सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिहेका नाङ्गा डँडाल्ना

बाटामा भुक्के चप्पल पड्काउँदै हिँड्ने अनिकालेहरू भोट जितेर माथि गएपछि कसरी करोडौं करोड हसुर्छन् ! म पनि कात्तिकभरि रुखिएको मान्छे लगनको मौकामा उकासें नि भुँडी ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

ग्यास्टिक बढो है केटा ग्यास्टिक ! अलिक सन्च बिग्रिएला जस्तो भयो । बिहेको चकाभोगले खत्तमै पार्ने भयो । कहाँ जानु, कहाँ नजानु ! मानसम्मान गरेर बोलाएका ठाउँमा अपमान गर्ने कुरो पनि भएन । फेरि छोरीको बिहेमा गएन भने दक्षिणा उपहार दिने लोभले आएन भन्छन्, जसरी पनि पुग्नै पर्‍यो । यसपालिको पात्रो लेख्नेले विश्वविद्यालय र लोकसेवा आयोगको परीक्षा जुधेर अप्ठ्यारो परे झैँ बिहे जुधाएर चौपट बनाएछ । एकै दिनमा यत्तिका धेरै बिहे कसरी भ्याउनु ! अब त बिहेमा पनि बोरा लिएर आफ्ना भागको पुरी, जुलपी, मिठाइ माछामासु बटुल्दै हिँड्नुपर्ने भयो । एक एक दिन पालो गरेर बिहे गर्दिया भए कस्तो खुदो पर्थ्यो । आज बिहानैदेखि बुढीमान्छे एक झोला खाम बोकेर पूर्वतिर लागी, म अस्कोटभरि खाम कोचेर पश्चिमतिर । बिहे खाँदा खाँदै यो बेला भयो भन्दै ठुलो साँझमा माइलाबा मेरा घरमा आएर कैरन कोरल्न थाले ।

उनी बोलिरहे – हैन हौ केटा, उहिले पहिले त छोराको बिहेमा जाँदा खामसाम केही चाहिँदैनथ्यो । गयो खायो आयो गर्न पाइन्थ्यो । अहिले त सम्राट् साम्राज्ञीजस्तो उच्च आसनमा ठाँटिएर बस्छन् । राजारानीलाई दाम चढाएजस्तो टिको लाएर खाम चढाउनुपर्ने । भान्साको ढोकैमा बसेपछि लबस्तरो भएर त्यता हेर्दै नहेरी हिँड्नु पनि भएन । भान्साको पछिल्लो ढोका छ कि भनेर विचार गरेँ, त्यस्तो किन हुन्थ्यो ! मभन्दा धेरै बाठा रहेछन् । खाम नहुनेले भोज खानै नपाउने यो कस्तो गणतन्त्र आयो हौ केटा !

मैले बुढा बोल्दाबोल्दै बिचैमा सोधेँ – तपाईंको गोजीभरि खाम त रहेछन् तर खामभित्र दाम चाहिँ कति छ नि ? बुढाले अलिक रिसाएरै भने – खामभित्र दाम कति छ ? चोलीभित्र के छ ? सुरुवालभित्र के छ ? यस्ता फटाहा कुरा सोध्छस् मलाई ? यही खामले ज्यान बचाएको छ, नत्र म एउटा बिहेमा भोज खान पनि लायक रहने थिइनँ । दस दसोटा बिहे कसरी फर्स्याएँ हुँला ? आफै विचार गर् त !

बुढा बोल्दाबोल्दै गति छाड्छन् । बोल्ने नबोल्ने छ्यानै राख्तैनन् । अझ आफू जति लापर्वाह छन् बोलिवचन पनि त्यस्तै छ । उनका मुखबाट बासी माछा र बोयलर कुखुराको झुसिलो डकारले छेउछाउमा बसिसक्नु थिएन । बिहानदेखि अहिले साँझसम्ममा दशवटा बिहे भ्याएको कुरा उनले सुनाए । दौडिन पनि सक्ने हुन्, खान पनि सक्ने हुन् । उनले बोल्दा बोल्दै आज दिनभरिमा पचास रुपियाँ स्वाहा भएको कुरा उम्काइहाले । खामभित्रको दाम उनले नभन्दा नभन्दै खुस्कियो । एक र दुई रुपियाँका नोट बजारमा बैंकमा हराएर दसैँ, तिहार, बिहेमा दुःख पाइयो भन्ने गुनासो पनि गरे ।

