साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हास्यव्यङ्ग्य सिर्जनाका सिप र शैली (२)

व्यङ्ग्यकारले वैयक्तिक कमजोरी ताके, राजनीतिक ताली गालीको आली भत्काए । आर्थिक चुटाइ र ठोकाइको हुर्मत लिए । रुडिबुढीका आन्द्रा दुहे, नेताहरूको जात्रा गरे । पार्टी, पैसा, पोसाक प्रेमको हानाथाप, दुर्गति र असामञ्जस्यको चित्र खिचे ।

Nepal Telecom ad
चूडामणि वशिष्ठ :

५. नेपाली हास्य व्यङ्ग्यको विकास क्रम
यस्तो छ र यस्तो हुनुपर्छको द्वन्द्वले हास्य व्यङ्ग्यलाई आकर्षक वा प्रभावकारी बनाएको हुन्छ । एकाथरी मान्छे जस्तो छ मै सन्तोष गर्छन् भने अर्काथरी यस्तो हुनुपर्छ को खोजी गर्छन् । त्यसको प्राप्तिका निम्ति विरोध, प्रतिकार र विद्रोह गर्छन् । हुनपर्छको खोजी गर्ने व्यक्ति साहित्यकार हो । उसले हास्य व्यङ्ग्यरूपी हतियारको प्रयोग गरेर कतै खिसी, कतै उल्लीबिल्ली पार्दै, कतै रोष आक्रोश व्यक्त गर्दै होचीअर्घेली, विषमता, अन्याय, आडम्बर, विसङ्गति, विकृतिप्रति चिप्लो, स्वादिलो र हँस्यौलो भाषामा प्रहार गर्छ । कतै कठोर, आक्रामक र निर्मम पनि हुन्छ । यहाँ यस्तो हास्य व्यङ्ग्यले नेपाली साहित्यमा कहिलेदेखि प्रवेश पायो र यसको विकास कसरी हुँदै आयो भनेर हेर्ने प्रयत्न गरिएको छ ।

कुनै पनि साहित्यको विकासमा त्यस भाषाको लोकसाहित्यको पृष्ठभूमि रहेको हुन्छ । नेपाली साहित्यमा पनि लोकसाहित्यको प्रभाव रहेकै छ । हँस्यौली, ठट्यौलीको भाषामा अभिव्यक्ति दिने काम हाम्रो लोकसाहित्यमा पनि पाइन्छ ।

‘फट्याङ्ग्राले हलो जोत्यो झिँगाले डल्ला फोर्‍यो’ आदि जस्ता हँस्यौली र ‘एक हात एक बित्ता कोदालाको बिँड, चार औंली छोडेर दाँदेका छिँड’ जस्ता शिक्षामूलक सामग्री हाम्रा लोक साहित्यमा पाइन्छन् ।

अहिलेसम्म प्राप्त विवरण अनुसार नेपाली साहित्यमा वि.सं.१८५५ को शक्तिबल्लभ अर्ज्यालको हास्यकदम्बले हास्यव्यङ्ग्यको श्रीगणेश गरेको मानिन्छ । त्यसपछि छिटफुट रूपमा केही हास्यव्यङ्ग्य सामग्री फेला परे पनि पचास पचपन्न वर्षपछि नेपाली साहित्यको प्राथमिक कालमै सचेत भएर स्तरीय नेपाली भाषामा हास्य व्यङ्ग्यको उत्कृष्ट सिर्जना आदिकवि भानुभक्त आचार्यले गरे ।
रोज्‌रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात् भर्‌् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्‌मा म छू
लामखुट्या उपियाँ उडुस् यि सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्याहरु गाउँछन् यि उपियाँ नाच्छन् म हेर्छू बसी
भानुभक्तका हास्यव्यङ्ग्यले सासूबुहारीबिचका कचिँगलदेखि लिएर गाउँघर, अड्डाअदालत, जेल, प्रशासनका ढिलासुस्ती, दुष्प्रवृत्ति, कुसंस्कार आदि युगसापेक्ष महत्त्वका हास्यव्यङ्ग्य प्रस्तुत गरेका छन् ।

यसपछि प्राथमिक कालमै हास्यभन्दा व्यङ्ग्य प्रबल भएका रूढि, विसङ्गति, विकृतिमाथि धारिलो प्रहार गरिएका, ब्राह्मणवाद, मूर्तिपूजा, कर्मकाण्डको तीव्र विरोध गरिएका ज्ञान दिलदासका कविता फेला पर्छन् ।
खालि द्रव्यपिशाच श्राद्ध ढुकुवा छौं नाउँका ब्राह्मण
आशालुब्ध छ दक्षिणा र खिरमै जस्को सधैं जीवन । 
+ + +
पानीभित्र डुबी नुहाउँछ सधैं माछो कहाँ धर्म छ,
घाँटीले गदाहा बजाउँछ सधैं घण्टा कहाँ धर्म छ
कङ्गाली उपवास गर्छ दिनहुँ खोई कहाँ धर्म छ ?
सच्चा धर्म त त्यागमै छ जन हो संसार मौलाउँछ । 

