चूडामणि वशिष्ठहास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल
निबन्धमा कथात्मक शैलीको प्रयोग गर्न रुचाउने लुइँटेल केही ठाउँमा अनुप्रासयुक्त शैली अँगाल्न पुगेका छन् । जस्तो सुकै विषयलाई समातेर पनि निबन्ध लेख्नु उनको विशेषता बनेको छ ।

चूडामणि वशिष्ट :
नेपाली हास्य-व्यङ्ग्यको इतिहासमा नरनाथ लुइँटेल पुरानो नाम होइन । २०४६ सालयता विभिन्न पत्रपत्रिकामा फट्याकफुटुक देखा पर्दै आएका लुइँँटेलका ‘छेपन’ (२०५१), ‘सिङ न पुच्छर’ (२०५३) हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह हुन् । यी दुई सङ्ग्रहभित्रका लुइँटेलको हास्यव्यङ्ग्य धर्मलाई उधिन्ने, ठम्याउने सानो जमर्को यस लेखमा गरिएको छ ।
निबन्धकारलाई बढी राजनीति मन परेको हो वा राजनीतिमा बढी विसङ्गति र विकृति देखेर हो, अधिकांश निबन्धहरूको विषयवस्तु राजनीतिबाट टिपिएको छ । अन्य विषयवस्तु भएका निबन्धमा पनि प्रशस्तै राजनीतिका छेस्का लागेको पाइन्छ । चोरऔँलाद्वारा सञ्चालित राजनीतिक कैचीले मान्छेका मन, मर्यादा, इज्जत, नैतिकता, क्षमता सबै काटिन्छ । कैँचीकै काटछाँटबाट नेता मन्त्रीहरू पनि निर्मित हुने निबन्धकार प्रस्ट्याउन चाहन्छन् । मान्छेका लोभी, स्वार्थी, छुस्के प्रवृत्तिमाधि व्यङ्ग्यका मट्याङ्ग्राले ताकी ताकी हिर्काउन लुइँटेल निकै सिपालु छन् । नेतासँग नाता जोडेर स्वार्थ पुरा गर्ने, नाता जोड्न नसके गोता खानुपर्ने स्थितिप्रति उनी व्यङ्ग्य गर्दछन्। यहाँ नेताको नाताबाट केटीको व्यापार गर्ने द्रव्यपिशाचहरू तँबाट रातारात हजूर हुन पुगेका आडम्बरीहरूको लेथ्नु काडिएको छ ।
जनताको टाउकाको भर्याङ चढेर माथि पुगेका सांसदहरू मुलुकको भविष्य निर्माणको महत्वपूर्ण विषयमा सदनमा छलफल भएको बेलामा मस्त घुरिरहेका हुन्छन् । यस्ता नेताबाट मुलुकले के आशा राख्न सक्छ भन्दै तिनका चरित्रलाई नाङ्गेझार पार्ने काम उनका निबन्धले गरेका छन् । कुर्सीको निम्ति छिनाझप्टी गर्ने, कुर्सीको घमण्डले मात्तिने, कुर्सीलाई नै शान-सौकत सम्झने कुर्सीवालाहरू टाइपिस्टको जवानी लुट्न समेत पछि पर्दैनन् । आफ्ना वरिपरि झँगा भन्काएर बस्ने यी कुर्सीवालाको सक्कली रूप निबन्धकारले देखाइदिएका छन् ।
शक्तिका भरमा शासन टिकेको हुन्छ, तर त्योभन्दा ठुलो शक्ति जनतामा भयो भने शासन सत्ता पनि उल्टिने पल्टिने गर्छ । शक्तिको लौरो परिस्थितिअनुसार विभिन्न मान्छेका हातमा पुग्ने गर्छ। अन्यायी वर्वरताका बुटहरूलाई झक्झक्याउँदै बुटहरू र ढाडहरू साटिने गरेको इतिहास सत्ताले मातेकाहरूलाई निबन्धकारले सुनाइदिएका छन् ।
