चूडामणि वशिष्ठकार्यालयको पीपल
घुसखोर, कमिसनखोर, पदखोर, पावरखोरहरू कार्यालयहरू र मन्त्रालयहरूमै बस्छन् । यस्तो पाप, कल्मष, दुष्कर्म पखाल्न प्रत्येक कार्यालय मन्त्रालयका पीपलमा पानी चढाउनुपर्छ ।

चूडामणि वशिष्ठ :
एकादेशको एउटा जिल्ला सदरमुकामको एउटा कार्यालयका हाकिम बस्ने क्वाटरमा पीपलको बिरुवा हुर्किएर ठुलै रुख भएको रहेछ । एउटा चकचके सञ्चारकर्मीले राष्ट्रको सम्पत्तिको लापरबाहीप्रति चिन्ता व्यक्त गर्दै क्वाटर र पीपलको रुखको फोटै खिचेर पत्रिकामा छापिदिएछ। सरकारी घरमाथि पीपलको रुखको त्यो समाचारले सर्वत्र हल्लाखल्ला मच्चिएछ ।
पीपलको रुख पत्रिकाकै समाचार बनेपछि हाकिम बडो सकसमा परेछन् । हाकिमले सबैभन्दा पहिले हाकिमनीसँग परामर्श गरेछन् । हाकिमनीले शनिवार शनिवार पीपलमा पानी चढाउन म बाहिर धुलो हिलोमा जान सक्तिन । यही घरको छतमा कति सजिलो भइरहेको छ । पीपल काट्ने कुरा नगर्नू । पापको भारी नबोक्नू । बरु ती पत्रकारलाई बोलाएर अबदेखि त्यस्तो कुरा नलेख्नू भनेर खाममा पाँचसय रुपियाँ हालेर दिनू, बुजो लाउनू भन्ने सल्लाह दिइछन् ।
देशकालपरिस्थिति, परिवेश, सोचविचार अनुसारको हाकिमनीको सल्लाह हाकिमलाई पनि ठिकै लागेछ । तर पनि हाकिमलाई खटपटी चाहिँ भइ नै रहेछ । उनले एउटा स्टाफ मिटिङ डाकेरै निणर्य लिनु उचित ठानेर मिटिङ बोलाएछन् । हाकिम, तीन जना पानीबढुवा अधिकृत, सुब्बा, खरिदार, कर्मचारी सङ्घको केन्द्रीय सदस्य, त्यही कार्यालयको सहयोगी, कर्मचारी सङ्गठन एकाइ समितिको प्रतिनिधि आदि भेला भएर क्वाटरमा हुर्की बढी गरेको पीपलको रुख काट्ने कि के गर्ने भन्ने सम्बन्धमा घनीभूत छलफल भएछ ।
पीपल जस्तो पवित्र धार्मिक वृक्षमा हतियार लाउनु नहुने । अक्सिजन विसर्जन गर्ने पीपलको रुख काट्ता कानुन लाग्न सक्ने, कार्यालय परिसरको वातावरण बिग्रने, हरियाली शीतलता सुन्दरता नष्ट हुने, हाकिमनी साहेबलाई पीपलमा पानी चढाउन अन्तै अर्काकोमा जानुपर्ने समस्या, केन्द्रीय कार्यालयको आदेश नलिई निणर्य लिन नसकिने आदि छलफलपछि केन्द्रमा पत्राचार गर्ने भन्ने निष्कर्ष बैठकले निकालेछ ।
जिल्लाको कार्यायलको पत्र केन्द्रमा पुगेछ तर समस्या नितान्त नयाँ नौलो किसिमको भएकाले यसअघि कुनै त्यस्तो निणर्य नगरिएकाले अन्य सम्बन्धित कार्यालय, मन्त्रालयमा समेत बुझ्नुपर्ने भएकाले वन तथा वातावरण मन्त्रालयमा, यो पीपल घरको छतमै किन उम्रिन्छ भन्ने हिसाबले निर्माण तथा विकास मन्त्रालयमा, वास्तवमा पीपलको धार्मिक सांस्कृतिक महत्त्व के हो भन्ने विषयमा बुझ्न धर्मगुरु, ज्योतिष, पण्डित आदि ठाउँमा पत्राचार भएछ तर ती पत्रहरू कसले त्यहाँ पुर्यायो, कि पुर्याएन, पुर्याएको भए पनि कसले कुन फायलमा राख्यो, कता हरायो मासियो के भयो पत्राचारको प्रत्युत्तर कतैबाट कहिल्यै आएन छ ।
