साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्नपूर्ण आर्ट ग्यालरीमा नौ स्रष्टाको सामूहिक कला प्रदर्शनी  

कुनै निश्चित आकृति वा कथामा सीमित नरही उहाँका चित्रहरूले प्रत्येक दर्शकलाई आफ्नै अनुभव, स्मृति र कल्पनाबाट अर्थ निर्माण गर्ने स्वतन्त्रतातर्फ मोड्ने काम गर्छ ।

Nepal Telecom ad

काठमाडौँ ।  समकालीन नौ स्रष्टाको सहभागितामा आयोजित ‘क्रोमाटिक साइकी’ सामूहिक कला प्रदर्शनी अन्नपूर्ण आर्ट ग्यालरीमा सुरु भएको छ । प्रदर्शनीले चित्रकला, मिश्रित माध्यम र सिरेमिकमार्फत रङ, स्मृति, भावना, प्रकृति, सामाजिक यथार्थ तथा सांस्कृतिक पहिचानबिचको सम्बन्धलाई उजागर गरेको छ ।

प्रत्येक कलाकारको शैली फरक भए पनि सबै कृतिले मानव चेतना, अनुभूति र आत्म अन्वेषणलाई केन्द्रमा राखेको छ । प्रकृति, महिला अस्तित्व, सांस्कृतिक संरक्षण, सहरीकरण र करुणा जस्ता विषयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै कलाकारले आफ्नो स्मृति, भावना र अनुभवसँग संवाद गर्न आमन्त्रण गर्छ ।

कलाकार अनमारी तामाङका सिरेमिक कृतिले प्रकृतिका साना जीव र वनस्पतिलाई नयाँ दृष्टिले हेर्न आमन्त्रण गर्दछ । उहाँको ‘बेबे’ शीर्षकको राकु–फायर गरिएको मूर्तिमा शिशुको मुद्रामा निदाएको एउटा किराको आकृति छ । पहिलो दृष्टिमा अनौठो लाग्ने यो रूपले बिस्तारै निर्दोषता, असहायता र सबै जीवबिचको साझा अस्तित्वबोधलाई उजागर गर्छ । किरा र शिशुको रूपलाई एउटै संरचनामा प्रस्तुत गरेर कलाकारले प्रकृतिप्रतिको हाम्रो पूर्वाग्रहलाई पुनर्विचार गर्न प्रेरित गर्नुभएको छ ।

उहाँका ‘लोटस पोड’, ‘सनफ्लावर सिड’ र ‘द एगोनिइन रेड’ शीर्षकका कृतिले क्रमशः प्रकृतिको जैविक सौन्दर्य, प्रयोगात्मक सिरेमिक प्रविधि तथा महिलाको पीडा र सहनशीलतालाई कलात्मक रूपमा अभिव्यक्त गरेको छ । विशेष गरी ‘द एगोनिइन रेड’ मा फूललाई महिलाको प्रतीकका रूपमा प्रयोग गर्दै सौन्दर्यसँगै पीडा पनि सहअस्तित्वमा रहने यथार्थलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

अर्का कलाकार आयुष थापाको ‘आर्किटेक्चर अफक्युरियोसिटी’ शृङ्खलाले जिज्ञासालाई भावनाका रूपमा होइन, एउटा मानसिक संरचनाका रूपमा व्याख्या गरेको छ । झ्यालहरू नयाँ सम्भावनाका कोठा हुन् भने खरायो जिज्ञासाको जीवित प्रतीक हो । उहाँका चित्रले जिज्ञासा नै सिर्जनात्मक विकासको मूल ऊर्जा भएको सन्देश दिन्छन् । कलाकार जीवन राजोपाध्यायका अमूर्त चित्रहरू प्रकृतिको निरन्तर परिवर्तनशील लय, ऊर्जा र रहस्यबाट प्रेरित छन् ।

कुनै निश्चित आकृति वा कथामा सीमित नरही उहाँका चित्रहरूले प्रत्येक दर्शकलाई आफ्नै अनुभव, स्मृति र कल्पनाबाट अर्थ निर्माण गर्ने स्वतन्त्रतातर्फ मोड्ने काम गर्छ । प्रकृतिको अदृश्यशक्ति र मानवीय अनुभूतिबिचको सम्बन्धलाई उहाँले रङ र बनोटमार्फत सशक्त रूपमा व्यक्त गर्न खोज्नुभएको छ ।

यसै गरी कलाकार मानसी भट्टका ‘साइलेन्ट बेगर्स’ शृङ्खलाले सडकमा छाडिएका गाईहरूको जीवनलाई केन्द्रमा राख्दै मानवीय संवेदनाको प्रश्न उठाउँछ । दुध र श्रमका लागि उपयोग गरिएका जनावर प्रयोग समाप्त भएपछि सडकमा छाडिने सामाजिक यथार्थलाई उहाँले गहिरो करुणाका साथ चित्रण गर्नुभएको छ ।

यस्तै ‘द चार्म अफ भिलेज होम’ शृङ्खलामा कलाकारले गाउँघरका पुराना घरलाई केवल वास्तुकला होइन, आफ्ना स्मृति, पहिचान र आत्मीयताको स्रोतका रूपमा चित्रित गर्नुभएको छ । पुराना भित्ताहरू र सरल संरचनाले समयसँगै हराउँदै गएको ग्रामीण जीवनको आत्मालाई सम्झाइरहन्छ ।

‘क्रोमाटिक साइकी’ केवल नौ कलाकारको प्रदर्शनी मात्र होइन, समकालीन नेपाली समाज, प्रकृति, संस्कृति र मानव मनोविज्ञानलाई बुझ्ने बहुआयामिक दृश्य विमर्श पनि हो । फरक शैली र माध्यममा सृजित प्रदर्शनीले रङ, प्रतीक, स्मृति र अनुभूतिमार्फत आफ्नै चेतनासँग संवाद गर्न प्रेरित गरेको छ ।

यही बहुलता, संवेदनशीलता र वैचारिक गहिराइ नै यस प्रदर्शनीको सबैभन्दा ठुलो विशेषता बनेको छ । प्रमिला वज्राचार्य, रुपक राई, सागर मानन्धर, सुचिन श्रेष्ठ, सुमन थापाका चित्र पनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी भदौ ८ गतेसम्म चल्ने छ ।

०००
सुकृत नेपाल/गाेप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x