साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्कुल पुग्नै भ्याइँदैन, पुगे पढाउनै पाइँदैन

जागिरे लोग्ने र घरबस्ने स्वास्नीले एक दिन हिसाब गरेछन् अरे - स्वास्नीले घरमा गरेका यावत् कामको पारिश्रमिक जोड्दा लोग्नेको तलबभन्दा बढी भएछ अरे । लौ यता पो फाइदा रहेछ भनेर जागिर छोडेर लोग्ने पनि भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने, घाँस काट्नेतिरै लागेथ्यो अरे ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

ल,  गर्दै भन्दै जाँदा आज पनि स्कुल जान नभ्याइने भो । तानतुन गरेर मुस्किलले अन्य कामहरू भ्याइन्छ, नभ्याइनेमा जहिल्यै त्यही स्कुल नै पर्छ । मास्टरहरू घर बसीबसी जागिर खान्छन् भनेर दुनियाँ आँखा तर्दै आहारिस गर्छन् तर गाउँघरमा बसेर जागिर खानु जस्तो अप्ठ्यारो, अक्करिलो काम अरू केही हुँदैन । व्रत, पूजा, बिहे, व्रतबन्ध, पास्नी, पुराण, काजक्रिया, स्वस्थानीका साङ्गे, गुन्युचोली, बर्थडे !… यी यस्ता अवसरमा सबैतिर पुग्नै पर्छ । पुगेन भने पढेलेखेको, ठुलो भाको, हामीलाई हेपेको आदि भनेर वक्रदृष्टि लाउँछन् । राती गाउँमा मरिमराउ पर्‍यो, यी आज मलामी जानै पर्‍यो । गाउँ घरमा बसेपछि असामाजिक बन्नु भएन । कस्तो अप्ठ्यारो ! अस्तिका दिन छिमेकीहरूको जग्गाको साँधसिमानाको कचेडामा जिल्लाबाट अमिन आउने भएकाले सरले जसरी पनि बसिदिनुपर्छ भन्ने आग्रह गरेकाले त्यसैमा दिन बित्यो । नाइँ नास्ति गर्न सकिएन । छिमेकी भनेको जिउँदाका जन्ती मर्दाका मलामी भन्छन् । त्यसै दिन अरू सरहरू पनि स्कुल पुग्न भ्याएनछन् । आज सबैलाई पियन सरले पढाउनुभयो भन्दै विद्यार्थी फर्किए अरे ! हुन त स्वास्थ्य चौकीमा पियन डाक्टरले यो औषधि खाँदा निको हुन्छ भनेर दबाइ दिँदा भइराख्या छ, दुर्गम जिल्लामा अधिकृत हाकिमहरू धेरै बस्तैनन्, खरिदार सुब्बाले जिल्ला हाँक्ता पनि भएकै छ भने गाउँको सानो स्कुलमा पियन सरले पढाउँदा के नै फरक पर्छ र ? पढाउने त्यही क ख, अ आ त हो !

हेडसर जिल्लातिर काम छ भनेर प्रायः जसो स्कुल आउनुहुन्न । मुस्किलले महिनामा दुईचार दिन स्कुल पुग्न भ्याउनुहुन्छ । स्कुल आउने विद्यार्थीहरूलाई पनि बोर्डिङका साहूमहाजनहरूले फकाएर मोहनी लगाएर उतै एकोहोर्‍याएका छन् । सरकारी स्कुल सुनसान छन् । आठदश जनाभन्दा बढी विद्यार्थी कुनै कक्षामा छैनन् । खै ! अभिभावकहरूका पैसा धेर भएको त होला नि ! सरकारी स्कुल भनेपछि नाक खुम्च्याउँछन् । सरकारी स्कुलमा नानी पढाउँदा उनीहरूको सामाजिक मर्यादा घटेको, आर्थिक हैसियत नै नभएको भन्ने डेउडो बुझाइ अभिभावकको मस्तिष्कमा भरिएको छ । यो मनोविज्ञानको विकास गराउन बोर्डिङका कैयाँहरू सफल भएका छन् । हुन त अरूलाई किन भन्नु, आफ्नै छोराछोरी पनि बोर्डिङतिरै हाल्द्या छ । हामी सरहरू कसैले पनि आफूले पढाउने स्कुलमा नानीहरूलाई भर्ना गरेका छैनौँ । अहिलेको फेसन भन्नु कि देसान भन्नु स्थिति यस्तै छ ।