आफ्ना पूर्वज हास्य-व्यङ्ग्यकारहरूको स्मरणलाई विषयवस्तु बनाएर पनि लुइँटेलले निबन्ध लेखेका छन् । भैरव अर्यालले छोडेर गएपछि नेपाली हास्यव्यङ्ग्यमा ह्रास आएको छ। आजका लेखक व्यङ्ग्य छोडेर स्तुति-प्रशस्ति गाउन थालेका छन् । लेखकहरू पनि व्यापारिक भएका छन् । यस्तै वासुदेव शर्मा लुइँटेल (भूतको भिनाजु) को योगदानको मूल्याङ्कन हुन सकेको छैन, उनी अन्यायमा परेका छन् भन्ने गुनासो निबन्धकारको छ । पञ्चायत कालसम्म सन्चै सारसौँदै रहेका केशव पिंडाली प्रजातन्त्र आएपछि बौलाएका छन् । चुनाव आएपछि औँसी-पुर्ने लाग्ने पिंडाली अनर्थ किसिमले बर्वराउन थालेका निबन्धकार ठान्दछन् ।
यस्तै हाल कलम चलाइरहेका कतिपय लेखकहरूलाई पनि राजनीतिक गाँजा लाग्न थालेको, नेता र मन्त्रीहरूले मात्र होइन साहित्यकारहरूले समेत बाटो छाड्न थालेको गुनासो निबन्धकारको छ । साहित्यकारहरू पनि यसै मुलुकका सेवक हुन् तर एउटा नेता उपचार गर्न अमेरिका पुग्छ, धेरै साहित्यकारहरू औषधि उपचारको अभावमा मर्दछन् । यस्तो किन ? निबन्धकारको प्रश्न छ ।
मान्छेका स्थिति र प्रवृत्तिप्रतिको व्यङ्ग्य लुइँटेलका निबन्धमा प्रखर रूपमा आएका छन् । देशको जुनसुकै क्षेत्रमा पनि हनुमाने प्रवृत्ति बढेको छ । राजनीतिक, सामाजिक, प्रशासनिक आदि सबै क्षेत्रमा रामहरूलाई समेत उछिनेर हनुमान अगाढड लागेका छन्। जे गरेर पनि पैसा कमाउनतर्फ लागेका द्रव्यपिशाचहरूको भ्रष्टाचार-दुराचारप्रति धारिलो व्यङ्ग्य कस्दै थोरै आर्थिक फाइदाका निम्ति तलभन्दा तल गिर्नेहरूलाई व्यङ्ग्यको मट्याङ्ग्राले ताकी ताकी हान्ने काम भएको छ। यस्ता प्रवृत्तिगत रोगबाट लेखक, कवि-कलाकार पनि मुक्त छैनन् भन्ने निबन्धकार ठान्दछन् । सत्ता र कुर्सीको वरिपरि पुच्छर भएर निश्चित स्वार्थको लागि मेवाको आशाले सेवामा जुटेका झिँगा धपाउने नीच प्रवृत्तिमाथि खिल्ली उडाउँदै कसिलो व्यङ्ग्य निबन्धकारले कसेका छन् ।
झुट बाेलेर फाइदा लुट्ने, आश्वासन बाँडेर माथि पुग्ने, छिनछिनमा स्वार्थका निम्ति बाेली फेर्ने बुद्धिजीवी भनाउँदाहरू पनि आफ्ना कुरा प्रस्ट राख्न नसकी जिब्राे चपाउने जस्ता कमजोरीमाथि पनि उनी बाेलेका छन् । नेतासँग नाता जोडेर ब्रह्मलूट मच्चाउने, चेलीलाई विदेश पुऱ्याउने स्वाँठहरूका छाला काड्ने सुर निबन्धकारले गरेका छन् ।
मानिसको स्वविवेकलाई पनि झोलामै खाँदेर अन्धभक्तको झोला बोकेर हिँड्ने घोडाहरूलाई पनि निबन्धकारले सचेत गराउँदै, भानुभक्तको झोलादेखि प्रजातन्त्र कालसम्मका झोले प्रवृत्तिको अन्त्य हुनुपर्ने उनी ठान्दछन् । सल्लाहकार सबैलाई चाहिन्छ तर यहाँ त नराम्रा सल्लाहकारका खराब सल्लाहले नेता मन्त्रीको बुद्धि बिगारेको छ । नचाहिंदो झै-झगडा चर्काएको छ र अन्तर्घात गराएको छ । स्वार्थी सल्लाहकारहरूले स्थिति बिगारेको उनी देख्दछन् । हाम्रा डाक्टर-प्रोफेसर भनाउँदाहरूले पनि मानवीय मर्मलाई बुझ्न सकेनन् भने अरू कसले बुझ्न सक्ला ? उनीहरूमा पनि हाकिमी रौनक चढेको छ भन्ने गुनासो निबन्धकारको छ ।
सत्ताशक्तिको स्तुति गर्ने, यशोगान गर्न नेता-मन्त्रीका भक्त हुने प्रवृत्तिले क्षणिक उत्थानको भान भए पनि चाँडै पतन हुने चेतावनी लेखक-कवि कलाकारहरूलाई दिन निबन्धकार चाहन्छन् । राणा शासनको पालादेखि गोरखापत्र सस्थान सत्ताको जयगानदेखि माथि उक्लन सकेन। संसार कहाँबाट कहाँ पुगिसक्यो । गोरखापत्र जहिले पनि इतर र भितर छुट्याउनमै व्यस्त भएको निबन्धकार देख्तछन् ।
