नन्दलाल आचार्यपत्नीको शङ्का
“हो रमेश, अब म तिमीलाई कहिल्यै परीक्षा लिन्न । तर तिमी पनि कहिल्यै पुष्पाको नाम लिँदैनौ, हैन ?” रमेशले हाँस्दै जवाफ दिए, “पुष्पा त मेरो पुरानो साइकलको नाम हो !”

नन्दलाल आचार्य :
कुनै गाउँमा रमेश र गीता नामका नवविवाहित जोडी बस्थे। उनीहरूको विवाह भएको तीन वर्ष मात्रै भएको थियो। सुरुमा उनीहरूको जीवन रमाइलो र उत्साहले भरिएको थियो। तर समय बित्दै जाँदा, गीता आफूलाई रमेशको जीवनमा कम महत्त्वको महसुस गर्न थालिन्।
“के ऊ मलाई साँच्चै माया गर्छ ? कि यो सम्बन्ध केवल उसको दायित्व बनेको छ ?” गीता भित्रभित्रै सोचिरहन्थिन्।
००
एक साँझ गीता आफ्नो मनको शङ्का समाधान गर्ने उपाय सोच्न थालिन्।
“यदि म रमेशलाई छोडेर गएँ भने ऊ कस्तो प्रतिक्रिया देखाउँछ ? के ऊ पीडा महसुस गर्छ ?”
यही विचारले गीता रमेशको परीक्षा लिने योजना बनाउन पुगिन्।
एक चिट्ठी लेख्दै उनले आफ्नो मनको खेल खेल्ने निर्णय गरिन्:
“रमेश, म तिमीबाट आजित भएकी छु। हाम्रो जीवनमा कुनै उत्साह बाँकी छैन । म यो सम्बन्धलाई अघि बढाउन सक्दिन । म तिमीलाई सदाको लागि छोडेर जान लागेकी छु ।”
यो चिट्ठी टेबलमा राखेर गीता बिस्तारामुनि लुकिन् । उनको मनमा खुशी र डरको अनौठो मिश्रण थियो ।
“अब हेर्छु त, ऊ कत्तिको माया गर्छ मलाई”, गीता मनमनै सोच्न थालिन्।
००
रमेश अफिसबाट थकित हुँदै घर फर्किए ।
“गीता कता हो ? घर शान्त छ” उनले चकित हुँदै सोचे। उनले टेबलमा रहेको चिट्ठी देखे । चिट्ठी पढ्दा उनको अनुहारमा कुनै भाव प्रकट भएन ।
गीता, जो बिस्तारमुनि थिइन्, उनका प्रतिक्रियाहरूलाई ध्यानपूर्वक नियालिरहेकी थिइन्। “अब त ऊ रोला,” उनले अनुमान गरिन्। तर रमेश न रोए, न आत्तिए।
बरु उनी मुस्कुराए । त्यसपछि उनले चिट्ठीको पछाडि केही लेखे ।
चिट्ठी लेखिसकेपछि रमेशले आफ्नो मोबाइलमा एक रमाइलो गीत बजाउन थाले ।
गीत थियो, “आज मैं ऊपर, आसमां नीचे !”
गीताको मन जलेर खरानी।
“यो के हो ? के ऊ मेरो जाने कुरामा खुशी छ ?” गीता मनमनै झस्किइन्।
००
रमेशले फेरि फोन उठाए।
“हेल्लो पुष्पा ! अब म स्वतन्त्र छु। गीता मलाई छोडेर गई। हामी अब सँगै रमाइलो गर्न सक्छौं। दश मिनेटमा बगैंचामा भेटौं !”
गीता यो सुनेर बिस्तारमुनिबाट निस्कनै सकिनन्।
उनको मनमा गुस्सा, पीडा र लाजको भुमरी चल्न थाल्यो। “रमेशले साँच्चै मलाई माया गर्दैन । म यो घरमा कुनै अर्थ छैन।”
तर, जब रमेश ढोकाबाट बाहिर निस्किए, गीता बिस्तारमुनिबाट निस्किन् । उनले चिट्ठीको पछाडि हेर्न लागिन् ।
त्यहाँ लेखिएको थियो:
“अगिदेखिनै बिस्तारमुनि तिम्रा खुट्टा देखिइरहेका छन्। चिया पकाइदेऊ, म बिस्कुट लिएर आउँछु।”
यो पढ्नेबित्तिकै गीताको गुस्सा हाँसो र आँसुको मिश्रणमा बदलियो।
००
केहीबेरमा रमेश फर्किए । उनले गीता रोइरहेको देखे ।
“गीता !” रमेशले चिन्तित हुँदै भने । “के भयो ? तिमीलाई मैले अझ धेरै सताएँ कि ?”
गीता रिसाउँदै भनिन्, “तिमी मलाई कहिल्यै गम्भीर रूपमा लिँदैनौ । तिमीलाई थाहा छ, मैले यो चिट्ठी किन लेखेकी थिएँ ?”
रमेशले हाँस्दै भने, “मलाई सबै थाहा थियो। तिमी मलाई परीक्षा लिँदै थियौ। तर गीता, यो परीक्षा किन ?”
गीता रोएर भनिन्, “म यो हेर्न चाहन्थेँ कि तिमीलाई मेरो महत्त्व कति छ। तर तिमी त मलाई छोड्न तयारजस्तो देखिन्थ्यौ। पुष्पाको कुरा के हो ?”
रमेशले मुस्कुराउँदै भन्यो, “गीता, तिमीलाई थाहा छ ? जिन्दगीमा सधैं गम्भीर भएर बाँच्न सकिँदैन । ठट्टा र हाँसोले हाम्रो जीवनलाई मिठो बनाउँछ। तर तिमी मेरो परीक्षा लिनुपर्ने आवश्यकता छैन। तिमी मेरो जीवनको केन्द्र हौ। तिमी बिना मेरो अस्तित्व नै अधुरो छ।”
००
गीतालाई यो घटनाले ठूलो पाठ सिकायो। उनले बुझिन् कि सम्बन्धको असली बल आपसी विश्वासमा छ, न कि शङ्कामा ।
रमेशले पनि गम्भीर हुँदै भने, “गीता, हामी सँगै छौं भने साना झगडाहरू र ठट्टाहरू त हुने नै छन् । तर हाम्रो माया र विश्वास सधैं बलियो हुनुपर्छ । जिन्दगीको अन्तिम क्षणसम्म पनि हाम्रो यो सँगै हाँस्ने, रुन र लड्ने यात्रा कहिल्यै टुट्नु हुँदैन ।”
आपसी माया, विश्वास र हाँसोको मिश्रणले बलियो बन्दछ । ठट्टा र हल्का खटपटले जीवनमा मिठास थप्छन्, तर शङ्काले कहिल्यै सम्बन्धलाई बलियो बनाउँदैन । गीताको मनमा यिनै कुरा खेले ।
रमेशले थपे, “जीवन सधैं सुन्दर छ, जब हामी हाँसो, माया, र विश्वासले भरिएको सम्बन्ध निर्माण गर्छौं।”
गीता मुस्कुराउँदै भन्छिन्, “हो रमेश, अब म तिमीलाई कहिल्यै परीक्षा लिन्न । तर तिमी पनि कहिल्यै पुष्पाको नाम लिँदैनौ, हैन ?”
रमेशले हाँस्दै जवाफ दिए, “पुष्पा त मेरो पुरानो साइकलको नाम हो !”
०००
२०८१ मङ्सिर २० गते ।
उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest









































