चूडामणि वशिष्ठजागिरपछिको करामत
आफ्नै कुल वंशको वंशावली बनाउने भनेर त्यसको मुहानमा बस्दा पनि हुन्छ । हँ, बल्ल कुरो ठेगानमा आयो । अब वंशावलीमा भिड्नुपर्छ भनेर आफ्नो कुलवंश, बन्धुबान्धवभित्र छिरेर मच्चाएँ हुँडलो ! एउटा समिति बनाएर अध्यक्ष बनेँ ।

चूडामणि वशिष्ठ :
जिन्दगीमा गर्ने नगर्ने सबै गरियो । लोकसेवा आयोगबाट भ्रष्टाचार गर्न पाउने सिफारिस प्राप्त भएपछि के मात्रै गरिएन र ? जागिर खाएको वेला गरिब, दुःखी, निम्जा, निरीह जनतालाई कानुनको आग्लो उज्याएर हर्काउने, तर्साउने मात्र होइन, ठेट्ने बाच्छाले बुढी माउको फाँचामा मुख गाडेर सनक्कै सबै तानेजस्तै सेवाग्राहीहरूलाई मजाले दोहन गरियो । तिनका बाख्रापाठा, पाडाबाच्छा मात्रै होइन, घरबारी समेत भ्याइयो । खै, त्यो वेला कस्तो मति आएको ! घुस नआउने काम छुन पनि मन नलाग्ने ! सेवाग्राहीहरू अनुनय विनय गर्थे, नमस्ते जाबो त कति गर्थे गर्थे, कतिले त आँसु पनि खसाल्थे तर कसैको वास्ता गरिएन । कार्यालयमा धाउँदा धाउँदा ती सेवाग्राही पिना भैसक्थ तर पनि हाम्रो मन पग्लिँदैनथ्यो, बरु ढुङ्गो पग्लेला । कार्यालयको काम निकाल्न नसकेर फर्कंदै गर्दा ऊ पर गेटमा एउटा बिचौलियालाई खडा गरिएको हुन्थ्यो, उसले बडो नम्र भद्र भएर तपाईंको काम भयो ? भनेर ती मान्छेलाई सोध्थ्यो । भएन अझै कति दिन धाउन पर्ने हो ! खै केइ नियम कानुन प्रक्रिया के के भन्थे, मिलेन अरे ! अनि उसले आफ्नो भाग लिएर भित्र टेबल टेबलमा दाम झार्दै अगाडि बढाउने नियम, कानुन, प्रक्रिया सिकाइदिन्थ्यो ।
हाम्रो आफ्नै सिद्धान्त थियो । दाम दिए काम गर्यो, नदिए एउटा न एउटा बखेडा, गाँजे, गेजु, गोज्याङ भिराएर पठाइदियो । कोही कोही अलिक टाठाबाठा भनाउँदा जिराहाहरू हाकिमलाई अर्जी गर्न जान्थे तर ती लठुवालाई के थाहा डेङ्गोको अर्जी मच्छडसँग गरेर केही हुँदैन भन्ने ! हाकिमले अरू धेरै कानुन र प्रक्रियाको गजमौरो थपेर पठाइदिन्थे । के गर्नु भनेको हो त्यो बुझ्दैनथे बबुराहरू, रनभुल्लमा पर्थे । कार्यालयमा माथि हाकिमदेखि तल पाले, पियन र बाहिरका बिचौलियासम्मको राम्रो सेटिङ थियो । तेति भएपछि दाम नचढाई काम लिने कसैको चानसै थिएन । हाम्रो कार्यालयमा बाक्लै काम परिरहने मान्छेहरू चाहिँ एक प्रकारले बानी नै परेका थिए । राजस्वबाहेकको टेबल टेबलको दररेट, प्रतिशत उनीहरूले बुझेकै हुन्थे । यस्ता बानी परेका मान्छे आउँदा हामीलाई सजिलो हुन्थ्यो । बानी, पशुलाई बरु सजिलै लगाउन सकिन्छ, मान्छेलाई चाहिँ गाह्रो ।