नेपाली प्रजातन्त्रलाई विषयवस्तु बनाएर लुइँटेलले केही निबन्ध लेखेका छन् । अन्याय, अत्याचार, वलात्कार, भ्रष्टाचार, नातावाद, कृपावाद, आतङ्क यी सबै कुरालाई प्रजातन्त्र देख्ने आँखा बनाइदेऊ भनी निबन्धकार आँखा-विशेषज्ञलाई अर्जी गर्दछन् । पैसा तिरेर मान्छे मार्न पाउने प्रजातन्त्र र भोकालाई पेटमा गोली हान्ने प्रजातन्त्र उल्लेख गर्दै नेपालमा पटक-पटक घूस-कमिसन, वलात्कार, भाँडभैलो, उद्दण्डता लिएर आउने प्रजातन्त्रलाई निबन्धकार पर-जा-तन्त्र भनेर व्यङ्ग्य गर्दै मुलुकबाट खेद्न चाहन्छन् ।
यसै गरी नेपाली सम्पादक जगतमाथि पनि लुइँटेलको आँखा परेको छ । सुविधाभोगी सरकारी सम्पादक, अर्धसरकारी कैँचे सम्पादक, कतै केही नहुने जोगी सम्पादक र सम्पादक भनेको के हो त्यो पनि नजान्ने सम्पादक यी सबैका विसङ्गति र विकृतिप्रति निबन्धकारले तिखो व्यङ्ग्य प्रहार गरेका छन् ।
लुइँटेलका निबन्धको भाषा सहज, सरल, स्पष्ट छ । अत्यधिक उखान-टुक्काको प्रयोग गरिएको छ । ‘तितरीको मुखै वैरी’ निबन्ध त निबन्ध होइन उखानको सङ्ग्रह जस्तो छ । अन्य ठाउँमा पनि प्रशस्तै उखानको प्रयोग उनले गरेका छन् । निबन्धमा कथात्मक शैलीको प्रयोग गर्न रुचाउने लुइँटेल केही ठाउँमा अनुप्रासयुक्त शैली अँगाल्न पुगेका छन् । उच्छृङ्खलता र अश्लीलताको गन्ध उनका निबन्धमा पाइँदैन । जस्तो सुकै विषयलाई समातेर पनि निबन्ध लेख्नु उनको विशेषता बनेको छ । अनौपचारिक शैली र ठट्यौलो भाषाले पनि उनका निबन्धलाई थप सहयोग पुऱ्याएको छ ।
हास्यभन्दा व्यङ्ग्य बढी भएका लुइँटेलका निबन्धमा विविध विसङ्गति र विकृतिप्रति व्यङ्ग्य गरिएको छ । आक्रोश ओकल्न विद्रोह मच्चाउनुभन्दा बढी आपत्ति, गुनासा र अर्जी गर्ने काम भएको छ । पाठकलाई सुधारात्मक सन्देश दिन लुइँटेल सफल छन् तर अन्यायी, अत्याचारी र दुराचारीहरूलाई जति चेतावनी दिनुपर्दथ्यो त्यति दिन सकेका छैनन् । व्यङ्ग्यकारले निर्भीक भएर सिस्नाका झ्याम्टा कस्नुपर्थ्याे, त्यो हुन सकेको छैन । किनभने अनैतिक दुराचारीहरूलाई नैतिकताको सन्देशले मात्र पुग्दैन तिनलाई त करेन्ट लाएर चेतावनी दिनुपर्छ ।
उल्लिखित दुइ निबन्ध सङ्ग्रहका समग्र निबन्धलाई हेर्दा निबन्धकार प्रगतिशील छन् । देखेको कुरा जस्ताको तस्तै लेखेर व्यक्त गर्नु गाह्रै कुरा हो तैपनि धेरै हदसम्म लुइँटेल यस कार्यमा सफल छन् । लुइँटेलको हास्य व्यङ्ग्य निबन्धकारिताबाट निकै उज्यालो भविष्यको आशा गर्न सकिने सम्भावनाका यी दुई निबन्ध सङ्ग्रह नै बलिया आधार हुन् ।
यथार्थ कुरा, पूर्णाङ्क- १६, (२०५३ असाेज)
०००
यथार्थ यात्रा- भाग १ (२०६६)
Subscribe
Login
0 Comments
Oldest







































