विकास र विकासे
देख्नुभएको हुनसक्छ यहाँहरूले गाउँघर र बस्तीबस्तीमा विकासको नाउँमा मोजमस्ती जनताको काँधमा थप्दै ऋणको भारी विकासका नाउँमा उल्टै सास्ती देशको विकास र विकासेको फुर्ती ।
देविका तिमिल्सिना :
कालो
मैलो
छेउकुना च्यातिएको
भित्रभित्रै थङ्ङ्घिलो
आफैंमा अस्तव्यस्त
चकनाचुर फाइलभित्रको
एउटा सफा सुन्दर अक्षरको
कर्मपात्रो विकास
विज्ञ डाक्टरको नयाँ निकास
नयाँ पण्डितको राष्ट्रवादी विश्वास
दलदलभित्रको आकर्षक प्रस्ताव
जनता दोहनको नयाँ आविष्कार
जय विकास ! जय विकास !!
गोरो चिटिक्क परेको
साँढे पाँच फुट अग्लो
पुटुक्क भुँडी निस्केको
पचासी केजी तौल भएको
वातावरण बचाऊ
हरियो टिसर्ट लगाएको
काँधमा रुकस्याक र क्यामरा भिरेको
गोल्डस्टार जुत्तामाथि जिन प्यान्ट लगाएको
घरीघरी नाकमा चस्मा मिलाउने बानी परेको
बोलीमा पुरानो शैलीको अङ्ग्रेजी मिसाउने
योजनाकार विज्ञ
मानौं ऊ नै हो राष्ट्रको सम्पत्ति
देश विकास र उन्नति
मुसुक्क मुसुक्क हाँस्दै
पहाड पर्वतमा हिँड्ने
यो युगको
आधुनिक र सभ्य भन्न रुचाउने
गैरसरकारी संस्थाहरूको आधुनिक मूर्ति
विज्ञ र पण्डितहरूको स्वीकृतिको फुर्ती
देख्नुभएको हुनसक्छ यहाँहरूले
गाउँघर र बस्तीबस्तीमा
विकासको नाउँमा मोजमस्ती
जनताको काँधमा थप्दै ऋणको भारी
विकासका नाउँमा उल्टै सास्ती
देशको विकास र विकासेको फुर्ती ।
०००
काठमाडाैं
मीठो कविता