साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकैसाथ बालकथाका सात पुस्तक लोकार्पण गरिए

बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद् प्रा. केदारभक्त माथेमालगायतले लाेकापर्ण गर्नु भएकाे हाे ।

Nepal Telecom ad

काठमाडौँ । बालकथाका सात वटा पुस्तक लोकार्पण भएका छन् । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा राजधानीमा आयोजित कार्यक्रममा शिक्षाविद् प्रा. केदारभक्त माथेमा, अग्रज बालसाहित्यकार गङ्गा कर्माचार्य, बालसाहित्यकार प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली, पुस्तकका लेखकलगायतले सो पुस्तकको लोकार्पण गर्नुभयो ।

प्रा. माथेमाले कक्षाकोठामा अध्यापन गराइने पाठ्यक्रमका पुस्तकसँगै बालसाहित्यका पुस्तक पनि सँगै अध्ययन गर्ने अवसरले बालमस्तिष्क तीक्ष्ण हुने विचार व्यक्त गर्नुभयो । पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गिकतासम्बन्धी कला कार्यक्रम ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५, अन्तर्गत अपराजिता कथा परियोजना’ बाट विभिन्न सन्देशमूलक सात वटा बालकथाका पुस्तक तयार भएका हुन् ।

संयोजक तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, ‘संजोग ठकुरीको ‘ममीघर’, ‘अस्मिता बादीको ‘हैतमाको हिम्मत’ र सङ्गीता उराँवको सुर्जीको उज्यालो’ बालकथाका पुस्तक सिर्जना भएका छन् । परियोजनामा बालवाङ्मय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थालेसमेत सहकार्य गरेका छन् । बालकथाका पुस्तकमा चित्रकार रवीन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गर्नुभएको छ ।

बालसाहित्यकार एवं समीक्षक प्रधानले एकै पटक सात जना सर्जकका सात वटा बालपुस्तक प्रकाशित हुनु बालसाहित्यको क्षेत्रका लागि निक्कै आशालाग्दो पहल बनेको बताउँदै हरेक पुस्तकका कथाले समाजको वास्तविकता बाहिर ल्याएको भन्दै सबैलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । साहित्यकार प्रधानले आफूले विसं २०५७ मा बालउपन्यास लेख्दादेखि २६ वर्षको अवधिका नेपाली बालसाहित्यको क्षेत्रमा धेरै राम्रा कृति, विविधता र नयाँ सर्जकको आगमनले यस क्षेत्रमा प्रगति भइरहेको महसुस भएको बताउनुभयो ।

बालअधिकारकर्मी नेपालीले सात वटा बालपुस्तकमा समेटिएका फरक सन्देशले यस समाजमा बस्ने सबैले यथार्थमा भोगिरहेका अवस्थाको वर्णन गरेको बताउनुभयो । उहाँले यस कथाले लैङ्गिक, जातीय विभेद, गोरोलाई मात्र राम्रो भन्ने सौन्दर्यका झुटो मानकविरुद्ध सीमान्तकृत समुदायलाई हेप्ने प्रवृत्तिमा पनि शिक्षाको उज्यालोसहित सुझबुझले प्रतिकार गरेकोलगायतका सन्देशले बालबालिकामा ऊर्जा भर्ने आशा व्यक्त गर्नुभयो ।

कथाकार एवं यस परियोजनाका संयोजक सुशीला तामाङले बालसाहित्यमार्फत बालिका सशक्तीकरण, लैङ्गिक समानता, विकास र समाजमा विद्यमान छोरा र छोरीबिचको विभेद, जातीय, वर्गीय एवं सांस्कृतिक विभेदलाई चिर्नु पर्छ भन्ने मुख्य लक्ष्यका साथ सञ्चालित परियोजनाबाट सशक्त बालपुस्तक जन्मिएको बताउनुभयो ।

उहाँले प्रत्येक समुदायको आआफ्नो भोगाइ, सामाजिक तथा सांस्कृतिक जीवनका अनुभव, सङ्घर्ष र अभ्यास हुन्छन्, यस सात वटा बालकथामा ती विविधतालाई पनि समेट्ने प्रयास गरेको जानकारी दिनुभयो ।
००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x