माध्यमिक कालको थालनी मोतीराम युगबाट भएको मानिन्छ । यस समयमा हास्यव्यङ्ग्यले सामाजिक, आर्थिक, राजनीतिक आदिको व्यापक सेरोफेरोलाई व्यक्त गर्न सकेन । शृङ्गारिक भोगविलासको चित्रणमा हास्यलाई प्रयोग गर्‍यो । यस समयका मुख्य हास्यकारमा मोतीराम भट्ट, राजीवलोचन जोशी, शिखरनाथ सुवेदी, लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, शम्भुप्रसाद ढुङ्गेल, छविकान्त शर्मा आदि कविहरूले शृङ्गारिकतामा अडेसो लाएर हास्य उमार्ने चेष्टा गरेको पाइन्छ । माध्यमिककालीन हास्यकविताका केही नमुना :
शृङ्गार् खज्मजिएछ नानी किन हो ? तेज छैन मुख्‌मा अनी
टोलाईकन हेर्दछ्यौ अधर त्यो देखिन्छ दागी पनी
चाल ता छैन निको भनेर कहँदा हो हो भनी भन्दिनू
सानी छौ तर बानि कम्ति हुनगो नानी कसोरी भनूँ !
(नानी कसोरी भनूँ, लक्ष्मीदत्त पन्त)

आलु लसुन् प्याज मूला सरी
बिक्छन् यी पन्जाब पुगेर हरघडी
दशबिस हजार होइन लाख गइसके
हाम्रा विदेशी सब ज्वाइँ भैसके (छविकान्त शर्मा)

माध्यमिक कालको मुख्य प्रवृत्तिमा शृङ्गारधर्मी हास्य, अतिरञ्जना, भाषिक मिश्रण र भगवद्भक्तिभित्र शृङ्गारिकताको प्रवेश गराउनु हो ।
नागको कन्दनीलाई डर् भइ खस्यो निर्वाण भयाका पति
देख्ता लाज् नदिमा डुब्याकी जननी मङ्गल् गरून् पार्वती । 
यहाँ पार्वतीको भक्ति स्तुति गर्ने क्रममा शिवलाई नङ्ग्याइएको छ ।

नेपाली कविताको आधुनिक काल वि.सं. १९७४/७५ लाई मानिए पनि नेपाली हास्यव्यङ्ग्यले १९९१ को शारदा पत्रिकालाई पर्खिनु पर्‍यो । योभन्दा पहिले लेखनाथ पौडेल, बालकृष्ण समका नाटक कविताहरूमा हाँसो उमार्ने केही चेष्टा चाहिँ नगरिएको होइन । १९९१ प्छि माध्यमिक कालीन शृङ्गारिक हास्यलाई छोडेर पश्चिमी साहित्यमा प्रचलित सटायरलाई अङ्गीकार गरी नवीन जगत्‌को व्यापक सेरोफेरोलाई समातेको पाइन्छ । सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, साहित्यिक आदि विविध क्षेत्रमा देखा परेका विसङ्गति, विकृति, विरोधाभासलाई आधुनिक कविहरूले हँसिलो रसिलो भाषामा चोटिलो प्रहार गरेका छन् । आधुनिक हास्यव्यङ्ग्यकारहरूले अश्लीलताको वर्षाबाट माथि उठेर व्यङ्ग्यको वसन्तलाई पछ्याउन थालेको पाइन्छ ।

प्राथमिक र माध्यमिक कालमा प्रायः कविता र केही नाटकमा मात्रै सीमित रहेको हास्यव्यङ्ग्य आधुनिक कालमा गद्यतर्फ पनि फैलियो । आधुनिक हास्यव्यङ्ग्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको महत्त्वपूर्ण स्थान रहेको छ । २००७ सालभन्दा अघि र पछिका तमाम विसङ्गतिप्रतिको् व्यङ्ग्य यिनका कविता र निबन्धहरूमा आएका छन् । देवकोटाका व्यङ्ग्यमा विषयगत व्यापकता, प्रविधिगत प्रौढता, भावगत तरलता पाइन्छ । यिनका व्यङ्ग्यले अमानवीय पशुपत् व्यवहार र सामाजिक राजनीतिक अधोगतिको पर्दाफास गरेको छ । देवकोटाको मनोरञ्जन हास्यव्यङ्ग्य कविता सङ्ग्रह प्रकाशित छ । यसबाहेक दालभातडुकु, साँढे, पागल, भाँचूँ कि मेरो कलम जस्ता कवितासहित लक्ष्मी निबन्ध सङ्ग्रह जस्ता सिर्जनामा कला र व्यङ्ग्यको समुचित सन्तुलन छ ।