मेरो घरमा बुढोबुढो भएको एउटा लाले गोरु थियो । घँस्याएर कति राख्नु भनेर बेच्नलाई बजार लग्यो पटक्कै नबिक्ने । किन्न आउने मान्छेले गोरुको मुख च्यातेर दाँत हेर्थे अनि ‘ए बुढो रहेछ’ भन्थे । हप्तैपिच्छे बजार लगेर दुनियाँले मुख च्यातेपछि गोरु बानी परेछ । त्यसपछि कोही मान्छे छेउमा आयो भने त्यो गोरुले ङिच्च गरेर दाँत आफैं देखाउन थाल्यो । तर यी मान्छेलाई कहिल्यै बानी नलाग्ने । कार्यालयमा काम लिन आउँदा राजस्व बाहेक पनि पैसा बोक्नै पर्छ भन्ने अझै कस्तो बानी नलागेको ! जनता त लाले गोरु जतिका पनि भएनन् । धेरै मान्छे गोजीमा घुसका निम्ति अतिरिक्त पैसा नभएर फर्केर जान्थे ।
प्रत्येक दिन टेबलमा राम्रै सङ्कलन हुन्थ्यो । पाँच बजेपछि जुँगा अनुसारको भाग लाग्थ्यो । हाकिम जुँगामुठे नै थिए । माथि मन्त्रालय भ्रष्टालयतिर पनि पठाउनुपर्छ भनेर उनको मोटो भाग लाग्थ्यो । त्यसो नगरे भ्रष्टाचारको दण्ड सजायको चाबुक बर्सिन सक्छ भनेर हामीलाई तर्साउँथे । उनी कति राखेर कति पठाउँथे, त्यो भन्दैनथे । त्यति गर्दा पनि आफूलाई राम्रै भाग लाग्थ्यो । आफ्नो भागको २५ प्रतिशत जति श्रीमती छोराछोरीको दैनिक फर्मायसी र साँझमा आफ्नो ऐँठनपानी, कुखुराका साँप्रा आदिको परिपूर्तिमा खर्चिन्थ्यो ।
खोयाखाजा र साँप्रा चबाउने कार्यक्रममा सबै स्टाफ भेला भइन्थ्यो । भोलि कुन किसिमका सेवाग्राहीलाई के के भनेर पजल गराउने, तिनको हेन्डलिङ कसरी गर्ने, गोजीका ताता पैसा कसरी झार्ने भन्ने विषयमा चिन्तन हुन्थ्यो । साथीहरूले अनेक नयाँ नयाँ जुक्ति, बुद्धि अक्कल झिक्थे । कहिलेकाहीँ पैसा झार्ने क्रममा कुनै सेवाग्राहीले विद्रोह ओकल्थ्यो, अप्ठ्यारो पार्ला जस्तो हुन्थ्यो, आफ्नै चुकुल खुस्किएला कि भन्ने त्राहि हुन्थ्यो । त्यस्ता वेलामा सेवाग्राहीका अगाडि हाकिमले साँच्चै रिसाएजस्तो गरेर “तिमेर्लाई जागिर खान मन छ कि छैन ? जनतालाई दुःख दिनु हुन्छ ? काम गरेको बापत सरकारले तलब दिएको छैन ? को हो हात पसार्ने ? पोष्ट अफिसमा सरुवा चाहिएको हो ? कि हुम्ला डोटीतिर पुग्ने विचार छ ? जनताको सेवा गर्नु पर्दैन ? तिमेरू शासक होइनौ, सेवक हौ । आइन्दा यस्तो भयो भने राम्रो हुनेछैन ।” भनेर हामीलाई झपार्दै रिसाएको त्यो सेवाग्राहीलाई उनकै च्याम्बरमा लगेर चिया खुवाएर फुल्फुल्याउँथे । हामी त्यस्ता मान्छेको काम पाँच मिनेटमै सकेर विदा गरिहाल्थ्यौं । त्यस्ताले अरूलाई समेत बिगार्ने सम्भावना हुन्थ्यो । बेलुका खोयासाँप्रा कार्यक्रममा “कस्तो लाग्यो त मेरो दिउँसो अफिसको अभिनय कला ?” भनेर सोध्दै हाकिम आफैं डल्लो परेर हाँस्थे ।
सम्पत्ति राम्रै जोडियो । ठाउँठाउँमा घर घडेरी छन् । बैंकव्यालेन्स गतिलै छ । विभिन्न ठाउँको सेयरको स्थिति राम्रै छ । छोराछोरी पढेर हुर्किए । उच्च शिक्षा विदेशकै विश्वविद्यालयमा पूरा गरेर उतै रमाएर गरिखाँदै छन् । आवश्यक पर्यो भने भन्नू पैसा पठाइदिन्छौं भन्छन् । तिमीले के पैसा पठाउनु पर्छ, बरु त्यहाँ घरघडेरी जोड्न गाह्रो भयो भने मै पठाइदिउँला भन्दिन्छु । आठदश करोड त पठाइयो पनि । यहाँको करोड पठाउँदा त्यहाँ लाख पनि हुँदैन । के गर्नु गरिब देशको पैसा पनि गरिब !