बुढाले भने – धेरै ठाउँमा धेरै धेरै खाइयो । मिठो नमिठो त्यस्तै हो । यसो पाचकका रूपमा ऐंठनपानीको बन्दोबस्त कतै छ कि भनेर निकै विचार गर्दा पनि छेउभेउ पाइएन । कतै भएको भए त हरियो भिंगाले आँप काटेको पत्तो पाउनुभन्दा छिटो म पत्ता लाउँथे, तर कतै थिएन । उनी बोल्दा बोल्दै बिचमा मैले सोधेँ – दशवटा बिहेमा गएर दसैँ ठाउँमा भोज खानुभयो त ? उनले तुरुन्तै भने – खाम दिएपछि नखाने कुरै भएन नि ! तर कतै सादा खाना, कतै पिरो, कतै अड्कलेर मासु बाँडे । अहिले बेलुकातिर चिसो खाना, यस्तै यस्तै भयो । मासुको डाडु र जुलपीको चिम्टा आफ्नो हातमा परेन भने मलाई चित्तै बुझ्दैन । बिहे भोज खाएजस्तै लाग्दैन ।

बुढाले दिनभरि खाए अनि सबैतिर दोष पनि लाए । एक ठाउँमा चाहिँ मासुको डाडु र जुलपीको चिम्टा आफै चलाए अरे । सबै खाने कुरा राम्रो मिठो थियो अरे तर रसदाना चाहिँ न एक गाँसमा निल्न सकिने न दुई गाँस पुग्ने । कस्तो अक्कडा साइजका रहेछन् भनेर दोष लगाइ छाडे । केही दोष नलगाई खायो भने बुढालाई पच्तैन रहेछ क्यार ! कुन बिहेमा चाहिँ माछाको काँडा अड्किएर झन्डै सिल्टिएछन् पनि । पानी खाएर भुँडी किन ओगट्नु भनेर कतै पनि पानी खानएनन् अरे । मैरै घरमा आएर दुई करुवा पानी सिध्याए । बुढाका अस्कोटका गोजीमा अझै पनि खाम टन्नै थिए । अनि मैले सोधेँ – खाम त अझै छन् त, रातीका पनि बिहे भ्याउनु छ कि क्याहो ? उनले भने- रातीको बिहे गर्न छोडिहाले नि पड्केहरूले । नत्र त दुई चार दिनलाई नै जेरी, पुरी, बुनियाँ, रोटीको बन्दवस्त भइहाल्थ्यो । दिउँसै त अलिक असजिलो अप्ठ्यारो हुन्छ नि ! भन्दै थोते मुख बाएर बुढा मज्जैले हाँसे ।