केही वर्षअघि द्वन्द्वकालमा संस्कृतका पुस्तकमा स्वधर्मका कुरा, नैतिक ज्ञान, अनुशासन, असल आचरणका कुरा हुन्छन् भनेरै होला माओवादीहरूले पुस्तक च्याते, जलाए । संस्कृत पढाउनेहरूलाई कार्वाही गरे । मास्टरका छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्छ भन्ने उर्दी छाँट्तै तिघ्रे पाखुरेहरूले भाटा नै उज्याए । पढाउन बोर्डिङमै पढाए पनि स्कुलमा नामसम्म लेखाउन बाध्य बनाएका थिए । अहिले तिनै माओवादी हुँ भन्ने मास्टरहरूले आफ्ना नानी बोर्डिङमै पढाइरहेका छन् । यो देशमा अनेक किसिमका हावा हैजा चल्छ । हावा अनुसार बगिदिनुपर्ने हामीले ।

पोहोर सालसम्म हप्तामा एकदुई दिन समय निकालेर स्कुल पुग्न भ्याइँदै थियो । यो सालदेखि अनेक किसिमका कामले च्यापेर पटक्कै फुर्सद निकाल्न सक्नै छोडियो । पार्टीले गाउँपालिकाको जिम्मेवारी सुम्पिएको छ । बाक्लोबाक्लै मिटिङ बैठक गर्नुपर्ने हुन्छ । यसो पार्टीतिर चलखेल नगरौं भने पनि सर्वसाधारण निरीह जनताकै पङ्क्तिमा पुगिन्छ । आफ्नो काम परेको वेलामा नेतालाई कन्याउन चिल्लो लाउन पुग्नै पर्छ । मास्टरको स्थायी, बढुवा, सरुवा, काज, मानसम्मान पुरस्कार जस्ता अवसर छोप्न, चाकाचुलीमा अरूलाई उछिन्न नेताहरूसँग सुमधुर सम्बन्ध बनाउनै पर्छ । स्कुलमा गएर पढाउने मात्रै सारै निरीह निम्जो मास्टरले त मर्न पनि शनिवार नै पर्खिनुपर्छ नत्र मलामी समेत पाइन्न । त्यसैले विभिन्न सङ्घसंस्था, सङ्गठन, पार्टी अनेक समितिहरूमा हात फैलाएर बस्नुपर्छ । आफ्नै शिक्षक सङ्घसङ्गठन पनि छन् । तिनका जिम्मेवारी पनि आइलाग्छन् नै । सङ्घर्ष, बन्द, हडताल, घेराउ जस्ता कार्यक्रममा सक्रियता प्रदर्शन गर्नै पर्‍यो । विपक्षी सङ्घसङ्गठनको प्रतिकार र आफ्ना सङ्घसङ्गठनको प्रचारप्रसार, प्रशंसा गर्न निस्किँदा पनि स्कुल पुग्न भ्याइने कुरै भएन । यस्ता बारमासे कार्यक्रमले हैरान हत्तु नै पार्छन् । स्कुल पुग्ने दिन निकाल्नै गाह्रो !

वर्षाको समयमा यसो अलिकति भएको खेतीपाती गर्नै पर्ने, अर्कालाई दिउँ भने काँक्रो रोप्यो थाङ्ग्रै धनी भनेझैँ भइहाल्छ । वर्षामा बाली लाएपछि हिउँदमा त्यसको थान्कोमुन्को नगर्ने कुरै भएन । घरमै बसेर जागिर खाएपछि दालचामल, तर्कारी, घिउतेल, दुधमा खर्च गर्नु, किनिखानु पनि लाजमर्दो ! घर भनेपछि यसो एकदुईवटा लैना गाईभैँसी, खसीबाख्रा, हाँसकुखुरादेखि लिएर कुकुर बिरालासम्म हुने नै भए । धानको ढुकुटी, भकारी, परालको माच, मकैको थाङ्रो, गाईवस्तुको खोल्मा, दाउरा कटेरो, ढिकी जाँतो नभएको घरलाई त के घर भन्नु ! नत्र त घर पनि उही बजारे डेराजस्तै भइहाल्छ नि !

