बिन्ती छ देशघात नगर
तिमी नेता बन । सरकार चलाऊ । तिमी झोले बन । हाकिम बन । आफ्नो लागि जे जे बन्छौ बन ! तर बिन्ती, देशघाती विभिषण नबन । पुर्खाको स्वाभिमानमा बन्चरो नहान !
सुभाषचन्द्र देवकोटा :
भैगो,
तिमी सरकार चलाउ !
म गाउँ मै बस्छु,
पसिना बहाउछु ।
सरकारमा चलाउदा तिमीलाई,
भन्सारमा सेटिङ्ग मिलाउन सजिलो हुन्छ !
सरकारी जग्गा हडप्न मेसो मिल्छ !
सुशासनको कुरा गरेर,
कमिसनको जाल बुन्न सहज हुन्छ !
भैगो,
तिमी नेता नै बन !
म अरबको खाडीमा गएर,
भेडा गोठालो बन्छु ।
नेता हुँदा तिमीलाई,
अपराध लुकाउन सजिलो हुन्छ,
ठेक्का पट्टा दिन, लिन सहज हुन्छ !
कानूनलाई हातमा लिएर
आफ्नालाई उन्मुक्ति दिन र
बिरोधिलाई ठोक्न पाइन्छ !
भैगो,
तिमी राजनीतिक झोले नै बन !
म पसिना बगाएर,
आफ्नै पौरख खान्छु ।
झोले हुँदा तिमीलाई,
सोझा जनतालाई धम्क्याउने बाटो खुल्छ ।
कमिसन र हप्ता उठाउन मेसो मिल्छ ।
काम गर्नु पर्दैन,
लुटेर खान पाइन्छ ।
भैगो,
तिमी हकिम नै बन ।
म सडकछाप,
बेरोजगार बनुँला ।
हाकिम हुँदा तिमीलाई,
नीति कानून मर्काउन सजिलो हुन्छ ।
नेताको भरिया भएर,
मालदार अड्डामा जाने बाटो खुल्छ ।
तिमी नेता बन ।
सरकार चलाऊ ।
तिमी झोले बन ।
हाकिम बन ।
आफ्नो लागि जे जे बन्छौ बन !
तर बिन्ती,
देशघाती विभिषण नबन ।
पुर्खाको स्वाभिमानमा बन्चरो नहान !
०००
गोरखा, हाल काठमाडौं