उनी एकोहोरो बकिरहे – अनि नि केटा, एउटा बिहेमा चाहिँ म तीन छक्कै परेँ । जन्तीहरू दुई चार जना लोग्नेमान्छेबाहेक सबै आइमाई मान्छे आएका रहेछन् । ती आइमाई मान्छे डँडाल्नापट्टि सपै नाङ्गा । चोलो त मखुन्डो जस्तो पछाडि तुना बाँधेका । म त हेरेको हेर्‍यै भएँछु । घाममा टल्किएका सेता सयौँ डँडाल्नाले झन्डै मेरो आँखाको फ्युज जलेको । हैन के जमाना आयो गाँठे ! यो देशमा लोग्ने मान्छे सकिएछन् कि क्याहो ? केटाहरू सबै अमेरिका, अस्ट्रेलिया, अरबतिरै हिँडेछन् । यस्तै हो भने त लोग्ने मान्छेको बिउ नै मासिन्छ कि क्या हो ? आइमाई मान्छेका चोलो अगाडि मात्रै भए पनि तल घाग्री चाहिँ भुइँ बढार्ने लामा, प्रत्येकले छड्के पारेर घोडाको पुच्छर जत्रो पोतेमा पहेंली मकैको सप्रिएको घोगो जत्रो तिलौरो लाएका । यस प्रकारका लुगा गहनाको चलन कताबाट आयो ? हाम्रा आफ्ना चौबन्दी चोला र सारी त भकारीमा हालेर थन्क्याएछन् । बिहे नगरेका केटीले चाहिँ छोटा, कम्मरबाट तल झरेका मिडी र माथि सरेका भेस्ट लाएर आएछन् । यसो निहुरिनु पर्‍यो भने स्वाहा – सर्वस्व ! उस्तै त्यस्तै कमजोर मान्छे भएको भए ठाउँका ठाउँ मुर्छा पर्थ्यो । मलाई सुगर प्रेसर छैन, मुट दरो छ । टाउको र भुँडीका दुवै किड्नीहरू दुरुस्तै छन् तब पा थामैं त ! तँ त्यो बिहेमा गएको भए दिउँसै सपना देख्ने थिइस्, कि चाहिँ छुटाएर हिँड्ने थिइस् । म जत्तिको दर्बिलो मान्छेले त त्यो बिहेमा रमिता हेर्दा हेर्दै खानै बिर्सिएँछु ।

मैले कुरोलाई अर्कोतिर मोड्दै भनेँ – अब भोलिको निम्ति कतिवटा बिहेको निम्तो छ ? उनले भने – आजैसम्म त हो बिहे, भोलिदेखि पुस लागेर मरिगो नि ! कुनचाहिँ जान्ने भएर पुसमा बिहे गर्नु हुँदैन भन्दिएछ, कसैले गर्दैनन् ! बिहे नै गरे पनि कोरोना व्याधिका वेलामा गरेको बिहे जस्तै सट्याक् सुटुक् ! भोज खान पाइने होइन । घरमा जति नै खाए पनि बिहेमा जस्तो नाइटो तिखारिँदैन । घुस खाने, कमिसन हसुर्ने बेइमानहरूलाई कुनै गते बार महिनाले छेक्तैन । हामी बिहे खाने सर्वसाधारणलाई चाहिँ साउन, कात्तिक, पुस महिना बर्जित अरे ! कालो कपाललाई सेतो, सेतोलाई कालो पार्न हुने, रातो बनाए पनि हुने, अर्धनग्न भएर हिँड्न हुने, युटुबेहरूले समाचारमा ढाँट्न हुने, चुनावमा टिकट नपाए अर्को पार्टीमा जान हुने, नेताहरूले घरकीले मात्र नभएर परकीको व्यवस्था गर्दा हुने, सुनलाई पित्तल हो भन्न हुने, एनसेलले कर तिर्नु नपर्ने भनेर फैसला गर्दा हुने, सबै कुरा हुने, पुसमा बिहे गर्नु नहुने यस्तो पनि हुन्छ ? भन्दै बुढा त मसँग पो रिसाउन खोजे ।

लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र आएपछि ककसले के के खाए भनिसाध्य छैन । ढुङ्गा, माटो, गिटी बालुवा, समेत बाँकी राखेनन् । देशै खान लागिसके हामी सर्वसाधरणले चाहिँ साउन, कात्तिक, पुसमा बिहेभोज पनि खान नपाउने ? जिल्लाका हाकिमहरूले तलका निरीह सर्वसाधारणबाट खैचिएर माथि मन्त्रालय भ्रष्टालयका बडाहाकिमकहाँ महिनाबारी बुझाउने गरेझै हामीले पनि त्यो पात्रो लेख्नेकहाँ सबै मिलेर नजराना टक्याएर बिहेको लगन पात्रोमै खोलुवा गराइमाग्नु पर्छ । पैसा पाएपछि यो देशमा कसले के चाहिँ गर्दैन र ? तीन तीन महिना बिहे नखाई, नाङ्गा उँडाल्ना नहेरी हामी चाहिँ कसरी बस्नु ? लोकतन्त्र गणतन्त्रै आएपछि यो चाहिँ गर्न नहुने भन्ने के छ र ?