जागिर खाउन्जेल पैसा बटुल्ने भन्दा अरू कुनै ध्यान रहेन । देश दुनियाँले आफूलाई कुन नजरले हेरिरहेका छन् भन्ने पत्तै पाइएन । अहिले जागिर सकियो । जम्मा भएको सम्पत्तिमा थपिने क्रम बन्द भयो । स्रोत सुकेको छ । छोराछोरी देशमा नरहेपछि यही सम्पत्ति पनि के पो गर्नु र ? अब यसको व्यवस्थापनतिर लाग्नुपर्ला भन्दैछु ।
जागिरबाट निवृत्त भएपछि अफिस जान छोडेपछि, गाउँ समाज आफन्त छिमेकी वरपर यसो घुलमेल हुनै पर्यो । छोराछोरी पनि साथमा छैनन् । कहिलेकाहीँ अभर आपत पर्नसक्छ भनेर सम्बन्ध जोड्न खोज्यो, हान्ने राँगाले झैं हेर्छन् । मुखले अगाडि केही भन्न नसके पनि घृणाभाव दर्साउँछन् । चोर, फटाहा, भ्रष्टाचारी, अपराधी, ठग आदि के के भन्छन् अरे पनि भनेको सुन्दैछु । जिन्दगीमा अलिक बढी नै गरिएछ कि क्या हो ? अहिले पैसा बाहेक अरू केही छैन । छोराछोरी, इष्टमित्र, आफन्त, छिमेकी, गाउँसमाज सबै टाढिए, टेढिए । पैसा मात्र के गर्नु र ? सुगर, प्रेसर, थाइराइड… अरू धेरै के के रोगले गाँजेको छ । बेलुका दुईवटा सुख्खा रोटी मुस्किलले पानीसँग निल्छु । अरूअरूका घरमा मान्छेको आइजाइ देख्छु, मेरामा कोही आउँदैनन् । हुन त पैसाको भुत चढेको वेलामा म पनि कहिल्यै कतै कसैकोमा गएको होइन । धेरै मान्छेले मलाई सशरीर चिन्दैनन् पनि तर चरित्रमा चाहिँ बिसवटा नकारात्मक विशेषण लाउँछन् । अलिक दिक्क लाग्न थालेको छ ।
मसँग जागिर खाने साथीहरू अहिले सबै पेन्सन भएर घरघरमै छन् । तिनीहरू के के गर्दैछन् भनेर मलाई बुझ्न मन लाग्यो । उनीहरू गाउँ समाजमा कसरी घुलमिल भए ? म जस्तै उपेक्षित छन् कि ? सोधखोज गर्दै जाँदा एउटा साथीले चाहिँ आफ्नो गाउँको सामाजिक पुराणमा दुई लाख रुपियाँ मिल्काइदिएछ । तेसपछि त उसलाई कार्पेट ओच्छ्याएर, फुलमाला दोसल्ला अविर लाएर रथारोहण नै गरेछन् । दानी, धर्मवीर, दानवीर, ईश्वरभक्त …. आदि के के भनेर प्रशास्ति गाउँदै अभिनन्दन गरेछन् । सबैको हाई हाई भएछ । अहिले सबैले सामाजिक, धार्मिक सङ्घसंस्थामा हजुरले नै बसिदिनुपर्छ भनेर खाएस गर्छन् अरे ।
अर्को एउटा साथी चाहिँ पाँचसात लाख चन्दा एउटा पार्टीलाई मन्साएर टिकट प्राप्त गरी जनतालाई जाँडपानी, फिलासाँप्रा ख्वाएर भोट जिती नगरको वडा अध्यक्ष भएको रहेछ । बडो विकासप्रेमी भाषण गरेर सबैको मन जितेको रहेछ । विकास निर्माणमा उसले आफ्नो पुरानो अनुभव सिप प्रयोग गरेर अझै पनि मालामालमै रहेछ । नाम, दाम दुवै प्राप्त हुने राजनीति पेसो पक्रेछ ।