देवकोटापछि नेपाली हास्यव्यङ्ग्यमा देखा परेका अर्का प्रतिभा हुन् भीमनिधि तिवारी । यिनका करुण भावना, मानवतावादी स्वर, आँसु, संवेदनाहरूले नै व्यङ्ग्यको रूप धारण गरेका छन् । सरल भाषामा चोटिलो व्यङ्ग्य गर्ने तिवारीका विस्फोट, सिंहदरबार, कविता कुञ्ज, तितौरा र मस्यौरा हास्यव्यङ्ग्यात्मक कविता सङ्ग्रह हुन् । यी कवितामा सामाजिक आर्थिक विषमता र होचीअर्घेलीप्रति व्यङ्ग्य तिखारिएको छ । युगका विसङ्गति, विकृति, विद्रूपप्रति तीव्र आलोचना गर्नु तिवारीको प्रवृत्ति हो ।

यसपछि नेपाली हास्यव्यङ्ग्य कविताका सशक्त प्रतिभा हुन् भूपि शेरचन । यिनका व्यङ्ग्यात्मक कवितामा प्रतीक, बिम्ब, रूपक, उपमा आदिका साथमा मौलिक र रमणीय छटामा मुस्कुराउनुका साथै ध्वन्यात्मकतातिर व्यङ्ग्य उन्मुख भएको छ । नयाँ झ्याउरे, निर्झर, घुम्ने मेचमाथि अन्धो मान्छे यिनका प्रकाशित कविता सङ्ग्रह हुन् । मानवतावाद, प्रगतिवाद, व्यङ्ग्यचेतना र राष्ट्रियताको स्थापनातर्फ भूपिका कविता उन्मुख छन् । कलात्मक अभिव्यञ्जनाद्वारा व्यङ्ग्य गर्न खप्पिस कवि भूपि नेपाली साहित्यका उज्याला नक्षत्र हुन् ।

यसपछि नेपाली हास्यव्यङ्ग्यमा वासुदेव लुइटेल, दाताराम शर्मा, केशवराज पिँडाली, पूर्णप्रसाद ब्राह्मण, लीलध्वज थापा, अच्छा राई रसिक, कुलमणि देवकोटा, श्रीधर खनाल, नीरविक्रम प्यासी, भवानी घिमिरे, लक्ष्मण लोहनी, बालमुकुन्ददेव पाण्डे, प्रेमा शाह, यादव खरेल आदि धेरैभन्दा धेरै नाम हास्यव्यङ्ग्य साहित्यको इतिहासमा लिन सकिन्छ ।

यी आधुनिक व्यङ्ग्यकारहरूले समाजको व्यापक सेरोफेरोलाई पक्रेर आफ्नो व्यङ्ग्यमा प्रयोग गरेका छन् । हास्य र व्यङ्ग्य तथा कवित्व र व्यङ्ग्यको संश्लेषण, भाषिक कुशलता, भावगत तरलता, प्रविधिगत प्रौढता, विषयगत विविधता आदि दृष्टिले हास्यव्यङ्ग्यलाई सबल बनाएका छन् ।

हास्यव्यङ्ग्यको इतिहासमा गद्यतर्फ दृष्टि दिँदा शक्तिबल्लभ अर्ज्यालको हास्यकदम्ब अनुवाद थियो । प्राथमिक र माध्यमिक कालमा नगण्य रूपमा मात्रै हास्यव्यङ्ग्य फेला पर्दछन् । सुन्दरी पत्रिकामा सोमनाथ सिग्देलको हास्यपूर्ण प्रहसन दिगम्बर विवाह गद्यतर्फको सुरुआत हो । १९९१ म शारदा पत्रिका प्रकाशित भएपछि हस्सीदिल्लगी भन्ने स्तम्भमा धेरै लेखकहरूले कलम चलाए । रुद्रराज पाण्डेको रामेछापको कान्छो मगर, प्रेमराज शर्माको पण्डितजीको चिठी, शिवलाल पण्डितको वेदान्त विवादको मिसिल, केशवराज पिँडालीको सङ्गीतको कपालकृया आदि ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन् ।

प्रेमराज शर्माको ससुराली नाटक, वेदनिधि शर्माको जातीय रोगको अचूक औषधि, लेखनाथ पौडेलको लक्ष्मीपूजा नाटक पनि उल्लेखनीय छन् ।

लक्ष्मीप्रसाद देवकोटाको लक्ष्मी निबन्ध सङ्ग्रह हास्यभन्दा व्यङ्ग्यका दृष्टिले प्रबल र उत्कृष्ट छ । हृदयचन्द्र सिंह प्रधानको कटकानन्द काकालाई चिठीमा धार्मिक अन्धविश्वास र रूढिमाथि हास्यपूर्ण प्रहार गरिएको छ । प्रेमराज शर्माको ससुराली, केशवराज पिँडालीको खै खै, अच्छा राई रसिकको सप्तकोशी, भैरव अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, दशअवतार, इतिश्री आदि, रामकुमार पाँडेको ख्याल ख्याल, सन्चै छ ?, बाबुको बिहे, श्यामप्रसाद गोतामेको मपाइँ, मोहनराज शर्माको च्याँखे धर्ना, भुतको भिनाजुको चिठी चपेटा  आदि जस्ता थुप्रै व्यङ्ग्यकारका मनग्गे व्यङ्ग्यका पुस्तकहरू प्रकाशित छन् ।

