साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठेल्दै, हेल्दै र पेल्दै जानुपर्छ !

गिदीको कसरत होइन, बलको कसरत गर्नुपर्छ । पर्छ नि पर्न त, तर लुते मोराले बलका कुरा गरेर के पो गर्नु र ? कामले ठेल्न त कसले पो सकेको छ र ? सबै गफै पेल्ने न हुन् ।

Nepal Telecom ad

चूडामणि वशिष्ठ :

समय बडो अकरिलो छ । के गर्ने के नगर्ने ? कुन कुरा हुने कुन नहुने ? कुन कुरो ठीक, कुन कुरा वेठीकको कुनै छ्यान छैन । यस्ता कुरालाई छान्ने, पर्गेल्ने, कसी घोट्ने फुर्सद कसैलाई छ र ? अगाडि जे आइलाग्छ त्यसलाई ठेल्दै, हेल्दै र पेल्दै जानु सिवाय कसैको केही चारा छैन । परम्परित कुरालाई पनि के ? किन ? कसरी भनेर तर्कवितर्क कुतर्क तेर्स्याउन झन्झट गर्नु भन्दा हो-मा-हो मिलाईदियो भन्झटै साफ । यहाँ नबुझ्नेले भन्दा बुझ्न खोज्ने र बुझ्नेहरूले नै बढी दुःख पाएका छन् । कुरै नबुझी पार्टीको पिछलग्गु हुने परम्पराका कुरा किन बुझ्नु पऱ्या छ ? आफ्नो अनुकूल अनुसार मानव अधिकारका कुरा पनि गर्ने, बारुद पनि पड्काउने, के नै फरक पर्छ र ? जनै पनि भिरिदिने, कुखुरा चबाउन पनि नछोड्ने । जनै र कुखुराको के सम्बन्ध ? कति धर्मात्माहरूले व्रत लिंदा पनि मासुमा सिधे नून हालेर खान्छन् अरे । व्रत भनेको मनको कुरो हो, मासु भनेको इच्छाको । खै, कहाँ छ सम्बन्ध ? ह्रस्व-दीर्घको झन्झटमा लागेर नेपाली साहित्य उक्सिन नसकेको भनेर एउटा लालबुझक्कडले भन्थ्यो, त्यस्तै यी सब कुराको झन्झटमा फँसेर देशको विकास हुन नसकेको पो हो कि ?

बेलै त्यस्तो छ, समय नै उस्तो छ, कुरो बुझे मर्नु । के ठीक र के बेठीकको टुङ्गो लागेको छैन यस्ता बेलामा जसो गरे पनि हुन्छ । परम्परा इतिहास थाहै छैन । आधुनिकतालाई बुझेकै होइन । हिजो बिर्सियो, भोलि कस्तो आउँछ, अन्दाजसम्म गर्न सकेको छैन । हिजो र भोलिको टुङ्गो नभएको मान्छेले मासुमा सिधे नून हाल्न बाहेक अर्थोक के पो गरोस् ! कुरो स्पष्टै छ नि !

आफू कसो गर्ने ? मौलिक सोच कहिल्यै आएन । विदेशी नाङ्गै हिंडे भने आफू पनि लगौँटी मिल्काइदियो । विदेशमा शीतलहर चल्यो भने यहाँ गरमकोट भिरिदियो । उता पानी पर्यो भने यता छाता उघार्यो । यसरी नै चल्दै छ । अहिलेसम्म जानेको यत्ति हो । दलाई लामाका विष्टाको पनि महत्व-मान्यता हुन्थ्यो अरे भनेको सुन्याथेँ  । हामीकहाँ पनि विदेशीहरूका विष्टाको मूल्य-मान्यता बढ्दै गएको जस्तो छ ।

छोराछोरीलाई अंग्रेजी पढाउनु पर्छ, बोर्डिड पठाउनुपर्छ, पैसाको मुख हेर्नु हुँदैन । पैसाको मुख तिनै बल्छी थापेर बस्ने शिकारीहरूले हेरून् । ज्ञानबुद्धि, विद्या, चतुर्विद्या, सबै अंग्रेजीमा छ । यही विद्याले बम बनाउँछ र बिहेका जन्तीका माझ पारेर त्यो बम पनि पड्‌काउन सक्छ । नेपाली भाषा नै भुँदु ? नेपाली भाषाको शब्द भकारी मन मस्तिष्कबाट चाँडोभन्दा चाँडो नमिल्काएसम्म कुनै पनि नेपाली मान्छे बन्न सक्तैन । बरु अंग्रेजी बिस्तारै सिके पनि हुन्छ । तर चाँडो भन्दा चाँडो नेपाली भाषामा इरेजर घोट्नुपर्छ । अझै पनि तिनै दौरा सुरुवाल, त्यही ढाका टोपी लाउने र यही नेपाली भाषा बोल्ने हो भने हामी कहिले विकासको खु‌ड्किलो उक्लिने ? देशका अगुवा नेता मन्त्रीहरूको भाषणको भाषा जस्तो ‘अँ क्या, त्यो हाम्रो नेपालीमा के भन्छ’ को शैलीमा प्रस्तुत हुनुपर्छ । अझै पनि अंग्रेजी निस्पट्ट नजान्ने महानुभावहरू कोही हुनहुन्छ भने अब थाेरै समय पर्खिनुहोस् । तारानाथ रानाभाटको राजनीतिक जीवनबाट सन्यास लिएर अंग्रेजी बोर्डिङ स्कूल खोल्ने कुरा छ। सबै त्यहीं गएर भर्ना हुनुपर्छ ।

