देविका तिमिल्सिनाकाम र कर्तुत
राजकुमार दिक्पालको दन्त्यकथा सुनाएर एक डड्गुर भ्रमका सपनाहरू बाँडचुँड गरियो आफैले कोपरेको आमाको अनुहारलाई ठुलो स्वरले देशभक्तिको सिँगार दिइयो ।

देविका तिमिल्सिना
गुफाबाट रातो हात हल्लाउँदै
मैदानमा उत्रेर लडाइँ लडियो
कैयौं काला राताहरू जङ्गली जनावरसँगै बिताइए
भोक र तिर्खालाई आस्थाको दृढताले थिचियो
जङ्गी मिचाहाहरूको सातो उडाउँदै
सत्यको पक्षमा धैर्यसाथ जुटियो
कैयौं महिलाहरूका सिन्दुर पोते हरण गरिए
आमाबाबुका काख रित्ता पारिए
झम्टिरहेको बाघका नङ्ग्रा र दाह्रासँग
अटुट विश्वासका साथ नझुकी सङ्ग्राम गरियो
टालेको दौरामा कट्कटिएको मयल
फाटेको चोलीको जीर्ण पन
दिनरातको पसिना चुहाइपछि पनि
भोको पेट र चुहिने छाना
वेगवान् समयको गति अझ तीव्र पार्न
बदल्न कुरूप परिस्थितिलाई र नयाँ सिर्जना गर्न
सपना देख्दै र देखाउँदै सुखी जीवनको
यहाँसम्म आइपुगियो र रोकियो
रोकिनु कहाँ पर्थ्यो र रोकियो कहाँ ?
पुग्नु कहाँ थियो र पुगियो कहाँ ?
अब मुटुमा बग्ने रगत उम्लिन छोड्यो
लड्खडाए हातपाखुरा र लुलो भयो शरीर
किताबको भन्टा पो खानु हुँदैन भन्दै
भन्टाको तरकारी खाइरहेका पण्डा झैं
गोकर्णको खोचमा उभिएर
चोभारको गल्छीमा पुगेको बहाना गरियो
यथार्थबाट भाग्दै यथार्थकै कुरा गर्न थालियो
ब्वाँसाहरूले थपडी बजाएर स्वागत गर्न थाले
थाके युधिष्ठिरका तन, मन र मस्तिष्क
थाक्दै गए निरन्तर पिँडुला र पाखुरी वलिष्ठ
शकुनि चालमा स्वागत भजाएर खान थालियो
राजकुमार दिक्पालको दन्त्यकथा सुनाएर
एक डड्गुर भ्रमका सपनाहरू बाँडचुँड गरियो
आफैले कोपरेको आमाको अनुहारलाई
ठुलो स्वरले देशभक्तिको सिँगार दिइयो
जीवन जीवन नै हो
तर जीवन जीवनजस्तो देखाइएन
देखाउनु नपर्ने देखाइयो
देखाउनु पर्ने सबै छोपियो
वर्तमान भागेर विगतभन्दा पर पुग्यो
त्यही परको वर्तमानलाई बल्छी हाल्न
विगतको त्यो कालो टीका
आफ्नै अनुहारमा निर्लज्जता साथ लगाइयो ।
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