विभिन्न पत्रपत्रिकाले हास्यव्यङ्ग्य स्तम्भ खोली हास्यव्यङ्ग्यलाई आश्रय दिने काम गरेको पाइन्छ । जागरण पत्रिकामा हिमालको हरियो हिउँ, हालखबरमा हाँस्नुहुन्छ भने, नयाँ समाजमा बाउँटे बाजेको चिठी, नेपाल समाचारमा यो उपत्यका हो, गोरखापत्रमा जुँगे दाइको चिठी, साप्ताहिकमा तितो मिठो, रूपरेखामा झर्रो टर्रो आदि स्तम्भले धेरैलाई हास्यव्यङ्ग्यकार बनाएको पाइन्छ ।

हालखबर पत्रिकाले हास्यव्यङ्ग्य विशेषाङ्क निकालेर प्रश्रय दिएपछि र गाईजात्रे लेखनको परम्परा सुरु गरेपछि नेपाली हास्यव्यङ्ग्य धेरै मौलायो । शिक्षा तथा संस्कृति मन्त्रालयले हास्यव्यङ्ग्य प्रतियोगिता नै गरायो जसबाट मदनकृष्ण, हरिवंश, सन्तोष पन्त, गोपालराज मैनाली जस्ता चम्किला तारा उदाए ।

यस समयका व्यङ्ग्यकारले वैयक्तिक कमजोरी ताके, राजनीतिक ताली गालीको आली भत्काए । आर्थिक चुटाइ र ठोकाइको हुर्मत लिए । रुडिबुढीका आन्द्रा दुहे, नेताहरूको जात्रा गरे । पार्टी, पैसा, पोसाक प्रेमको हानाथाप, दुर्गति र असामञ्जस्यको चित्र खिचे । व्यङ्ग्यकार कोही झटारो भए, कोही चट्याङ भए, कोही सुइरो भए, कोही इखालु भए, कोही विखालु भएर खनिए । कति प्रतिशोधले जुर्मुराए, कति तिखा काँडा बनेर ठडिए । यसरी विभिन्न व्यङ्ग्यकारले नेपाली हास्यव्यङ्ग्यलाई माथि उचाले ।

नेपाली हास्यव्यङ्ग्यमा गहिराइ, परिपक्वता, शुद्धता, बौद्धिकता, प्रतीकात्मकताका दृष्टिले देवकोटा, सामाजिक वैचारिकताका दृष्टिले हृदयचन्द्र सिंह, घटना संयोजनका दृष्टिले केशवराज पिँडाली, मर्म छिचोल्ने दृष्टिले वासुदेव शर्मा, उक्ति वैचित्र्यका दृष्टिले कुलमणि देवकोटा, सामाजिक विरोधाभास, वैयक्तिक दुर्बलता, मर्यादित हास्य, गहिरो भावयुक्त मानवीय मायालु दृष्टिले भैरव अर्याललाई नेपाली हास्यव्यङ्ग्यले कहिल्यै बिर्सनु हुँदैन ।

६. हास्यव्यङ्ग्य सिर्जनाका सिप र शैली
क) बिब्ल्याँटो प्रस्तुति : नेपाली हास्यव्यङ्ग्यकारले हास्यव्यङ्ग्यको सिर्जना गर्न अनेक शैली सिपको प्रयोग गरेका छन् । आफ्नै जीवनका विसङ्गत तिक्त भोगाइलाई बिब्ल्याँटोतिरबाट गज्जब राम्रो छ भनी उल्क्याउने सिपको प्रदर्शन आदिकवि भानुभक्तले गरे । त्यसकारण बिब्ल्याँटो प्रस्तुति हास्यव्यङ्ग्य सिर्जनाको एउटा सिप र शैली हो ।
रोज्‌रोज् दर्शन पाउँछू चरणको ताप् छैन मन्मा कछू
रात् भर्‌् नाच् पनि हेर्छु खर्च नगरी ठूला चयन्‌मा म छू
लामखुट्या उपियाँ उडुस् यि सँगी छन् यिन्कै लहड्मा बसी
लाम्खुट्याहरु गाउँछन् यि उपियाँ नाच्छन् म हेर्छू बसी (भानुभक्त)

दुःखीले दुःखमै रमाउन सिक्न सक्नुपर्छ । सुखीले यो आनन्दको अनुभव गर्नै पाउँदैनन् भन्दै हतियारको धारतिरबाट होइन, पासातिरबाट दोक्च्याइएको अर्को एउटा बिब्ल्याँटो कविता हेरौं :
खटिरा दादुरा घाउ जिउमा सल्बलाउँदा
कति आनन्द आउँछ फोका फुन्सा पलाउँदा
पट्ट फुटेर ती फोका पानी त्यो कल्कलाउँदा
अझ आनन्द आउँछ निचोरी तह लाउँदा (नव घिमिरे, आनन्द, सुसेली ११)