अस्ति दुईचार दिनअघि आज एक दिन चाहिँ स्कुलमा मुख देखाउनै पर्‍यो भनेर पुगेको मात्र के थिएँ, विद्यार्थीहरू प्रार्थना गर्दै थिए । त्यसै वेला गाईले गोरु खोज्यो झट्ट आउनुपर्‍यो भनेर घरबाट जरुरी फोन आयो । हेडसरलाई बिन्ती बिसाएर तुरुन्तै नफर्कि भएन । के गर्नु, गाई बिग्रियो भने भन्डै लाखकै घाटा बेहोर्नुपर्छ । यो घाटा भनेको मेरो मात्रै घाटा होइन, आठदश लिटर दुध दिने गाई बिग्रिनु भनेको राष्ट्रिय घाटा पनि हो । यसले राष्ट्रिय उत्पादन र आत्मनिर्भरताका आँकडामै असर पुर्‍याउँछ । आफूजत्तिको सचेत शिक्षित व्यक्तिले राष्ट्रियताका विषयमा संवेदनशील बन्नै पर्छ । देशका निम्ति बौद्धिक जिम्मेवारीबाट पन्छिन पनि त मिलेन ! अलिक अस्ति वन उपभोक्ताहरूको गाउँभेला थियो । त्यहाँ एउटा समिति निर्माण गर्नुपर्ने रहेछ । गाउँले सबैले एकमुख लागेर वन अध्यक्षमा सरले नै बसिदिनुपर्‍यो भनेर आग्रह गरे । वनका कुरा लिएर जिल्लामा गइरहनुपर्ने, कहिले काहीँ राजधानीतिरै पनि पुग्नुपर्ने, विधिविधान जान्ने, ऐनकानुन बुझ्ने मान्छे चाहिन्छ भनेर जोड लगाए । सबैको आग्रहलाई टाल्न सकिनँ अनि मनमनै विचार पनि गरेँ, वनतिरका कामकार्वाहीहरू अलिक मलिलै पनि हुन्छन् । स्कुलको चौमासिक निकासा पर्खिन अलिक सहज पनि हुन्छ कि भन्ने टेसिलो कल्पना पनि गरेँ । आफू पनि यही मुलुकको हावापानी माटोमा हुर्किएको, खाँट्टी नेपाली । मलिलो ठाउँमा पुगेपछि हलक्कै भइन्छ, विकासे मकैजस्तै दुईतीनवटा घोगा लाग्छ भन्ने कल्पना पनि स्वतः मनमा पलायो । अनि हुन्छ नि त भन्दिएँ ।

अर्को मनले विचार गरेँ खानेपानीको सचिव पनि आफैँ छु, कुलोपैनीको कोषाध्यक्ष, स्वास्थ्य चौकीको, भवन निर्माण समितिको उपाध्यक्ष, बाटो निर्माण उपभोक्ता समितिको सदस्य पनि छु । अध्यक्षले भाका टिप्तैनन्, सबै काम आफैं गर्नुपर्छ । पार्टीको गाउँपालिका सभापति, शिक्षक सङ्गठनको जिल्ला सदस्य, रेडक्रस, जेसिजतिर पनि बसिदिनुपर्‍यो भन्दैछन् । हाजिर गर्नसम्मलाई स्कुल पुग्न पनि अब झन्झन् कठिन भयो । सधैँजसो स्कुल आउने सरहरूको नजरमा गिरिएला, उपहासको पात्र भइएला कि भन्ने त्रास पनि भयो । तर, सबैको हालत पनि उस्तै उस्तै त हो ! नेपाल सरकारका शिक्षा कार्यालयहरूको अनुगमन निरीक्षण परीक्षण भन्ने कुरो त्यहीँ उनीहरूकै दराजको पुस्तकमा साङ्लो च्यापिएर सुकुटी भएझैँ अनुगमन निरीक्षणको प्राणपखेरु उडिसकेको छ र मात्रै हो नत्र स्कुलको जागिर उहिल्यै चट् भइसक्ने थियो । ती अनुगमन गर्नेहरू पनि म स्कुल जान नभ्याएझैँ भ्याउँदैनन् क्यार ! राजमार्ग र अन्य पिच बाटाका छेउका स्कुलहरूमा दुईचार वर्षमा एक पटक माइत ससुराल आउँदाजाँदा बाटो परेका वेला छाती फुलाउँदै, जगर ठड्याउँदै पुग्दा हुन् । हाम्रो जस्तो पिच बाटो नभएको विकट, दुर्गम गाउँमा कसरी आइपुग्न सक्थे बरा बबुरा ! खै मैले जागिर खाँदाखाँदा पिल्सिङ टोक्ने वेला भइसक्यो, त्यो अनुगमन निरीक्षण भन्ने जन्तु जनावर जिनिस कस्तो हुन्छ, देख्या छैन ।