अर्को एउटा चतुरे पानीबढुवा अधिकृत थियो । तेसको चाला के रैछ भनेर बुझेको, ऊ चाहिँ ठुलै साहित्यकार भइसकेको रहेछ । मान्छेको आँसु झार्ने गरी बडो भावुक भएर गरिब, दुःखीका दीनहीन भावका कविता लेख्छ अरे । साहित्यिक जगत्मा निकै प्रिय बनेर जरा गाड्न खोज्दै रहेछ । कसकसलाई कोदोपेट्रा ख्वाएर कविता लेखिमागेर उसको आफ्नो नाउँमा एउटा पुस्तक पनि प्रकाशित गरेछ । पुस्तक प्रकाशित भएपछि पुरस्कार मूल्याङ्कन समितिको गोडामा चिल्लो लाएर सम्मानको धुसा समेत ओढेछ ।
पूर्वमध्यमासम्म संस्कृत पढेर यता कलेजबाट आइए पढेको अर्को एउटा अत्यन्तै वाचाल, सेवाग्राहीबाट माल झार्न खप्पिस धूर्ताधिराज सुब्बा थियो । निवृत्त भएपछि के गर्दैरहेछ भनेर एसो बुझेको, उसले त ज्योतिष फलानो भनेर घरमै आफ्नो नाउँको हेमानको साइनबोर्ड टाँगेछ, ज्योतिष हेराउन आउने मान्छेको धुइरो । पैसाको फ्याउरी अझै पनि तानिरहेकै रहेछ ।
मेरो आफ्नै फाँटमा अर्को एउटा निम्जो निम्जो खालको खरिदार थियो, त्यो चाहिँ कुन हो धर्म सम्प्रदायमा लागेर इन्डियातिर भासिएको छ अरे । कहिले काहीँ त्यस धर्म सम्प्रदायको प्रचार प्रसार गर्न यता आएर यताका मान्छेलाई समेत प्रभावित पारेर पैसा उठाउँदै उतै इन्डियातिरै लैजान्छ अरे । दारी कपाल पालेर, चन्दन लाएर, रुद्राक्षको माला भिरेर, गेरु वस्त्र धारण गरेर हिँड्छ अरे । पहिलेको खरदार भनेर कसैले चिन्दैनन् भन्थे ।
मेरै टेबलसँग टेबल जोडिएको हँसिमजाक गर्न सिपालु अर्को एउटा साथी थियो, चिप्लो मिठो बोल्ने, बठ्याइँ छाँट्ने भएकाले कति सेवाग्राहीले घुस पनि राजिखुसीले दिन्थे । “तलबमा मात्रै काम गर्नुपरेको थियो भने म उहिल्यै जागिर छोडिसक्ने थिएँ ।” भन्थ्यो । लेखापाल हुँदा उसको जगजगी नै थियो । त्यसको खैखबरी बुझेको अहिले ऊ कुनै ठुलो सहकारीको अध्यक्ष भएको रहेछ । ऋण खानेबाट चर्को ब्याज असुलेर सहकारीको काम भन्दै त्यही पैसाले विदेशतिर डुलेर संसार भ्याइसक्न लागेछ । सहकारीमा कर्मचारी राख्ता दुईचार लाख डिपोजिट भनेर निर्ब्याजी पैसा लियो, छ महिनासम्म आधा तलब दियो गर्दोरहेछ । विद्रोह नहोस् भनेर सहकारी समितिका मान्छेलाई पनि कहिलेकाहीँ देशदर्शनमा घुमाउन लाँदोरहेछ । समितिका मान्छेको पार्टी पिकनिक भत्ता त कति हो कति ! जागिरभन्दा अझै बढोत्तरी भएछ ।