ख) भाषिक मिश्रण :
यो पनि हास्यव्यङ्ग्य सिर्जनाको एउटा सिप र शैली हो । जस्तै :
बाँडा एक रहेछ भेट् हुन गयो कुत्र त्वया गम्यते
सोध्दा भारि जवाफ् दिएर हिँडिगो “जी ला खिफाए वने” (मोतीराम भट्ट)

ग) शृङ्गारिकता :
हास्य सिर्जना गर्ने सिपका रूपमा खास गरी माध्यमिक कालमा मौलाएको शृङ्गारिकता अहिले पनि बेला बखतमा देखिन्छ ।
आऊ प्रिये नगर बेर भनी मलाई
राखेर काखबिच हात दुवै समाई
ती लाल ओठ मुखनेर पुर्‍याउनुभो
लौ भन्न सक्तिन म ता पछि कुन्नि के भो ?

घ) भक्ति, स्तुतिभित्र शृङ्गारिकता वा नग्नता :
एक् दिन शङ्कर पार्वती हिमगिरीमा राज् भयाको थियो
दर्शन् गर्न गरुडमा चढि हरि ताहाँ सवारी भयो ।
नाग्‌को कन्दनी लाई डर् भइ खस्यो निर्वाण् भयाका पति
देख्ता लाज् नदिमा डुब्याकी जननी मङ्गल् गरून् पार्वती (राजीवलोचन जोशी)

ङ) शारीरिक विसङ्गति वा कमजोरी :
कसैको शारीरिक कमजोरीप्रति उपहास गरेर हस्सी मजाक उडाउने कार्य नराम्रो मात्रै होइन, निन्दनीय पनि हो तर पनि हास्यकारहरूले यस्तो कार्य गर्दै आएको पाइन्छ । मोतीराम भट्टले भक्‌भके उच्चारणमा प्रस्तुत गरेको यो कविता हेरौं :
नन्नन्नव सुधा लेऊ तत्तत्ताप सबै हरी
धध्धध्यान यता देऊ मम्मम्मोज ठुलो गरी
बेस् छ बज्यै भन्यो भने बेस्से भनिस् भन्थी
अरु सबै हाँडी भन्थे ऊ त राँडी सुन्थी
…चाक्सी खानुहुन्छ आमा ? भनी एउटी सोध्थी
कीरा परोस् तेरा मुखमा तैं नै बोक्सी भन्थी (सम)

च) आफूमा लागेको आक्षेपलाई हुँङ्कारसहित स्वीकार गरेझैं गरेर आक्षेप लाउनेहरूलाई भकुर्ने कला :
जरुर साथी म पागल
यस्तै छ मेरो हाल … (देवकोटा)

छ) विकृत राजनीतिको आन्द्रा दुहुनु :
सत्ताको खेल खेल्दा खेल्दै मामा मन्त्री भए
नातावादमा बाबाले पनि सांसद पद पाए
काठमाडौंमा घर किन्नु भो एकै वर्षभित्र
मन्त्रीदेखि सचिवसम्म सबै इष्टमित्र
दुईदुई पजेरो छन् भन्सार छुटमा पाको
थोत्रे पनि मायाँ छैन सित्तै जस्तो आको (उद्धव बिस्ट, म : हिजो र आज, सुसेली ११)

ज) तुकबन्दी मिलाउँदा पनि हास्य सिर्जना हुन्छ । जस्तै :
अमेरिकाले चन्द्रमातिर जेट उडाएकै दिन मेरो घरमा बिरालाले दुध उडायो (भैरव अर्याल)

झ) व्यङ्ग्यमा आफूले नजानेको जस्तो भएर प्रस्तुत हुनु । जस्तै :
कतै देख्छु नारी लगौंटी कसेका, कतै कट्टु मात्रै लगाई बसेका
धनी देश भन्ने कुरै मात्र रैछ, त्यसैले म फर्केर आएँ स्वदेश (कोमल प्र.पोखरेल, मेरो अमेरिका यात्रा¬)

ञ) आर्थिक विसङ्गति (भ्रष्टाचार) को उछित्तो काढ्दा पनि हाँसो उठ्छ । जस्तै :
भ्रष्टले घुस मात्रै होइन भुसै खाइदिएपछि
गाई भैंसी सुँगुर बङ्गुरको कति चित्त दुख्छ,
भ्रष्टले यसरी घाँस खाइदिँदा कसरी जनावरलाई पुग्छ ?
एउटा पक्ष घृणा गर्दै भ्रष्टको मुखमा थुक्छ
अर्को पक्ष फूलमाला लिएर सम्मान गर्न पुग्छ (मरुभूमि नारायण, नाङ्गो देख्नेले …सुसेली)