सरकारी भवनको पीपलको रुख सम्बन्धमा कुनचाहिले अदालतमा मुद्दा हाल्दिएछ । हामीकहाँ हरेक कुरा अदालतमै पुग्ने गर्छ । सामान्य कुखुरा चोरदेखि लाउके, टाउके, जुंगामुठे नेताहरूको खाइझगडासम्म अदालतले नै हेर्नुपर्छ । अदालतले पनि पीपलको रुखसम्बन्धी मुद्दा किनारा नलागेसम्म नकाट्नू नकटाउनू भन्ने आदेश जारी गरी मुद्दा मुल्तवीमा राखिदिएछ ।
धेरै वर्षपछि भवनको छतमा उम्रिएको पीपल भुईमा जरा गाडेर यामानको रुख भएपछि अदालतको फैसला आयो अरे भन्ने हल्ला चलेछ । सबैले फैसला जान्न बुझ्न थाहा पाउन उत्सुकता देखाए तर यत्रो ठुलो पुस्तकको ठ्यासफुमा वा, अथवा, तथापि, यद्यपि, तापनि, र, तर, अनि, पनि, जो, सो, जब तब, आदि जस्ता संयोजकले जेलिएको, गांजे, गेज, गोज्याङ, गजमौरो भाषामा लेखिएको फैसलाले कुरोको चुरोको प्राणपखेरु उडाएको रहेछ । जति पटक पढे पनि बुझियोस् त मर्नु । आयामेली कवि उत्तरआधुनिक कविका कविता बरु बुझिएला, फैसला कसैले बुझेन छ ।
कोरोनाको व्याधि वास्तवमा के हो ? कसरी उत्पत्ति भयो ? कसरी सर्छ, कसरी जाती हुन्छ भन्ने कुरा जान्ने हुँ भन्नेहरूले नै नजाने जस्तो कानुनकै खेतीपाती गरेर बसेका वकिलहरूलाई सोध्दा आआफ्नै किसिमका मनचिन्ते, मनगढन्ते, मनोगत, अन्दाजीफिकेसनका गफ चुटेछन् । कसैले आफ्नो खुबिलिटी देखाउन सकेनछन् ।
यो साह्रै भएन, कुरो बुझ्नै पर्यो भनेर निकै जान्ने मान्छेलाई बोलाएर सोधेछन् । जान्ने मान्छेले कन्दै कन्दै यसो भनेछन्- हाम्रो देशमा धेरै पापकर्महरू कार्यालय, मन्त्रालय, सेवा नामधारी सङ्घसंस्थाहरूमै हुने गरेको छ । घुसखोर, कमिसनखोर, पदखोर, पावरखोरहरू कार्यालयहरू र मन्त्रालयहरूमै बस्छन् । यस्तो पाप, कल्मष, दुष्कर्म पखाल्न प्रत्येक कार्यालय मन्त्रालयका पीपलमा पानी चढाउनुपर्छ । कार्यालय भवनमा उम्रिएको पीपल शुभलक्षण हो । सबै कार्यालयमा पीपल उमार्नुपर्छ । उम्रिएर जवान भएको त्यस कार्यालयको पीपललाई एउटा वरको विरुवा समेत त्यही रोपेर वरपीपलको विवाह गरिदिएर हाकिम क्वाटरको नयाँ भवनको निर्माणका निम्ति केन्द्रमा रकम निकासा माग गर्ने भन्ने नै फैसलाको मूल मर्म हो भन्दिएछन् । अनि मात्रै फैसलाको कुरो राम्ररी बुझेछन् ।
०००
मुलाको मुरली (२०७९)
Subscribe
Login
0 Comments
Oldest






