यसो कहिलेकाहीँ फुर्सदको वेलामा आफैं सोचविचार गर्छु, अहिलेका सरकारी स्कुलका जिल्लाभरिकै यति थोरै विद्यार्थीहरूलाई भेला पारेर राजधानीको नाउँ चलेको बोर्डिङ स्कुलको बल्छीमा उनिदिनु हो भने पनि जिल्लाभरि शिक्षाको शीर्षकमा भएको खर्चभन्दा कमै लागत पर्दो हो । आर्थिक हिसाबले सरकारलाई नाफा हुँदो हो । तर, लोकतान्त्रिक गणतान्त्रिक सरकारको आधारभूत शिक्षा भनिँदै गरेको वेलामा त्यसो भन्दिनु नहुने । फेरि हामी जस्ता मास्टर र शिक्षाका कर्मचारी हाकिम बडाहाकिमहरूको जागिर कता पुग्ने ? सस्ताको पछि लागेर किन हुन्थ्यो ? सरकारीलाई तर्कारी बनाउने सरकारको नीति नै छ । उनीहरूको नीति असफल होला ! सरकारले सरकारी स्कुलको पुस्तक नियतवश उपलब्ध नगराउँदा पनि विद्यार्थी पास भइरहेका छन् । फेल गराउन पाइन्न भन्ने उर्दी छाँटेपछि पुस्तक कपी किन पो चाहियो !

उद्योगधन्दा, सङ्घसंस्थानदेखि लिएर स्वास्थ्य, शिक्षा, वित्तसम्म प्राइभेट र निजीकरणले खलक्कै निलिसकेको छ । अब कहिलेदेखि नागरिकताको प्रमाणपत्र बाँड्ने, कर असुली गर्ने, शान्तिसुरक्षा दिने प्राइभेट निजी संस्थाहरूको उदय हुने हो ? त्यसपछि सरकारको एउटै मात्र काम राष्ट्रिय गीत गाएर बस्नु हुनेछ ।

अब त स्कुल जान जाँगर चल्नै छोडेको छ । स्कुल गएको पाँच छ वर्षमा पनि केटाकेटी क ख ए बी सी डी पनि चिन्दैनन् । यस्ता विद्यार्थीको मास्टर हुन पनि धिक्कार छ ! स्कुलमा पनि त्यही चौमासिक निकासाको वेलामा अलिकति चहलपहल हुने हो, बाँकी समय सुनसान ! पैसा नभएर अरबतिर भासिन नसकेका पढेलेखेका बेगारी गाउँभरि छँदै थिए, बरू तिनैलाई खेताला शिक्षक दिएर आफू यतातिर लाग्दा हुन्थ्यो । केही समय त त्यसरी पनि चलाइयो तर हिजोआजका मान्छे बिठ्याहा बिच्छु छन्, कम्ति बाठा छैनन् । विरोधको स्वर उरालिहाल्छन् । शिक्षकहरूका बिच पालो बाँधेर स्कुल जाने र दुईतीनवटा कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पढाउने अक्कलले पनि केही वर्ष त काम गर्‍यो तर विरोधकै कारणले स्थायित्व भएन । कहिलेकाहीँ त हप्ताको एक दिन आफ्नो पालामा पुग्न नभ्याएर बर्बादै हुन्थ्यो ।