ट) अनुप्रास योजनाबाट पनि हास्यको सृजना हुन्छ । जस्तै :
घुसखोरीप्रति घुरेर घले, घिमिरे घर्ती र घतानी घुरघुर गर्थे, घुस्याहालाई घिसारेर घुस्सै घुस्साले घुच्चुकमा घिच्याएर घरघरमा घुमाउँदै घिटिक् घिटिक् घाँटी घिट्किन्जेलसम्म घोक्रेठ्याक् लाएर घाटतिर घचेट्नुपर्ने खालका घैँटे घ्याम्पेहरू (केशवराज अर्याल, घ पुराण, सुसेली ११)

ठ) प्रस्तुतिमा वैपरीत्य :
यस ढङ्गबाट पनि हास्यको सिर्जना हुन्छ । जस्तै :
रक्सीलाई घृणा गर्ने जङ्गली हो । समुद्र मन्थन गर्दा अमृतसँगै निस्केको रक्सी खानै नहुने भनेर कस्ले भन्यो हँ ? …रक्सी अमृतको जुम्ल्याहा भाइ हो । पहिले अज्ञानतावस रक्सीको आलोचना गरेकोमा माफी पाऊँ । आधुनिक कालमा रक्सी नखाने मान्छे खोज्नु र एकमुखे रुद्राक्ष खोज्नु एउटै हो (काशीनाथ मिश्रित, अँगेरी, सुसेली ११)

ड) गैह्रजिम्मेवारीको चित्रण
यस प्रकारबाट पनि हास्यव्यङ्ग्यको सृजना हुन्छ । एउटा नमुना :
कृषि मन्त्रालयले कृषकलाई निर्देशन दिन्छ — समय, गच्छे, लक्ष्य अनुसारको खेती गर्नु, पेट भर्नु, उब्रिए बेच्नु, बिउ नउम्रिए हामीलाई भेट्नु, राम्ररी खेती गर्नु, हामीलाई आँखा नतर्नु, नत्र हुन्छ मर्नु, हामीले अरू के गर्नु ? … मान्छेले मान्छे मार्न निर्देशन पर्खिन छोडिसके, बाली खाने किरा फट्याङ्ग्रा गाई वस्तु भेडा बाख्रा बाँदर हात्ती वनेल मार्न निर्देशन पर्खिरहनु पर्छ ? (शेषराज भट्टराई, निर्देशनालय..सुसेली ११)

ढ) दलगत विकृति :
चोरी चकारी नगरी चतुर्‍याइँ हुन्न, दङ्गा फसाद नगरे इजतै रहन्न
सोझा र सज्जन कवै नलिनू दलैमा, पार्टी चलाउनु सधैं छल औ बलैमा
(भैरव अर्याल, नेता नं १०१)

ण) राजनीतिक विकृति :
छ गुन्डा र डाकाहरूको रजाइँ
बुढा गोरुका चल्दछन् नित्य दाइँ
उनै छन् तपाईं उनै छन् मपाइँ
उनै गर्दछन् झन् ठुलो टाइँफाइँ (होम सुवेदी, स्वर्गबाट वितृष्णा जागेपछि)

न नारा लगाएर सातो लगार्छन्‌‌
न गाडी डढाई त्यहाँ भष्म पार्छन्‌‌
यसो गर्न पाइन्न भन्ने बुझेर
म फर्केर आएँ अलिक दिन घुमेर  (कोमलप्रसाद पोखरेल, मेरो अमेरिका यात्रा)
विर्तामोडमा पूर्वपश्चिम चक्काजाम र बजार हड्ताल लगाउने प्रोग्राम छ आज, कार्यकर्तालाई बोरा दुएक मुट्ठीभरका ढुङ्गा र इँटाका टुक्रा, भाटा, लौरा, दुईपाथी मटितेल, एक पोलोथिन थोत्रा जुत्ता चप्पल, मोसो जस्ता हड्ताललाई आवश्यक सर्जामको जोहो गर्न पठाइरथेँ ।  (नकुल काजी, गणतन्त्र….सुुसेली ११)

त) नेतृत्वको विकृत चरित्र :
ज्वाइँ आउँदै छन्‌‌
प्रत्येक बस र जहाजमा सिट खाली राख
उसका लागि शुद्ध दुधको छाली राख
ज्वाइँहरू मद्यप्रेमी हुन्छन्‌‌
सक्नेले विदेशी नसक्नेले तीनपाने हालिराख
राम्रा खसी  कुखुरा पालिराख
गिलासमा मद्यपान हालिराख
नयाँ नयाँ बैंसालु साली राख (भारद्वाज, ज्वाइँहरू ससुराली फर्किँदै छन्, सुसेली ११)