बुढा एकोहोरो बोलिरहे – उहिले उहिले त बिहेमा बेहुला बेहुली जग्गेमा बस्थे, फूल अक्षता, तिलानी अगाडि हुन्थ्यो । पुरोहितले कर्म गराउँथे । अहिले जग्गेमा बसेर पानी समाउने होइन बेहुला बेहुलीले मोबायल समाउँदारहेछन् । एउटा बिहेको जग्गेमा कुण्डमा आगो जोर्दै बुढा पुरोहित एक्लै छक्क परेर बसिरहेका रहेछन् । खोइ बेहुला बेहुली भनेर सोधेको त फोटो खिच्न जङ्गलतिर गए पो भन्छन् ए !.. कर्म गर्नु पर्दैन ? भनेर सोधेको कर्म त उतै जङ्गलमा सिध्याएर आउँछन् रे पो भने । अनि तपाईं चाहिँ के गरेर बस्नुहुन्छ यहाँ ? मोबायल छ भने सेल्फी हानेर बस्नुहोस् भन्दिएँ । त्यो बिहेमा भोज त खाइयो तर खाम दिन पाइएन । पर्खिएर बसौँ भने अरू बिहे छुट्ने । लगन जुधेर जताततै बिहे नै बिहे भएकाले एउटा नबोलाइएको बिहेमा पनि पर्सेछु । भिडभाडमा कसले कसलाई चिन्ने ? मेरो पालो माछा र बोइलर पड्काएर हिँडे। नबोलाएको ठाउँमा गएर भोज खानेलाई खैजडे भन्छन् । म पनि एक ठाउँमा खैजडे बन्न पुगेँ ।

यसरी नौदशवटा बिहे कसरी खान सक्नुहुन्छ हौ बाबै भनेर मैले सोधेँ । उनले मेरो मुखमा हेर्दै जवाफ दिए – हेर् केटा खानलाई पनि क्षमता चाहिन्छ, आँट चाहिन्छ, खाएपछि खाएको खायै हुन्छ । बाटामा भुक्के चप्पल पड्काउँदै हिँड्ने अनिकालेहरू भोट जितेर माथि गएपछि कसरी करोडौं करोड हसुर्छन् ! म पनि कात्तिकभरि रुखिएको मान्छे लगनको मौकामा उकासें नि भुँडी । भ्रष्टहरूले लु अब पुग्यो भन्छन् र ? उनीहरूमा अझै समुद्र सुकाउने प्यास बढेर जान्छ । म पनि बिहेमा भोज खान पछि पर्दिन होउ केटा ! हामीले खाने नै भतेर हो, अरू के खानु र ! उमेरमा लोकसेवा आयोगबाट भ्रष्टाचारको सिफारिस लिन पनि सकिएन, नेता नेतिनीलाई धोको टक्याएर टिकट किन्न पनि सकिएन ।

रात परिसक्यो, घरमा माइलेमा एक्लै हुनुहोला । घर जानु पर्दैन ? भनेर मैले बुढालाई हतार लाउन खोजेँ । ऊ पनि कतिवटा बिहे खाएरै आएकी होली, घरमा भात पकाउनु परेको छैन । केको हतार ? चिन्ताको विषय चाहिँ मङ्सिरभरि बिहेमा दौडिँदा मज्जा आएको थियो, भोलिदेखि पड्के पुस लागेर मरो । एक महिना यो जाडामा ठन्डाराम हुने भइयो । माघ लागेपछि त फेरि उज्याला दिन आउलान् । पुस महिना त मेरा लागि भ्रष्टाचारी घुस्याहालाई जागिरबाट निलम्बन गर्दिया जस्तै हुने भयो भन्दै बुढा उठे । ग्यास्टिकले निकै चापेछ, अपानवायुको बन्दुक पड्काउँदै बुढा घरतिर लागे ।

०००
मुलाको मुरली (२०७९)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
सकेँ भने कुनै दिन लेखौँला

सकेँ भने कुनै दिन...

चूडामणि वशिष्ठ
लेखेर के पो हुन्छ र !

लेखेर के पो हुन्छ...

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ
कार्यालयको पीपल

कार्यालयको पीपल

चूडामणि वशिष्ठ