गायत्री परिरोशनीपोथी बासेपछि !
खुला आकाश र खुल्ला धर्ती मनपर्छ पोथीलाई, भाले बस्ने खोरको उकुसमुकुसमा पोखिन जान्दैनन् । प्यारा पोथीहरु रोक्दै नरोकिने गरी बास्नुपर्छ अब । आफ्नै पौरखमा उन्मुक्त भई, हाँस्नुपर्छ अब ॥

गायत्री परिराेशनी :
वाः क्या गज्जब
अब त जहाँतहीँ,
पोथीहरु बास्न थालेका छन् ।
मर्द भालेहरुलाई
डाह लाग्ने गरी,
हाँस्न थालेका छन् ॥
पोथी बोकेर,
बतासे फुल नपार्नलाई
भाले खोज्न
हिँड्न पर्दैन अब,
एउटै भालेले
सयौँ पोथीलाई
ठुँग्न पाउँछु भन्ने सोचेर,
मख्ख नपर्नु भालेहरु हो ।
अब त तिम्रो
जुरो समेत नहेरी
सबै पोथीहरुले
चल्ला कोरल्न सक्छन् ॥
त्यही एउटा जुरोलाई
सर्वमान्य सोचेर
पोथीहरुलाई अन्याय र
अत्याचार गर्यौ भने ?
सबै पोथी मिलेर
तिम्रो जुरो मात्र होइन
शरीरका प्वाँख समेत
भुत्ल्याइदिन्छन् अब ॥
जुरो विहिन अनि
निर्वस्त्र शरीर मन पर्दैन भने
प्यारा भालेहरु
पोथीहरुलाई
माया गर्न सिक
सम्मान गर्न सिक
चल्ला कोरल्नलाई
आलोपालो
ओथारो बस्न सिक ।
पोथीले जस्तै
आफूले नखाएर
चल्लालाई खुवाउन सिक ।
औसतमा पाँच इन्चको
जुरोको दम्भ छोड ।
समाजले भालेको मूल्य बढाएकोमा
आफ्नो घमण्ड छोड,
प्यारा भालेहरु,
आफ्नो अस्तित्व बचाउने भए,
पोथीको इच्छा बिना
उसलाई ठुग्न छोड ॥
थाहा छ नि है ?
अब भालेले डाँको छोडेर
बास्दैमा,
उसको मूल्य बढ्दैन ।
चौबिसै घण्टा भाले बास्यो भने
पोथीले दुःख गरिरहँदा,
भाले मस्त भई हाँस्यो भने,
त्यस्ता भालेलाई
ऊ बस्ने खोरबाट लखेटिन्छ ।
त्यसैले
सृष्टिका स्वतन्त्र भालेहरु
होसियार अब,
पोथी बास्न थालेपछि
रोकिन जान्दैनन् ।
आफ्नै पहिचानमा रमाउँछन् ।
भालेसँग ठोकिन जान्दैनन् ।
खुला आकाश र खुल्ला धर्ती
मनपर्छ पोथीलाई,
भाले बस्ने खोरको उकुसमुकुसमा
पोखिन जान्दैनन् ।
प्यारा पोथीहरु
रोक्दै नरोकिने गरी
बास्नुपर्छ अब ।
आफ्नै पौरखमा
उन्मुक्त भई, हाँस्नुपर्छ अब ॥
०००
स्याङ्जा
Subscribe
Login
0 Comments
Oldest









