थ) विसङ्गगति :
आउँदै नआउने, आए काम नदिने बिजुली सरकारलाई निबेदन
नपठाउनु, पठाउनु नै हुन्छ भने बिजुली भने पनि
कम्ती भोल्टेजको मात्र पठाउनु
कम्प्युटर नखुलोस्, फेसबुकमा रल्लिनेहरू रल्लिन नपाऊन्‌‌
टिभी नबोलोस्, फिलिममा भुलिन नपाऊन्‌‌
पङ्खा धेरै नघुमोस्,
हाम्रो देशमा नबन्ने पङ्खा जोगियोस्‌‌
हामी हाते पङ्खा बनाउँला ! हल्लाउँला ! (पुण्य खरेल, बिजुली सरकारमा निवेदन, सुसेली ११)

द) कोही कोही बेला जो भएको यथार्थ कुरा पनि आफैं व्यङ्ग्य भइदिन्छ । जस्तै :
यो नेतै नेताको जङ्गलमा खिलराज कसरी प्रधानमन्त्री भए भन्ने जवाफमा लेखक भन्छन् :
देशका सबै दलहरू हामी कुकुर बिरालो जस्तो भएर नमिल्ने भयौं । छिमेकी देशसँग गुहार माग्दा पनि केही लागेन । दिल्ली तीर्थका पुजारी पण्डा भेट्ता पनि भएन । लौ गुरुबा यो देश तपाईंले चलाउनु पर्‍यो । तपाईंले निर्वाचन गराएर हामी असफल नेताहरूलाई आसनमा बसाइदेऊ प्रभु ! भनेर फकाएर ढोगेर, बिन्ती बिसाएर, दियो कलश पूजा गरी फूल अक्षताले वरण गरेर ल्याइएका अद्भुत पुरुष हुन् खिलराज ! (विरही अधिकारी, फेरि पनि मैले हारेँ, सुसेली ११)

ध) प्रहरी र पत्रकारका विकृति विसङ्गति :
दिउँसै त्यत्रो मारपिट भयो, प्रहरीले छेक्तै छेकेन
पत्रकार पनि खै किन डराए, कसैले एक शब्द लेख्तै लेखेन
कस्तो आयो जमाना, ए भुन्टेकी आमा !
रुपैयाको बिटो मुखमा कोचिदिँदा मुख पो बन्द हुनुपर्ने त
आँखा पनि पो बन्द भएछ, कसैले त्यो घटना देख्तै देखेन ।
(कृष्ण सुवेदी निराकार, विडम्बना, सुसेली ११)

न) शैक्षिक विसङ्गति :
(बेरोजगार उत्पादन कलेजको विद्यार्थी भर्ना सम्बन्धी सूचना)
विगत वर्ष झैं यस वर्ष पनि शतप्रतिशत बेरोजगारको उत्पादन गर्न सफल भएको र आगामी वर्ष बेरोजगार उत्पादन गर्ने लक्ष्य सहित विद्यार्थी भर्ना खुलिसकेको जानकारी गराइन्छ । यस कलेजले होटल मेनेजमेन्टतर्फ मात्र भाँडा माज्न र गिलास पखाल्न दक्ष बनाउने, टुरिजमतर्फ भारी बोक्न सक्षम बनाउने लक्ष्य राखेको हुँदा डिस्टिङ्क्‌सन श्रेणीमा पास हुने विद्यार्थीले चाँडै सम्पर्क गर्नुहोला । सिट सीमित छ ।  (विनोद खनाल, १०+२ विज्ञापन, सुुसेली ११)

प) हास्यव्यङ्ग्य लेख माग्ने सम्पादकलाई लखक भन्छन् :
पछि नानी जन्मिएपछि उनकै बोर्डिङमा भर्ना गरिदिनु पर्ने सर्तमा बिहेको जोडी मिलाइदिने बोर्डिङे प्रिन्सिपल र मेरी छोरी जन्मिन् भने तिम्रै छोरालाई दिउँला, सम्धी सम्धी हौंला भनेर विद्यार्थी तान्ने प्राइभेट कलेजका प्रिन्सिपल आदि जस्ता शिक्षासेवीलाई सम्झिँदै हाँस्तै गरे भइगो नि ! किन चाहियो हास्यव्यङ्ग्य लेख ? (चूडामणि वशिष्ठ, अहिलेलाई हाँस्न बौलाउनु पर्छ, सुसेली ११)

फ) उपहास
निम्न स्तरीय व्यर्थका अनर्थ लोकगीतको उपहास गर्दै उडाइएको :
खोरै ज्यानको साना डल्ला बाख्रा मट्याङ्ग्रो
खेतमा हाले मलै हुन्छ बाख्रा मट्याङ्ग्रो
हेर्दा खेरी चना जस्तो बाख्रा मट्याङ्ग्रो
खान भने हुँदै हुन्न बाख्रा मट्याङ्ग्रो  (बालमुकुन्ददेव पाण्डे)

ब) न्यायिक विषमता :
दुःखी छन् दुखिया उस्तै धनी छन् धनिका धनी
दुःखी छन् पसिना पुछ्तै धनी पङ्खा हवामुनि
बोलपट्टू प्रजातन्त्र ल्याएको कसलाई हो ?
पाडो भोकै मर्‍यो भैंसी ब्याएको कसलाई हो ?  (मित्रलाल पङ्ग्यानी, प्रलेस ४/४)