स्कुल जानेबाहेकका काम त जसोतसो फर्स्याइँदै छ । होचाका मुखमा घोचो भनेझैं ठगिनेमा त्यही स्कुल पर्छ । कहिलेकाहीँ त छोड्दिऊँ कि स्कुल ? भन्ने झ्वाँक पनि चल्छ, तर भएकै छ, चलेकै छ, अब साठी वर्ष पुग्न कत्ति नै बाँकी छ र ! स्कुल छोड्दा फेरि लोग्नेस्वास्नीको कथा जस्तो पो हुने हो कि ? जागिरे लोग्ने र घरबस्ने स्वास्नीले एक दिन हिसाब गरेछन् अरे – स्वास्नीले घरमा गरेका यावत् कामको पारिश्रमिक जोड्दा लोग्नेको तलबभन्दा बढी भएछ अरे । लौ यता पो फाइदा रहेछ भनेर जागिर छोडेर लोग्ने पनि भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्ने, घाँस काट्नेतिरै लागेथ्यो अरे । जागिर छोडेर सङ्घसंस्थातिर लाग्दा कतै त्यस्तै पो हुने हो कि ?

भइगो भोलिदेखि सबै काम छोडेर स्कुलै जानुपर्‍यो । यो त अति मात्रै होइन अतिचारै भो भनेर सोच्दै थिएँ, त्यसै वेला श्रीमती आएर उनका माइतमा पुराण लाग्ने भो अरे, छोरीज्वाइँ गएर सातै दिन बसिदिनुपर्ने भयो अरे, त्यहाँको सबै कार्यभार सह्माल्नुपर्ने अरे भनेर सासूले फोन गर्नुभएको कुरा एकै सासमा सुनाइन् । अन्त जेजे भए पनि त्यहाँ त जसरी पनि भ्याउनुपर्छ भन्ने उनले पनि करै गरिन् । पुराणको साङ्गेमा भदैको बिहे, भदाको व्रतबन्ध, साना नानीहरूको गुन्युचोली, सत्यनारायणको पूजा, लाखबत्ती बाल्ने कार्यक्रम पनि छ अरे ! एक पटकको चौमासिक त्यतै चोबलिने भएछ भन्ने मनमनै ठानेँ ।

धेरै दिनपछि कसोकसो गरेर फुर्सद निकाल्दै स्कुलमा पुगेँ । स्कुल पनि अनौठो अनौठो लाग्यो । त्यस दिन पनि शिक्षकहरू कमै थियौँ । पहिलो घन्टी पढाउन कक्षामा पसेको मात्र के थिएँ गोजीफोन नमज्जले चर्किएर बज्यो । घरबाट श्रीमतीले गरेकी रहिछन् । गोरु किन्ने ग्राहकी आएका छन्, झट्ट आउनुपर्‍यो भनेर मैले केही भन्नै नपाइ फोन राखिदिइन् । अघिल्लो साता गाउँमा एक जना छिमेकीलाई नानी बिरामी परेर उपचार गर्न पैसाको सारै आपत् पर्दा सस्तोमस्तोमा एक हल गोरु किनिदिएर सहयोग गरिदिएको थिएँ । घँस्याउँदाको हैरान ! अलिकति पनि नाफा भयो भने राख्ने कामै छैन । के गर्नु, जागिरले मात्रै पुग्दैन, वेलाबखत फड्के व्यापार पनि गर्नै पर्छ । हेडसर स्कुलमा थिएनन्, शिक्षक साथीहरूलाई लौ न मलाई त चोट्टे काम पर्‍यो जसोतसो गरेर विद्यार्थी अल्मल्याउनू है भन्दै थोत्रे भट्भटेको कान निमोठ्तै घरतिर सुइँकिएँ । के गर्नु, स्कुल नजान, नपढाउन खोजको त कहाँ हो र ? तर जहिल्यै यस्तै
पर्छ । स्कुल पुग्नै भ्याइँदैन, पुगे पनि पढाउनै पाइँदैन ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x