिनीहरूबाट सधैँ टाढै रहनु जाती हुन्छ । हाँसो मध्ये सबैभन्दा खतरनाक हाँसो यही हाँसोलाई मानिन्छ ।
११. रुन्चे हाँसो :-
बच्चाहरू रोइरहेको बेला उसलाई फकाइ फुलाइ गरेर हाँस्न भन्नुस् ऊ एकैचोटि रुन र हाँस्न पनि सक्छ । यस्तो हाँसोलाई रुन्चे हाँसो भनिन्छ । प्रायः रुँदै गरेको बालकलाई उपहार दिँदा, उसले गरेको गल्तीलाई माफ गरिदिँदा यो हाँसो देख्न पाइन्छ । नेता र अभिनेता बाहेक अन्य परिपक्व मान्छेहरूले सितिमिती यस प्रकारको हाँसो हाँस्न सक्दैनन् ।
१२. अश्रु मिश्रित हाँसो :-
कहिलेकाहीँ हाँस्दा हाँसोसँगै आँसु पनि आउने गर्दछ । यस्तो हाँसोलाई अश्रु मिश्रित हाँसो भन्ने गरिन्छ । प्रतियोगितामा पराजयको नजिक पुगेर विजयी बन्दा, हार्ने अवस्थाको मुद्दा जित्दा यो हाँसो फुत्कने गर्छ । प्रायः मन्त्रीमण्डलको सूची बनिरहँदा नाम समावेश नभएका तर घोषणा पछि अचानक नाम आयो भने त्यसबेला सम्बन्धित व्यक्तिले यस्तो हाँसो हाँस्ने गर्छन् । यथार्थ के हो भने, सामुन्ने आइसकेको दुःख अचानक खुशीमा परिवर्तन हुन पुग्यो भने आँखाको डिलसम्म आइसकेको आँसु र मनभित्रको खुशी एकसाथ प्रकट हुँदा अश्रु मिश्रित हाँसो निस्कने गर्छ ।
हाँसोका बेफाइदाहरू :-
हरेक कुराको फाइदा र बेफाइदा हुन्छ । हाँस्नुका अनगिन्ती फाइदा भएजस्तै केही बेफाइदा पनि छन् । जसबारे केही न केहि जानिराख्नु पर्छ । हामीले हाँसो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा पटकपटक सुनेका छौँ । सामान्य अवस्थामा बाहेक बारम्बार हाँस्ने व्यक्तिहरू र आफूलाई नियन्त्रण गर्न नसक्ने व्यक्तिहरूमा हाँसोका कारण सामान्य मनोवैज्ञानिक समस्या उत्पन्न हुनसक्छ । कुनै बेला यस्तो अवस्था पनि आउन सक्छ, मान्छे गम्भीर वा दुःखद घडीमा पनि हाँसिदिन सक्छ । हाँस्ने कार्य स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर अति हाँसो खतरा पनि हुनसक्छ । अतः मनोवैज्ञानिक क्षतिबाट जोगिन धेरै होइन, ठिक्क हाँस्नुपर्छ ।
धेरै हाँस्ने मानिसलाई सामाजिक वातावरणमा पनि कठिनाइ आउन सक्छ । कुनै मानिस दुःखी हुँदा अर्को व्यक्ति हाँस्ने क्रियाकलाप राम्रो मानिदैन । यस्तो अवस्थामा, सामाजिक मतभेद र झगडा समेत हुन सक्छ । कहिलेकाहीँ यस्तो अवस्था पनि देख्ने गरिएको छ, मानिसहरू हाँस्न त सक्छन् तर यसलाई रोक्न सक्दैनन् । हाँस्दा हाम्रो शरीरमा धेरै मांसपेशीले काम गर्ने भएकाले यस अवस्थालाई लामो समयसम्म लम्ब्याउँदा शरीरलाई खतरा हुन सक्छ । विशेष गरी वृद्धवृद्धाहरूमा कडा हाँसोले हृदयघात हुन सक्ने सम्भावना बढाइ दिन्छ । गम्भीर रोगबाट ग्रसित व्यक्तिहरूले पनि यस प्रकारको कडा हाँसो हाँस्दा बिचार पुर्याउनु पर्ने हुन्छ । अति हाँस्दा कहिलेकाहीं च्यापुका मांसपेशीहरूले तीव्र रूपमा काम गर्ने हुनाले, बङ्गारा र घाँटीका मांसपेशीहरूमा सङ्कुचन हुन सक्छ ।
एउटा प्रसिद्द भनाइ छ, “कुकुरको स्वभाव भुक्ने हो मान्छेको स्वभाव हाँस्ने हो ।” त्यसैले कुकुरले भुक्नु पर्छ र मान्छेले हाँस्नुपर्छ । धर्म संस्कार र परम्पराको जस्तोसुकै मान्यता होस्, हाँस्न भने छोड्नु हुन्न । वणर्न गरिएका यी हाँसोहरू मध्ये तपाईले कति प्रकारको हाँसो हाँस्नु भएको छ ? सम्झनुस् त !
०००
चितवन ।
Subscribe
Login
0 Comments
Oldest







