सडक बिच कुकुर बस्छ उसको ज्यान जान्छ
त्यही ठाउँमा साँढे बस्छ मोटर घुमी जान्छ (भीमनिधि तिवारी)

भ) प्यारोडी :
पथ सात फुटे बस नौ गजको
सिट बीस भए भिड सौतकको
छ त अन्त कतै सुविधा यसरी
अलकापुरी कान्तिपुरी नगरी (भैरव अर्याल, कान्तिपुरी नगरी)

म) फेसनको विकृति :
जन्ती आएका आइमाई मान्छे डँडाल्नापट्टि सबै नाङ्गा, चोलो त मखुन्डो जस्तो तुना बाँधेको ! म ता हेर्‍या हेर्‍यै भएँछु । घाममा टल्किएका सेता सयौं डडाल्नाले झन्डै मेरो आँखाको फ्युज गएको ! हैन के जमाना आयो गाँठे ! …केटीहरूले चाहिँ छोटा कम्मरबाट तल झरेका मिडी र माथि सरेका भेस्ट लाएछन्, यसो निहुरिनुपर्‍यो भने स्वाहा ! सर्वस्व !! (चूडामणि वशिष्ठ, मुलाको मुरली)

७. निष्कर्ष
हास्यव्यङ्ग्य मुख्य रूपमा विसङ्गति, विकृति, विषम, बिब्ल्याँटा परिस्थिति, विरोधाभास, नग्नता, शृङ्गार, ठट्टा, गफ, लालबुझक्कडी, बतुकका कुरा, भाषिक मिश्रण, घोचपेच, गाली, निन्दा, मुर्ख्याइँ, भाषामा झर्रोपन, अनुप्रास, अपव्याख्या, शारीरिक मानसिक वैयक्तिक कमजोरी, विभिन्न क्षेत्रका कुरूपता, विद्रूपता आदिलाई अत्यन्तै हँस्यौलो ठट्यौली, खाँट्टी भाषामा सिर्जना गरिन्छ । उक्तिवैचित्र्य, अतिरञ्जना, वक्रोक्ति, स्वैरकल्पना, शब्दशक्ति, अनुप्रास अलङ्कार, उखान टुक्काको प्रयोग आदि यसका उपकरण हुन् ।

सन्दर्भ सामग्री
अधिकारी, गंगाप्रसाद, (२०६१) भूमिका. कुरा यिनै हुन् कसो पो गर्ने र ! (ले.तित्रा). भद्रपुर : छत्रप्रसाद अधिकारी ।
अधिकारी, गंगाप्रसाद (२०६९) हास्यव्यङ्ग्य रचनामा हास्य सिर्जनाका युक्ति र प्रयुक्ति : एक छलफल. सुसेली ११. पृ.९(२५ ।
अर्याल, भैरव (२०६०). भैरव अर्यालका हास्यव्यङ्ग्य. काठमाडौं : भैरव पुरस्कार गुठी ।
खरेल, विजय (सम्पा) (२०६९) सुसेली १२ : ११. (भैरव अर्याल अङ्क) ।
त्रिपाठी, वासुदेव. (२०३५) हास्यव्यङ्ग्य परिचर्चा. रचना. १५ : ४ ।
त्रिपाठी, वासुदेव (२०५१) हास्य–व्यङ्ग्यको सैद्धान्तिक सन्दर्भतर्फ. प्रज्ञा. २३, पू. ८०. पृ. ८२–१५४ ।
वशिष्ठ, चूडामणि (२०७९) मुलाको मुरली. भद्रपुर : श्रीमती कल्पना वशिष्ठ ।
सुवेदी, जीवनाथ (२०६६). झापाको नेपाली हास्यव्यङ्ग्य साहित्य. कनकाई स्वर्णवर्ष स्मारिका. सुरुङ्गा : कनकाई माध्यमिक विद्यालय पृ. ७०—८४ ।
सुवेदी, होम (सम्पा.)(२०६८) प्रतिनिधि झापाली हास्यव्यङ्ग्यकारहरू. चन्द्रगढी : जुही प्रकाशन ।
सुवेदी, होम (२०७९). स्वर्गबाट वितृष्णा जागेपछि. काठमाडौं : भुँडीपुराण प्रकाशन ।

०००
अवकाशप्राप्त सहप्राध्यापक, मेची बहुमुखी क्याम्पस, भद्रपुर
(मेची बहुमुखी क्याम्पस, अनुसन्धान व्यवस्थापन कक्ष (RMC) द्वारा आयोजित मिति २०८०।८।२३ गते मेची बहुमुखी क्याम्पसमा आयोजित एक दिने हास्यव्यङ्ग्य सम्बन्धी गोष्ठीमा प्रस्तुत गोष्ठीपत्रको दोस्रो भाग  ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x