आफू जागिरमा रहँदै एउटा बोर्डिङ स्कुल स्वीकृत गराउन भूमिका खेलेबापत एउटा सेयर प्राप्त गरेको चङ्खे मित्र चाहिँ त्यही बोडिङको अध्यक्ष बनेर वर्सेनी विद्यार्थीको शुल्कवृद्धि गर्दै शिक्षकलाई रेट्तै भर्ना शुल्क र अनेक शीर्षक जुराएर पैसा तानेर राज गरेर बसेको रहेछ ।
अरू त अरू, एउटा चतुरे पिउन थियो त्यो पनि निवृत्त भएपछि त्यही कार्यालयको बिचौलिया बनेर मस्त कमाइधमाइमा रहेछ । आफू चाहिँ बडो गाउँ समाज छिमेकी आफन्त टेढिए भनेर बित्थामा कुँडिएर बस्तो रहेछु । अब तेता फर्किने समय बितेछ । दुर्व्यसनीहरू बरु खाएरै मर्न बल गर्छन् सामान्य जीवनमा फर्किँदैनन् । रक्सीले मुटुकलेजो डढाउँछ भनेर जान्दा जान्दै त्यो छोड्न सक्तैनन् बरु इहलोक परित्याग गर्छन् । यो भ्रष्टाचार भन्ने कुरो पनि लगभग त्यस्तो त्यस्तै रहेछ । यसको पनि खतर्नाक निसा लाग्दोरहेछ ।
मैले सबै साथीहरूको कुरो बुझेँ । अब के गर्ने होला त भन्दै थिएँ । दिमागमा केही कुरा फुर्न थाले । वन उपभोक्ता समितिभित्र छिर्दा पनि हुने हो, त्यो मलिलै क्षेत्र हो । त्यो नभए विकास निर्माणमा उपभोक्ता समितिको अध्यक्ष बनेर ठेकेदार इन्जिनियरसँग मित लाउन पनि सकिन्छ । हाटबजारको ठेक्का लिएर पैसा उठाउन पनि नसकिने होइन । त्योभन्दा अझै राम्रो खालको ठेक्का लिएर गिटी, ढुङ्गा, बालुवा बेच्दा काइदाकै फाइदा हुन्छ । अथवा किन कपाल दुखाउनु, आफ्नै कुल वंशको वंशावली बनाउने भनेर त्यसको मुहानमा बस्दा पनि हुन्छ । हँ, बल्ल कुरो ठेगानमा आयो । अब वंशावलीमा भिड्नुपर्छ भनेर आफ्नो कुलवंश, बन्धुबान्धवभित्र छिरेर मच्चाएँ हुँडलो ! एउटा समिति बनाएर अध्यक्ष बनेँ । वन्धुहरूको खोज गरी नाम सङ्कलन गर्न समितिलाई अराएर वंशावलीको पुस्तक प्रकाशनका निम्ति सहयोग, चन्दा बटुल्न झोलामा रसिद बोकेर निस्किएँ म पनि घरबाट । पैसा सङ्कलन कसरी गर्ने भन्ने कुराको राम्रो अनुभव छँदैछ । पूर्व मणिपुर, वर्मा, आसाम, डुवर्स, दार्जिलिङदेखि नेपाल हुँदै पश्चिम गोरखपुर, अल्मोडा काङ्गडासम्म पुग्दा कसो सफल नभइएला त !
०००
झापा
Subscribe
Login
0 Comments
Oldest







