जता फर्कियो, उतै आक्रमण एउटा भाषाले अर्को भाषामाथि आक्रमण, संस्कृक्तिमाथि आक्रमण, बलियो राष्ट्रले लुतेलाई ठेलेर, पेलेर भित्तामा टँसाइसके, त्यही आक्रमण । भित्तामा च्याप्पिएर पनि लुतेले बलियोलाई कामेर नमस्ते नै गरिरहनु पर्छ । यो बलियाको संसार । राष्ट्रले राष्ट्रलाई, धर्मले धर्मलाई, एउटा राजनीतिबाजले अर्कालाई, एउटा व्यापारले अर्का व्यापारलाई, बुलेटले बुलेटलाई, व्यालेटले व्यालेटलाई, अझै तल ओर्लिएर व्यक्तिले व्यक्तिलाई ठेल्दै, हेल्दै, पेल्दै, निचोर्दै, चेप्ट्याउँदै जानुपर्ने । वास्तवमा समयको बाँच्ने शैली नै यही हो क्यारे !

यहाँ हाम्रो कुरै अर्को छ देशले धामीलाई तालिम दिन विदेशी बिजुवा त्याउँदै गर्नुपर्छ । धामी झाँक्री, पुरोहित-वैदाङ्ग, गोष्ठी-सेमिनार गराउँदै गर्नुपर्छ । राँगा, बोका, भाले, हाँसका भाकल भाक्न छोड्न हुँदैन, ‘यही चाहिं ठीक हो’ भनेर कसरी किटान गर्नु र ? भर कतै कसैको नभए पनि डरले माम्दैन । आफ्नो मान्छे मन्त्री भयो भने पशु अस्पतालका डाक्टरहरू मान्छेका अस्पतालमा पनि सरुवा हुन सक्छन् । मन्त्रीलाई सबै डाक्टर उस्तै लाग्नु स्वाभविकै हो । डाक्टरहरू पशुअस्पतालबाट सरुवा भएर मान्छेका अस्पतालमा निर्देशक बन्न सक्छन् । मान्छेहरू नउठ्‌ने गरी अप्रेशन गर्न सक्छन् । यस्तै यस्तै भएर त होला, उहिले एकपटक इलाम अस्पताल घामीझाँक्रीले कब्जामा लिएको । कसले कहाँ कति बेला कब्जा गर्छ कसरी जान्नु ?

छोराछोरीले एस.एल.सी पास गरिसकेपछि आमाबुबा कसरी छट्पटाउँछन् ? कहाँ पढाउने ? के पढाउने ? किन पढाउने ? पातलका जूका जस्ता प्राइवेट छाडा शिक्षण संस्था देशभरि जताततै जम्जमाउँछन् । पैसाको होड चल्छ । अन्त्यमा आँखा चिम्लिएर अन्धकारमा फाल हाने जस्तो एकातिर फाल हान्नुपर्छ । निश्चितता कतै कहीं छैन, परिस्थितिमा गुजुल्टिदै अगाडि बढ्ने पर्ने बाध्यता छ । यसो भविष्य हेर्याे , पैसा हेर्याे, मनपरी तै-तमासा हेन्यो, जे गरे पनि लाज नहुने ठाउँ, मोजमस्ती हेर्याे, सबै राजनीतिमा गएर उरुङ लागेको छ। त्यो राजनीतिको पाठशाला कहाँ छ ? राजनीतिका बोडिङ कहाँ छन् फेला पार्न सके लगानी गर्नु पर्ने ठाउँ त्यहाँ हो। छोरा-छोरी मात्रै किन ? आमा बुबा नै भर्ना भएर पढे हुन्छ ।

अझै नाङ्गिनै पर्ने हो कि लुगा खाप्नु पर्ने हो. अझै थाहा छैन । आजको संसार पारदर्शी भन्छन्, के-केमा पारदर्शिता हो, बुझेकै छैन । हरेक घटना दुर्घटनाहरू रहस्यको अँध्यारो चिहानमा जाकिएको बेला, पारदर्शिता भनेको पक्कै लुगामै होला । हुन त देखिदेखी खाने घूस पनि पारदर्शी नै होला ! कमिसन त झन् छ्यादै । मन्त्री भएको तीन महिनामा छ तले घर उभ्याएको ह्वाट्टै । एक प्रकारले भन्दा त पारदर्शी नै छ ।

धामी र डाक्टर, मानवअधिकार र बम, जनै र कुखुरा, नेपाली र अंग्रेजी, पुरातन र आधुनिक, ढाका टोपी र छत्रे टोपी, पाउडर र खरानी, साडी र कुर्ता सुरुवाल अनि धोती, एकदल र बहुदल सबै गन्जागोलै गन्जागोल ! यी सबैलाई कसरी पर्गेल्ने गिदीले ? त्यसैले त भनेको, अगाडि जे आउँछ- हेल्दै, पेल्दै, ठेल्दै जानुपर्छ । गिदीको कसरत होइन, बलको कसरत गर्नुपर्छ । पर्छ नि पर्न त, तर लुते मोराले बलका कुरा गरेर के पो गर्नु र ? कामले ठेल्न त कसले पो सकेको छ र ? सबै गफै पेल्ने न हुन् । यस्तो भएपछि कसको के लाग्छ र ? यस्ता कुरा भन्दिनु हुन्थेन कि ? डर पो लाग्छ । जत्ति नै गिजोले पनि कुरा ता यिनै हुन्, कसो पो गर्ने र !

०००
जुही (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x